अर्थसंक्षेप : महानगरका सहकारीमा बिकराल समस्या, प्राधिकरणले उद्योगका लाइन नकाट्ने | Khabarhub Khabarhub

अर्थसंक्षेप : महानगरका सहकारीमा बिकराल समस्या, प्राधिकरणले उद्योगका लाइन नकाट्ने


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका छ वटा महानगरका सयौँ सहकारीमा विकराल समस्या देखिएको छ । सेबोनको अध्यक्ष नियुक्ति भएसँग विभिन्न ७७ वटा कम्पनीले अब छिट्टै आइपिओ जारी गर्न सक्ने देखिएको छ । आज नेप्से ३९.७० अंकले बढ्यो भने आज सुनको मूल्य समेत वृद्धि भयो । त्यस्तै, आज नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले बिजुलीको बक्यौता नबुझाएका उद्योगमा लाइन नकाट्ने निर्णय गरेको छ । साथै बागलुङमा एक सहकारीका प्रबन्धकलाई सञ्चालकले हातपात गरेका छन् ।

आजका प्रमुख आर्थिक समाचार :

महानगरका सहकारी : समस्या विकराल, समाधान अनिश्चित

पछिल्लो समय नेपालका सहकारी समस्यामा पर्ने क्रम जारी छ । देशभर रहेका झण्डै ३० हजारमध्ये समस्या निम्तिएका सहकारी कम छन् । तर, शहरी क्षेत्रमा रहेका ती सहकारीमार्फत आम नागरिकको अर्बौं रुपैयाँ निक्षेप (बचत) हिनामिना भएको छ ।

शहरी क्षेत्र र महानगरभित्र सञ्चालनमा रहेका सहकारीहरू चरम समस्यामा रहेका सम्बन्धित स्थानीय तहको तथ्याङ्कले देखाउँछ । देशका ६ वटा महानगरमध्ये लेखापरीक्षण र समयमा अद्यावधिक नगर्ने सहकारीको सङ्ख्या काठमाडौं महानगरमा सबैभन्दा बढी देखिएको छ । त्यसपछि ललितपुर र भरतपुर महानगरका ठूलो सङ्ख्याका सहकारीहरूले समयमा नै लेखापरीक्षण र तथ्याङ्क अद्यावधिक नगर्ने गरेको ती कार्यालयका सम्बन्धित अधिकारीले बताएका छन् ।

काठमाडौं महानगरमा १९ सय २१ सहकारी दर्ता भएका छन् । तर, दर्ता भएका सङ्ख्याको आधाभन्दा कम सहकारीले मात्रै महानगरमा विवरण अद्यावधिक गरेका छन् । अन्य सहकारीको अवस्था महानगरलाई नै जानकारी छैन । महानगरमा दर्ता भएर सञ्चालनमा रहेका दर्जनौं सहकारीहरूमा समस्या देखिएको महानगर सहकारी महाशाखाकी प्रमुख सन्तु श्रेष्ठले खबरहबलाई बताइन् । उनका अनुसार काठमाडौं महानगर कार्यालयमा दैनिक रूपमा एक/डेढ सय सहकारीका बचतकर्ताहरू समस्या लिएर आउने गर्छन् ।

महानगरले केही सहकारीहरूसँग समन्वय गरेर समस्या समाधानको प्रयत्न गरेको र केही सहकारीका उजुरीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र प्रहरीमा पठाएको उनले बताइन् । ‘महानगरमा सहकारीको समस्या विकराल छ, दिनमा सय/डेढसय जना आफ्नो समस्या लिएर आउनुहुन्छ, कतिपय यहाँ आएर बेहोस भइ ढल्नुहुन्छ’, श्रेष्ठ भन्छिन्, ‘४० वटा सहकारीमा समस्या देखिएको छ, ती मध्ये नौवटा सहकारीलाई कारबाहीको लागि सीआइबी र प्रहरी कार्यालयमा फाइल पठाएका छौं ।’

७७ कम्पनीले आइपिओ ल्याउँदै, १ लाख लगानी गर्नुपर्ने

पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) ले करिब ११ महिनापछि नयाँ अध्यक्ष पाएको छ । सन्तोषनारायण श्रेष्ठ बोर्ड अध्यक्ष बनेसँगै पाइपलाइनमा भएका साधारण शेयर (आईपीओ) जारी हुन थाल्नेछ ।

मंसिर ९ गते सेबोनले अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्नासाथ आईपीओ जारी गर्ने पाइपलाइनमा भएका कम्पनी सार्वजनिक गरेको थियो ।सेबोनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८० फागुन २० यता मात्र ४२ कम्पनी आईपीओ स्वीकृति पखाईमा थपिएका छन् । यससँगै आईपीओ निष्काशनको तयारीमा रहेका कम्पनी सङ्ख्या ७७ पुगेको छ । सेबोनमा पाइपलाइनमा भएका सबै कम्पनीको आईपीओ जारी भएमा ४९ अर्ब १० करोड ९० लाख १६ हजार ५९६ रुपैयाँ बराबरको ३३ करोड ५६ लाख ८६ हजार ८३ कित्ता शेयर निष्काशन हुनेछ ।

बोर्डले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी हाइड्रोपावर समूहको आईपीओ स्वीकृति प्रक्रियामा छन् । उक्त समूहका ३७ कम्पनी आईपीओ निष्कासन पखाईमा छन् । हाइड्रोको ३७ कम्पनीको आईपीओ भए बजारमा १५ अर्ब ७३ करोड ९० लाख ४६ हजार ४०० रुपैयाँ बराबरको १५ करोड ७३ लाख ९० हजार ४६४ कित्ता शेयर आउनेछ ।

प्राधिकरण बोर्डले निर्णय नगरेसम्म उद्योगका लाइन नकाटिने

ट्रङ्क तथा डेडिकेटेड बापतको महसुल बक्यौता नबुझाउने उद्योगमा आज लाइन नकाटिने भएको छ । महसुल बक्यौता उठाउने यसअघि नेपाल विद्युत प्राधिकरणले दिएको १५ दिनको म्याद आज सकिँदै छ ।तर, उद्योगीहरूले महसुल बक्यौता अझैसम्म पनि नतिरेको प्राधिकरणको दाबी छ ।

१५ दिनको म्यादभित्र सम्पूर्ण महसुल बक्यौता उठाउन मन्त्रिपरिषद्ले नै निर्णय गरेपछि प्राधिकरणले त्यसअनुसार उद्योगमा महसुलबापतको बिल पठाएको थियो । तर, अधिकांश उद्योगीहरूले महसुल नतिरेको प्राधिकरणले जनाएको छ । महसुल बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने वा नकाट्ने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बोर्ड बैठक बसेर निर्णय नगरुन्जेल उद्योगमा लाइन नकाटिने बताए । उनका अनुसार, आज साँझसम्म बोर्ड बैठक बस्ने तयारी रहेको छ । यसअघि मन्त्रिपरिषद्ले १५ दिनभित्र ‘टाइम अफ द डे’ (टीओडी) मिटरका आधारमा महसुल बक्यौता उठाउने निर्णय गरेको थियो ।

२८ अंकले बढ्यो नेप्से, ९ अर्ब बढीको कारोबार

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २८.८१ अंकले बढेको छ । नेप्से १.४२ प्रतिशतले बढ्दा २७५५.४७ विन्दुमा परिसूचक पुगेको हो । ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदासम्म १९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१८ वटा कम्पनी कारोबारमा आउँदा ८९ हजार पटक शेयर किनबेच भएको छ । यस्तै १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मैथली लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । १३ समूह मध्ये फाइनान्स बाहेक सबै समूहमा हरियाली छाएको छ ।

सुनको मूल्य बढ्यो

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १८२० रुपैयाँ रहेको चाँदी आज १८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आफ्नै सहकारीका प्रबन्धकमाथि अध्यक्षले गरे हातपात र गालीगलौज

बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोकगोविन्द राजभण्डारीले आफ्नै संस्थाका प्रबन्धकलाई हातपात तथा गालीगलौज गरेको आरोप लागेको छ । अध्यक्ष राजभण्डारीले आफ्नै संस्थाका कर्मचारीमाथि गालीगलौज तथा हातपात गरेको आरोप लागेको हो । संस्थामा प्रबन्धकको रूपमा काम गर्दै आइरहेका दिनेश पन्तमाथि अध्यक्ष अशोक गोविन्द राजभण्डारी र उनका छोरा निलेश राजभण्डारीले गालीगलौज तथा हातपात गरेको पन्तले खबरलाई बताए ।

पन्तले सहकारीको मूल्य मान्यता तथा सहकारी ऐन नियम सहकारी विधान तथा कर्मचारी नियमावली बमोजिम कामकाज गर्दै आइरहेको साथै सहकारीको कामकाज पारदर्शी तथा व्यवस्थित रूपमा सञ्चालन गर्न खोज्दा संस्थाका अध्यक्ष राजभण्डारीले गाली–गलौज गर्ने, डर देखाउने तथा धाकधम्की दिने गरेको बताएका हुन् । उनले यसबारे संस्थाको सञ्चालक समितिको बैठकमासमेत जानकारी गराएको पनि बताएका छन् । गएको असोज १ गते अध्यक्ष राजभण्डारी र उनका छोरा निलेशले कार्यालय समयमा काम गर्ने क्रममा पन्तमाथि गाली गलौजसहित हातपात तथा दुर्व्यवहार गरेका हुन् ।

उनले यसबारे सहकारीको नियामक निकाय बागलुङ नगरपालिकामा लिखित रूपमा अनुसन्धान गरी आवश्यक कारबाहिको लागि माग गरेकोमा अहिलेसम्म पनि कुनै जानकारीसमेत नगराएको तथा कारबाहिको लागि प्रक्रिया अगाडि नबढाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दिएका छन् ।

राजभण्डारीले सहकारीका ५०० भन्दा बढी बचतकर्ताहरूको बचत खाता आफूखुसी बन्द गरी उक्त खाताहरूमा रहेको रकम आफ्नो खातामा सारी दुरुपयोग गरेको, बचत कर्ताहरूको रकम ठगी गरेको, आफू अनुकुल रूपमा कर्जा लगानी गरेको, विना शेयरलाई पनि कर्जा प्रदान गरेको, विनाधितो कर्जा लगानी गरेको, संस्थाको हिसाबकिताब पनि ठिक नरहेको, कर्मचारीहरूको नियुक्ति तथा सेवा सुविधाको विषयमा पनि विभेदकारी काम गरेको पन्तको आरोप छ ।

शेयर बजारका लगानीकर्ता : डुब्न लागेको बैंकको शेयरमा लगाए पोजेटिभ सर्किट

मंगलबार नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड डुब्ने खतरा देखाउँदै निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगायो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समेत सूचिकृत रहेको कम्पनीमा भने आज (बुधबार) सकारात्मक सर्किट लेभलमा बढ्यो ।

मंगलबार मात्र राष्ट्र बैंकले उक्त बैंकको खराबर कर्जा ४० प्रतिशत भन्दा बढी भएको भन्दै त्यस बैंकमा बचत गर्ने लगानीकर्ता डुब्न सक्ने भन्दै निक्षेप संकलन रोक्दा यता शेयर बजारमा भने उच्च मूल्य कायम गरिरहेको छ ।

बुधबार नेप्से बन्द हुँदा कर्णाली बैंकको शेयर मूल्य ८४५ रुपैयाँ ९० पैसा पुगेको छ । जुन हालसम्मको उच्च मूल्य हो । बुधबार मात्र कर्णालीको शेयर मूल्य प्रतिकित्ता ७६.९० रुपैयाँ अर्थात १० प्रतिशतले बढेको छ । मंगलबार राष्ट्र बैंकले डुब्न लागेको भनेर सूचना जारी गरेपछि घटेर बजार बन्द हुँदा ७६९ रुपैयाँ कायम भएको थियो । तर आज भने पोजेटिभ लेवलमा शेयर मूल्य कारोबार भएको छ ।

आज उक्त बैंकको न्यूनतम ७२८ रुपैयाँसम्म पुगेको छ भने उच्चता अन्तिम मूल्य कायम भएको छ । उक्त कम्पनीको शेयर २ लाख ५० हजार ४३९ कित्ता शेयर १ हजार १७४ पटक किनबेच भएको छ । कर्णाली डेभलपमेन्ट बैंकको ५ लाख २८ हजार ३०० कित्ता शेयर नेप्सेमा सूचिकृत रहेको छ । जसमा ५१ प्रतिशत अर्थात २५ लाख ६४ हजार ४३३ कित्ता शेयर प्रवद्धको रहेको छ । जुन शेयर कारोबारमा आउँदैनन् ।

उक्त कम्पनीको ४९ प्रतिशत अर्थात २४ लाख ६३ हजार ८६७ कित्ता शेयर सर्वसाधारणको रहेको छ । उक्त शेयर भने दैनिक जसो कारोबार हुने गर्छ ।
बुधबारको अन्तिम कारोबारका आधारमा कर्णालीको मार्केट क्यापिटल ४ अर्ब २५ करोड ३४ लाख ३८ हजार ९७० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ६ : ३४ बजे

लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान सुरु

बाँके– लुम्बिनी प्रदेशको कृषि विकास निर्देशानालयले १२ वटै जिल्लामा ‘विषादी

आज देशभरको मैसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिने

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल मंसिर १९ गते बुधबार तदनुसार