रित्तिँदै गाउँका विद्यालय, समायोजन गर्दै नगरपालिका  | Khabarhub Khabarhub

रित्तिँदै गाउँका विद्यालय, समायोजन गर्दै नगरपालिका 


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिँदै गएका छन् । गाउँका विद्यालय रित्तिन थालेपछि बागलुङको गलकोट नगरपालिकाले नजिकको विद्यालयसँग समायोजन गरिरहेको छ । नगरपालिकाले तह मिलान तथा विद्यालय समायोजन कार्यविधि २०७९ नगरसभाबाट पारित गरेर कार्यान्वयन गरिरहेको हो ।

हालसम्म गलकोटका १२ विद्यालय समायोजन भइसकेका छन् भने केही हुने चरणमा छन् । भौतिकरूपमा विद्यालय निर्माण सम्पन्न भए पनि विद्यार्थी नहुँदा पठनपाठनमा समस्या हुने गरेको छ । नगरपालिकाले विद्यालय समायोजनसँगै तह मिलानसमेत गरिरहेको छ । पाँच वर्ष अगाडिसम्म गलकोट नगरपालिकाभर ७४ वटा सामुदायिक विद्यालय थिए ।

ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भएपछि नगरपालिकाले विसं २०७५ देखि विद्यालय तह मिलान तथा समायोजन गर्न थालेको हो । भौगोलिक दूरी र विद्यार्थी सङ्ख्याको आधारमा कतिपय विद्यालयलाई समायोजन र कतिपयलाई तह मिलान गर्दै आएको छ । अहिले गलकोट नगरपालिकामा ६२ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । सोमध्ये १३ माध्यमिक र ५१ वटा आधारभूत तहका विद्यालय छन् ।

अघिल्लो वर्षमात्रै नगरपालिकाले छ वटा विद्यालय समायोजन र पाँच वटा तह मिलान गरेको थियो । दिनप्रतिदिन विद्यार्थी घटेपछि नगरपालिकाले तह मिलान तथा समायोजन गर्दै आएको हो । विद्यालय समायोजनपछि दूरी टाढा पर्ने विद्यार्थीलाई नगरपालिकाले यातायातको व्यवस्था गर्दै आएको छ ।

तह मिलान तथा विद्यालय समायोजन कार्यविधिमा कक्षा १–३ मा १५ जना, १–५ मा २५, ६–८ मा २१, ९–१० मा २५ र ११–१२ मा २५ जना विद्यार्थी हुनुपर्ने मापदण्ड रहेको गलकोट नगरपालिकाका शिक्षा अधिकृत शिव खड्काले जानकारी दिए  ।

ग्रामीण क्षेत्रका विद्यार्थी कम भएपछि यस वर्ष करिब पाँच वटा विद्यालय समायोजन गर्ने उनको भनाइ छ । हाल गलकोटमा आठ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालय समायोजन तथा तह मिलान गर्दा शिक्षक नपुगेका विद्यालयमा व्यवस्थापन गर्न सहज हुने र शैक्षिक गुणस्तरलाई बढाउन सकिने शिक्षा अधिकृत खड्काको भनाइ छ । विद्यालय समायोजनपछि शैक्षिक सुधार हुँदै गएको छ ।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गाउँका अधिकांश मानिस बजार झरेपछि विद्यालय खाली भएको भन्दै विद्यालयमा शिक्षक खटाउनुभन्दा विद्यार्थीलाई एकै ठाउँमा राखेर पठनपाठन गर्ने र शैक्षिक गुणस्तर बढाउने गरी नगरपालिका लागिरहेको बताएका छन् ।

यहाँबाट धेरै सङ्ख्यामा विदेश गएको र आफ्ना बालबालिका पनि उतै लैजाने गर्दा गाउँका विद्यालयमा विद्यार्थी अभाव भएको भण्डारीको भनाइ छ । गत वर्षदेखि वडा नं ७ मा विद्यार्थीका घरघरमा गाडी लिन जाने र अन्य वडाका विद्यार्थीलाई नगरपालिकाले यातायात खर्च दिने गरेको उनले बताए ।

प्रवक्ता भण्डारीले भने, ‘पहिला गलकोटका सबै ठाउँमा विद्यार्थीको चाप थियो, शिक्षक व्यवस्थापन र विद्यालयको भौतिक अवस्था कमजोर थियो, तर अहिले सबै विद्यालयमा पूर्वाधार पर्याप्त भएका छन् तर विद्यार्थी घटेर कम छन्, गाउँ अहिले सुनसान बनेका छन्, गलकोट बजार क्षेत्र र मध्यपहाडी लोकमार्ग छेउछाउमा बस्ती विकास हुँदै गयो, माथिल्लो क्षेत्रबाट सबै तल झर्न थाले, त्यसले गर्दा नगरपालिकाले विद्यालय समायोजन गर्न थालेको हो, धेरै विद्यालयका शिक्षक एकै ठाउँमा हुनुहुने भयो, यसले गर्दा शैक्षिक गतिविधि केही सुधार भएको छ ।’

विद्यालय समायोजनपछि आजभोलि विद्यार्थी लिन गाडी घरघरमा पुग्छन् । गाडी घरमै लिन आएपछि विद्यार्थी पनि उत्साहित भएका छन् । दैनिक घन्टौँ लगाएर विद्यालय पुग्ने विद्यार्थी अहिले केही मिनेटमै पुग्छन् भने समयमै घरमा फर्किने गरेका छन् । गलकोट नगरपालिकाको सबैभन्दा टाढाको बस्ती टोकरी गाउँ हो । यस गाउँबाट आधारभूत र माध्यमिक तह अध्ययन गर्न जनहित माध्यमिक विद्यालय मल्लमा झर्नुपथ्र्यो

विद्यालय झर्दा ओरालो पर्ने हुँदा एकै घण्टामा पुग्ने गरे पनि घर फर्किँदा दुई घण्टा बढी लाग्थ्यो । अहिले नगरपालिकाले पिकअप जिपमा विद्यार्थी ओसारपसार गर्न थालेपछि समयमै घरमा पुग्न थालेका छन् । हिउँदमा भन्दा वर्षाद्को समयमा बढी समस्या भोगेको जनहित माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत विद्यार्थी निकिता थापाले बताए। थापाले पोहोरसालसम्म निकै समस्या भोगेको सुनाउँदै यस वर्षदेखि गाडी घरमै लिन आउँदा घन्टौँ हिँड्नुपर्ने बाध्यता हटेको सुनाए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १ : ४० बजे

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते

न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल

महिला टी–२० विश्वकप : भारतले पाकिस्तानलाई हरायो

काठमाडौं – आइसीसी महिला टी–२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित

एनपीएलमा विनोद भण्डारी सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विकेटकिपर ब्याट्सम्यान विनोद