२० औं शताब्दीमा इटालीबाट सुरु भएको मन्टेश्वरी शिक्षा अहिले नेपाललगायत विश्वभर लोकप्रिय छ। बलबालिकाको मनोविज्ञानलाई बुझेर उनीहरुको चाहना अनुसार खेल्दै सिकाउने विधि मन्टेश्वरी हो। जसले विद्यालय जानुभन्दा अगाडि बालबालिकालाई व्यवहारिक ज्ञान सिक्न सहयोग गर्छ। यसले कामकाजी अभिभावकलाई पनि सहज भएको छ। दुईदेखि छ वर्षसम्मका बालबालिकाहरुलाई मन्टेश्वरी शिक्षा आवश्यक हुन्छ। तर पछिल्लो समय व्यवसायकै लागि खोलिएका मन्टेश्वरीमा महङ्गो शुल्क अशुल्ने तर व्यवहारिक ज्ञान दिनुको साटो दिनभर खुवाउने र सुताउने काम भइरहेको गुनासो आउन थालेको छ। खासमा मन्टेश्वरीमा बालबालिकालाई के सिकाइन्छ ? सुरक्षा र हेरचाह कसरी गरिन्छ ? बालबालिका र अभिभावकको चाहना के हुन्छ ? उनीहरुको रेखदेखमा चुनौती के-के हुन्छन् ? यी र यस्तै विषयमा केन्द्रित भएर विगत २१ वर्षदेखि दरबार मार्गमा सञ्चालित मोर्डन नेवा इङ्लिस स्कुलका संस्थापक दीपक तुलाधरसँगको कुराकानीः
मन्टेश्वरीमा बालबालिकाको हेरचाह र सुरक्षा कसरी हुन्छ ?
मन्टेश्वरीमा दुई वर्षदेखि छ वर्षसम्मका बालबालिका आउँछन्। खेल्ने क्रममा उनीहरु नलडुन् भनेर विशेष रेखदेख गरिन्छ। लडिहाले पनि चोटपटक नलागोस् भनेर खेल्ने ठाउँमा त्यही अनुसारको व्यवस्था गरिएको छ। मैदानमा तल बालुवा राखेर त्यसभन्दा माथि नक्कली प्लाष्टिकको घाँस राखिएको छ भने विद्यालयमा प्रयोग हुने फर्निचर गोलाकार राखिएको छ। किनकी बच्चाहरु दौडिन्छन्, एक अर्कासँग ठोकिन्छन् त्यस्तो बेलामा फर्निचर चुच्चोकारको हुँदा धेरै चोट लाग्छ र गोलाकारको हुँदा कम चोट लाग्छ।
खेल्ने ठाउँमा छुट्टै कर्मचारी राखिएको छ भने कक्षा कोठामा शिक्षकले सबै कुराको ख्याल गर्नुहुन्छ। मुख्य गेटमा ताला लगाएर राखिन्छ। विद्यालय प्रशासनको अनुमति बिना कोही पनि विद्यालयमा आउन पउँदैनन्। विद्यार्थी पनि विद्यालय समयमा बाहिर निस्किन पाउँदैनन्। बालबालिका दिनभर के गर्छन् कसो गर्छन् भनेर हेर्नका लागि सिसी क्यामेरा राखिएको छ। हाम्रो विद्यालयमा नेवारी भाषा बोल्ने बच्चालाई नेवारी भाषामै सिकाइन्छ। घरमा बोलिरहेको भाषाभन्दा फरक भाषामा सिकाउँदा नबुझ्ने भएकाले यो व्यवस्था गरिएको हो।
यो उमेरका बालबालिका एकदमै जिज्ञासु हुन्छन्। धेरै कुरा सोधिराख्छन्। त्यो बेलामा आफूले झर्को मान्नु हुँदैन। सानो सानो कुरामा सेधिराख्नु राम्रो कुरा हो।
मन्टेश्वरीका बालबालिका के चाहन्छन ?
यो उमेरका बालबालिका एकदमै जिज्ञासु हुन्छन्। धेरै कुरा सोधिराख्छन्। त्यो बेलामा आफूले झर्को मान्नु हुँदैन। सानो सानो कुरामा सेधिराख्नु राम्रो कुरा हो।

खानामा के खुवाउनुहुन्छ ?
खाद्यविज्ञसँग सल्लाह गरेर खानको सूची तयार गरिएको छ। हामीले खुवाउने खाना ९९ प्रतिशत बालबालिकाको वृद्धि विकासका लागि आवश्यक खालका हुन्छन्। जाउलो, लिटो अण्डा, दाल, भात, तरकारी, दूध तथा दूधबाट बनेका परिकार तातोतातो बनाएर खुवाउने गरिन्छ। जसबाट उनीहरुले सबै प्र्रकारको प्रोटिनको मात्रा पाउँछन्।
कतिपय बच्चाको रोगप्रतिरोधात्मक क्षमता बलियो हुन्छ र सबै खाना सजिलै पचाउँछन्। कतिपय बच्चा बेला बेलामा बिरामी भइरहन्छन्। हाम्रो विद्यालयमा प्ले ग्रुपदेखि युकेजीसम्म गरी चार वटा कक्षा छन् ती मध्ये केही बच्चा बिरामी भएको अहिलेसम्म थाहा छैन।
कति बच्चामा हप्तैपिच्छे रुघाखोकी लाग्ने ज्वरो आउने जस्ता समस्या भइरहन्छन्। बच्चालाई चाहिने तत्त्वहरु कार्बोहाइड्रेड, भिटामिन, प्रोटिनलगायतको मात्रा मिलाएर पोषणविद्को सल्लाह अनुसार दिने गरेका छौं। अभिभावक सन्तुष्ट हुनुहुन्छ।

बच्चाहरु विद्यालयमा कति सुत्छन् ?
सानासाना बालबालिका धेरै सुत्छन् भने ठुला बच्चा सुत्दैनन्। हाम्रो चार वटा ग्रुपमध्ये प्ले ग्रुपका बच्चा धेरै सुत्छन्। उनीहरुलाई त्यो आवश्यक छ। घरमा हुँदा पनि सानो बच्चा खाना खाएर अघाएपछि आफै सुत्न खोज्छन्। त्यसैले उनीको सुत्ने समय र ठाउँको पनि त्यही अनुसारको व्यवस्था गरिएको छ। नर्सरीको बच्चा सुताएर सुत्दैनन् खेल्दाखेल्दै आफै सुत्यो भने सुत्न दिने हो नत्र उनीहरु खेलिरहन्छन्। एलकेजी र युकेजीका बच्चा खेलेरै बस्छन् सुत्दैनन्।
सबै बच्चाको क्षमता एउटै हुँदैन। एउटै कक्षाका २० वटा बच्चाका आ-आफ्नै छुट्टै विशेषता हुन्छन्। कोही सानो कुरामा रुने, कोही नरुने, कोही आफै खेल्ने कसैलाई हामी आफैले खेलाइदिनुपर्ने हुन्छ। बच्चालाई हेरेर उसको मनोविज्ञान बुझ्नु आवश्यक हुन्छ।
अभिभावकको चाहना के हुन्छ ?
विशेषगरी अहिले अंग्रेजीको जमाना भएकोले विद्यालय पठाएको केही दिनमै मेरो बच्चाले अंग्रेजी राम्रो लेख्न र पढ्न सिकोस् भन्ने अभिभावकको चाहना हुन्छ। अभिभावकसँगै शिक्षाविद् मन्टेश्वरीविद् भन्नेहरुले पनि यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर सल्लाह दिन्छन् तर वास्तविकता फरक हुन्छ।
सबै बच्चाको क्षमता एउटै हुँदैन। एउटै कक्षाका २० वटा बच्चाका आ-आफ्नै छुट्टै विशेषता हुन्छन्। कोही सानो कुरामा रुने, कोही नरुने, कोही आफै खेल्ने कसैलाई हामी आफैले खेलाइदिनुपर्ने हुन्छ। बच्चालाई हेरेर उसको मनोविज्ञान बुझ्नु आवश्यक हुन्छ। हामीले उनीहरुको मनको कुरा बुझेनौं भने घरमा गएर रुन्छन् र विद्यालय आउन मान्दैनन् ।

किन नजाने भन्दा बोल्दैनन्। फकाउँदै सोध्यो भने ‘हिजो साथीले मलाई पिङ खेल्न दिएन’ भन्छन्। हाम्रो लागि त्यो सानो कुरा भएपनि त्यो बच्चाको लागि ठुलो समस्या हो।
त्यस्तै गाडीमा बस्दा सबै बच्चा झ्यालको सिटमा र चालकसँग बस्न खोज्छन्। जुन सम्भव नै छैन। यस्तो अवस्थामा चलाख बच्चा पहिल्यै अगाडि गएर बस्छन्। त्यहाँ बस्न नपाउनेलाई इच्छा हुन्छ।
यो समस्या समाधानका लागि हामीले पालैपालो गरी आज झ्यालको सिटमा बसेको बच्चालाई भोलि अर्को सिटमा राख्ने गरेका छौं। हामीले मिठो खान दिएर र राम्रो खेलौना दिएर मात्रै हुँदैन उसले चाहेको के हो ? त्यो पनि बुभ्mनुपर्ने हुन्छ।
मन्टेश्वरीका बच्चाको मनोविज्ञान बुझ्न एकदमै जरुरी छ। सिकाइको क्रममा बच्चाले केही नयाँ कुरा सिक्यो भने हामीले ताली बजाएर उसलाई खुशी पार्नुपर्छ र कसैले केही सिकेन भने पनि उसको मनोबल घट्ने काम गर्नु हुँदैन ।
आफ्नो बच्चालाई अरु कसैको बच्चासँग तुलना गर्नुहुँदैन। किनकी बच्चाको आआफ्नै गुण हुन्छ। यो कुरा अभिभावकले पनि बुझ्नु जरुरी छ।

मन्टेश्वरीका चुनौती के के छन् ?
मुख्य चुनौती भनेको खेल्ने क्रममा लाग्ने चोटपटक हो। जति नै बचाउँछु भन्दा पनि एकले अर्कोलाई धकेल्दा चोटपटक लागिहाल्छ। ढोकामा औँला च्यापिन्छ भनेर हेर्नुपर्छ।
त्यस्तै कतिपय बच्चा हाम्रो आँखै अगाडि एकले अर्कोलाई टोकीदिने गर्छन्। यस्तो अवस्थामा कतिपय अभिभावकले बच्चा हो खेल्दाखेल्दै धकेल्नु, टोक्नु स्वभाविक हो भन्दै सामान्य रुपमा लिन्छन् भने कोही कोही त झगडा नै गर्छन्।
मन्टेश्वरी शिक्षा एकदमै महँगो भयो भन्ने गुनासो पनि आउँछ। शुल्क निर्धारणमा किन मनपरी छ ?
मन्टेश्वरीमा आ-आफ्नै तरिकाले शुल्क निर्धारण गरिन्छ। बजारमा सस्तो शुल्क लिएर सञ्चालन गरेका मन्टेश्वरी पनि छन् भने कतिले ३०-४० हजारदेखि ६० हजारसम्म पनि शुल्क लिने गरेको पाइन्छ।
सरकारी विद्यालयमा त्यो शिक्षा निःशुल्क पाइन्छ। निजी स्कुल भनेको विद्यार्थीबाट उठाएको पैसाले चल्ने व्यवसाय हो। बच्चालाई खुवाउने, कर्मचारीलाई तलब दिने लगायतको व्यवस्थापन त्यही पैसाबाट हुन्छ। त्यसबाट कति बच्छ त्यो हामीले राख्ने हो ।
हुनेले ६० हजार तिरेर राखेका छन् । कम आय हुनेले पाँचदेखि छ हजार तिरेर पढाएका छन्। शुल्कमा विवाद नगर्दा नै राम्रो होला भन्ने लाग्छ।
बालबालिकालाई चुटपटक लाग्दा के उपचार हुन्छ ? के नर्स पनि राख्नुभएको छ ?
नर्स नै त राखिएको छैन । तर नर्सलाई दिइने तालिम सबै शिक्षकलाई दिइएको छ। त्यसैले सामान्य प्राथमिक उपचार विद्यालयमै गरिन्छ ।
धेरै चोट लागेको छ र अस्पताल नै लैजानुपर्ने अवस्था छ भने अभिभावकलाई खवर गरेर उपचारका लागि लैजाने गरिन्छ। भाग्यवस अहिलेसम्म त्यो अवस्था आएको छैन। बालबालिकाको सुरक्षाका लागि हामी एकदमै सजग छौं।

अभिभावकलाई केही सुझाव दिनुहुन्छ कि ?
धेरै अभिभावकको चाहना आफ्नो बच्चा स्कुल जानेबित्तिकै सबै कुरा सिकोस् भन्ने हुन्छ। यो सम्भव छैन किनकी बच्चाले विस्तारै खेल्दाखेल्दै सिक्छन् ।
त्यस्तै अर्को कुरा घरमा धेरै अभिभावकले खाना खुवाउँदा मोबाइल देखाएर खुवाउने बानी पारिरहेका हुन्छन्। जसले गर्दा अटिजम हुने बालबालिकाको संख्या बढाएको छ ।
मैले मन्टेश्वरी स्कुल सञ्चालन गरेको २१ वर्ष भयो। त्यो बेलामा अटिजम बालबालिकाको संख्या ३०-३५ प्रतिशत थियो भने अहिले ५०-६० प्रतिशत छ। यो सबै मोबाइलकै कारणले हो ।
म बाल मनोवैज्ञानिक होइन तर बच्चासँगको लामो संगतले गर्दा उनीहरुको आनी बानी व्यवहारबारे जानकार छु। मोबाइल नहेर्ने बच्चाभन्दा हेर्ने बच्चा अटिजमबाट नजिक भएको पाइन्छ ।
घरमा अभिभावकले बच्चालाई मोबाइलको सट्टा भौतिक रुपमै खेल्न बानी पार्ने र खानपानमा पनि बच्चाले माग्यो भन्दैमा जंकफुड खान नदिनु राम्रो हुन्छ।
प्रतिक्रिया