मोबाइलमै नाचिरहेका स्मार्ट ठग ! | Khabarhub Khabarhub

अनलाइन ठगी

मोबाइलमै नाचिरहेका स्मार्ट ठग !

विद्यार्थीका नाममा बैंक खाता, त्यही खाताबाट अपराध !



काठमाडौं – आजकाल किनमेल गर्न बजार पुग्नुपर्दैन । हरेक सामान अनलाइनबाटै किन्न सकिन्छ । मोबाइलमा एक क्लिक गर्‍यो, चाहेको सामान आफूले उपलब्ध गराएको ठाउँमै आइपुग्छ ।

प्रविधि मानिसको सहजताको लागि हो । तर, यही सहजताले मानिसलाई कहिलेकाहीँ निकै नोक्सानीमा पार्छ ।

सुदूरपश्चिमका एक युवक पढ्नका लागि काठमाडौंमा थिए । उनीसँग भएको मोबाइल पुरानो हुँदै थियो । उनले बुवासँग नयाँ मोबाइल किन्न रकम मागे । घरदेखि रकम पनि आयो । उनले मोबाइल पसलको साटो अनलाइन अर्डर गर्न सजिलो ठाने ।

उनले मोबाइल अर्डर गरेपछि केही रकम अग्रिम बुझाउनुपर्ने भयो । अनलाइनबाटै १२ हजार रुपैयाँ भुक्तानी गरे । रकम बुझाइपछि उक्त एपले उनलाई ब्लक गर्‍यो ।

000

गुल्मी घर भएका एक व्यक्ति काठमाडौंमा निजी कम्पनीका जागिरे थिए । आफू कोठा खोजेर हिँड्न नभ्याउने भएपछि एजेन्टकहाँ पुगे ।

एउटा कोठामा बसिरहेका उनी राम्रो फ्ल्याट लिएर आफ्नी श्रीमती र बच्चालाई गाउँबाट ल्याउने तयारीमा थिए । एजेन्टले उनलाई केही रकम अग्रिम बुझाउनुपर्ने बतायो । फ्ल्याट पाइने आशामा उनले एक हजार रुपैयाँ बुझाए । तर, केही दिनमा ती एजेन्ट गायब भए ।

अब त्यो ठगीको उजुरी लिएर कहाँ जाने ? साइबर ब्यूरोमा जाँदा एक हजार रुपैयाँका लागि आफ्नो काम गर्ने समय र त्यो भन्दा बढी रकम खर्चनुपर्छ । उनले मन मारेर कतै उजुरी दिएनन् ।

000

यी त प्रतिनिधि घटना हुन् । अहिले अधिकांश मानिसहरू यस्तै–यस्तै बहानामा ठगीमा पर्ने क्रम बढिरहेको छ ।

हालसालै नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले ठगीमा सबैभन्दा धेरै विद्यार्थी सङ्लग्न रहेको तथ्य सहितको प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा १८ देखि २४ वर्ष युवा समूहका विद्यार्थी सङ्लग्न छन् ।

उपहार र पार्सल, सामाजिक सञ्जालको गलत प्रयोग, नक्कली अनलाइन प्लाटफर्म, वन टाइम पासवर्ड (ओपीटी) र चिट्ठालगायत माध्यमबाट ठगी अपराध गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

इकाइले सार्वजनिक गरेको साइबर प्रविधिमा आधारित रणनीतिक विश्लेषण प्रतिवेदन (स्ट्राटेजिक एनालसिस रिपोर्ट–२०२४) ले किशोरावस्था उमेर समूहका व्यक्तिको धेरै वित्तीय कारोबार शङ्कास्पद देखिएको छ ।

व्यक्ति र पेसामा ‘विद्यार्थी’ उल्लेख गरेका व्यक्ति ठगीमा सबैभन्दा बढी सङ्लग्न रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ । जम्मा ५०१ वटा शङ्कास्पद कारोबारमा ३१९ वटा साइबरमा आधारित ठगीसँग सम्बन्धित पाइएको छ ।

नमूना छनोटमा परेका १५१ खातामध्ये १४५ वटा (७८ प्रतिशत) खाता सन् २०२३ देखि २०२४ को बीचमा खुलेका थिए । ती मध्ये करिब आधा अर्थात् ४९ प्रतिशत खातामा तीन महिनामै शङ्कास्पद कारोबार हुन थालेको थियो

२५ प्रतिशत खाता खोलिएको नौ महिनापछि शङ्कास्पद कारोबार हुने गरेको भेटिएको छ । तीन प्रतिशत खातामा एक वर्षपछि र २३ प्रतिशत खातामा एक वर्षभन्दा बढी अवधिमा शङ्कास्पद कारोबार भएको पाइएको छ । यो तथ्याङ्क विश्लेषण गर्दा उनीहरूले अपराध गर्नकै लागि बैंक खाता खोल्ने गरेको पुष्टि भएको केन्द्रीय बैंकको दाबी छ ।

अपराधका माध्यमहरूमा सबैभन्दा बढी २१ प्रतिशत उपहार र पार्सलको लोभ देखाएर भएको छ । सामाजिक सञ्जालमार्फत गोप्य विवरण सार्वजनिक गरिदिने डर देखाएर तथा आइफोन उपहार दिने लोभ देखाएर १५/१५ प्रतिशत एवम् नक्कली अनलाइन प्लाटफर्ममार्फत १३ प्रतिशतले अपराध गरेको भेटिएको छ ।

सात प्रतिशतले अनधिकृत रूपमा अरूको खातासम्म पहुँच पुर्‍याएर र नौ प्रतिशतले ओटीपीमार्फत ठगी गर्ने गरेका छन् । बाँकी १३ प्रतिशतले अन्य माध्यमबाट ठगी गरेका प्रतिवेदनमा उल्लेख छ ।

प्रादेशिक रूपमा हेर्दा सबैभन्दा बढी घटना बागमती प्रदेशमा हुने गरेको भेटिएको छ । १४५ वटा शङ्कास्पद कारोबारमध्ये बागमतीमा ५५, मधेशमा ४१, कोशीमा २७, लुम्बिनीमा १०, गण्डकीमा ६, सुदूरपश्चिममा दुई र कर्णाली प्रदेशमा एउटा भएको छ ।

सामाजिक सञ्जालमा सरकारी कार्यालयको लोगोसमेत प्रयोग गरेर रोजगारीका लागि आह्वान गरिएको प्रशस्त विज्ञापन भेटिइन्छन् । त्यस्ता विज्ञापनमा रोजगारी गर्न पढाइ र अनुभव पनि नचाहिने उल्लेख गरिएको हुन्छ । विश्वासै गर्न नसकिने तलब अफर गरिएको हुन्छ । त्यस्ता माध्यममा पुगेर पनि नागरिकहरू ठगीमा परिरहेका छन् ।

केही समयअघि नेपाल राष्ट्र बैंकले त्यस्ता विज्ञापनको भ्रममा नपर्न सचेत गराएको थियो । बैंकले कर्मचारी नियुक्तिका लागि सामाजिक सञ्जालमा विज्ञापन नखुलाउने बताएको थियो ।

नेपाल राष्ट्र बैंकका निर्देशक तथा वित्तीय जानकारी इकाइ प्रमुख वासुदेव भट्टराईले ठगी गर्नकै लागि बैंकको खाता खोल्ने फर्ममै ‘विद्यार्थी’ लेख्ने गरेको पाइएको बताएका छन् । खबरहबसँग कुरा गर्दै उनले भने, ‘बैंकमा खाता खोल्दा व्यक्तिगत विवरण तथा पेशा उल्लेख गर्नुपर्छ । पदमा विद्यार्थी उल्लेख गरेका कयौं व्यक्तिहरू वित्तीय अपराधमा सङ्लग्न देखिएका छन् ।’

विद्यार्थी भनेपछि शङ्काको घेरामा परिँदैन भन्ने भ्रमले पनि यसो भएको हुनसक्नेउ भट्टराईको अनुमान छ । विद्यार्थी नै सङ्लग्न हुन् वा विद्यार्थीको आवरणमा अरूले अपराध गरिरहेका छन् भन्नेबारे व्यापक अनुसन्धान गर्नुपर्ने उनले बताए ।

वित्तीय अपराधमा सङ्लग्नहरू आइटी वा अन्य कुन क्षेत्रका हुन् भन्ने कुरा इकाइले अनुसन्धान नगरेको उनको भनाइ छ । ‘के कस्ता मानिस यस्ता अपराधमा सङ्लग्न छन् ? किन सङ्लग्न छन् ? कस्तो परिवारबाट छन् ? जस्ता कुरा सम्बन्धित निकायले नै पत्ता लगाउनुपर्छ । हामीले समस्या देखाइदिएका छौं,’ भट्टराइले भने ।

साइबर ब्यूरोका प्रवक्ता दीपक अवस्थी सजिलै अरूलाई विश्वास गर्ने समय नभएको बताउँछन् । उनी भन्छन्, ‘पढेलेखेका अत्यन्त सचेत मानिसहरू ठगीमा परिरहेका छन् । स्मार्ट ठगहरूको जन्म भएको छ । इन्टरनेटको माध्यमबाट अहिले ठगी गर्न झनै सजिलो भएको छ ।’

चिठ्ठा, गेम र अनलाइन जुवाजस्ता माध्यमबाट नागरिकहरू दिनानुदिन ठगिँदै आएका अवस्थीले उल्लेख गरे । उनका अनुसार, ब्यूरोमा परेका उजुरीमाथि छानबिन गर्न आवश्यक जनशक्ति कम छ, उजुरी नआएका घटनाप्रति ब्यूरोले काम गर्न सक्ने अवस्था नै छैन ।

‘नागरिक वित्तीय ठगीमा पर्नसक्ने अवस्थाबाट जोगाउने संयन्त्र खडा गर्ने काम सरकारको हो । ठगिन सक्ने कुरामा व्यक्ति आफू पनि सचेत हुनुपर्छ,’ अवस्थीले भने ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ८ : ०९ बजे

म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालतमा पेस

काठमाडौं– साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई

रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेप्से परिसूचक साढे २ अंकले

म्याद थपका लागि प्रसाईंलाई आज अदालत लगिने

काठमाडौं– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार

छविलाल जोशीलाई काठमाडौं अदालतमा पेस गरिँदै

काठमाडौं– सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडिया