घरबास सञ्चालनसँगै पर्यटकको वृद्धि   « Khabarhub

घरबास सञ्चालनसँगै पर्यटकको वृद्धि  


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

बागलुङ–  एक दशक अगाडिसम्म नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो । अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्ने पशुचौपायाको हुल ।

जसोतसो ढोरपाटन उपत्यकामा पुगे पनि कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ता हुन्थ्यो । जनैपूर्णिमाका अवसरमा मात्रै तीर्थयात्रु ढोरबराह मन्दिरमा पूजाअर्चना गर्न जाने गर्थे भने अन्य सिजनमा फाट्टफुट्टमात्रै मानिस घुम्न जान्थे ।

ढोरपाटन पुग्नेहरू गाईभैँसी बाँध्ने गोठमा स्याउला र उनिउँ बिछ्याएर बस्ने गर्थे । खाना खाने र सुत्ने होटलको सुविधा थिएन । अहिले बाह्रै महिना पर्यटक ढोरपाटन पुग्न थालेका छन् । पहिलेको जस्तो हिँडेर ढोरपाटन पुग्नुपर्ने अवस्था छैन । अहिले कच्ची भए पनि सडक पुगेको छ । सामान्य भए पनि होटल तथा होमस्टे (घरबास) ठाउँ–ठाउँमा छन् ।

सडक र होटल सञ्चालनमा आएपछि अहिले ढोरपाटन पुग्ने पर्यटकसमेत बढेका छन् । यहाँ दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएपछि ढोरपाटन उपत्यकाको पाखाथर, स्यालपाखे, नवी, ढोरबराह मन्दिर आसपासमा करिब तीन दर्जनको हाराहारीमा होटल तथा घरबास सञ्चालनमा आएका छन् ।

होटल सञ्चालनमा आएपछि बाहिरबाट आउने पाहुनाले समस्या भोग्नुपरेको छैन । काठैकाठले बनेका घर रहेको यस क्षेत्रमा पछिल्लो समय माटो, ढुङ्गाको साथै कङ्क्रिटका घर बन्न थालेका छन् । स्थानीयसँगै बाहिरबाट समेत ढोरपाटनमा पुगेर घर बनाउने र होटल सञ्चालन गर्नेहरू पनि धेरै छन् ।

ढोरपाटनमा आएको परिवर्तनले स्थानीय बूढापाका दङ्ग छन् । पहिले सामान्य झुपडी रहेको बस्तीमा अहिले ठूला–ठूला भवन निर्माण भएर होटल सञ्चालनमा आएका छन् । चिसो ठाउँ भएको हुँदा न्यानो हुनेगरी यहाँका भवन निर्माण भएका छन् । ढोरपाटन उपत्यकाको सबैभन्दा बढी पाखाथर गाउँमा होटल निर्माण भएको पाइन्छ ।

कच्ची भए पनि मोटरबाटोले ढोरपाटन जोडिएपछि यहाँ आउनेको सङ्ख्या बढेको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवनकुमार पुनमगरले बताए । पहिले ढोरपाटन आउँदा बास बस्न र खानाको ठूलो समस्या हुने हुँदा कम मात्रामा पर्यटक आउने गरेको उनको भनाइ छ ।

अहिले टोलटोल र बस्तीबस्तीमा होटल तथा घरबास सञ्चालनमा आएको हुँदा एक रातमा करिब छ सयको हाराहारीमा पाहुना राख्ने क्षमता रहेको अध्यक्ष पुनमगरले बताए ।

हाल ढोरपाटन उपत्यकामा करिब ३४ वटा होटल र घरबास रहेको उनको भनाइ छ । सञ्चालनमा आएका होटल सहरबजारका जस्ता व्यवस्थित नभए पनि खाना बस्नका लागि भने उपयुक्त रहेको पुनमगरले बताए । पछिल्लो समय धेरैले होटललाई व्यवस्थित बनाउँदै गएको उनको भनाइ छ ।

ढोरपाटन नगरपालिका–९ पाखाथरका स्थानीय गङ्गा भण्डारीले यो क्षेत्र निकै परिचित भए पनि विकासका हिसाबले पछाडि रहेको बताए । स्थानीयको पहलमा ढोरपाटन क्षेत्रमा केही परिवर्तन भए पनि राज्यको नजर भने पुग्न नसकेको उनको गुनासो छ । हिउँदमा बेँसी (बोबाङगाउँ) र बर्खामा लेक (ढोरपाटन) मा बस्ने स्थानीय अहिले उपत्यका क्षेत्रमै स्थायीरूपमा बसेर होटल व्यवसाय गर्न थालेका छन् ।

गाउँलेले आगन्तुकका लागि बस्न र खानका लागि राम्रो व्यवस्थापन गर्दै गएको तर सडकका कारण सोचेअनुसार पर्यटक ल्याउन नसकेको भण्डारीको भनाइ छ ।

ढोरपाटन पर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष बेगबहादुर विश्वकर्माले एक दशक अगाडि यहाँ आउने पर्यटकको सङ्ख्या निकै न्यून रहेको भन्दै पछिल्लो समय बढ्दै गएको बताए ।

बुर्तिबाङ बजारबाट करिब ३२ किलोमिटर उत्तर पश्चिममा रहेको ढोरपाटन उपत्यका कच्ची सडकका कारण गाडीमा करिब दुई घण्टा लाग्छ ।

राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडक विसं २०६६ देखि निर्माण सुरु भएको थियो । बुर्तिबाङबाट फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नतिका लागि अघिल्लो वर्ष कात्तिकमा ठेक्का प्रक्रियामा गए पनि अपेक्षितरूपमा काम हुनसकेको छैन ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ९ : ५५ बजे

रौतहटमा तीनवटा अस्थायी मतदान केन्द्र निर्धारण

रौतहट– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा

पौवादुङमाबाट करसम्बन्धी सेवा प्रवाह

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा सञ्चालन हुने भएको

नवलपुरमा निर्वाचन तयारी पूरा

नवलपरासी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी

नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका– २ शान्तिनगरमा एक युवती