थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद « Khabarhub

थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर-  वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायका भान्सामा विशेष स्थान ओगट्ने फुटकी च्याउको तरकारी अब स्वादभन्दा पनि सम्झनामा मात्र सीमित बन्न थालेको छ ।

सालका वन क्षेत्रमा डढेलो लागेको वर्ष फुटकी प्रशस्तै पाइन्थ्यो । तर, अहिले भने पाउनै मुस्किल भइसकेको छ । ‘वर्सात सुरु भएपछि महिला र बालबालिकाको हुल वनतिर लाग्थ्यो, एकैचोटि धेरै सङ्कलन गर्थे,’ स्थानीय हवलदार चौधरीले भने, ‘अहिले त्यो दृश्य विरलै देख्न पाइन्छ ।’

वन क्षेत्रमा प्रवेशमा कडाइ, जलवायु परिवर्तन र मानवीय चापका कारण फुटकी लोपोन्मुख बन्दै गएको उनको भनाइ छ । सामुदायिक वनमा अनुमतिबाट मात्रै र निकुञ्ज क्षेत्रमा प्रवेश निषेध हुँदा लुकीचोरी जानेले समेत फुटकी च्याउ भेटिन छाडेको बताउने गरेका छन् ।

स्थानीय भाषामा ‘पटपुरा’ भनिने फुटकीलाई थारु समुदायले अनेकौँ परिकारमा प्रयोग गर्छन् । जसमा झोलयुक्त तरकारी, अचार, सेकुवा, भुटुवा, सुकुटी, पकुवा हुने गर्दछ । गहुँ वा चामलको पिठोमा मिसाएर फुटकी पकाइने परिकारलाई थारु समुदायले कपुवा भन्ने गर्दछन् ।

थारु समुदायमा कुन च्याउ खान योग्य छ, भन्ने ज्ञान पुस्तौँदेखि पुस्तान्तरण हुँदै आएको छ । यही ज्ञानले उनीहरूलाई वनस्पति स्रोतको सुरक्षित र सन्तुलित प्रयोगमा दक्ष बनाएको हवलदार बताउँछन् । बजारमा फुटकीको अभाव हुँदा अहिले यसको मूल्य प्रतिकेजी चार सयदेखि एक हजार तीन सय रुपैयाँसम्म पुगेको बन्धुराम चौधरीले बताए ।

‘प्रकृति पूजक थारु समुदायले जङ्गलमा पाइने च्याउ, जडीबुटीलगायतका वस्तुहरूलाई परम्परागत रूपमा भान्सामा स्थान दिएका छन्’, उनले भने, ‘तर अहिले वन क्षेत्रमा यी स्रोतहरू घट्दो छ ।’ थारु समुदायका अगुवा परदेशी चौधरीका अनुसार फुटकी ‘फङ्गस’ वर्गको च्याउ हो । बर्सातको बेला अनुकूल वातावरणमा उम्रिने फुटकीमा प्रोटिन प्रचुर मात्रामा पाइन्छ ।  पचाउन सजिलो भएकाले स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छ ।

थारु समुदायमा ‘जलेवा’ र ‘भोटैल’ गरी दुई प्रकारका फुटकी चिनिन्छन् । जलेवा सेतो रङ्गको हुन्छ भने भोटैल कालो वा खैरो हुन्छ । बुढापाकाका अनुसार मयुरले पनि फुटकीको गुदी भाग विशेष रूपमा रुचाउने गर्छ ।

‘फुटकी च्याउ केवल एक मौसमी परिकार मात्र नभई थारु समुदायको संस्कृतिसँग गाँसिएको जीवनशैलीको अभिन्न अंशका रुपमा रहेको छ’, थारु अगुवा रेवन चौधरीले भने, ‘जुन अहिले लोपोन्मुख अवस्थामा छ, यसको संरक्षण आवश्यक छ ।’ (रासस) 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ७ : ३० बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार