सिनेट सिटका लागि कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेन अग्रिम पङ्क्तिको राजनीतिमा फिर्ता | Khabarhub Khabarhub

सिनेट सिटका लागि कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेन अग्रिम पङ्क्तिको राजनीतिमा फिर्ता


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

न्पोमपेन्ह– कम्बोडियाली अधिकारीहरूले आइतबार सिनेट निर्वाचनमा मतदान गरेका छन् । निर्वाचनबाट पूर्व नेता हुन सेनका लागि गत वर्ष प्रधानमन्त्रीका रूपमा पद छाडेपछि आधिकारिक रूपमा राजनीतिमा फर्कने मञ्च तयार भएको छ ।

करिब चार दशकको कट्टरपन्थी शासनपछि हुन सेनले गत अगस्टमा भएको राष्ट्रिय निर्वाचनमा कुनै ठूलो अवरोधबिना आफ्ना ठूलो छोरा हुन मानेटलाई सत्ता सुम्पेका थिए । सो बेला हुन सेनले आफूले राजीनामा दिए पनि अझै पनि प्रभाव कायम राख्ने मनसाय स्पष्ट गरेका थिए ।

एकहत्तर वर्षीय विधायक तथा सत्तारूढ दलका प्रमुखले मुलुकको माथिल्लो सदन सिनेटको एक सिटका लागि आइतबार बिहान तखमाओ सहरमा आफ्नो घर नजिकै मतदान गरे । उनले सिनेटको अध्यक्ष बन्ने मनसाय रहेको बताएका छन्  । यसबाट राजा विदेशमा हुँदा उनलाई राज्यको प्रमुखका रूपमा काम गर्ने अनुमति प्राप्त हुनेछ ।

सोही मतदान केन्द्रमा मतदान गरेका पार्षद छिम वानारिथले उक्त कदमको स्वागत गरे । ‘यदि उहाँले सिनेटको नेतृत्व गर्नुभयो भने हाम्रो मुलुक अझ विकसित र शान्तिपूर्ण हुनेछ’, उनले भने ।

निर्वाचनमा हुन सेनको सत्तारूढ कम्बोडियन पिपुल्स पार्टी (सिपिपी), रोयलिस्ट फनसिनपेक पार्टी र अन्य दुई साना विपक्षी दलसहित चार राजनीतिक दलले भाग लिइरहेका छन् । बैसठ्ठी सिटको सिनेटमध्ये ५८ सिटमा एक सय २५ सांसद र ११ हजारभन्दा धेरै स्थानीय प्रशासकले मतदान गर्नेछन् । राजा नोरोदोम सिहामोनीले दुई सिनेटर र राष्ट्रियसभाले अन्य दुई सिनेटर नियुक्ति गर्नेछन् ।

धेरैजसो योग्य मतदाता सिपिपीका सदस्य छन् । उनीहरूले गत निर्वाचनमा सिनेटमा क्लिन स्विप गरेका थिए । यसबाट हुन सेनको जित करिब निश्चित भएको छ ।

‘यो हुन परिवारको शक्ति अझ बलियो भएको सङ्केत हो’, ‘हुन सेन्स कम्बोडिया’ का लेखक सेबस्टियन स्ट्रङ्गियोले भने, ‘पद सम्भावित प्रतिद्वन्द्वीको हातमा नजाओस् भन्ने सुनिश्चित गर्नु राम्रो हुन्छ ।’ सिनेटका अध्यक्ष बनेपछि उहाँका छोराको रक्षा हुने र परिवारको नियन्त्रण कमजोर हुनबाट रोक्न सकिने स्ट्रङ्गियोले बताए ।

राष्ट्रिय निर्वाचन समितिलाई आधिकारिक नतिजा प्रकाशित गर्न केही साता लाग्ने अनुमान गरिएको छ । यद्यपि राजधानी न्होमपेन्हका मतदाता हुन सेनलाई पुनः सत्तामा हेर्न चाहन्थे । कम्युन प्रमुख ओउ साइफनले भने, ‘उहाँसँग ठूलो अनुभव छ त्यसैले यदि उहाँले सिनेटको नेतृत्व गर्नुभयो भने हाम्रो मुलुक समृद्ध हुनेछ ।’

सदहरूले हुन सेनका कान्छो छोरा हुन मैनीलाई उपप्रधानमन्त्रीका रूपमा मञ्जुरी दिएपछि सिनेटको निर्वाचन भएको हो । सरकारमा अहिले हुन सेनका धेरै नातेदार सामेल छन् । उनका सहयोगीहरूका धेरै छोराछोरी पनि शीर्ष पदमा छन् ।

सन् १९८५ सत्तामा आएपछि हुन सेनले गृहयुद्ध र नरसंहारबाट ध्वस्त भएको मुलुकलाई आधुनिकीकरण गर्न सहयोग गरे । यद्यपि आलोचकहरूले उनको शासनकालमा पर्यावरण विनाश, भ्रष्टाचार र करिब सबै राजनीतिक प्रतिद्वन्द्वीहरू समाप्त भएको पनि बताएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १२ : २० बजे

लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि कार्यान्वयन

लुम्बिनी– लुम्बिनीका स्थानीय होटल र लुम्बिनी विहारबीचको विवाद समाधान भएको

क्यान्सरविरुद्धको खोप बनाएको रुसको घोषणा, आगामी वर्ष संसारभर बाँडिने

काठमाडौं– रुसले क्यान्सरविरुद्धको खोप बनाएको घोषणा गरेको छ । रुसी

गाजामा इजरायली आक्रमण : एक लाख भन्दा बढी घाइते

इजरायल – इजरायली सेनाले गाजामाथिको आक्रमणलाई निरन्तरता दिएको छ। पछिल्लो

नदीजन्य पदार्थको उपयोग गर्न संयुक्त कार्यदल गठन

लुम्बिनी– लुम्बिनी र सुदूरपश्चिम प्रदेशका बीचमा कर्णाली नदीको स्रोत उपभोग

रियलले जित्यो इन्टरकन्टिनेन्टल कप

काठमाडौं – रियल म्याड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको