बीपीको आइसीयूमा १८ महिनादेखि एउटै बिरामी | Khabarhub Khabarhub

बीपीको आइसीयूमा १८ महिनादेखि एउटै बिरामी

अस्पताल भन्छ, ‘आइसीयू ओगटेर ३५ लाख तिरेनन्‌’, आफन्त भन्छन्‌, ‘अस्पतालले लापरवाही गर्‍यो’



सुनसरी – पेट चिरेर एपेन्डिक्सको शल्यक्रिया गर्दा अचानक बेहोस भएका बिरामी १८ महिनादेखि आइसीयू (सघन उपचार कक्ष) मा छन् । अस्पताल र चिकित्सकको लापरबाहीले हालसम्म बिरामीको होस नफर्किएको आफन्तको आरोप छ ।

सामान्यतयाः एपेन्डिक्सको शल्यक्रिया आधुनिक चिकित्सा पद्धतिमा ‘मेजर अप्रेशन’ मानिए पनि टाउको वा मुटुको शल्यक्रिया जत्तिको जटिल होइन । चिकित्सकहरूले नै बिरामी र आफन्तलाई एपेन्डिक्स सर्जरी सामान्य भएकाले बताउने गर्छन्‌ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा ४६ वर्षीय सन्तोष बजगाईंको एपेन्डिक्स शल्यक्रिया भयो । शल्यक्रियापछि उनी करिब १८ घण्टा होसमै थिए । त्यसपछि बेहोस भएका उनी हालसम्म ब्युँझिएका छैनन्‌ ।

सन्तोष होसमा नफर्किएपछि उनकी श्रीमती अञ्‍जु बजगाईंले अस्पताल र चिकित्सकको लापरबाही भएको आरोप लगाएकी छन् ।

अञ्‍जुले खबरहबलाई बताएअनुसार सन्तोषलाई पेटमा समस्या भएपछि २०८० असार २७ गते उपचारका लागि बीपी प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

विपी प्रतिष्ठान, धरान

चेकजाँचपछि डा. राहुल श्रेष्ठको टीमले एपेन्डिक्सको शल्यक्रिया गर्नुपर्ने सल्लाह दियो । सन्तोषलाई अस्पतालका चिकित्सकहरूले असार ३० गते शनिबार राति ९ बजे अप्रेसन थियटरमा पुर्‍याएका थिए ।

अञ्‍जुले भनिन्, ‘सोही राति २ बजेसम्म अप्रेसन गरिएपछि बिहान ६ बजे होसमा आउनुभएको थियो । उनीहरूले अप्रेसनपछि सीधै आइसीयूमा भर्ना गरे । आइसीयूमा राख्दा ३१ गते बेलुका १० बजेसम्म होसमै हुनुहुन्थ्यो । मुखमा ट्युब लगाएकाले हामी बुढाबुढी हात र आँखाको इशाराले बोलिरहेका थियौं । तर भोलिपल्ट हेर्न जाँदा उहाँ बेहोस अवस्थामा हुनुहुन्थ्यो । मैले निदाउनुभएको होला भन्ठानेँ ।’ 

कुरुवाले आइसीयूमा रहेका बिरामीलाई भेट्न निश्चित समय तोकिएको हुन्छ । भोलिपल्ट निर्धारित समयमै हेर्न जाँदा सन्तोष पहिले झैँ निदाइरहेका थिए ।

त्यस्त अवस्था देखेपछि पत्नी अञ्‍जुले चिकित्सकहरूलाई आफ्नो पति किन बेहोस भए भनी सोधिन्‌ ।

काउन्सिलिङ्मा चिकित्सकले गोलमटोल जवाफ दिए । श्वासप्रश्वासमा समस्या आएपछि बिरामी सन्तोषको मुखमा लगाएको ट्युब निकालेर राति नै अर्को लगाइदिएको बताएर चिकित्सक पन्छिएको अञ्‍जुले बताइन् ।

उनले भनिन्, ‘आइसीयू विभागका चिकित्सकले गर्ने काम गर्‍यौँ, थप जानकारीका लागि अप्रेसन गर्ने चिकित्सकसँग सोध्नुहोला भन्ने जवाफ दिए ।’ 

उनले अप्रेसनपछि आइसीयूमा भर्ना गर्न लैजाँदा चिकित्सक र नर्सहरूले ब्यागिङ पम्प गर्दै लगेको पनि बताइन् ।

आइसीयूमा वा भेन्टिलेटरमा राखेको बिरामीको मुखको ट्युब परिवर्तन गर्नुपरेमा चिकित्सकले बिरामीको आफन्तलाई पूर्वजानकारी दिने चलन छ । तर, सन्तोषको घटनामा भने कसैले नसोधेको अञ्‍जुले बताइन् ।

उनले भनिन्, ‘तीन दिनसम्म पनि होस नफर्किएपछि मैले काउन्सिलिङ गर्ने चिकित्सकलाई सोध्दा अप्रेसनपछि कोमामा जाने बिरामीको होस जुनसुकै बेला फर्किन सक्ने, एक दिन पनि लाग्न सक्छ, एक/दुई साता पनि लाग्न सक्छ, छ महिना पनि लाग्न सक्छ वा  त्यसभन्दा बढी समय पनि लाग्न सक्छ भनेका थिए । तर, १८ महिनासम्म बिरामीको होस नफर्किएपछि चिकित्सकको लापरबाही भएको देखियो ।’

बजगाईं परिवारले अप्रेसन र तीन दिनको आइसीयूको शुल्क भने तिरेको बताए ।  बिरामीको होस फर्किन नसकेपछि एक महिनासम्म अस्पतालले आइसीयू बेडको शुल्क माग्ने काम जारी राखे पनि ‘सन्तोषको होस फर्किएपछि जति लाग्छ, तिरौँला’ भनेपछि शुल्क माग्न छाडेका अञ्‍जुले बताइन् । 

यसबीच अस्पताल प्रशासन र अञ्‍जुको परिवारबीच वार्ता पनि भएको थियो । वार्तामा होस नफर्किएको अवस्थामै भए पनि बिरामीलाई घर लैजान दबाब दिएको, तर आफूले नमानेको अञ्‍जुले बताइन् ।

उनी पछिल्लोपटक गत सोमबार आफ्नो कुरा राखेर उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई सम्बोधन गर्दै लेखेको पत्र बुझाउन गएकी थिइन् । तर, कर्मचारीहरूले सीधै बुझाउन नदिएपछि तिनै कर्मचारीको टेबलमा राखेर फर्किएको बताइन् ।

उनले भनिन्, ‘श्रीमान् आइसीयूको भेण्टिलेटरमा राखिए पनि कोमामा हुनुहुन्छ । उपचारमा लागेको औषधीको ऋण १८ लाख रुपैयाँभन्दा बढी भएको छ । बिपी प्रतिष्ठानको आइसीयूको चार्ज त जोडेकै छैन । भएभरको सम्पत्ति उपचारमै सकिइसक्यो । मैले आफ्नो श्रीमानलाई घर लैजाने वातावरण मिलाइदिनु अनुरोध गर्दै लेखेको पत्र पनि सीधै बुझाउन पाइनँ ।’ 

बीपी प्रतिष्ठान प्रशासनले भने बिरामीका आफन्तसँग पटकपटक वार्ता भएको र उपचार पद्धतीबारे जानकारी दिएको, तर बजगाईं परिवारले स्वीकार्न नसकेको जनाएको छ ।

बीपी प्रतिष्ठानका प्रवक्ता प्रा.डा. अन्जु प्रधानले एपेन्डिक्सको शल्यक्रिया भइसकेपछि बिरामीलाई आइसीयूमा भर्ना गरिएको, तर शल्यक्रिया भएका बिरामीमा कतिपय अवस्थामा प्यारालाइजको समस्या आउने भएकाले सन्तोष बजगाईंलाई पनि त्यही भएको बताइन्‌ ।

उनले भनिन्, ‘आइसीयूमा भर्ना गरेको बिरामीको मुखमा लगाइएको ट्युबमा खकार जम्मा भएर श्वास फेर्न समस्या हुनसक्ने भएकाले ‘प्रोटोकल’अनुसार टाइमभित्रै नयाँ ट्युब लगाइदिएको हो । सन्तोषलाई प्यारालाइज भएको हो । अस्पतालले सीटी स्क्यान गर्ने,  न्यूरोलोजीसँग सम्बन्धित जटिलता पहिचान गर्नेदेखि छातीको चेकजाँच सबै गरेको छ । कुनै कमजोरी गरेको छैन ।’

उनका अनुसार बिरामीलाई आइसीयूबाट वार्डमा सारेको केही दिनपछि घरमा लगेर स्याहार गर्न सकिन्छ । 

उनले भनिन्, ‘१८ महिनासम्म आइसीयूमा सुत्दा बिरामीलाई थप जटिल समस्या आउन सक्थ्यो, शरीरमा घाउ आउन सक्थ्यो, तर उपचारमा कमीकमजोरी नगरेकाले घाउ भएको छैन । बिरामीका आफन्तले वार्डमा सार्न र घर लैजान नमानेकाले एउटै व्यक्तिले १८ महिनादेखि वीपी प्रतिष्ठानको महँगो आइसीयू बेड ओगट्दा अरू जटिल बिरामीले बेड पाएका छैनन् ।’

अस्पतालका प्रशासन प्रमुख अशोक साहले सन्तोषले १८ महिनासम्म आइसीयू बेडमा भर्ना भएको शुल्क नतिरेकाले मंगलबारसम्म आइपुग्दा ५४४ दिनको कुल ३५ लाख रुपैयाँ रकम बाँकी रहेको बताए ।

उनले भने, ‘घरमा लगेर स्याहार गर्न सक्ने अवस्था हुँदाहुँदै बिरामीका आफन्तले आइसीयूबाट निकाल्न नमानेपछि अस्पतालले पनि जबर्जस्ती निकाल्न मिल्दैन । उपचार नगरी राख्न पनि मिल्दैन । त्यो रकम सबै अहिलेसम्म बीपी प्रतिष्ठानले ब्यहोरिरहेको छ । तर, बिरामीका आफन्तले भने बाहिरबाट खरिद गरेको औषधीको खर्च पनि अस्पतालले ब्यहोर्नुपर्ने भनिरहेका छन् । बीपी प्रतिष्ठानलाई तिर्नुपर्ने ३५ लाख रुपैयाँको जिम्मा कसले लिने ?’

उनले पटकपटकको वार्तामा अस्पताल र चिकित्सकले लापरबाही गरेको भए नेपाल मेडिसिन काउन्सिल र अदालतमा मुद्दा हाले आफूहरूले सहयोग गर्ने सुझाव दिएको पनि बताए । मेडिकल काउन्सिल र अदालतले अस्पताल र चिकित्सकको लापरबाही भनेर दोषी करार गरेमा त्यसको जिम्मा लिन सकिने, तर बिनाकारण लगाइएको दोषको भागीदार बन्न नसकिने उनले बताए ।

अस्पताल प्रशासनले शल्यक्रियामा सङ्लग्न चिकित्सक र नर्सहरूलाई पनि सोधपुछ गरेको थियो । उनीहरूले आफूहरूलाई अदालत या मेडिकल काउन्सिलमा बोलाए जवाफ दिन तयार रहेको जानकारी दिएको अस्पताल प्रशासन प्रमुख साहले बताए । 

उनले भने, ‘सन्तोषको शल्यक्रियामा संलग्न बीपी प्रतिष्ठानका चिकित्सक र नर्सहरू अदालत र काउन्सिलमा जहाँ जान पनि तयार छन् । बजगाईं परिवारले घर नलगेपछि बिरामीलाई बेवारिस हुनबाट जोगाएर अहिलेसम्म आइसीयूमै राखेर मानवीय धर्म पूरा गरिरहेका छौँ ।’

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  २ : २३ बजे

दुर्गा प्रसाईंले बुझाए तीन लाख धरौटी

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले धरौटी रकम बुझाएका छन्

छविलाल जोशी र रामबहादुर खनालले पनि बुझाए धरौटी

काठमाडौं – सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआइजी छविलाल जोशी र

गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी

अर्घाखाँची – अर्घाखाँचीस्थित जिल्ला प्रहरी कार्यालयले गाउँगाउँमा नागरिक सुनुवाई गरिरहेको

रवि लामिछाने ८४ दिनपछि प्रहरीको हिरासतबाट छुटे

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको

यस्तो छ रविलाई छाड्ने १३ पन्ने आदेश (पूर्णपाठ)

काठमाडौं– कास्की जिल्ला अदालतले रवि लामिछाने लगायतका प्रतिवादीहरुका सन्दर्भमा धरौटीमा