काठमाडौं– एघारौँ महाधिवेशन संघारमा आइपुग्दा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल रहस्यमय मौनता साँधिरहेका छन्।
मङ्सिर २७ गतेदेखि काठमाडौँमा हुन लागेको एघारौँ महाधिवेशनका लागि पौडेल अहिलेसम्म अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवै टिममा खुलिसकेका छैनन् । उनी अन्तिम समयमा जता बढी सुरक्षा हुन्छ, उतै ढल्किने योजनासहित अहिले मौन छन् ।
रणनीतिक निर्णय र चलाखीपूर्ण राजनीति गर्न सिपालु उनी अहिलेसम्म न अध्यक्ष ओलीको गुटमा खुलेका छन् न त अध्यक्षका अर्का दाबेदार पोखरेलको गुटमा नै खुलेका छन्। उनी दुवै तर्फ जता बढी सुरक्षा हुन्छ, उतै ढल्किएर आफूलाई सुरक्षित बनाउने योजनामा छन् ।
उनको यही कुरा बुझेर मंगलबार जन्मदिनको शुभकामना दिँदै पोखरेलले सहयोग मागेका छन् । पोखरेलले पौडेललाई शुभकामना दिने क्रममा हिजो भूमिगत हुँदा गरेका संघर्षका दिन सम्झाएका छन् ।
‘प्रिय विष्णु पौडेल कमरेड, जन्म दिवसका अवसरमा हार्दिक शुभकामना’, पोखरेलले गुल्मीको रेसुंगा डाँडामा सन् १९८० को दशकमा खिचिएको फोटोसहित लेखेका छन्, ‘जोखिम, प्रतिकूलता र दु:खका दिनमा हामीसँगै रहेको क्षण याद दिलाउने तस्बिरमा हामी दुई ।’
पोखरेलले सहयोग मागिरहँदा पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई जेन-जी आन्दोलनअघि भंगाल र पछि बालुवाटार गएर पटक पटक भेटिसकेका छन्। उनी भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओली निवासमा पनि धाइरहेका छन् । नियमित सम्पर्कमा छन्।
तर महाधिवेशन आउन १२ दिन बाँकी रहँदा पनि पौडेल दुवै समूहमा खुलेका छैनन् । अहिलेसम्म उनलाई न ओलीले न पोखरेलले आफ्नो भन्ने अवस्था बनेको छ।
उनले यसबारेमा खबरहबसँग छोटो कुराकानी गर्दै छलफलमै रहेको जवाफ दिए । ‘पार्टीका काममै व्यस्त भएको छु । अहिले छलफल चलिरहेकाले केही कुरा गर्ने अवस्था छैन’, उनले भने, ‘अहिले यसबारेमा कुरा गर्न सक्दिनँ ।’
एघारौँ महाधिवेशनमा उनी कसलाई सहयोग गर्ने भनेर आफूनिकट नेताहरूसँग निरन्तर छलफलमा छन्। एमालेमा उनी आफ्नो छुट्टै गुट बनाउने कोसिसमा पनि छन् । तर अहिले नै पौडेलले अलग्गै गुट बनाएर नेतृत्वमा दाबी गर्न सक्ने अवस्था नरहेको ओलीनिकट एक पदाधिकारी बताउँछन् ।
‘विष्णुजीले अहिले नै आफ्नो टिम बनाएर अलग्गै अघि बढ्ने सम्भावना छैन । उहाँनिकट भनिएका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ अध्यक्ष ओलीसँगै हुनुहुन्छ । उहाँले कम्तीमा यो महाधिवेशन अगाडि आफ्नै टिम बनाउन सम्भव छैन, त्यहीकारण कता खुल्ने उहाँले चाँँडै निर्णय लिने सम्भावना छ ।’
पौडेलको साथमा रहेका गुरुङ अध्यक्ष ओलीतिर खुलेका छन् । सचिव रघुवीर महासेठ अलमलमा छन् । उनी पोखरेलतिर खुल्ने सम्भावना छ ।
अध्यक्ष ओलीलाई साथ दिने निर्णय गरेका गुरुङलाई उपाध्यक्ष पौडेलबारे सोधेका थियौँ । ‘उहाँको कुराबारे मैले ठ्याक्कै भन्न सक्ने अवस्था छैन । मेरो हकमा अध्यक्ष ओलीको एमालेमा विकल्प नरहेको निष्कर्ष हो।’

के चाहन्छन् ?
विष्णु पौडेल तत्कालै पूर्वराष्ट्रपति विद्या भण्डारी र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई चित्त दुखाउने पक्षमा छैनन् । यस्तै अध्यक्ष ओलीलाई पनि उनले ग्रीन सिग्नल दिएका छैनन् । उनी दुवै टिमका नेताहरूसँग निरन्तर संवादमा छन्।
दुवै टिमका शीर्ष नेताले पौडेल आफ्नोतिर खुल्ने दाबी गरिरहेका छन् । ‘उहाँ हाम्रो ईश्वर कमरेडसँग पनि सम्पर्कमा हुनुहुन्छ, पूर्वराष्ट्रपतिसँग पनि कुरा हुँदेछ’, एमालेका एक शीर्ष नेताले भने, ‘मैले बुझेअनुसार गुण्डुतिर पनि नियमित सम्पर्कमा हुनुहुँदो रहेछ। तर म अहिलेसम्म रिजर्भ हुनुहुनन्छ ।’
अध्यक्ष ओलीनिकट एक नेताले उपाध्यक्ष पौडेलले अध्यक्षपछिको वरीयताको उपाध्यक्ष खोजिरहेको बताए । ‘अध्यक्ष ओलीसँग नियमित सम्पर्कमा हुनुहुन्छ। उहाँले पृथ्वी सुब्बा गुरुङलाई महासचिव र आफूलाई अध्यक्षपछिको वरीयतामा उपाध्यक्ष बनाइदिनुपर्ने अडान राख्नुभएको बुझिएको छ ।’
तर उता वर्तमान उपमहासचिव गुरुङले महासचिव पद नमिल्ने सम्भावनाका कारण आफू उपाध्यक्ष पद लिने गरी ओली टिमतिर लागेको बताइसकेका छन् । पौडेलले यो माग गरे पनि ओलीले रामबहादुर थापा बादललाई अध्यक्षपछिको वरीयताको उपाध्यक्ष दिने सम्भावना छ ।
अर्कातिर प्रदीप ज्ञवालीलाई महासचिवमा उठाएको अवस्थामा शंकर पोखरेललाई चित्त बुझाउनुपर्ने चुनौती छ । ओलीतिर खुले पौडेलले तेस्रो अथवा चौथो वरीयताको उपाध्यक्ष पाउने छन् ।
अहिले वरिष्ठ उपाध्यक्ष पोखरेल र ओली समूह टिम बनाउन जुटेका छन् । नेता व्यवस्थापनमा ओलीलाई भन्दा पोखरेललाई सजिलो छ । यदि पौडेल वरिष्ठ उपाध्यक्ष पोखरेलको समूहमा खुले अध्यक्षपछिको वरीयताको उपाध्यक्ष पाउने सम्भावना बलियो छ। तर चुनावी परिणामले आफ्नो पक्षमा पार्नुपर्ने चुनौती उनीलाई हुनेछ । ओलीको पक्षमा महाधिवेशन प्रतिनिधि करिब ७० प्रतिशतको हाराहारीमा रहेको अवस्थामा पोखरेल प्यानललाई नतिजा आफ्नो पक्षमा पार्न ठूलै मिहिनेत चाहिन सक्छ ।
‘विष्णु पौडेलले कम्फर्ट जोन खोज्नुभएको हुन सक्छ । अध्यक्ष ओलीलाई उहाँको रणनीति थाहा भइसकेको छ’, ओलीनिकट एक नेताले खबरहबलाई भने, ‘उहाँ आठौँ महाधिवेशनदेखि नै आफ्नो पद सुरक्षित गर्न चलाखी अपनाउने नेता हुनुहुन्छ। नवौँ महाधिवेशनमा पनि उहाँले नै वामदेव गौतमलाई ओलीतिर तानेर माधव नेपाल हराउन निर्णायक भूमिका खेल्नु भयो ।’
यता महासचिवका दाबेदार प्रदीप ज्ञवालीलाई हामीले विष्णु पौडेलबारे सोधेका थियौँ। जवाफमा ज्ञवालीले एमालेका जुनसुकै नेताहरूसँग छलफल हुनु सामान्य कुरा भएको बताए ।
‘स्वाभाविक रूपले उहाँ हाम्रो उपाध्यक्ष हो । हामीसँग नियमित सम्पर्कमा हुनुहुन्छ । अहिले टिम र को नेता कताभन्दा कसरी महाधिवेशन सफल बनाउने र एक मन-एकचित्त भएर पार्टी अगाडि बढाउने भन्नेमा हाम्रो ध्यान केन्द्रित छ।’

हिसाब गर्दै
पौडेल एमालेमा चलाख नेताका रुपमा चिनिन्छन् । उनी त्यही चलाखी अहिलेको महाधिवेशनमा पनि प्रयोग गरिरहेका छन् ।
मंसिर १३ मा महाधिवेशन प्रतिनिधिको चुनाव भइसेको छ। करिब २२ सय प्रतिनिधिले यस पटकको महाधिवेशनमा भाग लिँदैछ् ।
अहिले तिनै महाधिवेशन प्रतिनिधिको हिसाब गरेर उनी बसिरहेका छन् । आफ्नो सचिवालयको टीम नै परिचालित गरेर उनी दुई प्यानलमा खुल्न सक्ने प्रतिनिधिहरूको अंकगणित निकालिरहेका छन् ।
प्रतिनिधिहरूको सम्भावित पल्लाभारी ओली या पोखरेल कतातिर कति मात्रामा हुन्छ, त्यसको छिनोफानो गरेर मात्रै उनी खुल्ने योजनामा छन् । पौडेल अहिले देशभरका प्रतिनिधिको तथ्यांक केलाउने काममा आफैँ पनि लागेका छन्।
अर्कातिर उनले गरेको हिसाब भनेको आफूनिकट नेताहरू सबैभन्दा धेरै कुन टीममा सेट गर्न सकिन्छ, त्यसको पनि लेखाजोखामा उनी जुटेका छन् । धेरै नेता-कार्यकर्तालाई जता व्यवस्थापन गर्न सकिन्छ, त्यतै ढल्किने तयारी उनले गरिरहेका छन्।
उनको अर्को योजना भनेको १२ औँ महाधिवेशन हो । ११ औँ महाधिवेशनमै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका लागि अध्यक्ष ओलीले ढोका बन्द गरिसकेका छन् । यो अवस्थामा ओलीले कार्यकारी पदमा दुई कार्यकाल हटाएर यो तेस्रो कार्यकाल नेतृत्व लिने तयारी गरिसकेका छन् ।
ओली यो कार्यकालपछि बिदा हुँदा पौडेलले आफूलाई १२ औँ महाधिवेशनका लागि अध्यक्षका रुपमा प्रस्तुत गर्ने रणनीति बनाइसकेका छन् ।
१२ औँ का लागि वर्तमान महासचिव शंकर पोखरेल अध्यक्षमा उठ्ने बलियो सम्भावना छ । त्यो अवस्थामा पौडेलले ११ औँबाटै माथिदेखि तलैसम्म कार्यकर्ता सेट गरेर पूर्वतयारी थालिसकेका छन् । यसकारण पनि उनी महाधिवेशन आउन १२ दिन बाँकी हुँदा पनि अझै कतै पनि खुल्न नचाहेका हुन् ।

सधैँ लाभको पद
विष्णु पौडेल एमालेमा धेरै अवसर लिने नेतामा पर्छन् । काङ्ग्रेस-एमाले गठबन्धन मिलेर बनेको २०८१ असार ३१ गतेको सरकारमा उनी आठौँ पटक मन्त्री भए। उनले पाँचपटक अर्थ मन्त्रालय सम्हालिसकेका छन्। पहिलो पटक पटक ०७२ कात्तिक, दोस्रो पटक ०७७ असोज, तेस्रो पटक ०७८ जेठ, चौथो पटक ०७९ पुसमा र पाँचौँपटक ०८१ असारमा उनी अर्थमन्त्री भए ।
उनी युवा तथा खेलकुद संस्कृति मन्त्री पनि बने। २०५३ साल चैतबाट २०५४ असोज १० गतेसम्म उनी खेलकुदमन्त्री भए । यस्तै पुष्पकमल दाहाल प्रचण्डको सरकारमा पनि उनी मन्त्री भए। उनले २०६४ भदौ ५ देखि २०६६ जेठ ७ गतेसँग जलस्रोत मन्त्रालय सम्हाले। यति मात्रै होइन, पौडेल २०६७ सालमा पनि रक्षा मन्त्री बने। त्यस बेला झालनाथ खनाल एमालेबाट प्रधानमन्त्री थिए ।
पौडेलको उमेरले ६५ का भए । उनले २०३५ सालदेखि अखिल नेपाल कम्युनिस्ट को-अर्डिनेशन केन्द्रबाट राजनीति यात्रा सुरू गरे। २०४१ सालमा रुपन्देहीबाट राजनीति सुरु गरेका उनी २०४७ सालमा एमालेको केन्द्रीय सदस्य भए । २०५९ सालमा एमालेको स्थायी कमिटी सदस्य बनेका पौडेल त्यसपछि निरन्तर एमाले सचिवालयमा छन्।
एमालेको आठौँ महाधिवेशनमा सचिवमा निर्वाचित उनी नवौँ महाधिवेशनबाट उपमहासचिव भए। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपामा महासचिव रहे ।
नेकपा विघटनपछि एमालेको दशौँ महाधिवेशनमा ओली टिमबाटै उपाध्यक्षमा बनेका उनी ओली प्रधानमन्त्री भएपछि अर्थमन्त्री बने । जेन-जी आन्दोलनले उनको अर्थमन्त्री पद खोसिदियो ।
झालनाथ खनाल लगायतले नेकपा छोडेपछि ओलीका सहयात्री उनी विद्या भण्डारी समूहमा पनि पुग्थे। तर भण्डारीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अगाडि सारेपछि उनी केही टाढिएका छन् ।
ओलीनिकट शंकर पोखरेलसँग पौडेलको वैचारिक र सैद्धान्तिक झगडा छ । लुम्बिनीको भूगोलमा उनीहरूबीचको सम्बन्ध राम्रो छैन । पोखरेल र पौडेललाई मिलाएर लैजान पनि ओलीलाई चुनौती छ । पोखरेल ओलीसँग निकट हुँदा पौडेलले आफ्नो राजनीतिक यात्रा सुरक्षित गर्न अन्तिम समयमा चलाखीपूर्ण निर्णय गर्ने गरेका छन् ।













प्रतिक्रिया