काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अहिलेसम्मको पाँच महिने कार्यकाल तुलनात्मक रुपमा सफल रहेको निष्कर्ष निकालेको छ ।
बुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारले विस्तारै गति समात्दै गएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
बैठकले सरकारको अहिलेसम्मको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै अब कामको गति बढाउनुपर्ने आवश्यकता बोध गरेको उपमहासचिव ज्ञवालीले बताए ।
वर्तमान सरकारका कारण आर्थिक अवस्था सुधार हुँदै गएको, शेयर बजारले उच्चबिन्दु समातेको र अन्तर्राष्ट्रिय सम्बन्ध पनि सुदृढ हुँदै गएको निष्कर्ष निकालेको ज्ञवालीको भनाइ छ ।
‘सरकारको सवा ५ महिने कार्यक्रमको समीक्षा भएको छ। यो पाँच महिनाको अवधिमा केही महत्त्वपूर्ण काम अघि बढेकोमा सन्तुष्टि व्यक्त गरिएको छ’, उनले भने, ‘सरकारलाई अझै थप गति दिनुपर्ने र सुधारका कामहरू अघि बढाउनुपर्ने कुरा उठेको छ।’
के के भए सुधार र उपलब्धि ?
अर्थतन्त्रमा सुधार
एमालेले यो बैठकमा अर्थतन्त्रमा सुधार भएको निष्कर्ष निकालेको छ । ‘देशको अर्थतन्त्र र शेयर बजारमा सुधार आएको छ । शेयर बजारले उच्चबिन्दु समातेको छ’, उपमहासचिव ज्ञवालीले भने, ‘आर्थिक सुधारमा पनि काम भएको छ । यसलाई अझै गति दिने कुरा भएको छ । कम्पनी दर्तादेखि करसम्मको कुरामा सरलीकरण गर्ने काम भएको छ ।’
ज्ञवालीले आर्थिक सुधारअन्तर्गत सार्वजनिक खर्च व्यवस्थापनमा पनि सरकारले ध्यान दिइरहेको बताए । उनका अनुसार यसमा सरकारले अब अझै काम गर्नेछ । ‘सार्वजनिक खर्च व्यवस्थापनसहितलाई प्रभावकारी रुपमा कार्यान्वयन गरियोस् भनेर बैठकले भनेको छ’, उनले भने, ‘अब सरकारको गति बढाएर आर्थिक सुधारको पाटोमा अझै काम गरिनेछ ।’
सरकार बनेपछि राजस्वतर्फ प्रगति हुन नसकेकोमा बितेका ४ महिनामा १७ प्रतिशत सुधार भएको एमालेको निष्कर्ष छ । ‘राजस्वमा पनि बिस्तारै सुधार हुँदै गएको छ। बितेका ४ महिनामा राजस्वतर्फ १७ प्रतिशत सुधार भएको छ।’
पर्यटन, विकास र ऊर्जातर्फ
एमालेले कांग्रेसको समर्थन लिएर ओली नेतृत्वमा सरकार बनेपछि भैरहवास्थित गौतम बुद्ध विमानस्थ सञ्चालनमा आएकोलाई पनि प्रगति भएको छ ।
भैरहवामा अहिले खाडीसहितका मुलुकबाट अन्तर्राष्ट्रिय उडानहरू भइरहेका छन् । ‘भैरहवा विमानस्थल सञ्चाल सञ्चालनमा आएको छ’, उनले भने, ‘विकासका काममा पनि केही प्रगति भएको छ ।’
गत मंसिरमा भारत हुँदै बंगलादेशसम्म बिजुली बेच्ने सम्झौतालाई पनि एमालेले उपलब्धि भनेको छ। ‘बंगलादेशसँग ऊर्जा सम्झौता भएको छ,’ उनले भने, ‘चीनसँग बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयन फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।’
टीआरसी
एमालेले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक संसद्को बर्षे अधिवेशनबाट पारित भएको कुरालाई पनि उपलब्धिको सूचीमा राखेको छ ।
टीआरसी विधेयक पारित भए पनि अहिलेसम्म सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोग गठन हुन सकेको छैन ।
वैदेशिक सम्बन्ध
असार ३० मा प्रधानमन्त्री ओली र भारतबीच अझै सम्बन्ध सुमधुर हुन सकेको छैन । भारतले अहिलेसम्म ओलीलाई भ्रमणका लागि बोलाएको छैन । गत मंसिर १९ गते बीआरआई फ्रेमवर्क सम्झौतामा नेपालले हस्ताक्षर गरेपछि भारत झनै बिच्किएको छ ।
यद्यपपि एमालेले बीआरआईको सफलतालाई पनि उपलब्धि मानेको छ । ‘सरकारको बाह्य (वैदेशिक) सम्बन्ध सञ्चालमा प्रगति भएको छ’, ज्ञवालीले भने, ‘त्यसको उदाहरणका रुपमा बीआरआई फ्रेमवर्कमा सम्झौता भएर कार्यान्वन अघि बढेको छ।’
सहकारी छानबिन
एमालेले सांसद सूर्यबहादुर थापा क्षत्री नेतृत्वको संसदीय समितिको सिफारिसअनुसार सहकारी ठगीको समस्या छानबिन र अनुसन्धान अघि बढाएर कारबाही चलाइनुलाई पनि उपलब्धि भनेको छ।
‘सहकारी ठगीबारेमा संसदीय छानबिन समितिले गरेको सिफारिस कार्यान्वयनमा गएको छ । सत्तारुढ दलका नेताहरू पनि त्यसमा परेका छन्’, ज्ञवालीले भने, ‘कु्नै राजनीतिक दल र नेतालाई मात्रै लक्षित गरी गरिएको कारबाही भन्ने कुरालाई एमालेकै नेता कारबाहीमा परेको तथ्यले खण्डन गरेका छन् ।’
एमालेले मंगलबारको मन्त्रिपरिषद्ले सहकारी ऐनसम्बन्धी अध्यादेश ल्याएको कुरालाई पनि उपब्धि ठानेको छ। ‘अब यस अध्यादेशले बलियो कानुनी आधारसहित नियम तर्जुमा गर्नेछ’, उनले भने, ‘सरकारले करिब १० हजार बचतकर्ताको बचत फिर्ता गराउन सफल भएको छ। केहीको आंशिक र केहीको पूर्ण रुपमा फिर्ता भइसकेको छ ।’
अबको पहल
एमालेले अब कांग्रेससँग मिलेर बनाइएको दुई दलीय राजनीतिक संयन्त्रले थालेको कामलाई समर्थन गर्दै सरकारलाई प्रभावकारी बनाउने जनाएको छ ।
त्यसैगरी संविधान संशोधनका लागि दुई दलका नेता रहेको कार्यदल बनाइने पनि एमालेले जनाएको छ ।
अर्कातिर सुशासन र जवाफदेहिताका हकमा प्रधानमन्त्री कार्यालय र प्रदेशहरूमा पनि सुशासन सुधार केन्द्र बनाउने गरी प्रक्रिया अघि बढेको एमालेले जनाएको छ ।
प्रतिक्रिया