‘फुटपाथ’ले बनाएको ‘बान्द्रे’ | Khabarhub Khabarhub

‘फुटपाथ’ले बनाएको ‘बान्द्रे’

उदाउँदा ‘सुर्जे’, चम्किँदा ‘बान्द्रे’


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


38.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘मेरी बास्सै’मा ‘बान्द्रे’को पात्र निर्वाह गर्ने सुरोज चापागाईं झापामा जन्मिएका हुन् । ४० वर्षीय बान्द्रे मेरी बास्सैबाट लोकप्रिय कमाएका कलाकार हुन् ।

किसान परिवारमा जन्मिएका बान्द्रेले ५ वर्षकै उमेर बुबाको निधनको बज्रपात भोग्नुपर्‍यो । उनीसँगैका ५ सन्तान आमाको पालनपोषण हुर्किए । तीन सन्तानलाई भने बुबाले नै गरिखाने मेलो देखाउन भ्याएको बान्द्रे सम्झन्छन् ।

पढ्न अल्छी लाग्ने बानीले दुई पटक लगाएर एसएलसीमा फेल भएका बान्द्रेले भने कलाकारिताको परीक्षामा भने उत्कृष्ट ठहरिए । उनी कुनै कालखण्डमा हरेक नेपाली हाँसोको बहाना बने ।

झापामा बराल्लिएर हिँडेपछि आमाले तीन सय दिएर काठमाडौं पठाएको उनले बिर्सिएका छैनन् । पहिलो पटक काठमाडौं आएको गाडीको नामसमेत उनले भुलेका छैनन् ।

काठमाडौंमा आएर २५ रुपैयाँमा ज्यालादारीमा काम गरेका उनले फुटपाथ पसलसम्म गर्न भ्याए । कलाकार सिताराम कट्टेल (धुमुर्स)ले त्यही बेलादेखिको तीन सय तिर्न बाँकी रहेको रोचक प्रसंग पनि उनले खबरहबसँग खुलाएका छन् ।

क्यारामबोर्ड खेलेर पकेट खर्च

पढ्नमा अल्छी गर्ने बान्द्रेका लागि क्यारेमबोर्ड खेलमा मात्र थिएन, आम्दानीको स्रोत पनि बनेको थियो । बाजी खेलेर पैसा मारेको उनले अझै बिर्सिएका छैनन् ।

उनी सुनाउँछन्, ‘अलि नजान्नेसँग त देब्रेले हातले पनि खेल्थेँ । खेल्दा खेल्दै अभ्यास यति भइसकेको थियो कि देब्रेले पनि राम्रो खेल्ने भइसकेको थिएँ ।’

यसरी खेलमा बराल्लिन लागेपछि उनलाई परिवारले काठमाडौं पठायो । आमाले तीन सय दिएर पहिलो पटक काठमाडौं छिरेको उनलाई यादै ताजै छ ।

उनी थप्छन्, ‘२०५८ जेठ २ गते बिहान साढे ८ बजेको महाकाली यातायात चढेर पहिलो पटक काठमाडौं छिरेको हुँ ।’

ठमेलमा दिदी–भिनाजुसँग बसेका बान्द्रेको संघर्ष काठमाडौंको केही दिनै सुरु भयो ।

फर्निचरमा ज्यालादारी काम

काठमाडौंमा आएर बान्द्रेले पहिलो काम फर्निचरमा गरे । ज्यालादारीमा कामबाट दैनिक २५ रुपैयाँ कमाएको उनले बिर्सिएका छैनन् ।
उनी भन्छन्, ‘खाक्सी लगाउने र रङ लगाउने काम गर्थेँ ।’

केही काम जानेपछि अर्को फर्निचरमा ६० रुपैयाँ तलब छ भनेर ढाँटेर ५० रुपैयाँमा काम सुरु गरेको उनी सुनाउँछन् । तलब बढाउन पसल फेर्दै हिड्ने बान्द्रले दैनिक २२५ रुपैयाँसम्म कमाएको बिर्सिएका छैनन् ।

उनी थप्छन्, ‘१०० रुपैयाँ तलब हुँदा अर्को ठाउँमा २२५ दिएको थाहा पाएँ । अनि त्यही काम सुरु गरेँ ।’

झुट बोलेर काम गर्दा २२५ रुपैयाँ तलब दिने पसलमा भने आफू फसेको उनी सुनाउँछन् । थप्छन्, ‘झुट बेलेर काम गरेकाले मेरो ज्यालाअनुसारको काम निस्किएन । साहूले ज्यालाको काम निस्किएन १८० भन्दा बढी दिन्न म नभए जाउ भन्यो । अलि दिन पछि १८० को पनि काम निस्किएन १५० दिन्छु भन्यो । १०० पाइरहेको मान्छे त्यतिमै काम गरेँ ।’

त्यसपछि भने घर–घर पुगेर फर्निचरको काम गर्ने टोलीसँग दैनिक २०० मा जोडिएको उनी बताउँछन् ।

फुटपाथ व्यापारमा मालामाल

घरघरमा पुगेर फर्निचरको काम सुरु गरेका बान्द्रेको पहिलो साइट महाबौद्धमा पर्‍यो । काम लगाउने ठेकेदार नै ठग परेपछि उनले बजार घुम्ने मौका पाए ।

उनी सम्झन्छन्, ‘मलाई काम लगाएर दिउँसो घुम्न हिँड्थ्यो अनि साँझ परेपछि आउथ्यो । साहुले गाली गथ्र्यो । म पनि किन गाली सुन्नु भनेर म पनि घुम्न लागेँ । साँझ ठेकेदार आउनुभन्दा पहिला साइटमा आएर बस्थेँ ।’

यही दौरान एक व्यापारीसँग कुराकानीले सामानको होलसेल र रिटेल दामको जानकारी भएपछि उनले फुटपाथ व्यवसायमा हात हाले ।
उनी सुनाउँछन्, ‘फर्निचरको कामले केही पैसा जम्मा भएको थियो । १०–१५ जोर जुत्ता महाबौद्धबाट किनेर असनमा लगेर फिजाएँ । एक–डेढ घण्टामा नै सकियो । ६५ रुपैयाँ एक जोर जुत्ता बेच्दा २५ रुपैयाँ नाफा हुन्थ्यो ।’

पहिलो दिन ३० जोर जुत्ता बिकेपछि व्यापारको मोहले फर्निचरको जागिर छोडेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘व्यवासय फस्टाउँदै गएपछि न्युरोडमै दुई गोदाम भाडामा लिएको थिएँ ।’

जागिर माग्नेलाई साइकल र सामानको बम्पर

फुटपाथ व्यापार सुरु गरेको दुई वर्षमै बान्द्रे अरुलाई रोजगारी पनि दिन सक्ने भए । जागिर माग्नेलाई साइकल र सामान बेच्न हिँडाउने सक्ने भए ।
विस्तारै व्यापारमा भिज्दै जाँदा व्यापारी–व्यापारीबीचको ‘इगो’लाई पैसा कमाउने उपाए बनाएको उनी सम्झछन् । यसरी एक दिनमा ६० हजारसम्म कमाइ भएको उनलाई याद ताजै छ ।

उनी स्मरण गर्छन्, ‘एउटा व्यापारीकोमा फसेको सामान अर्को व्यापारीकामा राम्रो बिकेको हुन्छ । प्रतिशोधले गर्दा व्यापारीबीच यसबारेमा कुरा हुँदैन । मैले एउटा व्यापारीकोमा फसेको सामान सेटिङ मिलाएर अर्को व्यापारीलाई बेचेर ६० हजारसम्म कमाएँ ।’

कलामोहले मोडिएको बाटो

साँझको समय फुटपाथ व्यापार तर दिउँसो फुर्सद भएपछि कलाकार बन्ने लक्ष्यको गृहकार्य गर्ने अवसर मिल्यो ।

उनी स्मरण गर्छन्, ‘मलाई कलाकार बन्नु थियो । व्यवसाय गरेपछि खर्च पनि पुग्ने भयो । दिउँसो फुर्सदमा अभिनय सिकेँ ।’

अभिनय सिक्ने क्रममा उनले म्युजिक भिडियोमा कोरस नाचेर पहिलो पटक टिभीमा देखिएको उनले बिर्सिएका छैनन् । उनी सम्झन्छन्, ‘आफ्नो गीत आउँछ र हेरौं भनेर टिभी अगाडि बस्यो आइसक्दा झिमिक्क गइहाल्थ्यो ।’

सन्तोष पन्तबाट पाएको ब्रेक

बागबजारमा अभिनय सिक्न जाँदा बान्द्रेले हिजोआजमा खेल्ने मौका पाए । उनी सो सिरियलमा नोकरको भूमिकामा ६ भाग देखिए ।
उनी सम्झन्छन्, ‘हामीले अभिनय सिक्ने ठाउँमा सन्तोष पन्त सरले पात्रअनुसार अनुहार मिल्ने पात्र छान्नुहुन्थ्यो । १००–१५० जनाबाट छानिएर जानुपर्ने हुन्थ्यो ।’

सोही पात्रका कारण केही थोरै चर्चासमेत कमाएको उनी बताउँछन् । उनी थप्छन्, ‘केहीले गाडीमा हिँड्दा चिन्थेँ । बाटोमा हिँड्दा मलाई चिनेकी चिनेनन् भनेर फर्की–फर्की हेर्थेँ ।’

उनले यही दौरान केदार घिमिरे (माग्ने बुढा), सिताराम कट्टेल (धुर्मुस) र दमन रुपाखेतीलाई चिनेका हुन् ।

सोही अभियन सिक्ने ठाउँबाट उनले ‘थोरै भए पुगे सरी’ भन्ने टेलिफिल्ममा काम गर्ने मौका पाए ।

‘बान्द्रे’को न्वारान

माग्ने बूढा, धुर्मुस र दमन रुपाखेतीले ‘मेसी बास्सै’ बनाएपछि बान्द्रे २५ भागबाट आवद्ध भए । मेरी बास्सैबाट हुने आम्दानीले खर्च नपुगेकाले उनी बेलुका फुटपाथ व्यवसाय भने छोडेका थिएनन् ।

त्यसबेला धुर्मुस पनि संघर्षरत भएकाले आफ्नो पसलबाट सामान उधारोमा लाने गरेको उनी सम्झन्छन् । यसबारेको एउटा रोचक प्रसंग उनी सुनाउँछन्, ‘तीन वर्ष अगाडि मैले पूरानो खाता भेटेको थिएँ । त्यहाँ धुर्मुसले तीन सय तिर्न बाँकी रहेछ क्या मलाई ।’

बिस्तारै व्यवसायलाई उनले थप विस्तार गरे । पछि उनले होलसेलबाट सामान उठाएर भृकुटीमण्डपको खुला बजारमा बेच्न थाले । सँगै मेरी बास्सैबाट लोकप्रियता कमाएपछि भने उनले व्यापारलाई समय दिन पाएनन् ।

उनी स्मरण गर्छन्, ‘हिट भएपछि महोत्सवमा व्यस्त भइयो । कमाइ राम्रो हुन थाल्यो । आफूले चाहेको क्षेत्र पनि यही थियो । यतै व्यस्त भइयो । व्यापार त के सुटिङको लागि समय छुट्याउन पनि मुस्किल पर्न थाल्यो ।’

यही व्यस्तताले चटक्कै व्यवसाय छोड्दा तीन लाख रुपैयाँ फसेको उनी स्मरण गर्छन् ।

यद्यपि उनले पहिलो पटक रेडियोमा अन्तर्वार्ता दिएको बिर्सिएका छैनन् । बुटवलमा पहिलो अन्तर्वार्ता दिँदा माग्ने बूढाले खिचिदिएको तस्बिर उनले सुरक्षित राखेका छन् । जुन खबरहबसँग पनि ‘सेयर’ गरेका छन् ।

झापाको सुर्जे टीभीमा बान्द्रे

झापामा छिमेकीले आफूलाई ‘सुर्जे’ नामले बोलाउने बान्द्रे बताउँछनन् । सुरुवाती दिनमा टेलिभिजनमा आफ्नो गाउँघरमा सुर्जेलाई हेर्नकै लागि टीभी हेर्ने उनी स्मरण गर्छन् ।

उनी थप्छन्, ‘पहिला आज सुर्जे बान्द्रे बनेर टीभीमा आउँछ भनेर हेर्थे । पछिपछि सुर्जे आको आइ गर्न थालेपछि आइरहन्छ यो भन्ने भयो ।’
त्यसपछि बाटोमा हिँड्दा पनि मानिसले चिन्न लागे । सुरुवाती दिनको स्मरण गर्दै उनी सुनाउँछन्, ‘बाटोमा हिँड्दा नि ओइ बान्द्रे भन्थे । कसैले फोटो खिच्न बान्द्रे यता आइज न मुला पनि भन्थे ।’

एउटै लुगा आठ वर्ष

बान्द्रे मेरी बास्सैको मुख्य पात्र हो । सिरियलमा उनको र माग्नेबुढाको साइनो सालो–भेनाको रहेको दर्शकलाई थाहै भएको कुरा हो ।
बान्द्रेले लगाउने टोपी, टिसर्ट र कट्टु पनि निकै चर्चा हुन्थ्यो । टोपी बेला–बेला फेरिरहे पनि उनले अन्य लुगा भने सधैँ एउटै लगाए ।

उनी भन्छन्, ‘बान्द्रेले लगाउने लुगा एउटा सेट मात्र थियो । मैले त्यो लुगा कट्टु एउटै आठ वर्ष लगाएँ ।’

१२ वर्षमा सिरियलमा काम गर्दा सुरुवाती चार वर्ष चाहिँ लुगा अलि धेरै परिवर्तन भएको उनी बताउँछन् ।

सर्वस्व ‘मेरी बास्सै’

बान्द्रेले मेरी बास्सैमा २५ देखि ६०० भागसम्म काम गरे । आफूले पाएको लोकप्रियता, नाम र दामको श्रेय सोही सिरियललाई दिन्छन् ।
उनी स्पष्ट पार्छन्– लोकप्रियता मैले सिरियलबाट पाएँ । त्यसपछि मैले ‘मेरो स्कुल’ भन्ने फिल्म बनाएँ । यो सन्देशमुलक फिल्म स्कुल–स्कुल पुगेर त्यो फिल्म देखाउँछु । त्यहीको आम्दानीबाट मैले टिकाथलीमा घर जोडेँ । गाडी जोडेँ ।

फिल्म देखाउन स्कुल पुगेका बेला शिक्षिकासँग प्रेम बसेर उनी विवाह बन्धनमा समेत बाँधिए । अहिले उनको एक छोरा र एक छोरी छिन् ।
समय अभावका कारण धुर्मुस र केदार सिरियलबाट अलग भएपछि उनी पनि बाहिरिए ।

मिडियाबाट हराए

बान्द्रे मेरी बास्सैबाट टाढिएपछि व्यवसायमा हात हाले । उनले बटाइ पालनलगायत कृषि व्यवसाय गरे । यहीबीचमा उनले घरजमसम्म गरे । मिडियाबाट टाढा पनि भए ।

तर रंगकर्मबाट पनि बाहिरिएका थिएनन् । उनी फिल्मको कामले स्कुल–स्कुल भने धाइरन्थे ।

उनी भन्छन्, ‘मिडियामा दर्शकले मलाई नदेखे पनि म रंगकर्म मै छु । अब नयाँ सिरियल ल्याउने मेलोमेसो मिलाउँदै छु ।’

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : ०६ बजे

सहकारी नियमनको कार्य प्रभावकारी रुपमा गरिनुपर्छ : नेता साउद

कञ्चनपुर – नेपाली कांग्रेसका केन्दीय सदस्य नारायणप्रकाश साउदले सहकारीको नियमन

प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘चाइना

गड्डाचौकीमा आवागमन सहज बनाउन एसएसबीसँग छलफल गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – गृहमन्त्री रमेश लेखकले पश्चिमी सीमानाका गड्डाचौकी भएर ओहोरदोहोर

एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली मुख्यमन्त्री : कँडेल

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश

माल्टामा राहदानी घुम्ती सेवा शिविर सञ्चालन हुने

पोर्चुगल – राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपाली नागरिकलाई सेवा दिन