रवीन्द्र मिश्रलाई खुमलटारमा स्वागत गर्दा अप्ठेरोमा प्रचण्ड, अराजनीतिक प्रचार गरेको गुनासो | Khabarhub Khabarhub

रवीन्द्र मिश्रलाई खुमलटारमा स्वागत गर्दा अप्ठेरोमा प्रचण्ड, अराजनीतिक प्रचार गरेको गुनासो

मल्ल होटलमा घोचपेच, खुमलटारमा चोचोमोचो !


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँग बुधबार खुमलटारमा भएको भेटले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अप्ठेरो परेको छ ।

खुमलटारमा भएको सन्दर्भलाई लिएर राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन नै गर्नुपर्ने अवस्था उत्पन्न भएको छ ।

राजावादी र मण्डले चरित्रको व्यक्तिलाई खुमलटारमा स्वागत गरेको भन्दै कार्यकर्ताबाट आलोचना खेपिरहेका प्रचण्डलाई उनै मिश्रले सार्वजनिक गरेको वक्तव्यका कारण संकट गपरेको हो । मंगलबार भएको भेटको सन्दर्भलाई लिएर मिश्रले गरेको टिप्पणीको प्रचण्डको सचिवालयले खण्डन नै गर्नु परेको छ ।

अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको बताउँदै यो उनको मनगढन्ते धारणा भएको प्रष्टिकरण दिएका छन् । 

प्रचण्डसँगको भेटपछि मिश्रले फेसबुकमार्फत प्रचण्डसँग मनका कुरा भन्दै सात बुँदा उल्लेख गरेका थिए । जसमा प्रचण्डले ‘म अहिले नै तपाईंको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। निरन्तरतामा क्रमभंगता अत्यावश्यक भइसक्यो,’ भनेको भनेर उल्लेख गरिएको छ ।

‘हिजो बिहानको  खुमलटार भेटघाटमा रवीन्द्र मिश्रजीले आफ्ना विचारहरू राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’, मल्लले भनेका छन्, ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो । आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’

पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भनेका छन्, ‘मिश्र सर, यति सस्तो (अ)राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !’

यस्तो थियो मिश्रको भनाइ

प्रचण्डसँग मनका कुरा !

हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो।

‘अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ‘विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईंहरूको ‘अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन,’ लामो व्याख्यासहित सारमा मैले यही भनेँ ।’

त्यसपछि उहाँ (प्रचण्ड) का केही टिप्पणी अर्थपूर्ण लाग्यो :

१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेको छु।

२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ । राजा महेन्द्र त गग्जबका ‘भिजिनरी’ राजा रहेछन्।

३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाबारे पूरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।

४. राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो।

५. देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो।

६. अहिले पो प्रधानमन्त्री भएँ, युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।

७. म अहिले नै तपाईंको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो।

कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए।

सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए। तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा/बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए। उनीहरूको जीवन पर्खिएरै बितिसकेको छ/वित्नेछ भन्नेमा सम्भवत: उनीहरू अनभिज्ञ थिए।

म चाहिँ ‘ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु’ भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु।

मिश्रको अर्को टिप्पणी

प्रचण्डको सचिवालको खण्डन आइसकेपछि राप्रपा नेता मिश्रले बुधबार सामाजिक सञ्जालमा अर्कव् प्रतिक्रिया दिएका छन्–

हिजो प्रचण्डजी र मबीच भएको भेटघाटपछि मैले गरेको टिप्पणीको उहाँको सचिवालयले खण्डन गरेको रहेछ ।

त्यसलाई जस्ताको त्यस्तै प्रकाशित गर्नु मेरो पनि दायित्व सम्झिएको छु। उहाँको सचिवालयप्रति भद्रतापूर्वक विमति राखेकोमा आभारी छु।

मेरो थप सानो मात्र टिप्पणी छ :

ठूला नेताहरूसँग भेट्दा ‘यो कुराचाहिँ बाहिर नगरौँ/हामी बीचमा रहोस्’ भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिनँ । र, हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु।

संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन्। कांग्रेस/एमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन्। ती सबै ‘प्रचण्ड पथगामी’ हुन्। ‘नेपालको संविधान २०७२’ वास्तवमा ‘प्रचण्डको संविधान २०७२’ हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु।’

त्यसैले ठूला पार्टीहरूलाई आ-आफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि प्रचण्डको फोटो झुण्डाउन सल्लाह पनि दिने गरेको छु।

मल्ल होटलमा घोचपेच, खुमलटारमा चोचोमोचो !

त्यसो त सोमबार एक सार्वजनिक कार्यक्रममा पनि प्रचण्ड र मिश्रवीच घोचपेच भएको थियो ।

संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च ९आईएसएसआर०को संयुक्त आयोजनामा मल्ल होटलमा आयोजना गरिएको कार्यक्रममा मिश्रले अहिलेको संविधानलाई ‘प्रचण्ड संविधान’ भनेपछि प्रचण्डले मिश्रको आलोचना गरेका थिए ।

मिश्रले भनेका थिए, ‘नेपालको संविधान २०७२ लाई मैले प्रचण्डको संविधान २०७२ भन्ने गरेको छु । यो संविधानलाई प्रचण्डको संविधान भन्नुको कारण के हो भने यसबाट जे भएको छ, त्यो प्रचण्डकै संविधानमार्फत् गरिएको छ । अब प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनुपर्छ भन्ने मेरो धारणा हो ।’

मल्ल होटलमा घोचपेच भएको भोलिपल्टै माओवादी अध्यक्ष प्रचण्ड र राप्रपा बरिष्ठ उपाध्यक्ष मिश्रबीच प्रचण्डनिवास खुमलटारमा भेटवार्ता भएको हो ।

दुई दलका शीर्षनेताहरुको भेटवार्ताको उद्देश्यबारे भने दुबै दलले स्पष्ट पारेका छैनन् । तर, भेटमा भएका कुराकानीको विषयवस्तुलाई लिएर  दुवै पक्षबाट विवाद छताछुल्ल पारिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ९ : १७ बजे

‘शेयरबजार अप्राकृतिक तवरबाट लगातार घटाइयो’

काठमाडौं– नेपालको पुँजीबजार अप्राकृतिक तवरबाट लगातार घटाइएको भन्दै चार लगानीकर्ता

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस

दाङमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

देउखुरी – दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने

क्यानडाका लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश

चितवन खाद्यान्नमा आत्मनिर्भर

चितवन– जिल्लामा स्थायी बसोबास गर्ने जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्नमा चितवन