आजका समाचार : संसद बैठकदेखि थापाथली अस्पतालबाट बच्चा चोरीसम्म | Khabarhub Khabarhub

आजका समाचार : संसद बैठकदेखि थापाथली अस्पतालबाट बच्चा चोरीसम्म


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दिनभर आज सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिटो टुंगाे लगाउन सांसदहरुको माग, थापाथली अस्पतालबाट बच्चा चोरी भएको भन्दै प्रहरीमा उजुरी, एमालेले माग्यो तीन मन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ, मोरङमा लरी पल्टिँदा तीन जनाको मृत्यु, नामिबियासँग नेदरल्याण्ड २४ रनले पराजितलगायत रहनेछन् ।

सङ्क्रमणकालीन विधेयक सदनबाट छिट्टै पारित हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनबाट छिट्टै पारित हुने बताएका छन् ।

२३ औं मजदुर बलिदान दिवसका अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उपसमिति र समिति हुँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी भइरहेको र पीडितलाई न्याय हुने गरी कानूनको टुङ्गो लाग्ने बताएका हुन् ।

संघीयता तथा संविधान कार्यान्वयनका लागि कानुन निर्माण उच्च प्राथमिकतामा : कानुनमन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संघीयता तथा संविधान कार्यान्वयनका लागि कानुन निर्माण उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा ‘मौलिक हक कार्यान्वयनका लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नुपर्नेसम्बन्धी’ सङ्कल्प प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले सरकारले संविधान कार्यान्वयनको कार्ययोजना बनाएर कानुन निर्माणलाई प्राथमिकता साथ अघि बढाएको बताएका छन् ।

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तीनै तहको सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्री यादव

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् ।

श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेशले आयोजना गरेको महिला, बालबालिका तथा सामाजिक न्याय समिति मधेस प्रदेशसभासँगको बहुपक्षीय कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा मुख्यमन्त्री यादवले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा करिब २३ प्रतिशत योगदान दिने वैदेशिक रोजगारी क्षेत्र व्यवस्थित बनाउने दायित्वबाट कोही पनि पन्छिन नपाउने उल्लेख गरे।

महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषय संसदमा प्रवेश

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानी विषय संसदमा प्रवेश गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रका सांसद माधव सापकोटाले महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषयमा प्रश्न उब्जाएका छन् ।

शुक्रबार बैठक सुरु भएलगत्तै सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोप प्रत्यारोपसहित प्रतिशोधमा उत्रिएका थिए । प्रतिपक्षी दलका सांसदहरुले सरकार र मन्त्री तथा सत्तारुढ दलप्रति आक्रोशसहित अभिव्यक्ति दिएका थिए ।

एमालेले माग्यो तीन मन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन मन्त्रीको राजीनामा मागेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेश भट्टराईले विभिन्न घटनामा मुछिएका तीन मन्त्रीको राजीनामा मागेका हुन् । साथै उक्त घटनाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने उनको माग छ ।

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री र एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोलीबीच भेट

गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ ।

शर्माको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्दै गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र गैरआवासीय नेपाली संघको भवनलाई सरकारले प्रक्रिया अनुसार लिजमा एनआरएनएलाई दिन आग्रह गरेको हो ।

थापाथली अस्पतालबाट बच्चा चोरी भएको भन्दै प्रहरीमा उजुरी

थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट २६ दिनको बच्चा चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार बच्चा गायब भएको भन्दै प्रहरीमा उजुरी परेको हो । बच्चा खोजिका लागि प्रहरी टोली खटाइएको उनले बताए ।

मोरङमा लरी पल्टिँदा तीन जनाको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगति टोलमा लरी गाडी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका-४ की ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, चार वर्षीय छोरा निशान्त अधिकारी र ८ वर्षीया रिहा खवास रहेका छन् ।

ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित

बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् ।

हिमपातका कारण घोडा, खच्चड तथा बस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिए । हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ । बिहीबार सामान्य हिमपात भएकामा रातिदेखि भारी हिउँ परेको उनले बताए । यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ ।

जग्गा प्राप्तिका लागि काभ्रेका तीन हजार भूमिहीनको आवेदन

राष्ट्रिय भूमि आयोग जिल्ला समिति काभ्रेपलाञ्चोकमा तीन हजारभन्दा बढी भूमिहीनले जग्गा प्राप्तिका लागि निवेदन पेस गरेका छन् । सरकारले भूमिहीनलाई जग्गा प्रदान गर्न सार्वजनिक अपिल गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार एक सय ७३ जना भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबासीले जिल्लास्थित कार्यालयमा आवेदन गरेका हुन् ।

भूमिहीनद्वारा जग्गा प्राप्तिका लागि निवेदन गरेअनुसार समितिले काभ्रेपलाञ्चोकका भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने तयारी गरिरहेको छ । पहिलो चरणमा जिल्लाको अतिदुर्गममा सूचीकृत खानीखोला गाउँपालिकाको भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबास गरेका नागरिकलाई निस्सा वितरण भइरहेको छ ।

अन्तर्राष्ट्रिय …

आधा शताब्दीपछि अमेरिकी निजी यान पहिलोपटक चन्द्रमामा अवतरण

एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले राम्रो सम्पर्क प्राप्त गर्नका लागि सङ्घर्ष नगरेसम्म कमजोर सङ्केत मात्र प्राप्त गर्न सकेका थिए ।

खराब सञ्चार भए पनि यानको निर्माण तथा व्यवस्थापन गर्ने कम्पनी इन्ट्युटिभ मसिन्सले यानले सिधै अवतरण गरेको पुष्टि गरेको छ । यद्यपि यान चन्द्रमाको दक्षिणी ध्रुव नजिक आफ्नो इच्छित गन्तव्यमा पुगेको थियो वा थिएन भन्नेबारे कम्पनीले कुनै थप विवरण दिएको छैन ।

मध्य गाजामा इजरायली विस्फोट ४० जनाको मृत्यु

मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत यस्तो जनाएको हो ।

प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली विमानहरूले देइर अल–बलाह सहरका धेरै आवासीय घरहरूमा धेरै छापा मारी तिनीहरूलाई पूर्ण विनाश गरायो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही पीडितहरूको शव अल–अक्सा शहीद अस्पतालमा सारिएको उल्लेख गरेको छ ।

खेलकुद …

नामिबियासँग नेदरल्याण्ड २४ रनले पराजित

आईसिसी विश्वकप क्रिकेट लिग-२ मा नामिबियाले नेदरल्याण्डमाथि पहिलो जित निकालेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया ४१.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ३ रनमा समेटियो । २ सय ४ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको नेदरल्याण्डले ४३.५ ओभरमा सबै विकेट गुमाउँदा १७९ रन मात्र बनाउन सक्यो ।

केपी ओली कप फुटबल प्रतियोगितामा केपी ओली फुटबल क्लबको विजयी सुरुवात

आयोजक केपी ओली फुटबल क्लब (केपीएफसी)ले दोस्रो केपी ओली कप फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा केपीएफसीले चर्च ब्वाइजलाई ३–० ले पराजित गर्‍यो । केपीएफसीका लागि जय गुरुङले दुई तथा फोडे फोफानाले एक गोल गरे ।

जितसँगै केपी ओली क्लब क्वाटरफाइनल पुगेको छ । खेलमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई विदेशी तथा एक आयोजक गरी १० वटा टिमले सहभागिता जनाएका छन् । नेपालका सात टिममा जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बङ्गाल क्लब र आयोजक केपी एफसी क्लब रहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ८ : ०१ बजे

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ