अमेरिका, राजा महेन्द्र र राष्ट्र संघ « Khabarhub

इतिहास

अमेरिका, राजा महेन्द्र र राष्ट्र संघ


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

नेपाल विसं २०१५ साल मंसिर २९ गते संयुक्त राष्ट्रसंघको सदस्य बन्यो । नेपाल राजा महेन्द्रका पालामा संयुक्त राष्ट्रसंघको सदस्य बनेको हो । त्यसबेला मन्त्रिपरिषद्को अध्यक्ष सुवर्ण शमशेर हुनुहुन्थ्यो । ‘रियल पावर’ भने राजा महेन्द्रसँगै थियो ।

चुनाव सकिएपछि वीपी कोइराला २०१६ जेठ १३ गतेदेखि जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । त्यसअघि नै राष्ट्रपति आइजनहावरका पालामा राजा महेन्द्रको पहिलो अमेरिका भ्रमण भयो । त्यसबेला ऋषिकेश शाह अमेरिकाका लागि नेपाली राजदूत हुनुहुन्थ्यो ।

नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको कुरा गर्दा  विसं २००४ फागुन ६ गते बेलायतका लागि राजदूत रहेका केशरशमशेर जबराले नै उतैबाट अमेरिका गएर राजदूतको भूमिका निभाएको इतिहास छ ।

त्योबेला राष्ट्रसंघका पाँचवटा स्थायी सदस्य थिए । रुस, फ्रान्स, बेलायत, अमेरिका, चीन । नेपालले सदस्यताका लागि पहल गर्दा पहिलो पटक रुसले भिटो हाल्दियो । सदस्य हुन सहज थिएन । उनीहरुका आफ्ना–आफ्ना गेम हुन्छन् । रुसलाई आफूलाई साथ दिने देशलाई सदस्य बनाउनु थियो, नेपाललाई रोकिदियो ।

मातृकाप्रसाद कोइराला भन्दा पहिले ऋषिकेश शाह संयुक्त राष्ट्रसंघ र अमेरिकाका लागि राजदूत हुनुहुन्थ्यो । एउटै राजदूतले वासिङटन र न्युयोर्क दुवै हेर्थे । राष्ट्रसंघको सेशन चल्दासम्म न्युयोर्क बस्ने, त्यसपछि वासिङटन जाने ।

वासिङटनमा दूताबासले त्यतिबेलै घर किनेको थियो । ‘फोर्टी सेकेन्ड स्ट्रिट’ भन्ने ठाउँमा संयुक्त राष्ट्रसंघकै अगाडि न्युयोर्कमा भाडाको घर थियो । अस्ति प्रदर्शनकारीहरुले हल्ला गरे नि, हो त्यहीँ । पारि राष्ट्रसंघको बिल्डिङ छ, वारि हाम्रो भाडाको घर । ऋषिकेश शाह सेप्टेम्बर १९५८ देखि अक्टोबर १९५८ सम्म राजदूतका रुपमा त्यहाँ बसेका हुन् ।

राजा महेन्द्रले १३ जुलाई १९६१ मा शासन सत्ता हातमा लिए । शासन सत्ता हातमा लिएपछि पहिला मातृकाप्रसाद कोइरालालाई थुने । पछि संयुक्त राष्ट्रसंघ जाने भए छोडिदिन्छु भने ।

अमेरिका र राष्ट्रसंघको राजदूत बनाएर राजा महेन्द्रले मेरा बुबा मातृकाप्रसाद कोइरालालाई अमेरिका पठाए । नेपालमा प्रधानमन्त्री भएर राजदूत हुने उहाँ नै पहिलो व्यक्ति हो ।

त्योबेला म कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य थिएँ । राजदूत बनाएपछि बुबा मातृका अमेरिका जानुभयो । मेरा भाइ–बहिनीहरू सबै अमेरिका गए । तर, म गइनँ । हजुरआमा यहीँ हुनुहुन्थ्यो । दाजु (विमल) लाई हजुरआमाको हेरचाहका लागि नेपालमै छोड्नुभएको थियो । त्योबेला म इन्डियामा थिएँ । मलाई पञ्चायती सरकारले पासपोर्ट दिने कुरा पनि थिएन ।
राजा महेन्द्रसँग अमेरिकाको सम्बन्ध राम्रो थियो ।

महेन्द्र र वीपी कोइराला

अमेरिकाको सम्बन्ध राजा महेन्द्रसँग धेरै गहिरो थियो । यो कुरा धेरैलाई थाहै छैन । धेरै गहिरो, डिप थियो । महेन्द्र बीपी कोइराला प्रधानमन्त्री भइसकेपछि पनि अमेरिका गएका थिए ।

त्योबेलामा अमेरिकाले राजा महेन्द्रलाई ठूलो राजकीय सम्मान प्रदान गर्‍यो । हत्तपत्त कुनै पनि विदेशको राष्ट्र प्रमुखलाई अमेरिकाले सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभको संयुक्त बैठकमा भाषण गर्न दिँदैन । तर, राजा महेन्द्रलाई अमेरिकाले त्यहाँ सम्बोधन गर्न दियो ।

त्योबेला राजा महेन्द्रका साथमा उपप्रधानमन्त्री सुवर्ण शमशेर राणा पनि अमेरिका गएका थिए । ऋषिकेश शाह त्योबेलामा पनि अमेरिकाका लागि राजदूत थिए । त्यो बेलामा यत्रो ठूलो सम्मान हत्तपत्त अमेरिकी सरकारले सबैलाई दिँदैन । जोनसन राष्ट्रपति हुँदा अमेरिकाले सन् १९६७ मा राजा महेन्द्रलाई स्टेट भिजिटमै बोलायो र ‘गार्ड अफ अनर’ दियो । यसले राजा महेन्द्रको अमेरिकासँग बडो गहिरो सम्बन्ध थियो भन्ने देखाउँछ । यसको भित्री कारण राजा महेन्द्रले खम्पा विद्रोहलाई नेपालमा अनुमति दिएका थिए ।

पञ्चायतकालमा नेपालका गाउँ–गाउँमा अमेरिकी पिसकोरका भोलेन्टियरहरु खटिएका थिए ।

अमेरिकाले नेपाललाई भूमि सुधार गर भनेर दबाब नै दिएको थियो । अमेरिकाले दबाब दिएपछि तुलसी गिरीले हामीहरूको शासन व्यवस्था पुरानो किसिमको सामन्ती सोचमा अडेको छ, यो सम्भव छैन भनेर जवाफ दिएका थिए । भूमिसुधारका लागि भित्री दबाब दिने अमेरिका रहेछ । किनभने उनीहरूको भित्री चाहना नेपालमा राजा महेन्द्रको शासन दिगो होस् भन्ने थियो ।

अमेरिकाले १० वर्ष नबितिकन प्रायः एउटै व्यक्तिलाई राजकीय भ्रमणका लागि बोलाउँदैन । त्यो पनि नेपालजस्तो सानो देशको राजालाई अमेरिकाले दुई–दुई पल्ट बोलाएको छ । नेपालमा अमेरिकाको ठूलो ‘इन्ट्रेस्ट’ छ । राष्ट्रपति जोनसनले पनि राजा महेन्द्रलाई राजकीय भ्रमणमा बोलाए । उनीभन्दा अघि पनि बोलाइयो ।

कांग्रेसलाई चुनाव खर्च

बीपीलाई अमेरिकाले २०१५ सालको चुनावका बेलामा पैसा (चुनाव खर्च) दिएको थियो । बीपी कोइरालाले तुलसी गिरीका साथमा गएर अमेरिकीहरूसँग एप्रोच गर्नुभयो– तिमीहरू पनि डेमोक्र्याट, तिमीहरू डेमोक्रेसीका लागि काम गर्ने, हाम्रो चुनाव आउँदैछ । हामीलाई तिमीहरूले मद्दत गर्नुपर्‍यो । चुनावले डेमोक्रेसीलाई बलियो बनाउँछ ।

अमेरिकी दूताबासमा क्लर्क बनेर बसेको सीआईएका एजेन्टले बीपीलाई गुप्त ढंगले सहयोग गर्ने कि नगर्ने भनेर सीआईएको प्रमुखलाई खबर पठाए । त्योबेला तुलसी गिरीले दोहोरो भूमिका खेले । नत्र राजा महेन्द्रलाई कसरी सीआईएले गुप्त रुपमा बीपीलाई पैसा दिएको थाहा पाए ?

केही महिना पहिलेसम्म अमेरिकाको एउटा भूमिका देखिन्छ, दलाई लामा तिब्बतबाट भारत भागिसकेपछि अर्को भूमिका हुन्छ ।

अहिलेको घुमघाम

संयुक्त राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री मात्र गए पनि हुन्थ्यो । प्रधानमन्त्री र परराष्ट्रमन्त्री दुवै जानु जरुरी थिएन । यो खाली घुमाइ मात्र हो । दुईजना जानु जरुरी थिएन । त्यहाँ भाषण त परराष्ट्र मन्त्रालयले तयार पारिसकेको हुन्छ ।

परराष्ट्रमन्त्री क्यानडाबाट अमेरिका पुग्नुभएको छ । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भ्रमण घुमाइ हो । तर, यस्तो पहिला पनि हुन्थ्यो ।
राजा महेन्द्रको अमेरिका भ्रमणमा उपप्रधानमन्त्री सुवर्ण शमशेर पनि गएका थिए । त्योबेला अमेरिकाका राष्ट्रपति र महेन्द्रबीचको गोप्य कुराकानीमा सुवर्णलाई २० मिनेट बाहिरै राखिएको थियो ।

( पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरासमेत रहेका पूर्वराजदूत कमल कोइरालासँग कुराकानीमा आधारित)

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ५ : ४३ बजे

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

ढोरपाटन– ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन्

चालीस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री-वितरण नगर्न विभागको निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य

निर्वाचन आउन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौं– निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २५ गते शुक्रबार तदनुसार