कालीगण्डकी कोरिडोर : बेनी–मालढुङ्गा खण्ड निर्माणमा प्रगति « Khabarhub

कालीगण्डकी कोरिडोर : बेनी–मालढुङ्गा खण्ड निर्माणमा प्रगति


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ ।

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाले गति लिएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–मालढुङ्गा खण्डका इन्जिनियर अच्युतविलास पन्तले चालु आर्थिक वर्षभित्र नै पाँच किलोमिटरमा अक्सफाल्ट प्रविधिको कालोपत्र र थप पाँच किलोमिटरमा ग्राभेल गरी आगामी २०८१ असोजसम्म पूरै १३ किलोमिटर कालोपत्र गरिसक्ने समय तालिका बनाएर निर्माणलाई तीव्रता दिएको जानकारी दिए ।

‘नदीजन्य निर्माण सामग्रीको अभावले २०७९ कात्तिकदेखि करिब १५ महिना निर्माण सुस्ताएको थियो’, उनले भने, ‘निर्माण व्यवसायीलाई ताकेता र वैकल्पिक स्रोतबाट नदीजन्य  सामग्रीको व्यवस्थापन गर्न सहजीकरण भएपछि निर्माणले तीव्रता पाएको छ ।’

सडक फराकिलो, पानीको निकासका लागि नाली र पर्खाल निर्माण धमाधम भइरहेको तथा मालढुङ्गाबाट फर्सेसम्मको पाँच किलोमिटर दूरीमा कालोपत्र गर्न सबबेस बिछ्याउन थालिएको इन्जिनियर पन्तले बताए ।

यो खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र गरिसक्ने लक्ष्य छ । विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्सामा कल्भर्ट निर्माण गरिएको छ ।

सडक फराकिलो बनाउने, नाली र पर्खाल निर्माण भइरहेको फर्सेबाट लामाखेत खण्डमा पनि यस वर्ष ग्राभेल गर्ने तयारी भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् । सडकको छेउछाउमा रहेका घरटहरा भत्काउनका लागि केही दिनमा सूचना निकालेर क्षतिपूर्ति वितरण गरिने आयोजनाका प्रमुख ध्रुव झाले बताए ।

१३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिट्टी, बालुवा र रोडा अभाव भएको जनाउँदै २०७९ कात्तिकदेखि सुस्त गतिमा काम गरेको थियो । कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न २०७८ असारमा सर्वोच्च अदालतले रोक लगाएको थियो ।

विसं २०८० असोजमा म्याद सकिएको यस सडक योजनाको हालसम्मको भौतिक प्रगति २५ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आगामी २०८१ असोजसम्मका लागि ठेक्काको म्याद थपिएको छ ।

सडक निर्माणमा ढिलाइ हुँदा यातायातका साधन सञ्चालन र यात्रुलाई आवतजावतमा समस्या भएको छ । खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

बेनी–मालढुङ्गा, बेनी–जोमसोमलगायत म्याग्दीका दूरगामी महत्वका सडक र विकास आयोजना निर्माणमा देखिएको समस्याका विषयमा सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, नागरिक समाजले सहजीकरण र माथिल्लो निकायमा समन्वय गरेका छन् ।

‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा खुलेको मालढुङ्गा–बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरला नाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर फराकिलो पारेर कालोपत्र गर्न लागिएको हो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ६ : ५९ बजे

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय