महाधिवेशन तालिकासँगै कांग्रेसमा जोड-घटाउ सुरू, खड्कालाई सभापतिमा सघाउने देउवाको वचन « Khabarhub

महाधिवेशन तालिकासँगै कांग्रेसमा जोड-घटाउ सुरू, खड्कालाई सभापतिमा सघाउने देउवाको वचन



काठमाडौं– नेपाली कांग्रेसले आगामी पुस २६,२७ र २८ गते काठमाडौँमा महाधिवेशन गर्ने भएको छ। कांग्रेसले डेढ महिना लामो कसरतपछि यो निर्णय गरेको हो । कांग्रेस बैठकले नियमित महाधिवेशन भने पनि विशेषको विवाद पनि मिलिसकेको छैन ।

कार्यतालिका सार्वजनिक भएपछि सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई बोलाए । दुई नेताबीचको वार्ताबारे खड्काको सचिवालयका एक सदस्यले भने, ‘महाधिवेशनमा सघाउने बचन सभापतिले दिनुभएको छ ।’

दुई नेताहरू भेटेपछि देउवा पत्नी पूर्व डा. आरजु राणा पनि मिसिएकी थिइन् । ‘सोमबार दुई शीर्ष नेता बस्नुभयो । सभापति निवासमा डेढ घण्टा कुरा भयो । त्यसबेला नै तयार हुन देउवाले भन्नुभएको छ’, स्रोत भन्छ, ‘अब देउवाको उम्मेदवार खड्का नै हो भन्दा फरक पर्दैन । उहाँहरूबीच पटक–पटक छलफल भएको थियो ।’

महाधिवेशनको अघिल्लो दिनसम्म कुन नेता कता पुग्छन् अनुमान गर्न सकिँदैन । तर अहिलेसम्म देउवाले खड्कालाई आफ्नो उत्तराधिकारी मानेर जान तयार भएको देखिँदैछ ।

०७८ साल मंसिरमा भएको कांग्रेसको १४औँ महाधिवेशनमा पनि देउवाको बलियो सारथि भएकाले खड्का पहिलो वरीयताका उपसभापति बनेका थिए । उनीपछि उपसभापति धनराज गुरुङ छन् ।

‘सभापतिले महाधिवेशनमा उहाँलाई अगाडि सार्ने बचन दिनुभएको छ । उहाँले तयार हुनु भन्नुभएकै हो । आफू तयारी गर, महाधिवेशन पनि सफल बनाऊँ भन्नुभएको छ’, खड्कानिकट एक नेताले भने, ‘पूर्वपदाधिकारीहरू व्यवस्थापन गर्ने जिम्मा मेरो भयो, राम्रो तयारी गर्नु भन्नुभएको छ ।’

अहिले खड्का सभापतिमा उठ्न नेता–कार्यकर्तासँग छलफलमा छन् । मंगलबार पनि उनले कांग्रेस नेता कृष्ण सिटौला, प्रवक्ता डा. प्रकाशशरण महत लगायतका नेताहरू भेटेर छलफल गरेका थिए ।

सभापति देउवाले कृष्ण सिटौला, विमलेन्द्र निधी, प्रकाशमान सिंह लगायतका नेतालाई मनाएर खड्कालाई अगाडि सार्न खोजेका हुन् । ‘उहाँहरू सभापति देउवाको कुरा काट्ने पक्षमा हुनुहुन्न । व्यवस्थापन गरेर जाने पक्षमा देउवा देखिनु हुन्छ,’ स्रोत भन्छ, ‘कुनै राजनीतिक परिवर्तन नभए पूर्ण दाइलाई नै अगाडि सार्ने तयारी भएको छ ।’

कांग्रेस नेतृ महालक्ष्मी डिना उपाध्याय १५ औँ महाधिवेशनमा कार्यसम्पादन भित्रबाटै नयाँ नेतृत्व आउने बताउँछिन् । उनी कार्यवाहक सभापति खड्का नै सभापतिका रुपमा आउने समेतसङ्केत गर्छिन् । ‘उहाँ आउन पनि सक्नुहुन्छ, त्यो सम्भावना छ’, उनले भनिन् ।

सात पूर्वपदाधिकारीको बेग्लै तयारी

उता कांग्रेसका ७ जना पूर्वपदाधिकारी सभापतिका लागि अलग्गै दौडधूप गरिरहेका छन् । विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार,डा. प्रकाशशरण महत, डा. शशांक कोइराला र गोपालमान श्रेष्ठ यो समूहमा छन्। तर अहिलेसम्म सभापति देउवालाई भेटेर नेतृत्वको इच्छा राखेका छैनन् ।

यही मङ्सिर १६ गते कांग्रेसका पूर्वपदाधिकारीहरूले संस्थापन पक्षका केन्द्रीय सदस्यसँग छलफल गरेर एकजनालाई सभापतिका रुपमा अघि सार्ने सम्भावना रहेको बताएका थिए।

नेता सिटौलाका अनुसार ७५ जना संस्थापन पक्षीय केन्द्रीय सदस्यले सातजना पूर्व पदाधिकारीबाटै संस्थापनको सभापति बन्नुपर्ने भनिएको थियो ।

तर अहिले ती सात पूर्वपदाधिकारीलाई मनाएर देउवाले खड्कालाई अघि सारे यही महिना संस्थापनको प्यानल सार्वजनिक हुन सक्ने नेताहरूको दाबी छ ।

‘यो महिनामै देउवाले आफ्नो पक्षका उम्मेदवारबारे खुलेर कुरा गर्ने अवस्था बन्छ’, कांग्रेस संस्थापन पक्षका अर्का नेता भन्छन्, ‘महाधिवेशन हुने भए मङ्सिर नकटाई उहाँले आफ्नो उम्मेदवार अगाडि सार्नुहुन्छ ।’

आगामी महाधिवेशनको रणनीतिबारे नेता सिटौला भन्छन्, ‘हामी छलफल गरिरहेका छौँ । निचोड निकाल्न ५, ७ दिन लाग्न सक्छ । हामी परिस्थितिको मूल्याकङ्न गरिरहेका छौँ ।’

सिटौला पनि मिलेसम्म आफैँ सभापतिको दाबी गरिरहेका छन् । अहिले संस्थापनतिर रहेका कोइराला परिवारकै शंशाकले आफू पनि सभापतिमा उठ्ने मंगलबार नै चितवन बताएका छन् । उनले शेखरलाई साथ दिने सम्भावना पनि छ । शेखरले १४ औँमा उनीबाट धोका पाएका थिए ।

देउवा पक्षका नेता विमलेन्द्र निधी १५ औँ महाधिवेशनमा सहमतिमा नेतृत्व नचुनिए आफू पनि सभापतिको उम्मेदवार रहने कुरा राख्दै आएका छन् ।

अन्यसँग देउवाले गरेका छैनन् छलफल

स्रोतका अनुसार अहिले सभापति पदबाहेक अरुबारेमा देउवाले छलफल गरेका छैनन् । ‘सोमबार मात्रै कार्यतालिका सार्वजनिक भएको छ । सभापतिबाहेक अरू पदमा कुरा भएको छैन,’ देउवानिकट अर्का पदाधिकारीले भने, ‘कार्यवाहक सभापति र सभापतिको नियमित कुरा भएको छ । तर हाम्रो कुरा भएको छैन ।’

तर सिटौलानिकट नेताहरू भने उनी देउवाको नियमित सम्पर्कमा भएको जानकारी गराउँछ । ‘अरु नेताहरू थाहा भएन, सिटौला दाइ र सभापतिको नियमित संवाद भइरहेको छ । उहाँ कुरा मिलाउँदै हुनुहुन्छ ।’

अहिले कांग्रेस संस्थापन इतर समूहबाट डा. शेखर कोइराला र महामन्त्री गगन थापाले दाबी प्रस्तुत गरिसकेका छन् ।

कोइरालाले मंगलबार खबरहबसँग कुरा गर्दै आफू १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको बताएका छन् । उता महामन्त्री थापाले पनि सभापतिमा उठ्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  १ : ५४ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर