सिरहा– सिरहाको धनगढीमाई नगरपालिकाले यहाँका किसानले प्रयोग गरेका कृषि मिटरको विद्युत् महसुल समयमा नबुझाउँदा नेपाल विद्युत् प्राधिकरणले लाइन काट्न सुरु गरेको छ । गहुँ सिँचाइ गर्ने मुख्य समयमा कृषि मिटरको लाइने काटिएपछि किसान समस्यामा परेका छन् ।
नगरपालिकाले दुई वर्षअघिदेखि नगरका किसानको विद्युत् महसुल तिर्ने जिम्मा लिएको थियो । तर, लामो समयदेखि पालिकाले महसुल नतिरेपछि बाध्य भएर ठूला मिटरको लाइन काट्न सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख अवधेश गुप्ताले बताए ।
उनले भने , ‘हामीले अहिले तीनओटा ठुला कृषि मिटरको लाइन काटेका छौँ । नगरको सम्पूर्ण कृषि मिटरको बाँकी बक्यौता करोड भन्दा माथि छ । महसुल उठाउनको लागि लाइन काट्नुको विकल्प हामीसँग छैन ।’
सिँचाइ मिटरको लाइन काटिँदा वडा नं. ८ का सयौं किसान मर्कामा परेका छन् । ‘किसानले लगाएको गहुँमा सिँचाइ गर्नु पर्ने समयमा विद्युत्को लाइन काटियो । अहिले सिँचाइ गर्न समस्या भइरहेको छ’, स्थानीय किसान योगेश सिंहले भने, ‘नगरपालिकाले विद्युत्को महसुल तिर्न सक्दैन भने जिम्मा लिनु हुन्न थियो । विनाकारण किसानले दुःख पाइरहेका छन् ।’
उनले यहाँ रहेको सामुहिक कृषि सिँचाइ मिटरको रु दुई हजार दुई सय महसुल पुगेपछि प्राधिकरणले लाइन काटेको जानकारी दिए । उनले भने, ‘पालिकाले जिम्मा नलिएको भए हामी नियमित रूपमा महसुल बुझाउँथ्यौँ । अहिले २२ हजार महशुलमात्र हैन, त्यसमा लाग्ने जरिवाना र पुनः जडान खर्च समेत किसानले बेहोर्नु पर्ने अवस्था आयो ।’ एउटै मोटरले यस क्षेत्रका ५० विगहाभन्दा धेरै जमिन सिँचाइ गर्दै आइरहेका उनले जानकारी दिए ।
समयमा विद्युत्को महसुल नबुझाउँझा किसानमात्र हैन पालिका पनि आर्थिक मारमा परेको नगर कृषि संयोजन समितिका संयोजक समेत रहेका वडा नम्वर १ का अध्यक्ष सूर्यनारायण यादवले बताए।
‘पालिकाले किसानको विद्युत् महसुल तिर्ने जिम्मा लिएपछि समयमा तिर्नु पर्ने हो । समयमा महसुल नतिर्दा जरिवाना बेहोर्नु पर्ने अवस्था भएको छ । त्यसोहुँदा नगरले विनियोजन गरेको बजेटभन्दा महसुल रकम धेरै उठेकोले शुल्क बुझाउन समस्या भएको हो ।’
अध्यक्ष यादवले पालिकाले चालु आर्थिक वर्षमा कृषि विद्युत् महसुल बुझाउन ४५ लाख विनियोजन गरेको छ । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा पालिकाले २० लाख रुपैयाँ विद्युत् प्राधिकरणमा बुझाएको थियो ।
विनियोजित बजेट र उठेको महसुल रकमको तालमेल नमिल्दा समस्या भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ्गले बताए।
उनले भने, ‘नगरसभाले योजना बनाएरमात्र भएन, त्यसमा कति बजेट विनियोजन भएको छ भन्ने मुख्य कुरा हुन्छ । बजेट र भुक्तानी गर्नुपर्ने महशुलको तालमेल मिलिरहेको छैन । आजै बस्ने कार्यपालिका बैठकमा यस विषयमा छलफल गरी निकास निस्कन्छ ।’
प्रतिक्रिया