धनगढी- पछिल्लो समय रेशम चौधरी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा अल्झिएको छ ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकतालाई लिएर यो दलमा आन्तरिक किचलो छ । रेशमलाई सर्वोच्च अदालतका एक अधिकृतको फेक पत्रका आधारमा पक्राउ गरिएपछि यी दुई दलको एकता नै भाँडिएको छ ।
दम्पतीका रुपमा रहेका रेशम र रञ्जिताबीच शक्ति संघर्ष चलिरहँदा पार्टीको गतिविधि पनि ठप्प प्राय छ । नाउपाको उदय भएको कैलालीको टीकापुरमा पनि अहिले नाउपाको चहलपहल देखिएको छैन । एकता भाँडिएपछि नाउपा अबको रणनीतिबारे आन्तरिक छलफलमा छ ।
नाउपाभित्र विवाद चलिरहँदा मंगलबार प्रमुख सत्तारुढ नेकपा एमाले भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनका नाममा टीकापुरमा शक्ति प्रदर्शन गरेको छ ।
एमालेनिकट सङ्गठनको दोस्रो महाधिवेशन उद्घाटनका क्रममा मंगलबार हजारौँ नेता-कार्यकर्तालाई टीकापुरमा उतारिएको छ । त्यसक्रममा विभिन्न जातजातिका झाँकी र नृत्य पनि प्रस्तुत गरिएको छ ।
दुई दिनसम्म चल्ने महाधिवेशनमा एमालेका सचिव लेखराज भट्टसहित नेताहरू मंगलबार टीकापुर पुगेका छन् । महाधिवशेशनमा नेताहरू झपट रावल र विष्णु रिजालसहित पनि पुगेका छन् ।
यो संगठनको अध्यक्षमा अहिले एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरीले छिन् । उनले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास अत्यधिक रहेको टीकापुरलाई महाधिवेशनस्थल छानिएको बताएकी थिइन्।
एमाले केन्द्रीय सदस्य झपटबहादुर रावलले नेपालमा सबै भूमिहीनलाई जग्गा दिएर मालिक बनाउन अहिलेको सरकार लागिरहेको पनि महाधिवेशनअघि बाएका थिए ।
टीकापुरमा मात्रै करिब नौ हजार नौ सय जना भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोवासीले जग्गाका लागि भूमि आयोगमा आवेदन दिएका छन्।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदशका विभिन्न जिल्लाबाट टीकापुर आएका अधिकांश मानिसहरू क्याम्पस तथा संघ संस्थाका जग्गामा बसेका छन् । यहाँ अझैसम्म जग्गा नापजाँचको काम सुरू हुन सकेको छैन।
यो महाधिवेशनमा देशभरका ६४ जिल्लाबाट ६०० जना प्रतिनिधि सहभागी भएका छन्। सहभागीहरूलाई एमालेको टीकापुरस्थित पार्टी कार्यालयमा खानपानको व्यवस्था मिलाइएको छ ।














प्रतिक्रिया