लेखजंगको बहुविवाह : छोडपत्रको प्रमाण नदिए रास्वपाले टिकट खोस्ने | Khabarhub Khabarhub

लेखजंगको बहुविवाह : छोडपत्रको प्रमाण नदिए रास्वपाले टिकट खोस्ने



काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर ३ का को उपनिर्वाचनका आइतबार मात्रै टिकट पाएका लेखजंग थापा आफ्नै कारणले संकटमा परेका छन् ।

अन्य आठजना आकांक्षीलाई पछि पार्दै कात्तिक १७ मा हुने उपनिर्वाचनका लागि घण्टी चुनाव चिन्हको उम्मेदवार भएका थापा बहुविवाह प्रकरणले संकटमा परेका हुन् ।

टिकट लिएलगत्तै लेखजंगले बहुविवाह गरेको तथ्य बाहिरिएको थियो । नेपालको कानुनले अवैध ठहर गरेको बहुविवाह गरेका व्यक्तिलाई टिकट दिएको भन्दै अहिले चर्को आलोचना भइरहेको छ।

अहिले पनि कानुनले अवैध मानेको दुवै श्रीमती साथमा राखेकोबारे प्रश्न उठेपछि रास्वपा सचिवालय सदस्य र केन्द्रीय सदस्यहरूले उनलाई एउटीसँगको छोडपत्रको प्रमाण पेस गर्न लगाएका हुन् ।

यदि छोडपत्रको पत्र पेस नगरे रास्वपाले उनको टिकट खोस्ने तयारी गरेको छ । यसबारे छलफल गर्न रास्वापा शीर्ष नेताहरू सोमबार सभापति रवि लामिछानेलाई भेटन् नख्खु कारागार पुगेको स्रोतको दाबी छ ।

सोमबार नै रास्वपाका केही नेतासँग थापाले आफूले कान्छी श्रीमती नुमा शर्मासँग सम्बन्ध विच्छेद गरेको पत्र सुरक्षित रहेको बताएका थिए । तर उनले प्रमाणस्वरूप पत्र उपलब्ध नगराएको रास्वपा नेताहरू बताउँछन् ।

त्यसपछि केन्द्रीय कमिटीको ग्रुपमा महामन्त्री कविन्द्र बुर्लाकोटीले थापाले एक श्रीमतीसँग सम्बन्ध तोडेको पत्रको ब्यहोराको सूचना जानकारी गराए ।

‘आज डा. थापासँग हामी केही नेताले भेटेर कुरा गरेका थियौँ । उहाँले पत्र उपलब्ध गराउँछु भन्नुभएको छ । हामीले समय दिएका छौँ’, ती नेताले खबरहबसँग भने, ‘व्यक्तिगत विषयमा धेरै सोध्ने कुरा भएन । उहाँले पत्र उपलब्ध गराए एक्सनमा जाँदैनौ । तर पत्र नआए निर्णय गर्नुपर्ने हुन्छ । उहाँको विकल्प खोजिन्छ । मंगलबारसम्मको समय दिएका छौँ ।’

उता थापाले पत्र ल्याउने वचन पार्टीलाई दिएका छन् । ‘म कुनै रूपमा कमजोर छैन । सबै प्रक्रिया पूरा गरेर सम्बन्ध विच्छेद गरेको छु’, उनले रास्वपाका नेताहरूलाई फोनमा भनेका थिए ।

रास्वपा सचिवालय सदस्यका अनुसार थापाले बहुविवाह गरेको कुरा स्वीकारेका छन् । तर पहिलो सम्बन्ध विच्छेद गरेर मात्रै दोस्रो विवाह गरेको उनले बताएका थिए । पत्र नबुझाएको अवस्थामा थापाको विकल्पबारे रास्वपा नेताहरू छलफलमा छन् ।

बैठकमा उठेन लेखजंगको कुरा

रास्वापा सचिवालय बैठक आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको थियो । बैठक पूर्वनिर्धारित समयभन्दा ३ घण्टा ढिलो सुरु भयो । कारण, कार्यवाहक सभापति डीपी अर्याल सभापति रवि लामिछानेलाई जेलमा भेटेर ढिलो आएका थिए ।

उक्त बैठकमा ९ जना उम्मेदवारको विभिन्न चरणको छनोट प्रक्रियाको नतिजा हेरिएको थियो । फिल्ड रिपोर्टिङ, लिडरसिप एकेडेमी, अन्तर्वार्ता सबैको नम्बर हेरेर थापालाई ठहर गरिएको थियो । त्यही अनुसार थापालाई बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले आइतबारै बताए ।

रास्वपा नेताहरूका अनुसार बैठकमा आंकाक्षीका व्यक्तिगत कुराबारे कसैले पनि प्रश्न गरेका थिएनन् । ‘सबै परीक्षा पास गरेको भनेपछि हामी व्यक्तिगत क्यारेक्टरमा गएनौँ,’ रास्वपाका अर्का सचिवालय सदस्य भन्छन्, ‘प्रदेश इन्चार्ज एवम् पार्टी सहमहामन्त्री विपिन आचार्यले यो विषयमा बुझ्नुभएकै होला भनेर कसैको व्यक्तिगत कुरामा लागिएन ।’

तर रास्वपाका केही नेतालाई र सह-महामन्त्री आचार्यलाई भने यो विषय राम्रोसँग जानकारी भएका रास्वपा स्रोत बताउँछ । तर आचार्यले यो विषयलाई गम्भीर रूपमा नलिएको नेताहरू बताउँछन् ।

रास्वपाका केही केन्द्रीय सदस्यले भने यसको सम्पूर्ण जिम्मा सहमहामन्त्री विपिनलाई दिएकाले उनले यसको सम्पूर्ण समस्या सुल्झाउनुपर्ने बताएका छन् । केन्द्रीय सदस्य गणेश कार्कीले त रास्वपाको उम्मेदवार छनोट प्रक्रियाबारे छानबिन गर्न माग समेत गरेका छन् ।

नाउपाबारे के भने थापाले ?

थापाले यसअघि आफू नागरिक उन्मुक्ति रुपन्देही उपाध्यक्ष भएको कुरा रास्वपाका नेताहरूसमक्ष स्वीकारेका थिए । उनले आफू २०७९ को निर्वाचनको बन्द सूचीमा रहेको स्वीकार्दै तर तीन महिनाअगाडि नै हटाउन लगाएको पनि बताएका थिए ।

किन नाउपा छोड्नुभएको भन्ने प्रश्नमा थापाले जवाफमा भने, ‘पारिवारिक झगडा धेरै थियो, पार्टी विधि र पद्धतिमा चलेन । त्यहीकारण दिक्क लागेर छाड्नुपरेको थियो ।’

यति मात्रै होइन, थापाले आफूले ग्राउन्ड बुझेकाले जुनसुकै हालतमा चुनाव जितेर देखाउने बचन दिएका थिए । ‘एक पटक चान्स पाए म जितेर देखाउँछु, मैले हार्नु पर्दैन’, थापाको भनाइ उद्धृत गर्दै रास्वपा नेताले भने, ‘उहाँले रुपन्देही ३ का ८० प्रतिशत मतदाताले मलाई साथ दिनुहुन्छ भन्नु भयो । ग्राउन्ड बुझ्दा पनि त्यस्तै पायौँ ।’

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ६ : १९ बजे

ललितपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं- ललितपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको

सानोथिमि प्रहरी प्रभागमा आगजनी गर्ने चार पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसरले जेनजी आन्दोलनका क्रममा गत भदौ

नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक अर्यालको निर्देशन

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूलाई

रास्वपा बैठकमै नगएका गणेश कार्की भन्छन्: बाबुराम, कुलमान र बालेनलाई भित्र्याउने गरी लागिरहेको छु (अन्तर्वार्ता)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्की पछिल्लो केही साता

भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नता रहेको रास्वपाको स्वीकार

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय विस्तारित बैठकमा कार्यवाहक