कांग्रेसलाई बाइपास गरेर ओलीले किन भेटे प्रचण्ड ? | Khabarhub Khabarhub

कांग्रेसलाई बाइपास गरेर ओलीले किन भेटे प्रचण्ड ?

निहुँ टीआरसी, स्वार्थ सत्ता !



काठमाडौं – ०८१ असार ३० पछि प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच नङ र मासुको जस्तै सम्बन्ध हुने दुवै दलका नेताहरूको दाबी गरे ।

कांग्रेस संस्थापनइतर पक्षका नेता डा. शेखर कोइराला र महामन्त्री गगनथापाले पनि पटकपटक ओलीको कार्यशैलीमाथि प्रश्न गर्दा देउवा ओलीको पक्षमा उभिन्थे ।

यतिमात्र हैन, विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राजनीतिक संवाद गर्दा होस् या विभिन्न भेटघाटमा देउवा र ओली एकैसाथ प्रस्तुत हुने गरेका थिए ।

तर, आइतबार प्रधानमन्त्री ओली र विपक्षी दलका नेता प्रचण्डले देउवाको अनुपस्थितिमा भेटघाट गरे । उनीहरूको भेटघाटबारे प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार माओवादी केन्द्रका उपमहासचिव वर्षमानपुन र ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए ।

प्रधानमन्त्रीको सचिवालय सदस्य प्रकाश सिलवालका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको दुई नेताको भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भएको हो ।

तर, यो भेटपछि प्रचण्ड र ओलीको भावभङ्गिमा फरक देखिएको छ । भेटघाटपछि वर्तमान सत्ता गठबन्धनमा पनि केही हलचल पैदा भएको छ ।

किनकी सोमबार पनि प्रधानमन्त्री ओली र प्रचण्डबीच प्रतिनिधि सभा बैठकमा खासखुस भएको थियो । सम्भवतः १० महिनापछि ओली प्रचण्डसँग मुस्कुराउँदै हात मिलाएर भलाकुसारी गर्दैथिए ।

दुईजना बीचको यो भलाकुसारीको तस्बिर ओलीकै सचिवालयले मिडियासम्म पुर्‍यायो । यसअघि पनि प्रचण्डसँग निकटता बढ्दा ओलीको सचिवालयले यसैगरी तस्बिरहरू सार्वजनिक गर्ने गरेको थियो ।

हुन त दक्षिणी छिमेकी भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)का नेता विजय चौथाइवालेको नेपाल भ्रमणपछि माओवादीसँग एमालेको सम्बन्ध सुधार भएको धेरैले आकलन गरेका छन् ।

यही प्रश्न सोमबार ओलीलाई पत्रकारहरूले संसद् भवन बाहिर गरेका थिए । तर, ओलीले सवालको जवाफ नदिएर रिसाए । बरु उनले ‘तरिका हुन्छ नि तपाईँहरूको !’ भन्दै पत्रकारलाई हप्काए ।

तर, ओली र प्रचण्डको हाउभाउ हेर्दा भने देउवालाई बाइपास गरेर आफूहरू कुनै रूपमा अगाडि बढ्ने सङ्केत गरेको देखिन्छ । निहुँ सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)को भए पनि दुई शीर्षस्थ नेताबीचको भेटले सत्ता स्वार्थ झल्कियो ।

दुवै पार्टीको बैठकपछि जुटेको थिए ओली–प्रचण्ड

आइतबार एमाले सचिवालय बैठक बसेको थियो । बैठकमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले बोलेका थिए ।

त्यसपछि बोल्ने पालो उपाध्यक्ष सुरेन्द्र पाण्डेको थियो । पाण्डेले सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै गर्दा आफूसँग समय नभएको भन्दै प्रधानमन्त्री ओलीले बैठक रोक्न आदेश दिए ।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सङ्क्रमणकालीन न्यायसँग र केही राजनीतिक कुराकानीगर्न भेट गर्नुपर्ने बताउँदै बैठक टुङ्ग्याएका थिए ।

अन्य विषयमा भने सचिवालय बैठकमा ओलीले केही जानकारी गराएनन् । तर कांग्रेस नेताद्वय गगन र शेखरको अभिव्यक्तिबारे भने केही असन्तुष्टि जनाएका थिए ।

उनले नेताहरूलाई वर्तमान सत्ता गठबन्धन र सरकारको विषयमा पनि जथाभाबी बोल्दै नहिँड्न सुझाव दिए । बैठकमा ओलीको प्रस्तुती अन्य दिनभन्दा फरक देखिएको नेताहरूको दाबी छ ।

बैठकबारे एमाले सचिवालयका शीर्ष नेताले खबरहबलाई भने, ‘तीन उपाध्यक्षले बोलेपछि प्रधानमन्त्रीले आज बैठक रोकौँ, मिटिङ छ, भन्नुभयो । कोसँग बैठक भनी खुलाएको मैले सुनिनँ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले बोली सक्नुभएको थियो । सुरेन्द्र पाण्डेले बोल्दै गर्दा बैठक रोकियो ।’

थाहा दिएरै निस्केका थिए प्रचण्ड

यता माओवादी सचिव राम कार्कीका अनुसार अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँगको भेटबारे जानकारी दिएर बैठकबाट निस्केका थिए ।

‘अध्यक्ष प्रचण्डले टीआरसीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाएको कुरा बैठकमा गर्नुभएको थियो’, कार्कीले खबरहबसँग भने, ‘अधिवक्ता खिमलाल देवकोटा लिएर जाने भन्नुभएको थियो, तर उहाँ नआइपुगेकाले उपमहासचिव वर्षमान पुनलाई साथ लिएर जानुभएको हो ।’

प्रचण्डले वर्षमान रोज्नुको कारण पनि उनी वाम एकताको पक्षधर नेता भएको बताइन्छ । प्रचण्डले बैठकमा खुलस्त रूपमा नै भेटबारे बताएका थिए ।

‘ओलीले आज भेट गर्न बोलाएका छन्, टीआरसी विधेयक र अन्य राजनीतिक कुराकानी गर्ने भनिएको छ । यसका लागि म जानुपर्नेछ । म सँग वकिल खिमलाल देवकोटा पनि जानुहुन्छ’, बैठकमा प्रचण्डले भनेका थिए, ‘देवकोटाजी भएपछि टीआरसीबारे तथ्यगत कुरा पनि गर्न पाइन्छ ।’

प्रचण्डले यसो भनेपछि नेताहरूले उनलाई भेटघाट सफलताको कामना गरे ।

माओवादी बैठकमा दाबी : ‘सरकार आफैँ ढल्छ, हामीले बोल्नुपर्दैन’

माओवादी पदाधिकारी बैठकमा त्यसअघि सरकारको विषयमा आलोचना नगर्नेबारे पनि छलफल चलेको थियो ।

‘जनतासँग माओवादी तराई–मधेस अभियान’मा प्रचण्डले ओली र सरकार लक्षित अभिव्यक्ति दिएको भन्दै अबदेखि सरकारका विषयमा कुरा नगर्न नेताहरूले सुझाव दिए ।

सरकार आफैँ ढल्ने अवस्थामा रहेको संकेत देखिएकाले माओवादीले ढाल्यो भन्ने भाष्य नहोस् भनेर नेताहरूले सरकारबारे नबोल्ने तर्क गरेका थिए ।

‘यो सरकार आफैँ ढल्छ, हामीले बोल्नुपर्दैन, यही कुरा भएको छ’, बैठकबारे जानकारी दिँदै माओवादीका एक पदाधिकारीले भने, ‘हामीले सरकारको आलोचना नगर्न र सत्ताका विषयमा कुरा नै नगर्न अध्यक्षलाई सुझाव दियौँ ।’

ओलीसँग प्रचण्डको भेटघाट क्रममा कांग्रेस सभापति देउवा उपस्थित नहुने दुबै नेताबीच समझदारी बनेको स्रोतले जानकारी दियो । प्रचण्डले बैठकमा दुई जनामात्र भेट्ने कुरा सुनाएका थिए भने उता ओलीले पनि त्यही कुरा केही निकट व्यक्तिहरूलाई मात्र सुनाएका थिए ।

एमाले सचिवालय बैठक शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा प्रकरणले केही तातिएको थियो । ओली र उपाध्यक्ष शाक्यबीच निवर्तमान मन्त्री भट्टराईको विषयमा केही सवाल जवाफ नै भएको थियो ।

देउवालाई थिएन भेटबारे जानकारी

देउवानिकट नेताहरूका अनुसार ओली र प्रचण्डको भेटबारे कांग्रेस सभापति देउवालाई कुनै सूचना थिएन । उनी काठमाडौंमै भए पनि यसबारे कुनै खबर नभएपछि बैठकमा उपस्थित भएनन् ।

ओली–प्रचण्डको भेटबारे देउवानिकट नेता भन्छन्, ‘दुई नेताको भेटबारे सभापतिलाई थाहा थिएन । प्रधानमन्त्री एक्लैले कुरा गर्न खोज्नुभएको होला, यसमा कांग्रेसले भन्नुपर्ने केही छैन ।’

यता, प्रधानमन्त्रीको सचिवालय पनि दुई नेताको भेटबारे देउवालाई जानकारी दिन आवश्यक नभएको बताउँछ । सचिवालयका एक सदस्यले खबरहबलाई भने, ‘विपक्षी दलको नेतासँग प्रधानमन्त्रीले भेट्न पाउनुहुन्छ । यसमा शेरबहादुर देउवालाई सोध्न र सुनाउन जरुरी होइन । गठबन्धन तलमाथि छैन, ढुक्क भए हुन्छ ।’

ढुक्क हुने अवस्था नरहेको संकेत

वर्तमान सरकारको निरन्तरतालाई लिएर प्रधानमन्त्री ओली सत्ता गठबन्धन तलमाथि नहुने, बरु ०८४ सम्म ढुक्क रहन आग्रह गर्दै भाषण गर्छन् । तर उनी स्वयम् पछिल्लो समय ढुक्क नदेखिएको छनक मिल्छ ।

पछिल्ला कांग्रेस पदाधिकारी बैठकमा सरकार गठनका बेला भएको सातबुँदे सहमति कार्यान्वयनमा चुकेका प्रधानमन्त्री ओली आफूखुसी निर्णय गर्न लागेको भन्दै आलोचना भएको थियो ।

सरकार सञ्चालन गर्ने संयन्त्रका सदस्य महामन्त्री थापाले त सरकारलाई टेका लगाउन कांग्रेसले छाड्नुपर्ने पक्षमा चैतदेखि नै सार्वजनिक रूपमा बोल्दै आएका थिए ।

शनिबार दिउँसो बसेको संसदीय दल बैठकमा पनि कांग्रेस नेताहरूले राज्यमन्त्री कान्छाराम तामाङलाई हटाएको विषय उठाएका थिए । नेताहरू वर्तमान गठबन्धनप्रति खुसी नभएको कुरा सुनेका देउवाले गठबन्धनका कारण सोचेको कुरा पूरा हुन नसकेको बताएका थिए ।

यता, कांगेस शीर्ष नेता डा. शेखर कोइरालालगायत नेताहरू पनि वर्तमान गठबन्धनप्रति बारम्बार असन्तुष्टि पोख्ने गर्छन् ।

राज्यमन्त्रीबाट बिदा भएका तामाङले त सार्वजनिक रूपमै अब ओली सरकार ढाल्न आफू लाग्ने बताइरहेका छन् । उनलाई स्पष्टीकरण सोध्न ओलीले आग्रह गरे पनि कांग्रेस सभापति देउवाले त्यसो गर्न आँटेका छैनन् ।

त्यसो त कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेश बर्तौला सरकार ढल्ने कुरा विपक्षीको मसला भएको बताउँछन् । दुवै नेताहरू ०८४ सम्म सरकार बलियो ढंगले अघि दाबी गर्छन् ।

तर, नेताहरूको तरिका र चाल हेर्दा वर्तमान सत्तागठबन्धन यसरी नै अगाडि बढ्ने अवस्था नरहेको आकलन हुन थालेको छ । संसदमा प्रतिनिधित्व गरेका साना दलहरू पनि प्रधानमन्त्री ओलीसँग रुष्ट छन् ।

गभर्नरलाई लिएर लफडा

एक महिनादेखि नेपाल राष्ट्र बैङ्क गभर्नरविहीन छ । खासमा अहिले कांग्रेस एमालेबीच गभर्नर नियुक्तिलाई लिएर लफडा भएको देखिन्छ । अन्य राजनीतिक भागबन्डामा पनि कांग्रेसले चित्त दुखाएको छ ।

गभर्नर मामिलामा डा. गुणाकर भट्ट र डा. नीलम ढुङ्गानाको नाममा दुई दलबीच लफडा जारी छ । यही लफडाबीच ओली र प्रचण्ड एक्लै सिंहदरबारमा भेटेको कुराले राजनीतिको अस्थिर तलाउमा तप छाल उछालेको छ ।

गभर्नरका लागि कांग्रेसले नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. भट्टलाई अगाडि सारेको छ । उता, एमाले हाल राष्ट्र बैङ्ककी कायम मुकायम तथा वरिष्ठ डेपुटी गभर्नर डा. ढुङ्गानालाई गभर्नर बनाउनुपर्ने अडानमा छ ।

यसो हुँदादुई दलबीच कुरा मिलेको छैन । कांग्रेस नेताहरू भट्टको नाममा सहमति नजुटे ओलीविरुद्ध उभिने र गठबन्धन नै तलमाथि गर्ने पक्षमा छन् ।

यद्यपि कांग्रेस सभापति देउवाले मंगलबार प्रधानमन्त्री ओलीका कारण गभर्नर नियुक्ति अल्झिएको नभई केन्द्रीय बैंकभित्रकै प्राविधिक कारणले ढिलाइ भएको बताएका छन् । देउवाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा ‘गभर्नर कांग्रेसलाई दिने सहमति भइसकेको’ दाबी गरेका हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १० : ५२ बजे

कांग्रेसलाई बाइपास गरेर ओलीले किन भेटे प्रचण्ड ?

काठमाडौं – ०८१ असार ३० पछि प्रधानमन्त्री तथा नेकपा (एमाले)

अध्यादेशको विरोध भूमिहीनलाई जमिन नदिने षड्यन्त्र हो : पोखरेल

धनगढी – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भूमिहीन र अव्यवस्थित

पुनःउत्पादित प्लाष्टिकको मानकीकरण चुनौतीपूर्ण : विज्ञ

काठमाडौं – ‘रिसाइकल’ गरिएका प्लाष्टिकका उत्पादनको मानकीकरण चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले

गण्डकीमा बर्सेनि खेर जान्छ सवा दुई करोडको खोप

पोखरा – बालबालिकाको खोपका लागि सरकारले गण्डकी प्रदेशमा मात्र करिब

बाढीले कमलाको काठेपुल बगाएपछि आवागमनमा समस्या

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको