किनकि कांग्रेस सरकारमा छ | Khabarhub Khabarhub

विचार

किनकि कांग्रेस सरकारमा छ

पोखरामा कांग्रेसले पढायो ‘केपीको जेल जर्नल’


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

माघ १२ गते नेपाली कांग्रेसले स्थापना दिवस मनाएन । कांग्रेसमा लामो समयसम्म स्थापना दिवस मनाउने प्रचलन छँदा पनि थिएन । ०७४ सालसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले चैत २७ लाई कांग्रेसको स्थापना दिवस मानेर शुभकामना दिएको पाइन्छ ।

नेपाली कांग्रेसभित्र माघ १२ लाई स्थापना दिवस मान्नुपर्छ भन्ने झिनो बहस छँदैथ्यो । विसं २००३ साल माघ १२ गते कोलकातामा भएको नेपाली युवाहरुको भेलाले टंकप्रसाद आचार्यलाई सभापति र वीपी कोइरालालाई कार्यवाहक सभापति बनाउँदै राष्ट्रिय कांग्रेस स्थापना गरेको थियो । २००६ सालको चैत २७ गते राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भयो ।

एकीकृत पार्टीको नाम नेपाली कांग्रेस रहन गयो । त्यसैले स्थापना दिवस माघ १२ मा मनाउने कि चैत २७ मा भन्नेमा कांग्रेस लामो समयसम्म दुविधामा रह्यो । लामो दुविधा चिर्दै १४ औं महाधिवेशनपछि निर्वाचित कांग्रेसको वर्तमान केन्द्रीय समितिले माघ १२ मै स्थापना दिवस मनाउने निर्णय गर्‍यो ।

कार्यतालिकामै राखेर कांग्रेसले गत वर्षसम्म स्थापना दिवस मनायो । तर, यसपटक कांग्रेसले स्थापना दिवस बिर्सियो । केन्द्रीय तहबाट मात्रै होइन, कुनै पनि भ्रातृ, शुभेच्छुक संस्थाले पनि पार्टीको स्थापना दिवसमा गतिविधि गरेनन् । यसवर्ष कांग्रेसले स्थापना दिवस मनाएन, किनकि कांग्रेस सत्तामा छ ।

गत साता कांग्रेसको संसदीय दलको बैठक बस्यो । संसदीय दलमा सांसदका भन्दा ‘आमन्त्रित विज्ञ’ का कुरा चर्का सुनिए । सांसदहरुले आफ्नो ज्ञान, क्षमता र राजनीतिक अनुभवलाई ‘मिनिमाइज्ड’ गरिएको महसुस मात्रै गरेनन्, केहीले व्यक्त पनि गरे ।

संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवादेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासम्मको एकस्वर रह्यो – अध्यादेशमा असहमति भए पनि, संसदमा आलोचना नगर्ने । नेतृत्वको निर्देशन कांग्रेस सांसदका लागि शीरोपर हुनु स्वाभाविक छ । किनकि कांग्रेस सत्तामा छ ।

कांग्रेसमा सांसदहरुका दुई गुट छन्– मन्त्री भएका र नभएका । मन्त्री भएकाहरु जति नै युवा, जति नै बौद्धिक, जति नै प्रखर वक्ता भए पनि फरक मत ‘म्युट’ गरेर बसेका छन् । मन्त्री नभएकाहरु पालो कुर्दै भएकाले बोल्ने सवालै रहेन ।

सरकारले संसदमा सामाजिक सञ्जाल नियमन विधेयक दर्ता गरेको छ । विधेयकका अधिकांश प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप छन् । विधेयक जस्ताको त्यस्तै पारित भए सत्ताको आलोचना गर्नेहरु र फरक मत ‘म्युट’ नगर्नेहरु जेल जाने क्रम धमाधम सुरु हुनेछ ।

विगतमा प्रतिपक्षमा रहँदा कांग्रेसले यस्तै कानून र प्रावधानहरुको दर्जनौं पटक विरोध गरेको छ । कांग्रेसका चार तारामध्ये एक तारा अभिव्यक्ति स्वतन्त्रताको हो भनेर नेताहरुले भाषण गरेका छन् । तर, यतिबेला प्रस्तावित विधेयकका अलोकतान्त्रिक प्रावधानबारे कांग्रेस अनिर्णित छ । किनकि कांग्रेस सत्तामा छ ।

अभिव्यक्ति स्वतन्त्रताविरोधी कानून कांग्रेसका गृहमन्त्रीले संसदमा दर्ता गराएका छन् र संसद भवन परिसरमा उभिएर कांग्रेसकै महामन्त्रीले ‘विधेयक यथास्थितिमा पारित हुन रोक्छौं’ भनेका छन् । लोकरिझ्याइँ भन्दा लोकतन्त्र महत्वपूर्ण हो भन्ने कांग्रेसले बिर्सिएको छ । यतिबेला त कांग्रेसले अभिव्यक्ति स्वतन्त्रताविरोधी दफा सच्याएर विधेयक पुनर्लेखन गर्छौं भन्न सक्नुपर्‍थ्यो । त्यसो भन्न सकेन । किनकि कांग्रेस सत्तामा छ ।

सात महिनाअघि कांग्रेस प्रतिपक्षमा थियो । माइतीघर मण्डलामा दलित अधिकारका लागि हुने आन्दोलनमा कांग्रेस नेताहरुको ऐक्यवद्धता दिनहुँ रहन्थ्यो । यतिबेला गृहमन्त्रीमाथि गम्भीर आरोप लागेको छ । अन्तरजातीय विवाह गरेका सत्यन्द्र राम (चमार) लाई प्रहरी लगाएर पक्राउ गर्नेदेखि जोडी छुटाउनसम्म गृहप्रशासनको दुरुपयोगको आरोप छ ।

माइतीघरमा दलित अगुवाको आन्दोलन जारी छ । कुनै कांग्रेस नेताले ऐक्यवद्धता जनाएका छैनन् । कांग्रेसका जिम्मेवार नेताहरु पार्टीको धारणा होइन भन्दै गृहमन्त्रालयको खण्डन सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । किनकि कांग्रेस सरकारमा छ ।

पोखरामा कांग्रेसको सत्ता शक्ति प्रदर्शन भयो । पार्टीका ‘सिनियर’ नेताहरुलाई निम्तोसमेत नभएको प्रशिक्षण भेलामा ‘जुनियर’ मन्त्रीहरु झण्डा हल्लाउँदै पुगे । संघका सत्ताधारी मात्रै होइन, देशभरका प्रदेशमन्त्री र स्थानीय सरकारका प्रमुखहरु ‘प्रबन्ध’सहित पोखरा पुगे । देशभरका जिल्ला सभापति र उपसभापति भेला गरेर कांग्रेसले वीपी पढाएन, केपी पढायो ।

सभापति देउवाले देशभरका कांग्रेस जम्मा गरेर भनिदिए– वास्तवमा भन्ने हो भने केपी ओलीलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन । ओली र मसँगै जेल बसेका हौं । झापा काण्ड देखाएर ओलीलाई जेलभित्रको पनि जेलमा राखियो । जेलभित्र धेरै दुःख कष्ट थियो । छुट्ने सम्भावना हुँदैनथ्यो ।

वीपीको जेल जर्नल पढेर भावुक कांग्रेस नेता–कार्यकर्तालाई पोखरा प्रशिक्षणले ‘केपीको जेल जर्नल’ पनि सिकायो । सभापतिले ओलीलाई अविश्वास नगर्न निर्देश गरेपछि एमालेसँगको सत्ता सहकार्य ‘युगौं रहने’ कल्पना गर्दै कांग्रेसका जिल्ला सभापति र उपसभापतिहरु दीक्षित भए । कांग्रेसको प्रशिक्षण पाठ्यक्रममा यतिबेला वीपी भन्दा केपी धेरै पढिए । किनकि, कांग्रेस सत्तामा छ ।

कांग्रेस स्थापनाको ७९ वर्ष पूरा भएको छ । कांग्रेसको स्थापना सत्ताको लागि भएको होइन । सत्ताप्राप्तिको झिनो लोभ हुन्थ्यो त वीपी कोइराला राजा महेन्द्रसँग ‘कम्प्रोमाइज’ गरेर आजीवन प्रधानमन्त्री बन्न सक्थे । सत्तामात्रै चासो हुन्थ्यो त गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईहरुले वर्षौं जेलजीवन बिताउन पर्दैनथ्यो ।

सत्ता नै प्राथमिकता थियो भने प्रजातन्त्र ल्याउन शहादत दिनुभन्दा सत्ताको सेवक भएर मुन्टो हल्लाउनु कांग्रेसका संस्थापकहरुका लागि उपलब्धिपूर्ण हुन्थ्यो । २००७ सालमै प्रजातन्त्र आइहाल्छ भन्ने लागेर कांग्रेसका संस्थापकहरुले क्रान्ति थालेका थिएनन् । प्रथम जननिर्वाचित प्रधानमन्त्रीलाई राजाले अपदस्थ गरेर ३० वर्ष पञ्चायती शासन गर्दा कांग्रेस सत्तामा थिएन ।

तर, त्यति नै बेला कांग्रेस प्रभावी थियो । त्यतिबेलाकै कांग्रेस नेतृत्वप्रति नेपाली समाज कृतज्ञ थियो । आज कांग्रेस सत्तामा छ । सत्ता जोगाउने उद्देश्यका साथ सत्तामा छ । सत्तामा पुगिसकेको र सत्तामा जाँदै गरेको बाहेक कांग्रेस भेट्नु दुर्लभ भइसकेको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ७ : ०० बजे

युएसएडका सयौँ गाडी र मोटसाइकल थन्किए चोभारमा (तस्बिरहरू) 

काठमाडौं– अमेरिकी सहयोग निकाय युएसएड बन्द हुँदा नेपालमा यस निकायले

दुई करोड बढीको लगानिमा डेरी व्यवसाय

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित हमालले दुई दशकअघि साइकलमा दूध

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

राजविराज–  डाकाको एक समूहले  सुरुङगा नगरपालिका– ८ को एक घरमा

सुनिताको स्वदेश मोह : कोरियाको कमाइ, दुर्गम गाउँमा व्यवसाय 

सुविधाले भरिएको शहरको बसाइ । दुई लाख बढीको मासिक आम्दानी

चालु आर्थिक वर्षमा पाँच करोड राजस्व संकलन

इनरुवा– सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा