भाषा सिक्दै कुमाल समुदाय « Khabarhub

भाषा सिक्दै कुमाल समुदाय


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–८ माथिल्लो किमलडाँडा निवासी कुसमाया कुमाललाई आफ्नै भाषा छ भन्ने थाहा भए पनि भाषाको ज्ञान थिएन । यसअघि उनले कहिल्यै कुमाल भाषा सुनेकी थिइनन् ।

‘कुमाल जातिको भाषा छ भन्ने त सुनेको थिएँ, तर कस्तो हुन्छ भन्ने थाहै थिएन’, कुसमायाले भनिन्, ‘अहिले भाषा सिक्दैछु, आफ्नो भाषा जान्नुपर्ने रहेछ ।’ आफ्नै भाषा, संस्कृति रीतिरिवाजका बारेमा जानकारी लिन पाउँदा खुसी लागेको उनको भनाइ छ । ‘हामी त अहिलेसम्म कुमाल भाषा बोलेका छैनौँ, अब सिक्दै छौँ, सिकेपछि जानिहाल्छौँ’, उनले भनिन् ।

सोही वडा निवासी अम्बिका कुमाललाई भने आफ्नो भाषा छ भन्ने नै थाहा थिएन । उनले भनिन्, ‘मलाई त कुमाल जातिको भाषा छ होला र भन्ने थियो, हामी त अहिलेसम्म नेपाली भाषामै बोलिरहेका छौँ, कुमालको पनि भाषा छ भन्ने थाहा पाउँदा खुसी लाग्यो ।’ कुमाल भाषा सिकिरहेको बताउँदै उनले अब कुमाल भाषामै घरपरिवारमा कुरा गर्ने सुनाइन् ।

किमलडाँडामा कुसमाया र अम्बिका जस्तै ६० जनाले आफ्नो भाषा सिकिरहेका छन् । यहाँका कुमाल समुदाय आफ्नो भाषा संरक्षणका लागि जुटेका छन् । भाषा, संस्कृति बिस्तारै हराउँदै गएपछि सुरुमा मातृभाषा सिकाउन थालिएको छ ।

शुक्लागण्डकीमा विभिन्न स्थानमा छरिएर रहेका कुमाल समुदाय एकै ठाउँमा जम्मा भएर भाषाको कक्षा लिइरहेका छन् । कुमाल समाज नेपाल नगर कार्यसमिति शुक्लागण्डकीको आयोजनामा शनिबारदेखि १० दिनसम्म भाषा कक्षा सञ्चालन हुनेछ ।

भाषा संरक्षण कार्यक्रममा अभिभावक र विद्यालयमा अध्ययनरत विद्यार्थीसमेत गरी ६० जनाको सहभागिता रहेको कुमाल समाजका केन्द्रीय उपाध्यक्ष कुलकुमार कुमालले जानकारी दिए ।

तालिममा अर्घाखाँचीका तिलकबहादुर कुमाल र पाल्पाका उषा कुमालले भाषा सिकाइरहेका छन् । नगरपालिकाकाले अल्पसङ्ख्यक कुमाल, भुजेल र थकाली समुदायको भाषा संरक्षणका लागि बजेट विनियोजन गरेको थियो ।

कुमाल समुदाय देशका ७० जिल्लामा बसोबास गर्छन् । विसं २०७८ को जनगणनाअनुसार देशभरमा कुमालको सङ्ख्या एक लाख २९ हजार सात सय दुई छ । तनहुँमा आठ हजार सात सय २७ जनसङ्ख्या छ भने शुक्लागण्डकीमा तीन हजार सात सय बसोबास गर्छन् ।

शुक्लागण्डकी–६, ८ र १० मा कुमाल समुदायको बसोबास छ । देशभरका कुमालमध्ये करिब १२ प्रतिशतले मात्रै आफ्नो भाषा बोल्नसक्ने कुमाल भाषाका प्रशिक्षक तिलकबहादुरले जानकारी दिए । लमजुङ, गोरखा, पाल्पा, नवलपरासीमा बस्ने कुमालले आफ्नो भाषा बोल्छन् तर बसाइँ सरेर अन्यत्र गएकाले बोल्न छाडेको उनको भनाइ छ ।

राष्ट्र र राष्ट्रियतालाई समृद्ध बनाउन हरेक मातृभाषाको संरक्षण, प्रवर्द्धन र विस्तार हुनु जरुरी रहेको प्रशिक्षक कुमालले बताए । उनले भने, ‘भोलिको पुस्ताले आफ्नो मातृभाषा दैनिक व्यवहारमा प्रयोग गर्न यस्ता कार्यक्रम हरेक समुदायमा पुर्‍याउनै पर्छ, राज्यका तीनै तहका सरकारले स्पष्ट नीति लिए पनि कतिपय स्थानीय तहमा पाठ्यक्रम निर्माणका क्रममा कुनै जातिको बाहुल्यता भएको ठाउँमा पनि मातृभाषामै पुस्तक तयार हुन सकेको छैन ।’

मातृभाषाकै विद्यालय स्थापना गरी जनशक्ति तयार गर्नुपर्ने उनको सुझाव छ । उनका अनुसार देवनागरीकै लिपिमा कुमाल भाषा लेखिन्छ । भारोपेली परिवारको कुमाल भाषा नेपाली र हिन्दीसँग मिल्दोजुल्दो हुन्छ । वाक्य संरचना पनि नेपाली भाषासँगै मिल्दोजुल्दो भएकाले सिक्ने इच्छाशक्ति भएमा सिक्न अप्ठ्यारो नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  २ : ३५ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई