अर्थसंक्षेप : कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, सरकारले अगाडि बढायो सहकारी सम्बन्धी अध्यादेश | Khabarhub Khabarhub

अर्थसंक्षेप : कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, सरकारले अगाडि बढायो सहकारी सम्बन्धी अध्यादेश


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त संस्थाको रूपमा घोषणा गरेको छ । सरकारले समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने भन्दै सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ ।

आज सुनको भाउमा सामान्य गिरावट आएको छ भने नेपाल वायुसेवा निगमका जहाज ग्राउन्डेड हुँदा दुर्गमका उडान प्रभावित बन्न पुगेका छन् ।

आजका आर्थिक समाचार :

‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने बताएका छन् ।

काठमाडौंमा तमू (गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले आज आयोजना गरेको ‘तमू पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्युज डटकम वर्ष पुस्तक लोकार्पण’ कार्यक्रममा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सांसद सूर्य थापाको नेतृत्वमा तयार भएको प्रतिवेदनमा उल्लेख गरिएका जो कोहीलाई कानुनको दायरमा ल्याई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे।

कानुनभन्दा माथि कोही पनि नभएको उल्लेख गर्दै उनले सहकारी ठगी प्रक्ररणमा कांग्रेस, एमाले, माओवादी वा अन्य पार्टीसम्बद्ध नेता तथा कार्यकर्ता एवं अन्य जो कोहीलाई कानुन बमोजिम कारबाही गर्ने स्पष्ट गरे ।

निगमका जहाज ग्राउन्डेड हुँदा दुर्गममा उडान प्रभावित

आन्तरिक उडानमा रहेका नेपाल वायुसेवमा निगमका जहाज ग्राउन्डेड भएपछि दुर्गम क्षेत्रमा हवाई उडान प्रभावित बन्न पुगेको छ ।

दुर्गम क्षेत्रमा उडान गर्ने जहाज सङ्ख्या सीमित भएको र त्यसमा पनि दुर्गमका अधिकांश गन्तव्यमा उडान अनुमति लिएको निगमको जहाज ग्राउन्डेड भएपछि हवाई सेवा प्रभावित बन्न पुगेको हो ।

निगमको एउटा जहाजमा समस्या देखिएपछि गत जेठदेखि ग्राउन्डेड भएको थियो । अर्को जहाज पनि गत आइतबारबाट ग्राउन्डेड भएको छ । जसकारण निगमले आन्तरिक उडान नै पूर्ण रूपमा बन्द गरेको हो ।

कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा

कर्णाली विकास बैंक समस्याग्रस्त घोषित भएको छ । नेपाल राष्ट्र बैंकले उक्त बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो ।

बुधबार बसेको केन्द्रीय बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ (ख) अनुसार कर्णाली विकास बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्ने निर्णय गरेको हो । समस्याग्रस्त घोषणा गरिएसँगै सो बैंकको व्यवस्थापन पनि राष्ट्र बैंकले नियन्त्रणमा लिएको जनाएको छ ।

राष्ट्र बैंकले कर्णाली विकास बैंक सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टिकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्था समूह समेत गठन गरेको छ । सो समूहले बिहीबारदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्रपतिकहाँ पुग्दै सहकारीसम्बन्धी अध्यादेश, राखियो बचत फिर्ता र मिलापत्रको व्यवस्था

सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न ल्याउन लागिएको अध्यादेश बिहीबारमात्रै राष्ट्रपति कार्यालय शीतल निवास पुग्ने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने अध्यादेश पारित गरिसकेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार आयोजित एक कार्यक्रममा मंगलबारको मन्त्रिपरिषद्‍बाट अध्यादेश जारी गर्ने निर्णय भएको बता‌ए । बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आबद्ध भएका कारण छाड्न नसकिने पनि बताएका छन् ।

शेयर बजारमा ‘इन्ट्रा डे’ कारोबार : कहाँ पुग्यो योजना ?

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएसँगै शेयर बजारको अन्तरदिवसीय (इन्ट्रा डे) कारोबारको चर्चा चुलिएको छ । ‘इन्ट्रा डे’ बजारमा लगानीकर्ताहरूको कारोबार एक दिनमा सीमित हुने खालको बजार लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको विषय हो ।

शेयर बजारको राम्रोसँग विकास भएको अमेरिका, भारत, ताइवान र सिंगापुर जस्ता मुलुकहरूमा सफल मानिएको ‘इन्ट्रा डे’ कारोबार नेपालमा पनि लागु गराएर शेयर बजारको विकास गर्नुपर्ने माग उठ्दै आएको छ ।

बोर्डको अध्यक्षको रूपमा श्रेष्ठ आएसँगै अब इन्ट्रा डे कारोबार पनि सुरु हुने अपेक्षा लगानीकर्ताहरूले गरेका छन् । नेपालको शेयर बजारमा कारोबारका हिसावले ३० अर्ब रुपैयाँ भन्दा बढीसम्म पुगेको कारोबार पछिल्लो समय आएर ४–५ अर्बमा खुम्चिएको छ । ‘इन्ट्रा डे’ सुरु भएमा कारोबार रकमा पनि वृद्धि हुने र त्यसको फाइदा शेयर बजारलाई पुग्ने लगानीकर्ताले अनुमान गरेका छन् ।

व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी

रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक १२ लाख आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषिकर्मबाट स्वरोजगार बन्ने लक्ष्यसहित दुई वर्ष अघि व्यावसायिक गाईपालन सुरु गरेका हुन् ।

ढुङ्गानाले फार्ममा अहिले ११ वटा उन्नत जातका गाई र तीनवटा भैँसी रहेका बताउँदै सात वटा गाई दुहुना रहेका जानकारी दिए । उनका अनुसार दैनिक ५० लिटर दूध उत्पादन भइरहेको छ ।

‘घरमा पहिलेदेखि चार(पाँचवटा गाई नियमित रूपमा पालिन्थ्यो, दुई वर्ष यता भने व्यावसायिक रूपमा ‘रामपुर फार्म’ दर्ता गरी गाईभैँसी थपेर व्यवसाय विस्तार गरेको हुँ’, ढुङ्गानाले भने, ‘आगामी दिनमा पशुचौपाया थप गरेर फार्म आधुनिक बनाउने योजना छ, अहिले संरचना थप्ने कार्य हुँदैछ ।’

दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत

जिल्ला सदरमुकाम इनरुवा–२ का रवीन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक ९० हजार बचत गर्दै आएका छन् । रोजगारीको खोजीमा दैनिक रूपमा मोटो रकम खर्च गरेर विदेशतर्फ जाने युवालाई उनले उक्त रकम स्वदेशमा लगानी गरी स्वरोजगार बन्ने सकिने सन्देश दिएका हुन् ।

मधेस आन्दोलनका बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेका यादवले कुनै ठाउँमा अवसर नपाएपछि ॐ शिवम दुग्ध तथा डेरी उद्योग सञ्चालन गरे। उनले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध संकलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवा बनाएर बिक्री गर्दै आएका हुन् ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ६ : १६ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल पुस ११ गते बिहीबार तदनुसार

आज २०८१ साल पुस ११ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस ११ गते बिहीबार तदनुसार

तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै

काठमाडौं – तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको दोस्रो संस्करण

शुक्रबारदेखि पुसे झरीको सम्भावना, जाडो बढ्ने

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः

पार्टीले ६ महिनाको छुट्टी दियो : विन्दा पाण्डे

काठमाडौं – नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेकी नेतृ डा.