ओलीलाई काउन्टर दिन युवाहरूको अलग्गै फोर्स बनाउँदै पोखरेल समूह « Khabarhub

ओलीलाई काउन्टर दिन युवाहरूको अलग्गै फोर्स बनाउँदै पोखरेल समूह

नाम ‘जबज रक्षक बटालियन’ हुन सक्ने



काठमाडौं- जेन-जीहरूको दुई दिने आन्दोलनले दुईतिहाइको सत्ता उखेलिएपछि बिलखबन्दमा परेको नेकपा (एमाले) अझै दोधारमा छ ।

भदौ २३ र २४ गतेको जेन-जी उथलपुथलपछि सबैभन्दा घेराबन्दीमा परेको एमाले ‘कमब्याक’का लागि हरेक कोसिस गरिरहेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ‌ओली बालुवाटारबाट भागेर ११ दिन मकवानपुरको सुपारीटार ब्यारेकमा बसे। त्यहाँबाट भक्तपुरको गुन्डुमा उत्रिएका उनी जेन-जी आन्दोलनको दोष आफूले लिन तयार छैनन् ।

भदौ २३ अगाडि जसरी उनी अरूलाई आक्रमण गर्थे, अहिले त्यही रुप र स्वभावमा फर्किसकेका छन् । पोलिटब्युरो सदस्यसहितका नेताहरूको योजनाअनुसार रातदिन युवाहरूको कडा निगरानी र पहरामा बसेका उनी जेन-जीका नाममा भएको उथलपुथललाई आन्तरिक भन्दा बाह्य मुख्य कारण भनिरहेका छन् ।

एमालेका दस्तावेज र ओलीको बोलीमा जेन-जी आन्दोलनको प्रमुख कारण त्यसबेलाको दुईतिहाइको सत्ता हो भन्ने कुरा कहीँ कतै उल्लेख गरेको पाइँदैन । ओली बारम्बार भन्छन्- जेन-जीहरूलाई सम्मान छ तर घुसपैठ गरेर विध्वंश गरियो । भदौ २४ गते दिउँसोसम्म राज्यका सबै शक्ति केन्द्रित गरेर बसेका उनी अहिले केही युवाहरूको भर पर्नुपर्ने अवस्थामा छन् ।

नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, राष्ट्रिय सतर्कता केन्द्रसहित सबै सूचनाका संयन्त्र आफ्नो पकडमा हुँदा पनि जेन-जी आन्दोलनको सुइँकोसमेत नपाएका ओली देश बिग्रेकाले अब फरि आफैं एमालेको नेतृत्वमा कायमै रहने जिकिर गरिरहेका छन् ।

त्यसका लागि उनले भए र सकेका सबै विधि र विकल्प प्रयोग गरिरहेका छन् । एमालेमा आफूलाई खतरा भएको बुझेपछि गत साउन ५ र ६ गतेको बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकरण भइसकेको सदस्यता पनि रोकिदिए ।

त्ययसँगै एमाले महाधिवेशनका लागि आउने भूगोलतर्फका प्रतिनिधिको संख्यामा ब्यापक कटौती गरिदिए । आयोग, विभाग र जनसंगठनबाट धेरै प्रतिनिधि ल्याएर तेस्रो पटक महाधिवेशन जित्ने दाउमा रहेका ओ‌ली अहिले नेशनल भोलेन्टियर्स फोर्सको सहारामा छ । जबकि एमालेका युवा संघ, साइबर सर्कल र युथ फोर्स जस्ता संरचना यसअघि नै सक्रिय छन् ।

पुरानै संरचना हुँदा हुँदै महाधिवेशन प्रतिनिधिसमेत ल्याउन पाउने गरी गत मंसिर ५ गते कयौँ अपराधमा संलग्न भएका युवा पुष्प श्रेष्ठको अध्यक्षतामा उनले नेशनल भोलेन्टियर्स फोर्सको घोषणा गरे ।

यो फोर्सले त्यसबेला रातो टोपी लगाएर सडकमा उत्रिनुबाहेक एउटा पनि देख्नलायक काम गरेको छैन । आफूलाई जेन-जी भन्दै हिँड्ने सुधन गुरुङले सिमरामा एमाले नेता किसान श्रेष्ठको घरमा पुगेर धम्काएपछि त्यसको प्रतिवादमा यो फोर्सले एउटा वक्तव्य निकालेको छ।

यो फोर्सको अहिलेको मुख्य काम भनेकै ओ‌लीको सुरक्षामा तैनाथी हो । गुन्डुमा रहेका ओलीको सुरक्षामा पहरेदारी गर्नु, ओली गुन्डुबाट काठमाडौं, भक्तपुर र ललितपुर पुग्दा सुरक्षा दिनुबाहेक अरू काम यो फोर्सले गरेको देखिँदैन । बरू यही फोर्सका एकजना सदस्य कृष्णसागर वलीले एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई च्यासलमै दुर्व्यवहार गर्न भ्याए ।

युवाहरूसँग एमाले स्थायी कमिटी सदस्य कर्ण थापा

असन्तुष्टि

जेन-जी आन्दोलनपछि आफ्नो पहिलो पहरेदारका रूपमा उभिएका पोलिटब्युरो सदस्य महेश बस्नेतको जोडबलमा ओलीले यो फोर्स घोषणा गरेका हुन् ।

यो फोर्स घोषणा हुँदा गत मंसिर ५ गते रातो टोपी लगाएर एमाले युवा तथा नेताहरू सडकमा उत्रिएका थिए । जहाँ एमाले अधिकांश पदाधिकारी देखिएनन् । गुन्डुमै बसेको सचिवालय बैठकमा यस्तो फोर्स गठन गर्दा पार्टीलाई फाइदा नपुग्ने अन्य नेताहरूको राय अस्वीकार गर्दै ओलीले युवाहरूलाई सडकमा उतारे ।

उक्त फोर्स घोषणा हुँदा पनि अधिकांश एमालेका पदाधिकारी सहभागी भएनन् । बरू चार वर्ष एकीकृत समाजवादीमा बसेर फर्किएकी रामकुमारी झाँक्री सहभागी भइन् । उता ओलीका प्रियमध्ये एक जनसंगठन संयन्त्र संयोजक भानुभक्त ढकाल सहभागी भए । अन्य नेतामा अधिकांश ओली वरिपरि रहनेहरू मात्रै थिए ।

तर उक्त कार्यक्रममा एमाले चर्चित अनुहार र पदाधिकारीहरू सहभागी भएनन्। सचिवालय बैठकमा फोर्स गठन गर्नुभन्दा पुरानै संगठनलाई चलायमान बनाउनुपर्ने नेताहरूको सुझाव थियो । तर सुझावको सुनुवाइ नहुने भएपछि अधिकांश पदाधिकारी फोर्स घोषणा कार्यक्रममा गएनन् ।

थप भिडन्तको चिन्ता

जेन-जी आन्दोलनका क्रममा मारिएका ७६ जनाको रगतसमेत नओभाएको अवस्थामा थप भिडन्त हुन सक्ने भन्दै नेताहरूले यस्तो फोर्स बनाउन उचित नहुने बताएका थिए ।

तर जेन-जी आन्दोलनको जिम्मेवारी अझैसम्म लिन तयार नभएका ओलीले यो फोर्स बनाएर एमालेभित्रै पनि आफूइतरका नेताहरूलाई तर्साउन खोजिरहेका छन् ।

खासगरी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूलाई ११ औँ महाधिवेशनमा चुनौती दिने भएपछि ओ‌लीले यो फोर्समार्फत् तर्साउने पनि कोसिस गरिरहेका छन् । त्यही प्रयास यो फोर्स गठनको योजना बनाएका महेश बस्नेतले गरिसकेका छन् ।

११ मंसिरमा सुनसरीको धरान क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधि छनोटलाई लिएर नेता भीम आचार्यनिकट एमाले जिल्ला सदस्य नै कुटिए ।

धरानमा युवा प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अनिल राजधामीमाथि कुटपिट भयो । अनिल पूर्वमन्त्री आचार्यका स्वकीय हुन्। अहिले उनी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहतिर छन् ।

उम्मेदवारी फिर्ता गर्न दिएको निर्देशन नमानेपछि संस्थापन पक्षले राजधामीलाई कुटपिट गरेको थियो ।

उता धरानमा इतरलाई कुटपिट गरिरहँदा यता काठमाडौंमा ओलीका भित्रिया एवम् पोलिटब्यूरो सदस्य महेश बस्नेतले वरिष्ठ उपाध्यक्ष पोखरेललाई उम्मेदवारी दिने घोषणा फिर्ता लिन धम्कीसहितको चेतावनी नै दिए ।

‘एमाले अहिले आन्तरिक र बाह्य दुवै मोर्चाबाट कठोर दबाब झेलिरहेको संवेदनशील घडीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिले पार्टीभित्र अनावश्यक तरंग, प्रतिस्पर्धा र द्वन्द्वको वातावरण सिर्जना गरेको छ’, बस्नेतले भनेका थिए, ‘पार्टी चुनावतिर अघि बढ्दैछ, राष्ट्रिय राजनीति निर्णायक मोडमा छ, विदेशी–स्वदेशी शक्तिहरू एमाले र अध्यक्ष ओलीमाथि निरन्तर प्रहार गरिरहेका छन् । यस्तो अवस्थामा प्रतिस्पर्धा होइन, नेतृत्वको स्थिरता पार्टीलाई मजबुत बनाउने बाटो हो । अनेक प्रोपोगाण्डा गरेर कमजोर बनाउने अर्को चक्र नबनोस् ?’

बस्नेतले आजको प्रश्न ‘कसले नेतृत्व दाबी गर्छ ?’ होइन, ‘कसले पार्टी बचाउन सक्छ ?’ रहेको भन्दै वर्तमान राष्ट्रिय परिस्थिति, भू–राजनीतिक उतारचढाव र एमालेमाथिको योजनाबद्ध प्रहार भइरहेको जिकिर गरे। अहिलेको अवस्थामा सबैकुरा केपी ओलीकै दृढ नेतृत्वमा सम्भव हुने जिकिर पनि गरे ।

बस्नेतले चुनौतीसहित पोखरेललाई भनेका थिए, ‘यदि योगदान गर्न सकिन्छ भने निःशर्त एकता, यदि सकिँदैन भने सहर्ष बिदाइ नै ईश्वर पोखरेलको निमित्त सही विकल्प हो ।’ खासमा यो वक्तव्य केबल महेश बस्नेतको मात्रै थिएन, गुन्डूबाट ओली समूहले उनलाई माध्यम बनाएर सार्वजनिक गरेको कुरामा एमाले नेता-कार्यकर्ता नै प्रष्ट छन् ।

कर्णलाई दुर्व्यवहार

पञ्चायतकालदेखि भूमिगत भएर पार्टी बनाउन योगदान गरेका पोखरेललाई बस्नेतले लल्कारेको दुई दिनपछि केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापामाथि दुर्व्यवहार गरियो ।

एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिकिकरण कार्यक्रममा ओलीको विचारको कडा आलोचना गरिरहेका स्थायी कमिटी सदस्य थापालाई त्यही भोलेन्टियर्स फोर्सका सदस्य लगाएर दुर्व्यवहार गरियो ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनको माथिल्लो तलामा अध्यक्ष ओली उक्लिरहेका थिए । त्यहीबेला ओलीले कार्यक्रममा जाऊँ भन्दै इशारा गरेर थापालाई बोलाए । तर त्यहीबेला ओलीको सुरक्षा गार्ड बनेर अघिपछि लाग्ने दाङका कृष्णसागर ओलीले थापालाई रोक्दै धकेलिदिए । तर थापाले त्यहीँ तत्कालै प्रतिकार गरे । ओली अगाडि बढिरहेका बेला दाङका अर्का वलीले थापालाई कुहिनाले छेक्दै धकेलिदिए ।

यसरी धकेल्ने अरू कोही नभएर गुन्डूमा ओलीकै सुरक्षामा खटिएका व्यक्ति हुन् । जो नेता बस्नेतका प्रियमध्ये एक थिए । बलात्कारको मुद्दामा मतियारका रुपमा दुई वर्ष जेल परेका उनी ओली सवार कारको ढोका खोल्नसमेत पुग्छन् । प्रहरीकै शैलीमा ओलीको स्कर्टिङमा खटिएका उनले थापालाई च्यासलमा धकेलेन् मात्रै, सवाल-जवाफ गर्दै थर्काए पनि ।

पोखरेल समूहको तयारी

ओलीले एकपछि अर्को गर्दै इतरका नेता-कार्यकर्तालाई दु:ख दिएको निष्कर्ष वरिष्ठ उपाध्यक्ष पोखरेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले निकालेको छ ।

जेन-जी आन्दोलनपछि ओलीसँगै एमालेका अन्य नेताहरू पनि असुरक्षित अवस्थामा छन् । झन् अन्तरिम सरकारले धेरै पूर्वमन्त्रीहरूको सुरक्षामा तैनाथ प्रहरीसमेत फिर्ता लगिदिएपछि समस्या भएको छ । यस्तोमा पोखरेलनिकट एकजना पदाधिकारीले युवा संघदेखि भोलेन्टियर्स फोर्ससमेत ओलीको मात्रै सुरक्षामा केन्द्रित गरिएपछि अर्को आन्तरिक तयारी थालिएको बताएका छन् ।

‘महाधिवेशन नजिकिँदै गर्दा हाम्रो समूहका एकपछि अर्को नेतालाई गलाउने, थर्काउने, धाकधम्की दिने काम सुरू भएको छ’, उनले भने, ‘यो कुरा त तपाईंले च्यासलमै देखिसक्नु भयो । कर्ण थापामाथिको दुर्व्यवहार संयोग र तत्कालीन अवस्थाको उपज होइन, जानाजान गरिएको अपमान हो ।’

त्यहीकारण अब पोखरेल समूह आफ्नो सुरक्षाका लागि छुट्टै दस्ता निर्माणको तयारीमा लागेको छ। त्यसका लागि पोखरेल समूहले केही दिनयता दुई तीन चरण छलफल पनि गरिसकेको छ ।

छुट्टै नयाँ दस्ता निर्माणका लागि च्यासलमा दुर्व्यवहार भोगेका उनै स्थायी कमिटी सदस्य कर्ण थापासहितका नेताहरू सक्रिय भएका छन् । उनीहरूले थापागाउँ केन्द्रित भएर छलफललाई तीव्र बनाएका छन् । ‘एक दुई दिनभित्रै युवाहरूको एउटा दस्ता घोषणा हुन सक्छ’, ती नेताले भने, ‘हामी छलफल र आन्तरिक तयारीमा छौँ । भरे-भोलि नै निर्णय हुन सक्छ ।’

उता च्यासलमा दुर्व्यवहार भोगेका नेता थापाले त्यस घटनालाई ठूलो नभने पनि पोखरेल समूहले तयारी गरेर अघि बढ्नुपर्ने बताइरहेका छन् । अहिलेलाई उनी र अर्का केन्द्रीय सदस्य रमेश पौडेलसहितले दस्ता बनाउने विषयमा गृहकार्य गरिरहेका छन् ।

‘एघारौँ महाधिवेशनमा उत्रिने हाम्रो समूहका नेताहरूका लागि अलग्गै सुरक्षा दस्ता बनाउनै पर्ने भएको छ। सकेसम्म त्यसको नाम ‘जबज रक्षक बटालियन’ राख्नु उचित हुने कुरा आएको छ । नाममा छलफल भइरहेको छ’, पोखरेलनिकट अर्का नेताले खबरहबलाई भने, ‘उताको भोलेन्टियर्स फोर्स हाम्रा लागि खतरा हुने निष्कर्ष हाम्रो छ । त्यही भएर सुरक्षा दस्ता बनाउने तयारी गरिरहेका छौँ ।’

पोखरेल समूहले महाधिवेशन अगाडि नै फोर्स गठन गर्ने भएको छ । ‘पूर्वराष्ट्रपति, अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलसहितका पदाधिकारीलाई सुरक्षा बढाउने गरी हामी फोर्स घोषणा गर्दैछौँ । मंसिर २० र २२ गतेसम्म भेला गरेर फोर्स घोषणा हुन्छ । हाम्रो समूहका नेताहरूलाई थर्काउन थालेपछि काउन्टरमा यो फोर्स बनाउनैपर्ने भयो’, ती नेताले भने, ‘यो फोर्समा कम्तीमा पनि एक हजार एक सयजना सदस्य हुन सक्छन् । कर्ण थापालाई च्यासलमै दुर्ववहार गरेपछि अलग्गै फोर्स चाहिने नै भयो । हामी अब महाधिवेशनमा पदाधिकारीमा उठ्नेलाई आफैं सुरक्षा दिन्छौँ ।’

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १ : २२ बजे

प्रतिनिधि सभा पुनर्स्थापना गरेर मात्रै निर्वाचनमा जाऊँ : विष्णु पौडेल

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेको ११ औँ

कोटेश्वर चोक सुधार आयोजनाका लागि जापानसँग ऋण सम्झौता

काठमाडौं– कोटेश्वर चोक सुधार आयोजनाका लागि नेपाल सरकार र जापान

उज्यालो नेपाल पार्टीमा सार्वजनिक भए कुलमान (तस्बिरहरू)

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज औपचारिक

कञ्चनपुरको गौरीघाटमा अवैधरुपमा १३९ काँचा रूख काटिए

कञ्चनपुर– कृष्णपुर नगरपालिका-७ स्थित गौरीघाट सामुदायिक वनमा ठूलो सङ्ख्यामा काँचा

गोकुल बास्कोटा भन्छन्- महाधिवेशन प्रतिनिधिले एमाले जोगाउनु पर्छ

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले दिवंगत महासचिव मदन