‘ताप्लेजुङमा महिलामाथि भिजिलान्तेको आतंक छ’ | Khabarhub Khabarhub

‘ताप्लेजुङमा महिलामाथि भिजिलान्तेको आतंक छ’

तीन चिज देख्दा अहिले पनि डर लाग्छ


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं – पाथीभरामा सरकारी धरपकड बढेपछि सामाजिक अभियन्ता निरन्ती तुम्बापो यतिबेला अर्धभूमिगत बनेकी छिन् । किरात याक्थुङ चुम्लुङकी महासचिवसमेत रहेकी उनले पाथीभराबाट पाँचथर हुँदै काठमाडौंसम्म आइपुग्दा निकै सास्ती व्यहोर्नुपरेको खबरहबलाई सुनाइन् ।

खबरहब डटकमले आइतबार दरबारमार्गस्थित कार्यालयमा आयोजना गरेको कार्यक्रममा उपस्थित निरन्तीले ताप्लेजुङमा सरकार र भिजिलान्तेहरु मिलेर राज्यआतंक मच्चाइएको र महिलामाथिसमेत जथाभावी कुटपिट भइरहेको भन्दै सरकार र मानवअधिकारकर्मीको ध्यान आकर्षण गराइन् ।

लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्न पाउने नागरिकको हकमाथि सरकार र सरकार संरक्षित व्यक्तिहरुबाट आक्रमण भइरहेको नो केबलकार पक्षधरको गुनासो छ । सरकारले जथाभावी गिरफ्तार गर्ने नीति लिएर पञ्चायती व्यवहार देखाइरहेको उनीहरुको भनाइ छ ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सरकारको यस्तो कदमलाई ‘बहुदलीय पञ्चायत’ को संज्ञा दिन्छन् ।

गत वर्ष अनलाइनखबर डटकमले घोषणा गरेको ५० प्रभावशाली महिलाको सूचीमा परेकी सामाजिक अभियन्ता हुन् निरन्ती तुम्बापो । पाथीभरा मुक्कुम्लुङ केबलकार खारेजीको आन्दोलनमा सक्रिय रुपमा लागेकी तुम्बापोले सुदूरपूर्वबाट काठमाडौं आएर सुनाएको पीडा उनकै शब्दमा–

म ताप्लेजुङदेखि भर्खर मात्रै काठमाडौं आइपुगेकी हुँ । फिल्डमा भएको हुनाले त्यहाँ भइरहेका कुराहरु सेयर गर्न चाहन्छु ।
पहिलो कुरा– तीनवटा चिज देख्यो भने अहिले मजस्तो निडर मान्छे पनि अलिकति डराएको हो कि भनेजस्तो लाग्छ । यहाँ काठमाडौंसम्म पनि त्यस्तै महसुस हुन्छ ।

तीन चिज भन्नाले पहिलो– पुलिसको ड्रेस देख्यो भने । दोस्रो–हेल्मेट लगाएको मान्छेले नछोडी चिहाइराख्यो भने । र, तेस्रो– टोपी भएको जम्पर लगाउने मान्छे देख्यो भने भिजिलान्तेहरुले पिछा गरिरहेको जस्तो लाग्छ । त्यो टोपीभित्रबाट हेर्ने अनि भौतिक आक्रमण गरिहाल्ने । यी तीनवटा चिजले ताप्लेजुङलाई अत्यन्तै आतंकित बनाएको छ । यो विषयलाई संवेदनशील सोच्ने कि नसोच्ने ?

दोस्रो– योपटक गिरफ्तारी दिनेमा महिलाहरु तीन–चार जना छन् । धेरै महिलाहरु अदृश्यरुपमा भागिराख्नुभएको छ ।

मैले दुई–तीनवटा चिजहरु लाइभ देखिरहेको छु । विचराहरु घाइते हुनुभयो । ताप्लेजुङमा के सम्वेदनशील पक्ष रहेछ भने अघिल्लोचोटिको गोलीकाण्डमा घाइते भएकाहरुलाई उपचार गर्न आएको ठाउँबाट गिरफ्तार गरिएछ । त्यसले ताप्लेजुङका मान्छेहरु टाउको टाँचा लगाएर हतार–हतार घर गएर सुरक्षित भएका छन् । हात भाँचिएको छ तर उपचारै नगरी घरमा सुरक्षित भएका छन् । हाम्रो घाइतेको क्रम थपिइराखेको छ । मलाई लाग्छ घाइतेको संख्या सयौंमा पुग्छ । आजै (आइतबार) पनि दुईजना थपिए । टाउकोको सिटिस्क्यान गर्नुपर्‍यो । एमआरआई गर्नुपर्‍यो ।

महिलाहरुको केसमा आन्दोलनकारी महिलाले मात्रै कुटाइ खाएनन् । जो, त्यहाँका होटल व्यवसायी छन्, त्यहाँका नागरिकहरु छन्, उनीहरुले पनि पिटाइ खाएका छन् । भिजिलान्तेहरुले जथाभावी कुट्ने । जो महिलाहरु भाग्न सक्दैनन्, उनीहरुलाई ‘र्‍याण्डमली’ कुट्ने र उनीहरु चिच्याउने ।

जहाँ सीसी क्यामेरा फुट्यो, म त्यहीँ थिएँ । त्यहाँका कामदार महिलाहरुलाई त्रास भयो । पुलिसहरु एकापट्टि बस्ने अनि उनीहरु त्रासले घोप्टिएर बस्ने । डर लागेर यस्सो चिहायो भने पुलिसले गोली ताकिहाल्ने । महिलालाई गोली ताकिहाल्ने । अहिले ती महिलाहरुलाई पुलिस र सशस्त्र प्रहरी देख्दा कति गाह्रो भएको होला ?

जहाँ ११ बजे मेस (खाना पकाउने कार्य) चलेको थियो, बिचरा कहिल्यै आन्दोलनमा नहिँड्ने मान्छेहरुले खाना बनाउन अन्य महिलाहरुलाई सघाइरहेका थिए, ती महिलामाथि लाठीचार्ज गरिएको छ । त्यो महिलाको मोबाइल हराएको छ । मेरो आफ्नै दुईवटा लुगा छोडिएको छ । एटीएम कार्ड फिदिममा छोडिएको छ । हामी त पटक–पटकको चरणवद्ध यात्रा गरेर यहाँ आइपुगेका छौं ।

ताप्लेजुङ काटेर फिदिम आइयो । फिदिममा बैंकबाट पैसा झिकौं, अब गाउँ छिर्नु छ भनेर बैंकमा छिर्न खोज्दाखोज्दै ड्राइभरलाई फोन आइगयो । तैंले आन्दोलनकारी बोकेको छस् ? भनेर । तैंले बन्दकर्ताहरु बोकेको छस् ? राम्रो भाषमा पनि हैन हामीलाई त । ‘बन्दकर्ता’ र ‘आन्दोलनकारी’ मात्रै नाम–उपनाम दिने क्या ।

यस्तो भएपछि हामी जुन गाउँमा बस्न खोजेका थियौं, त्यहाँ नबसेर अर्को गाउँतिर फड्को मारेर भाग्नुपर्‍यो । त्यो स्थितिमा कति बा–आमाहरुका झोलाहरु डढिराखेको र महिलाहरु चिच्याइराखेको देख्दा त्यहाँ एकदमै राज्य आतंक भएको छ ।

मानवअधिकारवादीहरु जान्छन् । हामी हुञ्जेलसम्म पुग्दैनन्, अनि भाग्यो । मानवअधिकारवादीहरु सीसी क्यामेरा फुटेको हेर्न जान्छन्, तल गोलीकाण्ड भएको ठाउँमा जाँदैनन् । बोतल र पेट्रोल झरेको ठाउँमा जाँदैनन् ।

त्यहाँ महिलाको धेरै ठूलो भूमिका छ । झडप परिराखेका बेला कुनचाहिँ पुलिसले आगो लगायो ? पुलिसबाट घुसपैठ भएको हो त्यहाँ आगो लगाउने । त्यो देख्ने महिलाले अर्को पुरुषलाई सूचना दिइन् र त्यो पुलिससँग हाम्रो आन्दोलनकारी परिराखेका छन् । पुलिसहरु घाइते छन् तर नर्मल छन् ।

झडप परिरहेको ठाउँमा पुलिसले कुट्न खोज्दा सीसी क्यामेरा छ कि छैन, त्यस्तो सम्वेदनशील कुरामा आन्दोलनकारी महिलाहरुको भूमिका छ । राँको बाल्दाखेरि लामो बाल्ने थिए होला । तर, घुसपैठ हुन्छ भनेर महिलाले नै छिटोछिटो गरेर कमला भन्ने महिलाले आगो दिइराखेकी थिइन् । यी महिलामाथि भइरहेको दमनको विषयमा अझै सम्वेदनशील हुनुपर्छ होला ।

यो पनि-

पाथीभरा मुक्कुम्लुङ केबलकार : खेलाँची नगर्न सरकारलाई सुझाव

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १० : ४४ बजे

एकै रुखमा झुन्डिएको अवस्थामा भेटिए युवा-युवती

मोरङ- मोरङको पथरीशनिश्चरे नगरपालिका- ५ मौलाबारीस्थित बक्राहा खोलाको किनारमा विवाहित

बाफिया र धितोपत्र विधेयक चाँडो पारित गरौँ : अर्थमन्त्री

काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय

अमेरिकामा दादुराको प्रकोप बढ्दो

एजेन्सी – अमेरिकी सेन्टर फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी)ले

प्रचण्डको हिसाब- अहिलेको सरकार जति लामो टिक्छ, उति धेरै फाइदा माओवादीलाई हुन्छ

नेपालगञ्ज- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक : प्रचण्ड

कैलाली– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई