कांग्रेस सभापतिमा उठ्दैछु, जित्ने नै मैले हो : शेखर कोइराला (अन्तर्वार्ता) « Khabarhub

कांग्रेस सभापतिमा उठ्दैछु, जित्ने नै मैले हो : शेखर कोइराला (अन्तर्वार्ता)



काठमाडौं– करिब डेढ महिना लामो कसरतपछि नेपाली कांग्रेसले आगामी पुस २६,२७ र २८ गते काठमाडौँमा महाधिवेशन गर्ने भएको छ। जसअनुसार पुस १५ गतेदेखि पुस २४ गतेसम्म गाउँ,नगर, वडा, टोल, प्रदेश सभा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन लगायत सकेर कांग्रेसले पुस अन्तिम साता केन्द्रीय महाधिवेशनको निर्णय गरेको हो।

कांग्रेसले निर्णय गरेसँगै संस्थापन पक्ष र संस्थापन इतर समूहबाट १५ औँ महाधिवेशनको सभापति को ? भन्ने चर्चा सुरू भएको छ । सभापति शेरबहादुर देउवाले संस्थापन प्यानलबाट अहिलेका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अगाडि सार्ने सम्भावना रहेका बेला इतरबाट डा.शेखर कोइराला, शशांक कोइराला र गगन थापा लगायत नेताहरूको चर्चा छ । थापा र कोइरालाले डा. शेखरलाई सहयोग गर्ने सम्भावना पनि छ । यसबारे गगन र शशांक मौन छन् ।

मंगलबार खबरहबसँग सम्पर्कमा आएका डा. शेखर कोइरालाले १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुने बताएका छन्। कोइरालाले जुनसुकै हालतमा उम्मेदवारी दिएर जित्ने घोषणा गरे । उनले आफूलाई कांग्रेसका शुभचिन्तक र शुभेच्छुकले अगाडि सर्न आग्रह गरेको बताउँदै कुनै हालतमा पछि नहट्ने उल्लेख गरे । उनी ०७८ सालमा भएको कांग्रेसको १४औँ महाधिवेशनमा पनि सभापतिमा उठेका थिए । ०७८ मङ्सिर २९ गते नतिजा सार्वजनिक हुँदा दोस्रो पटक शेरबहादुर देउवा कांग्रेसको सभापति बने । कोइरालाले १८९९ मत ल्याए । त्यसबेला देउवा २७३३ मतसहित विजयी भए ।

१४ औँ महाधिवेशनमा पहिलो चरणको निर्वाचनमा कसैको बहुमत नआएपछि नतिजाका निकाल्न दोस्रो चरणको निर्वाचन भएको थियो । त्यसबेला आफ्नै प्यानलका नेताहरूले डा. कोइरालालाई घात गरे । यो पटकको कांग्रेसको महाधिवेशन कस्तो हुन्छ त्यो भने हेर्न बाँकी छ। यहाँ हामीले डा. कोइरालासँग १५ औँ महाधिवेशनको तयारीबारे छोटो कुराकानी गरेका छौँ। प्रस्तुत छ उनीसँगको कुराकानीको सम्पादित अंश :

नियमित महाधिवेशन हुने भयो कति उत्साहित हुनुहुन्छ ?

लामो प्रयासपछि कांग्रेसको १५ औँ महाधिवेशन फागुन २१ को निर्वाचन अगाडि नै हुने भएकाले उत्साहित छु । म मात्रै होइन, कांग्रेसलाई माया गर्ने र कांग्रेसका सम्पूर्ण सदस्यहरू यो निर्णयले उत्साहित हुनुहुन्छ । अब पार्टी अझै बलियो भएर जान्छ ।

यहाँले चाहिँ महाधिवेशनका लागि के तयारी गर्नुभएको छ ?

मैले तयारी गरिरहेको छु । आमकांग्रेस शुभेच्छुक र देशको चिन्ता गर्नेहरूको भावनाको ख्याल गर्दै आफ्नो निर्णय गर्ने योजनामा छु । यो पटक पनि सभापतिको उम्मेदवार हुँ । यसका लागि मैले गर्नुपर्ने काममा लागिरहेको छु । नेता-कार्यकर्तासँग छलफल आदि इत्यादिलाई तीव्र पारेको छु । पार्टी र संगठनको काममा पनि नियमित दौडधूपमा छु ।

यहाँले यस पटक अरूलाई दिने पालो दिने कि ?

होइन । म जसरी पनि सभापतिमा उठ्ने हो । यस पटक परिस्थिति बदलिएको छ । हामीजस्तै नेताले देशको नेतृत्व लिनुपर्ने छ । उठ्ने नै हो । यसमा चिन्ता गर्नुपर्ने कुरा छैन । म अहिले नउठे कहिले उठ्ने र ? किनकि यो मेरो बेला पनि हो । कांग्रेसलाई नयाँ ढंगले अगाडि बढाउन मैले चुप बसेर काम छैन । कांग्रेसलाई गतिशील बनाउनु छ ।

कतिपयले हल्ला चल्लाएको मात्र हो, उहाँ उठ्नुहुन्न यो पटक पनि भन्छन् ?

त्यो कदापि हुँदैन । म उठ्छु । सभापतिमा मलाई साथीहरूले साथ पनि दिनुहुन्छ । सतप्रतिशत म उठ्छु । कुनै सहमति र उल्झनमा फस्दिनँ । साथीहरूले पनि खुट्टा नकमाउनु भन्नुभएको छ ।

तपाईंको टिम कस्तो बन्छ ?

टिम र प्यानल बनाएरै उठ्ने हो । मेरो टिम बन्छ । साथीहरूले पनि खुट्टा नकमाउनु भन्नु भएको छ । अथवा, मेरो नाममा सहमति हुन सक्छ । यो पछिको कुरा भयो ।

जित्छु जस्तो लागेको छ ?

जित्नका लागि नै उठ्न खोजेको हो । जसरी पनि जित्छु । मलाई साथीहरूले हामी छौँ, तपाईंको साथमा भन्नुभएको छ । हार्न को उठ्छ र ? हार्नलाई उठ्ने होइन, जित्न नै उठ्ने हो ।

अर्को चासोचाहिँ दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले साथ शेखरलाई देलान कि नदेलान् भन्ने छ, के छलफल हुँदै छ ?

उहाँहरू जहिले सत्यको पक्षमा हिँडेको नेता हो । कसले साथ दिन्छ कसले दिँदैन भन्दा म जसरी पनि उठ्ने हो । टिम बनाएरै हामी जान्छौँ । उहाँहरू पनि पार्टी संगठन दह्रो बनाउने योजनामै हुनुहुन्छ । हामी सँगै छौँ नि ।

अन्य प्यानल बन्दैन यो पटक ?

त्यसबारे छलफल भएको छैन । मेरो नाममा सहमति भए ठिकै छ । कांग्रेस लोकतान्त्रिक पार्टी हो । सबै योग्यलाई उठ्न छुट छ । तर यो पटक सहमति गरेर अगाडि जाँदा अझ राम्रो । जटिल परिस्थिति भएकाले मैले पार्टीलाई र कार्यकर्ताको माग सम्बोधन गर्न सभापतिमा उठ्छु र जित्छु पनि । अरूको कुरा थाहा भएन, मैले यहाँमार्फत् नै घोषणा गरे आगामी पुस २६, २७ र २८ गते काठमाडौंमा हुने महाधिवेशनको सभापतिको उम्मेदवार हुँ । मलाई साथ दिन सबै प्रतिनिधिहरूलाई आग्रह गर्छु ।

अन्तिममा, देशभर यहाँको अवस्था कस्तो छ ? बुझ्न पनि डुल्नुहुन्छ कि के तयारी छ ?

आवश्यक परे डुलिन्छ । तर कांग्रेसको संगठन राम्रो छ । साथीहरू देशभर हुनुहुन्छ । म उहाँहरूलाई विश्वास गर्छु ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  २ : ५१ बजे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय

आजको मौसम पूर्वानुमान: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा, तराईमा हुरीको चेतावनी

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव