अर्थसंक्षेप : कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप र कर्जा प्रवाहमा रोक, शेयरबजारले बोर्डका अध्यक्षलाई स्वागत गर्यो | Khabarhub Khabarhub

अर्थसंक्षेप : कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप र कर्जा प्रवाहमा रोक, शेयरबजारले बोर्डका अध्यक्षलाई स्वागत गर्यो


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई थप निक्षेप र कर्जा प्रवाहमा रोक लगाएको छ । मेची सहकारीलाई बचतकर्ताले बैंकलाई भन्दा बढी विश्वास गरेको तथ्यांकले देखाएको छ । सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा गर्न सुरु गरेको पाँच वर्षमा साढे पाँच लाख पनि पुग्न सकेका छैनन् योगदानकर्ता । त्यस्तै, भारतीय ठेकेदारले लिएको भूमिगत तारको अधिकांश काम अलपत्र भएको छ ।

हेर्नुहोस् आजका प्रमुख आर्थिक समाचार :

कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप र कर्जा प्रवाहमा रोक

नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्जलाई निक्षेप सङ्कलन र कर्जा प्रवाहमा रोक लगाएको छ । राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै बैंकको वित्तीय अवस्था समस्या उन्मुख देखिएको भन्दै थप निक्षेप र कर्जा प्रवाहमा रोक लगाइएको जनाएको छ । बैंकले तोके बमोजिमको न्यूनतम पुँजी कोष अनुपात कायम नहुने, निष्क्रिय कर्जा अनुपात ४०.८५ कायम हुने लगायत कारणले संस्थाको वित्तीय अवस्था समस्या उन्मुख देखिएको राष्ट्र बैंकले जनाएको छ ।

सो बैंकका निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले मंगलबारबाट लागू हुने गरी थप निक्षेप सङ्कलन गर्न, नयाँ खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले कर्णाली डेभलपमेन्ट बैंकलाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरूमा सुधार गर्ने शर्तमा थप निक्षेप सङ्कलन, नयाँ निक्षेप खाता र कर्जा प्रवाहमा रोक लगाइएको सूचनामा जनाएको छ ।

धितोपत्र बोर्डका अध्यक्षलाई शेयर बजारको स्वागत

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नेपाल स्टक एक्सचेञ्ज –नेप्सेले समेत स्वागत गरेको छ । शेयर बजारले हरियो देखाएर श्रेष्ठलाई स्वागत गरेको हो । श्रेष्ठ नियुक्त भएको दोस्रो दिन अर्थात मंगलबार नेप्से ३३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा पुगेको छ । आज नेप्से एकै दिन १.२४ प्रतिशतले बढ्दा ७ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज एक करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर कारोबार भएको छ ।

आज बजार बन्द हुँदासम्म २११ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एउटा कम्पनीको शेयर मूल्य स्थिर छ । आज ३१२ वटा कम्पनी कारोबारमा आउँदा ७५ हजार ५७२ पटक शेयर किनबेच भएको छ । आज ४ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्री-स्टार हाइड्रोपावरको शेयर मूल्यमा भने नकारात्क सर्किट लागेको छ ।

आज १३ समूहमध्ये सबै समूहमा हरियाली देखिएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूह १.९७ प्रतिशतले बढेर ३ हजार ५७६.९० बिन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.२३ प्रतिशतले बढेर २१.८६ बिन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह १.२० प्रतिशतले, विकास बैंक ०.४९ प्रतिशतले, फाइनान्स १.५१ प्रतिशतले, होटल तथा पर्यटन ०.६४ प्रतिशतले, लगानी १.१३ प्रतिशतले, जिवन बीमा १.०२ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.०८ प्रतिशतले, लघुवित्त ०.८५ प्रतिशतले, निर्जीबन बीमा ०.८१ प्रतिशतले, ट्रेडिङ १.२९ प्रतिशतले र अन्य समूह १.६८ प्रतिशतले बढेको छ ।

मेची सहकारी : बैंकभन्दा बढी विश्वास

अहिले सहकारी सञ्चालकले करोडौं डुबाएर भागे वा बचत फिर्ता दिएनन् भन्दै कतिपय सहकारीका बचतकर्ताहरू सडकमा उत्रिएका छन् । राजनीतिक दलका मुख्य नेतासम्म हिरासत पुगेका छन् । सहकारी समस्याले राष्ट्रिय समस्याकै रूप लिएको छ ।

कोशी प्रदेशका उत्कृष्ट सहकारीमा मेची बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड र नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड । विशेषतः झापामा यी सहरकारीहरूलाई बैंकभन्दा बढी विश्वास गर्ने गरिन्छ ।

मेची बहुउद्धेश्यीय सहकारीका हकमा हालसम्म यस्तो समस्या छैन । सेवा क्षेत्रका सदस्यहरूले यो सहकारीप्रति बैंकभन्दा बढी विश्वास राखेका छन् । सहकारीलाई यसका सञ्चालकहरूले देशमै उदाहरणीय बनाएका छन् । झापाको दमकमा कार्यालय रहेको सहकारीले यस क्षेत्रमा देशभर नै प्रख्याती कमाएको छ ।

मेची बहुउद्धेश्यीय सहकारीको स्थापना वि.सं. २०५४ साल भदौ १२ गते भएको थियो । सहकारी आन्दोलनका अभिभावक स्वर्गीय गणेशप्रसाद बस्नेतको अगुवाइमा २९ जना मिलेर एक लाख ४५ हजार रुपैयाँ पुँजीबाट शुरू गरेको सहकारीको पुँजी अहिले चार अर्ब रुपैयाँभन्दा माथि छ । दमकलाई आधार बनाएर स्थापना भएको सहकारीले अहिले झापा, इलाम र मोरङमा शाखा विस्तार गरिसकेको छ । २९ जनाबाट सदस्यसङ्ख्या १६ हजार ७२९ जना सदस्यहरू पुगिसकेका छन् ।

एसएसएफको साढे पाँच वर्ष : साढे पाँच लाख पनि पुगेनन् योगदानकर्ता

सामाजिक सुरक्षा कोषले योगदान रकम सङ्कलन थालेको साढे पाँच वर्ष समय नाघिसक्दा पनि अपेक्षित गति लिन सकेको छैन । सरकारी, अर्धसरकारी, गैरसरकारी र निजी क्षेत्रमा लाखौं रोजगारदाता एवम् श्रमिक भए पनि कोषमा आबद्ध हुने संख्या भने न्यून छ । सुरक्षा कोषले अद्यावधिक गरेको मंसिर १० गतेसम्मको तथ्याङ्क अनुसार सो कोषमा अहिलेसम्म पाँच लाख ४३ हजार ४९१ जना स्वदेशी श्रमिक आबद्ध भएका छन् ।

सरकारले ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ कार्यान्वयन गरेको छ । सो कार्यविधिअनुसार वैदेशिक रोजगारमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा नै कोषमा सूचीकृत भई योगदानको सुरुवात गर्नुपर्ने अनिवार्य व्यवस्था छ । सो व्यवस्था अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये मंसिर १० गतेसम्म १२ लाख ५३ हजार ६१५ जनाले कोषमा योगदान रकम बुझाएका छन् ।

तर, वैदेशिक रोजगारीमा गएका अधिकांश श्रमिकहरूले भने कोषमा योगदान रकमलाई निरन्तरता नदिएको त्यहाँका अधिकारीहरूले बताएका छन् । कोषमा हालसम्म अनौपचारिक क्षेत्रका ३०७ जना र २२७ जना स्वरोजगार श्रमिकहरूले योगदान रकम जम्मा गरेका छन् । कोषले अहिलेसम्म ६८ अर्ब ६८ करोड रूपैयाँ योगदान रकम सङ्कलन गरेको र ११ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

भारतीय ठेकेदारको लापर्बाही : तार भूमिगत गर्ने ठेक्का ओगटेर काम अलपत्र !

सरकारले काठमाडौं उपत्यकामा भूमिगत तार व्यवस्थापनको काम सुरु गरेको करिब आधा दशक बित्यो । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा तार भूमिगत कार्य वि.सं. २०७६ फागुनदेखि सुरु गरेको थियो ।

ठेक्का लागेको साढे दुई वर्षभित्र उपत्यकामा तार भूमिगत व्यवस्थापन गरिसक्ने सम्झौता भएकोमा हालसम्म तार बिच्छ्याउने काम सकिएको छैन । कोरोना महामारी लगायतका विभिन्न बहाना बनाएर भारतीय ठेकेदार कम्पनीले काम अलपत्र पारेको हो ।

वि.सं. २०७६ फागुनदेखि उपयत्यकाका तीन जिल्लामा भूमिगत तार व्यवस्थापनको कार्य अघि बढेको थियो । जसअनुसार, २०७९ साउनसम्म उपत्यकाभित्रको भूमिगत तार बिच्छ्याउने काम सम्पन्न गर्नुपर्ने सम्झौतामा ठेक्का अघि बढाइएको थियो । ठेकेदार कम्पनीको लापरबाहीका कारण भूमिगत तार व्यवस्थापनको काम अलपत्र जस्तै छ ।

जाडो मौसमलाई लक्षित गर्दै सिजीले ल्यायो नयाँ प्रोडक्ट्स

सिजी ब्राण्डले ‘जाडोको पल न्यानो हरपल’ भन्ने नाराका साथ नयाँ विन्टर प्रोडक्ट्स सार्वजनिक गरेको छ । कम्पनीले चिसोमा न्यानो गराउन हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ्ग मेसिन, ए.सि. इत्यादि प्रोडक्टहरु सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार जाडो मौसममा तातो पानी पिउन सिजी र सिजी मेरिडियाको वाटर डिस्पेन्सर अनि वाटर हिटर छ भने पानी तातो राख्नलाई थर्मस तथा भ्याक्युम फ्ल्याक्स पनि उपलब्ध गराइएको छ । त्यसैगरि ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर अनि हिटर फ्यानको प्रयोग गरी जाडोमा पनि तातो रहन सहज बनेको छ ।

साथै, मोटरमा १० वर्षको वारेन्टी भएको वासिङ मेसिनले पनि जाडोमा लुगा धुन, अनि धोएको कपडा छिटै सुकाउन मद्दत पुर्याउने भएको छ । कम्पनीले आफ्ना विन्टर प्रोडक्ट्स जस्तै : वाटर डिस्पेन्सर, थर्मस, केटल, इलेक्ट्रिक अनि ग्याँस गिजर, रेडिएटर हिटर र ह्यालोजेन हिटरमा १२ महिनाको वारेन्टी दिँदै आएको छ । यी सामग्रीहरू सिजी स्टोरमा गएर अथवा घरै बसेर सिजीको वोइबसाइटबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ७ : १४ बजे

‘ललितपुरलाई व्यवस्थित सहर घोषणा गराउन चाहन्छौँ’

पाटन – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई नेपालकै सबैभन्दा

बाँसबारीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, तीन घाइते

काठमाडौं – काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटरसाइकल दुर्घटना हुँदा

‘कार्साङ’ का नायक जितु कि दयाहाङ ?

काठमाडौं – यम शेर्पाको डेब्यू लेखन तथा निर्देशनमा निर्माण भएको

भ्रष्टाचारी उम्कन पाउँदैनन् : सञ्चारमन्त्री गुरुङ

गण्डकी – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेकपा (एमाले) उपमहासचिव

‘कोप-२९ सम्झौता अपूर्ण, धनी देश पछि हटे’

एजेन्सी – गरिब राष्ट्रहरूले अपमानजनक भन्दै आलोचना गरेको कोप९२९ सम्झौता