पुटिनसामु सी–मोदीले हात मिलाउँदा चीन र भारतमा उत्साह | Khabarhub Khabarhub

पुटिनसामु सी–मोदीले हात मिलाउँदा चीन र भारतमा उत्साह

सीमाक्षेत्रमा तनाव कम भएसँगै दुवै देशका सेना पनि पछि हट्दै


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका दुई निकट छिमेकी भारत र चीनबीच लामो समयदेखिको तिक्ततापूर्ण सम्बन्धमा सुधारको संकेत देखिएको छ । रूसको कजानमा आयोजित ब्रिक्स सम्मेलनका क्रममा दुई देशका राष्ट्र र सरकार प्रमुखबीचको भेटवार्तापछि लामो समयदेखि चिसिएको सम्बन्ध सुमधुर हुने संकेत देखिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पाँच वर्षपछि पहिलो पटक औपचारिक द्विपक्षीय वार्ता भएको छ । वार्ताका क्रममा दुवै नेताहरूले सीमा क्षेत्रको तनाव मत्थर पार्न दुई देशबीच हुन गइरहेको सम्झौताको स्वागत गरेका छन् ।

तेस्रो मुलुकमा भएको द्विपक्षीय वार्तामा दुवै नेताहरूले ‘सीमामा शान्ति’ कायम राख्ने प्राथमिकतालाई रेखाङ्कन गर्दै ‘आपसी विश्वास’, ‘आपसी सम्मान’ र ‘आपसी संवेदनशीलता’ लाई सम्बन्धको आधारसमेत बताए ।

चिनियाँ राष्ट्रपति सीले त ‘आपसी संवाद र सहयोग’ मा जोड दिँदै आफूहरूको भेटवार्तालाई विश्वल समुदायले नियालिरहेको बताए । ‘दुवै देशका जनता र अन्तर्राष्ट्रिय जगतले हाम्रो भेटलाई अत्यन्तै गौर गरेर हेरिरहेको छ,’ मोदीसँग उनले भने ।

दुई नेताबीचको भेटपछि बीबीसी हिन्दी अनलाइनले ‘पाँच वर्षबाट द्विपक्षीय सम्बन्धमा जमेको बरफ बुधबार रूसको कजानमा त्यो बेला पग्लियो, जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङले द्विपक्षीय वार्ताका दौरान जोश–जाँगरका साथ हात मिलाए’ भन्दै समाचार छापेको छ ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सले पनि मोदी–सी द्विपक्षीय वार्तालाई अवसरको संज्ञा दिँदै भनेको छ, ‘भारत र चीनका मुद्दा समाधानका लागि यो एक अहम् मौका हो । यसको स्वागत गरिनुपर्दछ ।’

भारत–चीन सम्बन्धलाई नजिकबाट हेर्दै आएका विश्लेषकहरूले पनि दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन मोदी–सी भेटवार्ता अहम् कदम भएको बताएका छन् । जवाहरलाल नेहरू विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. राजनकुमारले भारत र चीनका शीर्ष नेताहरूको भेटवार्ता अहम भएको बताएका छन् ।

‘किनकी एक हप्ता अघिसम्म दुई देशबीचमा यस्तो कुनै बैठक–छलफल हुने केही निश्चित थिएन,’ उनले बीबीसीसँग भनेका छन्, ‘दुवै देशले लद्दाखस्थित सीमाक्षेत्रमा ‘डिसइन्गेजमेन्ट’को प्रक्रिया घोषणा गरेपछि मात्रै यो भेटवार्ता भएको छ ।’

केही विश्लेषकहरू आपसी तनाव कम गर्ने सम्झौता र चीनलाई वार्ताको टेबलमा ल्याउनु भारतको ठूलो जितका रूपमा हेरिरहेका छन् । नयाँ दिल्लीस्थित ‘अब्जर्भर रिसर्च फाउन्डेशन’का अध्ययन तथा विदेश नीति विभागका उपाध्यक्ष प्रोफेसर हर्ष भी पन्तले दुई देशबीच छलफलको सुरुवात अत्यन्तै अहम रहेको प्रतिक्रिया बीबीसीलाई दिएका छन् ।

बीबीसीको हिन्दीसँग पन्तले भनेका छन्, ‘यो एक प्रकारले भारतको ठूलो जित हो । भारत चार वर्षसम्म ठूलो शक्तिका अघि उभियो । भारतले पटक–पटक सीमा क्षेत्रको स्थिति सामान्य नहुँदासम्म अन्य क्षेत्रमा पनि सम्बन्ध सुमधुर नहुने बताइरह्यो । ताजा सम्झौतामा चीनले यसलाई स्वीकार गर्यो‍ ।’

सन् २०२० मा पूर्वी लद्दाखको गलवानमा दुई देशका सेनाबीच हिंस्रक झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनका कयौं सैनिक हताहत भएको भनिए पनि क्षतिको विवरण सार्वजनिक गरिएको थिएन ।

त्यही समयबाट भारत र चीनबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । विगत पाँच वर्षदेखि दुई देशका शीर्ष नेताहरूबीच द्विपक्षीय वार्ता पनि भएको थिएन ।

लद्दाख घटनाकोे चार वर्षपछि गत सोमबार (कात्तिक ५) भारतले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा तनाव न्यूनीकरणका लागि दुई देशबीच सम्झौताको घोषणा गरेको थियो ।

यद्यपि, यसअघि पनि दुई देशबीच आपसी विवाद समाधानका लागि कयौंपल्ट वार्ताहरू भएका छन् । डोकलाममा दुई देशबीच संकट उत्पन्न हुँदा चीनको वुहानमा सम्पन्न ब्रिक्स सम्मेलनका क्रममा पनि मोदी र सीबीच द्विपक्षीय वार्ता भएको थियो ।

उक्त भेटवार्तामा पनि ‘वुहान स्पिरिट’लाई अगाडि बढाउने भनिएको थियो । सन् २०१९ मा भारतको चेन्नई नजिकै पर्ने महाबलिपुरममा मोदी र सीबीच छलफल पनि भएको थियो । तर, त्यपछि गलवानमा दुवै देशका सेनाहरूबीच झडप हुन पुगेको थियो ।

पछिल्लो भेटवार्तालाई चीनले भने आशाका साथ हेरेको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सले लेखेको छ, ‘चीन–भारत सम्बन्धहरूको दिशा वैश्विक ट्रेन्ड्स र क्षेत्रीय समीकरणबाट निर्धारित हुने छ । भारत र चीन पूर्वका दुई महान प्राचीन सभ्यताहरू हुन् । उदाउँदै गरेका विकासशील देशका रूपमा चीन–भारत सम्बन्धहरू महत्वपूर्ण छन् ।’

ग्लोबल टाइम्सले चीन र भारतले एकता र सहयोग चयन गर्दै आफ्नो स्वतन्त्रता र स्वायत्ततालाई कायम राख्नु पर्ने र आपसी द्वन्द्वबाट मुक्त भएर एक–अर्काको सफलताका लागि प्रयास गर्न आवश्यक रहेको समाचारमा उल्लेख गरेको छ ।

चीन–भारत मिलापपछाडि पश्चिमा शक्तिहरूसँग लडिरहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चाललाई मानिएको छ । अमेरिकासहित पश्चिमा शक्तिको चर्को दबाब झेलिरहेका पुटिनले विश्व हाँक्ने शक्ति अब पूर्व र एसियातिर ल्याउने कोसिस गरिरहँदा भारत र चीनबीचको तनावले मुस्किल पर्ने अनुमान थियो ।

यस्तोमा पुटिनले भारत र चीनको नेतृत्वलाई कजानमा वार्तामा मात्रै राख्न सफल भएनन्, दुई देशबीचका अहिलेसम्मका तनावलाई सहयात्रातिर बढाउने सक्ने गरी पहलकदमीसमेत लिएका छन् । भारत र चीनबीच तनाव नभएमा अमेरिका नेतृत्वको पश्चिामा शक्तिलाई टक्कर दिन सकिने पुटिनको निष्कर्ष रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ५ : ४४ बजे

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २१औँ राष्ट्रिय ज्यापू दिवसका लागि

एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान

काठमाडौं – मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले

रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

पर्वत– स्वदेशमा उद्यम व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती

गुल्मीमा धान उत्पादन वृद्धि

गुल्मी– गुल्मीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।

पूर्वराजा शाह आगामी साता नेपालगन्ज भ्रमणमा जाने

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्किने भएका छन्। गत