भीम रावललाई फकाउँदै दाहाल-नेपाल, सकारात्मक छ कुराकानी | Khabarhub Khabarhub

भीम रावललाई फकाउँदै दाहाल-नेपाल, सकारात्मक छ कुराकानी

रावलले भने- साथीहरूसँग छलफल गरेर निर्णय दिन्छु



काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह-संयोजक माधव नेपाल नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावललाई फकाइरहेका छन् ।

२०८१ पुस ११ गते एमालेले निष्कासित गरेयता नयाँ पार्टी घोषणा गर्न नसकेका रावललाई फकाएर भित्र्याउने कोसिसमा दुई नेता लागेका हुन् ।

संयोजक र सह-संयोजकले रावलसँग विभिन्न चरणमा छलफल गरेका छन् । प्रचण्ड र माधवसँग निरन्तर छलफल भइरहेको पुष्टि रावलले पनि खबरहबलाई गरेका छन्।

सह-संयोजक नेपालले पनि आफूहरूको कुराकानी भइरहेको खुलाए । उनले रावल सहकार्यका लागि सकारात्मक रहेको बताए।

एमालेबाट निकालिएपछि रावलले २०८१ पुस १७ गते काठमाडौंमा कार्यक्रम गरेर मातृभूमि जागरण अभियान घोषणा गरेका थिए। तर उनको यो अभियानले खासै गति लिन सकेन । न त उनले राष्ट्रिय या क्षेत्रीय दल घोषणाको आँट नै गर्न सके ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चितवनमा भएको दशौँ महाधिवेशनमा चुनौती दिएपछि उनलाई कर्नरमा पारिएको थियो । त्यसपछि असन्तुष्ट रावललाई ओलीले पार्टीबाटै धकेलिदिँदा रावलले उक्त अभियान सञ्चालन गरेका थिए।

अभियान सञ्चालनको एक वर्ष बित्न लाग्दा पनि उल्लेख्य गतिविधि र प्रगति गरेको देखिँदैन। उनको अभियानमा वाम नेतादेखि प्रजातान्त्रिक धारका बीपी कांग्रेससमेत जोडिएका थिए ।

अहिले पनि त्यही अभियानमा रहेका रावललाई पछिल्लो समय नेपाल, दाहाल र पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ पार्टीमा समेट्ने योजना बनाएका हुन्।

माधव भन्छन्- सकारात्मक हुनुहुन्छ

केही दिनअघि खबरहबसँगको कुराकानीमा नेपालले रावल पनि एकतामा सकारात्मक रहेको बताएका थिए । उनले विभिन्न दलबीचको एकताले रावल पनि उत्साहित भएको उल्लेख गरे । उनले रावल आफूहरूको अभियानमा जोडिने संकेत गरे ।

‘हामीले रावलजीलाई पनि प्रस्ताव राखेको हो। उहाँले साथीहरूसँग सल्लाह गरेर निर्णय दिन्छु भन्नुभएको छ’, नेपालले भने, ‘उहाँ कहिले पनि हामीसँग नकारात्मक हुनुहुन्न । यो परिपक्व र वैचारिक एकता हो। हामीलाई रावलजी चाहिएको पनि छ।’

एमालेमै रहँदा पनि रावल माधव नेपाल नेतृत्वको समाजवादीमा मिसिने कुरा थियो। तर एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाएपछि रावल बिच्किए। एकीकृत समाजवादीका केही नेताले रावललाई भुसालले नै पार्टीमा आउन रोकेकोसमेत बताएका थिए ।

रावल भन्छन् : निर्णय दिन्छु भनेको छु

प्रचण्ड र माधवले गरेको प्रस्तावमा रावल सकारात्मक देखिएका छन्। तर उनी निर्णयमा पुगेका छैनन् । दुई नेताले प्रस्ताव गरेपछि साथीहरूसँग छलफल गरेर जवाफ दिने बताएको रावलले खबरलाई जानकारी दिए।

‘प्रचण्डजी र माधवजी दुवैसँग मेरो पटकपटक संवाद भएको छ। उहाँहरूले मलाई आउनुस् सँगै काम गरौं भन्नुभएको छ। मेरा पनि केही धारणा र विचार छन्, त्यो त्यहाँ समेटिनुपर्छ भनेको छु। उहाँहरू त्यसमा सकारात्मक हुनुहुन्छ’, रावलले खबरहबलाई भने, ‘मेरा पनि देशभरि शुभचिन्तक र साथी छन् । उहाँहरूसँग संवाद गरेर धारणा बुझ्नुपर्छ । दुई नेतालाई यही जवाफ दिएको छु ।’

अभियान घोषणा गरेलगत्तै रावल पूर्वी नेपालदेखि पश्चिमसम्मको यात्रामा निस्किएका थिए। त्यस यात्रामा रावलले एमालेसँग असन्तुष्ट र अन्य राजनीतिक शक्तिहरूसँग संवाद गरे ।

अहिलेको वाम एकता ठिक छ नि होइन भन्ने प्रश्नमा रावलले भने, ‘सबै एकता त ठिकै हुन्छन् तर कतिको दिगो र लामो समयसम्म रहन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। प्रचण्ड र माधवजी मिल्नुभएको छ, मेरो कुनै आपत्ति छैन। तर यो एकतामा भाँजो हाल्ने विभिन्न शक्ति र तत्व छन्। यसबाट बँच्नुपर्छ ।’

कुराकानीमा रावल वाम एकताबारे नकारात्मक देखिएनन् । उनले अहिलेको आवश्यकता सम्पूर्ण वामशक्तिको एकता रहेको दाबी गरे।

‘मैले त भन्दै आएको छु, सम्पूर्ण छरिएका वाम शक्ति एकताबद्ध भएर बढ्नुपर्छ । असन्तुष्ट पक्षलाई पनि समेटेर लानु हाम्रो मुख्य चुनौती हो’, रावलले थपे, ‘एकता त जसोतसो होला तर टिकाइरहन भूमिका खेल्नुपर्छ । त्यसमा कसले कति त्याग गर्छ भन्ने कुरा बुझ्न जरुरी छ ।’

तपाईंले त पदको बार्गेनिङ गर्दै हुनुहुन्छ रे भनेर सोधिएको प्रश्नमा रावलले जवाफ दिए, ‘मैले पदको बार्गेनिङ गरेको छैन। मलाई यो चाहिन्छ, त्यो चाहिन्छ भन्दिनँ । देशभरका साथीहरूको निर्णय के हुन्छ, त्यसमा अभिभावकीय भूमिका खेल्ने हो । पहिला उहाँहरूको मनसाय बुझेर निर्णय दिन्छु भनेको हो ।’

रावल आफूलाई राजनीतिक रूपमा कमजोर बनाउन पदको बार्गेनिङ गरेको भाष्य बनाएर प्रचार गरिएको गुनासो गर्छन् । उनले वाम एकता र ध्रुवीकरण गरेका माधव-प्रचण्ड लगायतलाई शुभकामनासमेत दिएका छन्।

भुसाल र जनार्दनसँग सम्पर्क छैन

नेकपा एकीकृत समाजवादीका पूर्वमहासचिव घनश्याम भुसाल र नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मासँग भने संवाद नगरेको उनले बताएका छन्।

अहिलेसम्म शर्मा र भुसालले आफूसँग कुरा नगरेको उनले उल्लेख गरे । ‘भुसाल कमरेड र जनार्दन कमरेडसँग मेरो कुरा भएको छैन। मसँग कुरा गर्न उहाँहरूले आवश्यकता ठान्नुभएन किन कुरा गर्नुपर्यो र?’, रावलले अगाडि भने, ‘म आफ्नै ढङ्गले राजनीतिक गतिविधि गरिरहेको छु। उहाँहरू आफ्नै ढंगले गतिविधि गरिरहनुभएको छ।’

रावलले पछिल्लो समय एमालेका पनि कोही नेतासँग संवाद नभएको पनि बताए। केही समय अगाडि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग लामो छलफल भएको बताउँदै उनले पछिल्लो समय त्यसले पनि निरन्तरता नपाएको खुलाए ।

‘पूर्वराष्ट्रपतिज्यूको सदस्यता नवीकरण नगरेका कारण आफैँ तनावमा हुनुहुन्छ । पछिल्लो समय कुरा हुन पाएको छैन’, रावलले खबरहबलाई भने, ‘उहाँको कुरा पनि बृहत् वाम एकता नै हो। ओली रहुञ्जेल उहाँलाई एमालेमा फर्काउने बाटो देलान् जस्तो छैन।’

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ६ : ५४ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी