काठमाडौं– बैतडी पञ्चेश्वर ४ निवासी रविना चन्द २० वर्षको उमेरमै मालबाहक गाडी चलाएर चर्चामा छिन् । मानिसहरुले उनलाई साहसी किशोरीका रुपमा चिनेका छन् । तर, उनीभित्र जति साहस छ, त्योभन्दा बढी स्वाभिमानी जीवन–दर्शन पनि छ।
बुवाको व्यवसायलाई सघाउन रविना मालबाहक गाडीको चालक बनेकी हुन् । बैतडीमा बुवाको किराना र फेन्सी पसल छ । पसलको सामान ढुवानी गर्न ६ वर्ष पहिले रविनाका बुवाले मालबाहक गाडी किनेका थिए ।
सात महिना अगाडि रविनाले सवारी लाइसेन्स लिइन् र घरमा थन्किएको गाडी हाँक्न थालिन् ।
अहिले रविना १२ कक्षा सकेर स्नातक पढ्ने तयारीमा छिन् ।
रविनाका केही सिद्धान्तहरु छन् । जस्तो– उनी महिलाले कमजोर भएर बस्न नहुने र अथोपार्जनमा लाग्नुपर्ने बताउँछिन् । कसैको हप्काइ, विभेद वा हिंसा सहन नहुने उनको भनाइ छ । भन्छिन्, छोरी मान्छे कडा हुनुपर्छ, तब मात्रै कसैले हेप्न सक्दैन ।’
अभिभावकले आफ्ना छोराछोरीलाई १२ कक्षा सकेपछि पैसा दिन छाड्नुपर्ने र उनीहरुले आफैं कमाएर पढ्नुपर्ने रविना बताउँछिन् । विदेशमा जस्तै १८ वर्ष कटेपछि आफ्नै खुट्टामा उभिनुपर्ने सिस्टम नेपालमा पनि चाहिने रविनाको भनाइ छ ।
उनी भन्छिन्, ‘मेरो उमेरका साथीहरु अभिभावकको पैसामा मोज गरिरहेका छन् । प्लस टु सकेपछि अभिभावकले पनि पैसा दिन छोड्नुपर्छ ।’
रविना जस्तोसुकै श्रमलाई पनि सानो–ठूलो भनेर भेदभाव गर्न नहुने र श्रमलाई सम्मान गर्नुपर्ने बताउँछिन् । काम खोज्दै विदेशतिर जानु भन्दा स्वदेशमै श्रम गरी खानुपर्ने उनको सिद्धान्त छ ।
सुनौं रविनाको अनुभव, उनकै शब्दमा–
म ६ जनामध्येकी साइली छोरी हुँ । सवारी लाइसेन्स निकालेको ७ महिना भयो । हाइट र वजन कति छ, नापेको छैन । नेपाली विषयबाट फर्खरै १२ कक्षा पास गरें । बुवालाई सघाउने भनेर काममा लागें ।
बाहिरबाट हेर्दा सबै राम्रो जस्तो देखिए पनि परिवारमा समस्या हुन्छ । तिनै समस्याले मलाई बुवाको पैसा जोगाइदिनुपर्छ भन्ने लाग्यो । पसलमा सामान ढुवानी गर्न सजिलो हुन्छ भनेरै बुवाले गाडी लिनुभएको थियो । गाडी घरमै थन्क्याएर राख्नुपर्ने स्थिति आयो ।
सवारी साधन थन्क्याएर राखेपछि के हुन्छ ? त्यो कवाडी हुन्छ । त्यत्रो पैसा तिरेर किनेको गाडी कवाड बनाएर राखेपछि हाम्रो अवस्था झनै खस्किन्छ । घरमा त्यो गाडी थन्किएको मैले देख्न सकिनँ । त्यो गाडी नचल्नु भनेको हाम्रो घर नचल्नु हो ।
घरमा ड्राइभर हुँदै मैले अलि–अलि चलाउन सिकेकी थिएँ । म यसैमा लाग्छु भनेर सिकेकी थिइनँ तर रहरले सिकेको अहिले काम लाग्यो । घरको पैसा बाहिर नपठाउनु पनि कमाउनु हो नि ।
बैतडीदेखि महेन्द्रनगरको रुटमा गाडी हाँक्छु । महेन्द्रनगरमा पनि हाम्रो घर छ । जता रात पर्यो, उतै बस्छु । होटलमा बास बस्नुपर्दैन ।
गाडीमा सामान र यात्रु दुवै बोक्नुपर्छ । यति सानी मान्छे, कति साहसी भन्छन् । कति राम्रो गाडी चलाएको भन्छन् यात्रुहरु । मैले चलाएको गाडीमा यात्रु ढुक्क हुन्छन् र दङ्ग पर्छन् । म पर पुग्दासम्म हेरिरहन्छन् । मेरो रुटमा दुईघण्टा कच्ची बाटो छ ।
म काममा खुसी हुने मान्छे हो । बुवाले गरेको दुःख देख्दै आएकी छु । काम कुनै पनि सजिलो छैन । त्यसकारण कामलाई स्वीकार गर्न सकियो भने आफैं सजिलो हुँदै जान्छ । इमान्दारपूर्वक मिहिनेत गरेर पैसा कमाउन सजिलो छैन । तर, दुःख सहेर कमाएको पैसाले निकै आनन्द दिन्छ । पैसा कति कमाएको छु भन्ने हिसाब छैन तर गाडी चलाउने ड्राइभरलाई दिने पैसा जोगिएको छ ।
छोरी मान्छेले आफ्नै खुट्टामा उभिनुपर्छ । गाडी चलाएपछि छोडिहाल्नु भएन । अब स्नातक प्राइभेट पढ्ने योजनामा छु । सेल्फ स्टडी गरेर परीक्षा दिन पाइन्छ । अब मलाई दिनहुँ कलेज गएर कक्षा लिने टाइम छैन । तर, पढाइलाई निरन्तरता दिन्छु ।
नेपालीहरुमा पढेपछि राम्रो जागिर पाइन्छ भन्ने मात्रै छ । आफैं रोजगारको सिर्जना गर्छु भन्ने छैन । अहिले त झनै पढेपछि राम्रो देशको भिसा लाग्छ भन्ने छन् । यो देशमा भविष्य देख्नै छाडे । विदेशमा गएर जस्तो पनि काम गर्ने तर आफ्नो देशमा काम गर्न लाज मान्नेहरु छन्
हामीले पढाइलाई मात्रै प्राथमिकता दिएर हिँडेका छौं । पढ्नुपर्छ, धेरै पढेको राम्रो हो । तर, पढाइले मात्रै पनि हुँदैन । काम गरेर खान हातमा सीप पनि हुनुपर्छ । तर, कलेजले सीप सिकाउँदैन । डिग्री पास गरेर पनि मानिसहरुले काम पाइरहेका छैनन् । पाए पनि कति थोरै तलबमा काम गर्नुपरेको छ । त्यसको मुख्य समस्या भनेको सीप नभएर हो ।
अर्को, हामी नेपालीहरुमा पढेपछि राम्रो जागिर पाइन्छ भन्ने मात्रै छ । आफैं रोजगारको सिर्जना गर्छु भन्ने छैन । अहिले त झनै पढेपछि राम्रो देशको भिसा लाग्छ भन्ने छन् । यो देशमा भविष्य देख्नै छाडे ।
विदेशमा गएर जस्तो पनि काम गर्ने तर आफ्नो देशमा काम गर्न लाज मान्नेहरु छन् । लाज किन मान्छन् त भन्दा तपाई–हामीले नै त्यसले पढेर के भयो भनेर उसले गरेको कामलाई गिज्याउँछौं । नेपालीहरुमा कामप्रति श्रद्धा छैन । सम्मान छैन । जबसम्म हामी कामलाई कामका रुपमा मात्रै लिन सक्दैनाैं, तबसम्म युवाहरुलाई विदेश जानबाट रोक्न सक्दैनौं ।
मेरो उमेरका साथीहरु अभिभावकको पैसामा मोज गरिरहेका छन् । प्लस टु सकेपछि अभिभावकले पनि पैसा दिन छोड्नुपर्छ । पैसाको महत्व सिकाउनुपर्छ । विदेशमा १८ वर्षपछि आफैं कमाएर खानुपर्छ, त्यो नियम नेपालमा पनि हुनुपर्छ ।
काम सानो होस् वा ठूलो हेला गर्न हुँदैन ।
अब मलाई केटा जस्तो बन्न खोजेकी छे भन्लान् । तर मैले केटाजस्तो बन्नका लागि होइन, आत्मनिर्भर हुनका लागि आफ्नो रुचि र हातमा भएको सीप प्रयोग गरेको हो । म अलि कडा स्वभावकी छु । छोरी मान्छे कडा हुनुपर्छ । तब मात्रै कसैले हेप्न सक्दैन ।
हाम्रो समाज नै महिला कमजोर छन् भन्नेमा छ । यिनीहरुको कमजोरीको फाइदा लिऔं भन्ने हुन्छन् । तिनीहरुलाई तर्साउनकै लागि पनि कडा स्वभाव लिएर हिँड्नुपर्छ ।
यही समाजमा छोरीले पनि काम गर्न सक्छन् । उनीहरुलाई साथ र सहयोग चाहिन्छ भन्नेहरु पनि हुन्छन् । नकारात्मक र सकारात्मक सोच दुवैथरीका मान्छेहरु हुन्छन् समाजमा ।
मेरो सामुन्ने नै आएर मलाई दुव्र्यवहार गरेका भने छैनन् । कहिलेकाँही कसैको नजर भने सकारात्मक देख्दिनँ । मनमनै रिस र डाहा गरेको देख्छु । र, मनमनै मेरो कुभलो चिताउनेहरु छन् । जसको मनोभाव स्पष्ट बुझ्न सकिन्छ । तर, म आफ्नो काममा तल्लीन हुने भएकाले मेरा बारेमा के सोच्छन् भनेर त्यति सोच्न भ्याउन्नँ । मलाई त्यस्तो कुरामा रुचि पनि छैन । कसैले जिस्काए भने पनि बेवास्ता गर्ने गरेकी छु ।
प्रायः गाडीमा आमा र बुवामध्ये कोही एक हुनुहुन्छ । त्यसकारण पनि मलाई त्यति डर छैन । एक्लै पनि मलाई खासै डर लाग्दैन ।
प्रतिक्रिया