गृहमन्त्री रमेश लेखकले सुटुक्क भेटे शेखर कोइराला  | Khabarhub Khabarhub

गृहमन्त्री रमेश लेखकले सुटुक्क भेटे शेखर कोइराला 


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षीय पदाधिकारीहरूले ‘कारबाही’ गर्नुपर्ने बताइरहेका बेला भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले सुटुक्क इतर समूहका नेता डा. शेखर कोइरालालाई भेटेका छन् ।

भिजिट भिसा प्रकरणमा नाम मुछिएको अवस्थामा गृहमन्त्रीले राजीनामा दिएर छानबिनको मार्गप्रशस्त गर्दा उचित हुने अभिव्यक्ति दिएका नेता कोइरालालाई लेखकले मंगलबार सुटुक्क भेटेका हुन् । 

गृहमन्त्री लेखक नेता कोइरालालाई भेट्न मंगलबार बिहान ८ बजे आसपास बालुवाटारस्थित सम्पर्क कार्यालय पुगेका थिए । उनीहरूका बीचमा झण्डै ४० मिनेट कुराकानी भएको कोइरालानिकट एक नेताले जानकारी दिएका छन् । 

तर, कोइरालानिकट अर्को स्रोतले गृहमन्त्री लेखकसँग मात्र १० मिनेट ‘वान अन वान’ कुराकानी भएको खबरहबलाई प्रतिक्रिया दिएको छ । ‘विराटनगरमा बोलेपछि गृहमन्त्रीले भेट्न खोजिरहनुभएको थियो । समय मिलिरहेको थिएन,’ ती स्रोतले भने, ‘अस्ति मंगलबार बिहान ८ बजेपछि सम्पर्क कार्यालय आउनुभएको थियो । १० मिनेट जति एक्ला–एक्लै कुरा भएको हो ।’  

नेता कोइरालाले जेठ १० गते गृहनगर विराटनगर पुगेर ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए । अनियमिततामा मुछिएको अवस्थामा राजीनामा दिए गृहमन्त्रीको नैतिकता प्रदर्शन हुने उनको भनाइ थियो ।

गृहमन्त्री लेखकले राजीनामा दिँदा नैतिकता देखिन्छ : शेखर कोइराला 

त्यसको दुई दिनपछि जेठ १२ गते सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा गृहमन्त्रीको राजीनामा माग्ने कोइराला र उनीनिकट नेताहरूलाई स्पष्टीकरण सोध्नु पर्ने माग उठेको थियो ।

कांग्रेस बैठकमा देउवालाई प्रस्ताव- गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूलाई कारबाही गरौँ

 पूर्वपदाधिकारी बैठकमा आफूसहित केही नेतालाई स्पष्टीकरण सोध्नु पर्ने विषयमा छलफल भएपछि जेठ १३ गते विराटनगरमा आयोजित पार्टीको शुभेच्छुक संगठन नेपाल नाइँ संघको राष्ट्रिय परिषद् उद्घाटनका क्रममा नेता कोइरालाले असन्तुष्टि व्यक्त गरेका थिए । सभापति निवासमा भएको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आफ्नो बारेमा मात्रै केन्द्रित रह्यो भन्ने सुन्दा अचम्म लागेको बताएका थिए । 

शेखरले भने- सभापतिजीको घरमा देशको बारेमा कुरा भयो होला भनेको, मेरै बारेमा भएछ

 त्यसपछि जेठ १६ गते नेता कोइराला र महामन्त्री गगनकुमार थापाबीच बालुवाटारमा ११ महिनापछि भेट भएको थियो । उक्त भेटमा दुई नेताका बीचमा गृहमन्त्रीको राजीनामाको विषयमा जेठ २० गतेसम्म ‘हेर्ने’ त्यसपछि थप धारणा बनाएर अगाडि बढ्ने समझदारी बनेको चर्चा चल्यो । 

उक्त चर्चा कतैबाट पनि औपचारिक रूपमा पुष्टि नभए पनि सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री लेखक हच्किएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकरणबारे पार्टीका नेताहरू मिलाउन सुझाएका थिए । 

त्यही सुझाव अनुसार गृहमन्त्री लेखक जेठ २० गते प्रतिनिधिसभा बैठक बस्नुअघि नेता कोइरालालाई भेट्न बालुवाटारस्थित सम्पर्क कार्यालय पुगेका बताइएको छ । कोइरालानिकट एक नेताका अनुसार सम्पर्क कार्यालयमा उनीहरू बीच भएको ४० मिनेट लामो कुराकानी पनि भिजिट भिसा प्रकरणबारे मै केन्द्रित थियो । 

भेटमा गृहमन्त्री लेखकले कोइरालासँग आफू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमार्फत भएको भनिएको भिजिट भिसा सेटिङमा संलग्न नरहेको प्रष्टिकरण दिएका थिए ।

 ‘गृहमन्त्रीले भिजिट भिसा सेटिङमा आफ्नो कुनै संलग्नता नरहेको, आफूलाई बिना कसुर बदनाम गरिएको कुरा राख्नुभयो,’ ती नेताले भने । 

गृहमन्त्रीले नेता कोइरालालाई यस विषयमा थप नबोलिदिनसमेत आग्रह गरेका थिए ।

 ‘सरकारलाई, गठबन्धनलाई र मलाई अप्ठ्यारो पर्छ । यो बारे नबोलिदिनुस् भनेर भन्नुभयो,’ ती नेताले भने । 

 जवाफमा नेता कोइरालाले गृहमन्त्री लेखकलाई आफूले व्यक्ति लक्षित गरेर विराटनगरमा नबोलेको स्पष्ट पारे । प्रश्न उठिसकेपछि जवाफ दिनु प्रजातान्त्रिक मूल्य–मान्यता भएकाले नैतिकता देखाउँदा राम्रो हुने आशय आफ्नो रहेको कोइरालाको भनाइ थियो । 

‘प्रश्न उठिसकेपछि जवाफ दिनुपर्छ । यो प्रजातान्त्रिक मूल्य हो । नैतिक धरातल बलियो हुन्छ,’ कोइरालाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘प्रश्न उठिसकेको छ । यसलाई निरूपण गर्ने दायित्व तपाईंको हो । तपाईंलाई सजिलो होस् भनेर बोलेको हुँ । उद्देश्य अन्यथा होइन ।’

गृहमन्त्री लेखकसँग नेता कोइरालाले सभापति निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीका बीच आफ्नो विषयमा भएको टीका–टिप्पणीप्रति पनि आपत्ति जनाएका थिए । उनले आफूले भिजिट भिसा प्रकरणबारे दिएको अभिव्यक्ति नसच्याउने पनि बताएको स्रोतको दावी छ ।  


प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ६ : ३३ बजे

विद्यार्थीलाई विद्यालय तहदेखि नै खेतीपातीमा आकर्षित गर्न नीति बनाउनु पर्छ : सांसद शाक्य 

काठमाडौं– राष्ट्रियसभा सदस्य डाक्टर अञ्जान शाक्यले समग्र कृषिक्षेत्रको विकासका लागि

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बकर ईदको शुभकामना व्यक्त गरेका

‘लाहुरेको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं– आख्यानकार विजय हितानको लाहुरेको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय

विविधताभित्रको एकता नै नेपाली हुनुको पहिचान : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न जातजाति, धर्म र समुदायअनुसारका

बाम्का बजार आगलागी : सरकारसँग राहतको माग

बाजुरा– बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडितलाई तत्काल राहत