काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई औपचारिक रूपमा सक्रिय राजनीतिमा फर्काएका छन् ।
गत २१ माघमा खुमलटारमा बसेको पदाधिकारी बैठकले राजनीतिमा फर्काउने निर्णय गरेअनुसार अध्यक्ष दाहालले पुनलाई पार्टी उपाध्यक्षमा मनोनीत गरेका हुन् ।
यसअघि बसेको केन्द्रीय समिति बैठकले पासाङलाई केन्द्रीय उपाध्यक्षको जिम्मेवारी दिन पार्टी कार्यालयलाई पत्र लेखेको थियो। त्यही पत्रका आधारमा पासाङलाई उक्त जिम्मेवारी दिएको माओवादी महासचिव देव गुरुङले खबरहबलाई बताए ।
‘चैतको पहिलो सातातिर बसेको केन्द्रीय समिति बैठकले उहाँलाई जिम्मेवारी दिने छलफल गरिसकेको थियो’, उनले भने, ‘हामीले उपयुक्त समयमा जिम्मेवारी दिन अनुरोध गर्दै पार्टी केन्द्रीय कार्यालयलाई पत्र लेखेका थियौँ। आज केन्द्रीय कार्यालयले निर्णय गरेको हो ।’
माघमै सक्रिय राजनीतिमा फर्काउने निर्णय भए पनि करिब २ महिनापछि उनलाई औपचारिक रुपमा उपाध्यक्ष बनाइएको हो । गत चैत १९ गतेको पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य र पार्टी उपाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो ।
उनलाई उपाध्यक्ष बनाएको जानकारी माओवादीले अन्तरपार्टी निर्देशिकमार्फत् तल्लो कमिटीसमम्म पठाइसकेको छ । गत फागुनमा बसेको बैठकमा पनि उनी आमन्त्रित सदस्यको हैसियतमा सहभागी भएका थिए । अबबाट उनले माओवादी उपाध्यक्षको जिम्मेवारी औपचारिक रुपमा पाएका हुन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा यसअघि बसेको बैठकमा पुन पदाधिकारीकै हैसियतमा सहभागी भएका थिए । त्यसअघिका बैठकमा पनि पुन उपस्थित थिए । गत पुस २१ देखि २३ सम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पुनलाई उपाध्यक्षको हैसियतमा मञ्चको अग्रस्थानमा राखेका थिए ।

वरिष्ठपछिको उपाध्यक्ष
माओवादीमा अहिले नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष छन् । उपाध्यक्षहरूमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल छन् । पुनलाई वरिष्ठ श्रेष्ठ पछाडिको वरीयतासहित उपाध्यक्ष बनाइएको हो ।
माओवादीले यसअगाडि सभामुखबाट बिदा भएपछि पूर्वसभामुख सापकोटालाई पनि उपाध्यक्ष बनाएको थियो । सुरुमा पुनलाई उपाध्यक्ष बनाउन नेताहरूबीच मतभेद थियो । तर, उनलाई उपाध्यक्ष बनाउन प्रचण्डले सबै नेताबीच सहमति गराएका थिए ।
यसअघि महाधिवेशनमा उत्पादन विभाग बनाउने कुरा चलेको थियो । पुन जनसेनाको कमाण्डर पनि भएकाले अब उनलाई उपाध्यक्षसँगै कृषि उत्पादन विभाग पनि दिइएको छ ।
प्रचण्डले अर्का उपाध्यक्ष महरालाई मनाएर वरिष्ठ उपाध्यक्षपछि पुनलाई ल्याएका हुन् । माओवादीमा अब नारायणकाजी पछाडि पुन, महरा, सापकोटा र भुसाल उपाध्यक्षका रुपमा रहेका छन् ।
पुनले यसअघि ने उत्पादन विभागको जिम्मेवारी पाइसकेका छन् । माओवादीमा अहिले ३५ वटा विभाग छन् । पुनलाई बन्ने प्रक्रियामै रहेको उत्पादन विभाग दिइएको हो । उत्पादन विभाग बन्ने प्रक्रियामा रहेको छ । पुनले पनि उत्पादन विभाग हेर्न इच्छा देखाएपछि पार्टीले यस्तो निर्णय गरेको थियो ।
प्रतिक्रिया