सत्ता सम्हालिरहेको एमालेले किन खोज्दैछ सडकको सहारा ? | Khabarhub Khabarhub

सत्ता सम्हालिरहेको एमालेले किन खोज्दैछ सडकको सहारा ?

ओलीलाई घेराबन्दीपछि शक्ति देखाउन सभा



काठमाडौं – सत्ताको बागडोर सम्हालिरहेको (नेकपा) एमालेले मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्ने भएको छ । संसदीय अभ्यासमा साधारणतया यस्ता सभा प्रतिपक्षले गर्छन् । तर एमाले आफ्नै सरकारको पालामा पनि सडकमा कार्यकर्ता उतार्न लागेको छ । जागरण सभा नाम दिएर सत्तारुढ दल नै सडकमा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्दैछ । हुन त तत्कालीन अवस्थामा नेकपामा विवाद हुँदा पनि यस्तै दृश्य देखिएको थियो । तर अहिले न त एमालेभित्र विवाद छ न नेताहरूबीच नै भनान छ । तर पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गर्दा गर्दै पनि सुनियोजित घेराबन्दी गरिएको भन्दै सडकमा कार्यकर्ता उर्तान लागेका हुन् ।

आइतबार दिवंगत भएका पूर्वसभामुख दमननाथ ढुङ्गानाले ‘सदन प्रतिपक्षीको र सरकार सत्ता पक्षको’ हुने कुरा उनले प्रतिनिधि सभामै स्थापित गरेका थिए । यही विषय एमालेका नेता रघुजी पन्त, पदम गिरी र योगेश भट्टराईले भन्दै आएका छन् । तर एमालेले सरकारमै हुँदा पनि संघीय राजधानी काठमाडौंको दरबारमार्गमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

एमालेले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजना गर्न लागेको सभाका लागि बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको संयोजकत्वमा टिम बनाएको छ ।

समितिको सदस्यमा युवालाई समेटिएको छ । क्षितिज थेबे, समिक बडाल, टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, जनक चौधरी र पुरुषोत्तम आचार्य जस्ता युवा नेतालाई सभाको कमान्ड दिइएको हो।

एमालेमा सल्किएको भुसको आगो !

जागरण सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । सभा भृकुटीमन्डपमा गर्ने तयारी थियो । तर अब उक्त सभा दरबारमार्गको सडकमा हुनेछ । जहाँ असोज ३ गते संविधान दिवसमा पनि प्रधानमन्त्री ओलीकै इच्छामा कन्सर्ट गरिएको थियो ।

एमाले बागमती इन्चार्ज भट्टराईका अनुसार ओली सरकारका उपलब्धिसमेत सभामा सुनाइनेछ । आफू नेतृत्वको सरकारमाथि उठेको प्रश्नको जवाफ पनि उनले त्यहाँबाट दिने छन् । अहिले ओलीमाथि प्रतिपक्षी र जनस्तरबाट पनि उनको कार्यक्षमतामा प्रश्न उठिरहेको छ ।

सरकारमाथि प्रश्न
गत असार ३० गते कांग्रेस, एमाले मिलेर बनेको सरकारमा साना दल पनि जोडिएका छन् । दुई तिहाइ नजिकको सरकारले पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासा चर्कै सुनिएका छन् । ओलीले यसअघि दुई कार्यकाल सरकार चलाउँदा पनि यति चर्को आलोचना खेप्नु परेको थिएन । उनको क्याबिनेटका मन्त्रीको कार्यक्षमतामा पनि प्रश्न उठेका छन् । अहिले काम गर्न नसक्ने मन्त्रीलाई हटाउने दिशामा पनि छलफल भइरहेको छ ।

तर, प्रधानमन्त्री ओली सरकार असफल भएको स्वीकार्दैनन् । उनी त केही अराजक र देशमा स्थिरता नचाहने तत्वले अनावश्यक हल्ला फैलाएको तर्क गरिरहेका छन् । मन्त्रीको पर्फमेन्स नदिएको चर्चा चलेपछि १०० दिने उपलब्धिसमेत हरेकले सार्वजनिक गरे । तर, सय दिने उपलब्धि सुनाउँदा पनि केही मन्त्री रक्षात्मक देखिए ।

एमाले नेताहरू सरकारका राम्रा कामबारे प्रचार हुन नसक्दा समस्या भएको बताउँछन् । त्यहीकारण जागरण सभा गर्न लागिएको नेताहरूको तर्क छ । उनीहरूले यसो भने पनि ओली नेतृत्वको बलियो सरकार नतिजा दिन असफल भएपछि सडकको सहारा खोजेको देखिन्छ ।

यसअघिका सफल अर्थमन्त्री विष्णु पौडलले पनि यस पटक आर्थिक क्षेत्रमा उत्साह जगाउने गरी थालनी गर्न सकेका छैनन् । यसबारेमा अर्थविद् चन्द्रमणि अधिकारी सरकारले लक्ष्यअनुसारको राजस्व नै उठाउन नसकेको बताउँछन् । सरकार सरकार अलमलमा पर्दा राजस्व उठाउन नसकेको अधिकारीको बुझाइ छ ।

ओली प्रधानमन्त्री भएर पनि काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति खनिएको गुनासो चर्कै सुनिएको छ । उनले बालेन्द्रसँग विवाद गर्दा युवापंक्ति रुस्ट छ ।

एमालेले सभा गर्ने लागेको थाहा पाएपछि भाइरल मेडिकल व्यवसायी प्रसाईंले पनि काठमाडौंमा त्यही दिन सभा गर्न खोजेका थिए । तर ओलीबारेको फेक भिडियो र झुटा कागजात प्रकरणमा उनी तीन दिनदेखि प्रहरीको हिरासतमा छन् ।

कुनै बेला ओलीले नै साथ दिएका रास्वपा सभापति रवि लामिछाने पनि कात्तिक ३ देखि निरन्तर हिरासतमा छन् । यी यावत कारणले विशेषतः युवा पंक्तिले आक्रोश पोखेको देखिन्छ ।

किन शक्ति प्रदर्शन ?

यतिखेर एमालेमा दुई लाइन संघर्ष पनि छैन । ओलीबारे नेताहरू असन्तुष्ट भए पनि प्रकट गर्न सकेका छैनन् । तत्कालीन नेकपा हुँदा पुष्पकम दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालले ओलीविरुद्ध संघर्ष चर्काएका थिए । उनीहरूले बालुवाटार सडकमै निस्किएर नेकपाकै सरकारविरुद्ध आन्दोलन गरेका थिए ।

त्यसबेला नेकपाका दोस्रो अध्यक्ष दाहाल पनि सडकमा ओर्लिए । तत्कालीन समयमा नेकपामा दुई लाइन संघर्ष चल्दा कार्यकर्ता सडकमा उतार्ने होडबाजी थियो । तर अहिले एमालेमा त्यस्तै विवादको अवस्था पनि छैन ।

ओलीसँग अध्यक्षमा हारेका नेता भीम रावल पनि अहिले मौन छन् । पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेमा फर्किने भने पनि तत्काल त्यो सम्भावना छैन ।अहिले ओलीलाई सरकारमा ढुक्कसँग काम गर्ने वातावरण छ । तर सरकारको कामलाई लिएर भने प्रश्न उठिरहेको छ ।

नेताहरू भन्छन्, ‘यो सडक आन्दोलन होइन’

सभाका संयोजक एमाले बागमती प्रदेश इन्चार्ज भट्टराई यो सभामा तीन जिल्लाका एक लाखभन्दा बढी कार्यकर्ता र शुभेछुक भेला हुने बताउँछन् । जनतासँगको सम्बन्ध जीवन्त राख्न जागरण सभा गर्नुपरेको भट्टराईको तर्क छ ।

‘सरकारका राम्रा काम, निर्णय र भावी योजनालार्ई कार्यान्वयन गराउन सडकमा गएर जनमत जान्ने र पार्टी पंक्तिलाई पनि जानकारी गराउने गर्नुपर्छ’, भट्टराईले भने, ‘जनतालाई सरकारका राम्रा काम र योजनामा सहमत गराउन यी गतिविधि अगाडि बढाएका हौँ । स्थानीय तहको निर्वाचनको निम्ति यो सभा महत्वपूर्ण छ । हामी जनतासँग सरकारलाई जोड्ने कुरा निरन्तर चलाउँछौँ ।’

भट्टराई सत्ता हाँकिरहेको दल सडकमा आउनै नहुने कुरा इन्कार गर्छन् । उनी सरकारका राम्रा कामको जनकारी गराउने उपयुक्त थलो नै सडक भएको दाबी गर्छन् ।

सभा व्यवस्थापनका सदस्य तथा युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे समाजमा अनागरिकको व्यवहार हुन थालेपछि यस्ता कुरालाई ध्यानमा राख्नुपर्ने बताउँछन् । केही युवा परिचालन गरेर सामाजिक अभियान्ताका नाममा अनागरिक व्यवहार हुन थालेपछि एमालेले अभियान थालेको थेबेको भनाइ छ ।

‘समाजलाई अस्थिरतातर्फ लान, युवामा अझ आक्रोश बढाउने ढंगले भइरहेको प्रचारबाजी घातक छ । प्रधानमन्त्री र राष्ट्रपतिमाथि अराजकता देखाएर अन्तर्राष्ट्रियस्तरमा देशको बदनाम गरिएको छ’, थेबेले भने, ‘यसलाई नरोकिए देश दुर्घटनामा जान्छ । एमाले र ओलीलाई खेदिएकाले सरकारको कामबारे जागरण गराउन यो सभा गरिँदैछ । प्रधानमन्त्रीलाई जनता र एमालेको साथ छ । यो सरकारको विकल्प नभएको सन्देशसहित आमनागरिकमा उत्साह भर्न सडकमा जाँदैछौँ।’

एमालेले ठुलो सभा गर्न खोजे पनि उपनिर्वाचन आएपछि तयारी नगरेको थेबे बताउँछन् । जागरण सभालाई सडक आन्दोलन भन्न नहुने उनको तर्क छ । सभाले जनतामा आशा जगाउने उनले बताए । सभाले एमालेप्रतिको भरोसा बढाउने दाबी उनी गर्छन् ।

यो पनि पढ्नुहोस्

एमाले उपमहासचिव ज्ञवालीले देखेका प्रचण्डका तीन छटपटी

दरबारमार्गमा एक लाख कार्यकर्ता उतार्ने एमालेको दाबी

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ९ : १४ बजे

३१ अंकले घटेर २६८० विन्दुमा झर्‍यो नेप्से, कारोबार कति ?

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१.३१ अंकले घटेको छ । नेप्से

भारतीय सेनाध्यक्ष द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज

कृषि विकासका रणनीति परिमार्जन गर्नुपर्छ : मन्त्री अधिकारी

काठमाडौं– कृषि  तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई

पूर्वाञ्चल विश्वविद्यालयको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

विराटनगर– पूर्वाञ्चल विश्वविद्यालयले यही मङ्सिर २१ र २२ गते बालविकाससम्बन्धी

सिस्‍नेरी बाढीमा ज्यान गुमाएका ६ किशोर फुटबलरका परिवारले घेरे एन्फा (तस्बिरहरू)

काठमाडौं- मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल