पाथीभरा केबलकार विवाद : निर्माण रोके मात्रै आन्दोलित पक्षले सरकारसँग वार्ता गर्ने | Khabarhub Khabarhub

पाथीभरा केबलकार विवाद : निर्माण रोके मात्रै आन्दोलित पक्षले सरकारसँग वार्ता गर्ने


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ताप्लेजुङको पाथीभरा मन्दिरमा केबलकार निर्माणलाई लिएर देखिएको विवाद समाधानका लागि आइतबार सरकारले वार्ता समिति बनाएको छ ।

पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृहमन्त्रालयले सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेको हो । तर वार्ता समिति बनेकोमा आन्दोलनकारी खुसी छैनन् । केवलकार निमार्ण रोकिनुपर्र्ने, पक्राउ परेका कार्यकर्ता बिनासर्त रिहा हुनुपर्नेसहितका माग उनीहरूले राखेका छन् ।

केबलकारविरुद्ध अहिले ताप्लेजुङसहित कोशीका जिल्लामा साता दिनदेखि आन्दोलन र बन्द अभियान चलिरहेको छ । ‘नो केवलकार समूह’ र पहिचानवादीहरूले आन्दोलन चर्काउन तालेपछि आइतबार गृहले वार्ता गर्न टोली बनाएको हो । गृहमन्त्री रमेश लेखकले आन्दोलनरत पक्षलाई वार्तामा बोलाइसकेका छन् ।

गृहद्वारा जारी विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न भट्टराईको संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेको टोली बनाइएको छ ।

एक साताअघि गृहमन्त्री लेखकले कोशी पहाडका सांसदहरूसँग छलफल गरेका थिए । गृहमन्त्री लेखकले तेह्रथुम, ताप्लेजुङ, इलाम, पाँचथर,धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभाका सांसदहरूसँग कुरा गरेका थिए । छलफलमा एमाले सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य योगेश भट्टराई पनि सहभागी थिए ।

गत माघ १२ गते ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच झडप हुँदा २४ जनाभन्दा धेरै घाइते भएका थिए । सुरक्षाकर्मीतिर २० जना र प्रदर्शनकारीतिर ४ जना घाइते भए । प्रदर्शनकारीमध्ये २ जनालाई गोली लागेको थियो । अर्का एक जनाको कुमको हड्डी भाँचिएको थियो । सेनाको हेलिकोप्टरबाट ल्याएर उनीहरूको काठमाडौंमा उपचार हुँदैछ ।

झडपछि ‘नो केबलकार समूह’ कोशीमा निरन्तर आन्दोलित छ । जसका कारण मेची राजमार्गसहित कोशीका मोरङ, झापा, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, संखुवासभा र भोजपुर लगायतका जिल्लाको यातायात अवरुद्ध छ ।

वार्ता टोलीले तत्काल काम थालेको छ । आन्दोलित पक्षलाई विरोधका कार्यक्रम फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्न भनिएको गृह मन्त्रालयलका प्रवक्ता रामचन्द्र तिवारी बताउँछन् । समस्या समाधानका लागि पहल बढाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि भनिएको गृह मन्त्रालयले जनाएको छ ।

आन्दोलितको प्रतिक्रिया ?

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले १४ जिल्ला अध्यक्षहरूले माघ १८ मै वक्तव्य निकालेर पाथीभरा क्षेत्रमा जबरजस्ती केबलकार निर्माण थालेकोमा निन्दा व्यक्त गरेको थियो । महासंघले अहिले पनि कुनै हालतमा केबलकार निर्माण रोकिनुपर्ने अडान लिएको छ ।

आफूहरूको आस्थाको केन्द्रबाट एकलौटी व्यावसायिक रूपमा लाभ लिनेगरी चन्द्र ढकाल नेतृत्वको कम्पनीले केबलकार निर्माण गरिरहेको भन्दै आन्दोलनकारी सडकमा छन् । तर, यसबारे ढकाल अहिलेसम्म मौन छन् । गृह मन्त्रालयको पत्र सार्वजनिक भएपछि आन्दोलित समूहका डकेन्द्रकुमार थेगिमले सरकारले फेरि एक पटक हेपेको बताए ।

वार्ता गर्न संयोजक तोकिएका सहसचिवबाट अहिलेको समस्या समाधान नहुने उनको निष्कर्ष छ । वार्ताका लागि सम्मानपूर्ण व्यवहार हुनुपर्ने आन्दोलनकारीको माग छ । उनीहरूले पहिचानको कुरा चानचुने नभएको भन्दै गृहमन्त्री नेतृत्वमा वार्ता टोली बन्नुपर्ने माग गरेका छन् ।

वार्ता टोली हेरेपछि थेगिमले नेता विजय सुब्बाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई शपथ खुवाएको भाइरल भिडियोको याद आएको बताएका छन् ।

‘यो विज्ञप्ति हेर्दा विजय सुब्बाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदको शपथ खुवाएको भाइरल भिडियोको याद आयो’, उनले भने, ‘यो विज्ञप्ति ठ्याक्कै त्यस्तै हो । हेपाइको पनि सीमा हुन्छ । सहसचिवको त्यति ठूलो जिम्मेवारी र हैसियत रहँदैन ।’

आन्दोलित समूह पक्राउ परेका कार्यकर्ता बिनासर्त रिहा र केवलकार निमार्णको निर्णय केन्द्रबाट खारेज भएपछि मात्रै वार्तामा आउने थेगिम बताउँछन् । यस्तै आन्दोललित नेता कुमार लिङ्देन पनि दुईवटा माग पूरा भएपछि मात्रै वार्ता गर्ने बताउँछन् ।

अहिले आन्दोलितमध्ये सुनसरीबाट ६ र झापाबाट ८ जना प्रहरीको नियन्त्रणमा छन् । आन्दोलन फिर्ता लिएर बन्द खुलाउन ताप्लेजुङ प्रशासनले वार्तामा बोलाएको थियो । तर केबलकार निर्माण स्थगन र कार्यकर्ता रिहापछि मात्रै वार्ता गर्ने अडान आन्दोलनकारीले राखेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

यस्तै, पाँचथर र ताप्लेजुङका राजनीतिक दलहरूले पनि आन्दोलनले दैनिक उपभोग्य वस्तुको अभाव भएकाले सरकारले जिम्मेवार र अविभावकीय भूमिका निर्वाह गर्दै वार्ता गर्नुपर्ने बताएका छन् । काठमाडौंको माइतीघरमा पनि सोमबार नो केबलकार समूहले आन्दोलन गरिरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ६ : ३० बजे

विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये

ऐतिहासिक पनौती हिलेजात्रा मनाइँदै

काभ्रे– काभ्रेको पनौतीमा हिलेजात्रा (ज्याःपुन्ही) मनाइँदैछ । जात्रा सोमबारदेखि सुरु

लमजुङको पसगाउँका प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोडिँदै

गण्डकी– सिस्नोको तरकारी, कोदोको सेल, निगुरो, गिठ्ठा आदिका परिकारका कारण

बाँकेका भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा  

बाँके– भूमि समस्या समाधान आयोगले बाँकेमा भूमिहीनहरूलाई धमाधम जग्गाधनी प्रमाणपुर्जा

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला