यही निर्वाचन प्रणालीबाट रास्वापाले बहुमत ल्याउँछ : डीपी अर्याल (अन्तर्वार्ता) | Khabarhub Khabarhub

यही निर्वाचन प्रणालीबाट रास्वापाले बहुमत ल्याउँछ : डीपी अर्याल (अन्तर्वार्ता)

महाधिवेशन भन्दा निर्वाचनमा जानु फाइदा छ



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको सौराहमा शुक्रबार र शनिबार विस्तारित बैठक सम्पन्न गरेको छ । उक्त विस्तारित बैठकले नौ बुँदे घोषणा सार्वजनिक गरेको छ। २०७९ को पहिलो निर्वाचनबाटै प्रतिनिधिसभामा २१ सिट जितेको रास्वपाले अहिलेसम्म महाधिवेशन गर्न सकेको छैन। पहिलो महाधिवेशन नगरेको रास्वपामाथि थुप्रै प्रश्न उठेका छन्।

रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल पार्टीलाई निर्वाचनमा होमिन कुनै समस्या नभएको दाबी गर्छन् । देशभरका जिल्ला, स्थानीय तह र टोलहरूको अधिवेशन नभएकाले अहिले पोलिटिकल्ली केन्द्रको महाधिवेशन हुनु उचित नभएको उनको तर्क छ । अर्याल निर्वाचनअगाडि पार्टीको महाधिवेशन नहुनु राजनीतिक हिसाबले ठिक भएको टिप्पणी गर्छन् । पार्टीमा आउन चाहने नेतालाई मोर्चा गरेर अथवा एकता गरेरै स्वागत गर्ने उनले बताए । अहिलेलाई पार्टी हाँक्ने थुप्रै नेता भएकाले बाहिरबाट नेतृत्व ल्याउन उनी सहमत छैनन् ।

पार्टी स्थापनादेखि नै सभापति रवि लामिछानेका विश्वासिला पात्र अर्यालले २०७९ को निर्वाचनको कमाण्ड पनि सम्हालेका थिए । उनले दोस्रोपटक सभापति लामिछानेको निर्वाचनको कमाण्ड पनि सम्हाले । त्यहीकारण आफूलाई फागुन २१ को निर्वाचनको कमाण्ड सम्हाल्न कम्फर्टेबल रहेको जिकिर उनी गर्छन् । विश्वको इतिहासमा कयौँ नेताले कारागारबाटै लगेर निर्वाचनमा बहुमत ल्याएको उल्लेख गर्दै उनले रास्वापाले फागुन २१ को निर्वाचनमा दुईतिहाइ बहुमत ल्याउने दाबी गरे । यसै सन्दर्भमा कार्यवाहक सभापति अर्यालसँग खबरहबले छोटो कुराकानी गरेको छ।

यहाँहरूको महाधिवेशन फेरि धकेलिएको छ, निर्वाचन फेस गर्न कठिन होला नि ? पार्टीमा कुनै ऊर्जा होला र ?

कठिन छैन । किनकी प्रदेशको संरचनासम्मको महाधिवेशन रोकिँदैन । प्रदेशसम्मको महाधिवेशन हुन्छ । राष्ट्रिय महाधिवेशन हुन प्रदेशसम्मको अधिवेशन सकिएर प्रतिनीधि आउनुपर्छ । हाम्रो त तदर्थ समिति मात्रै छ । त्यो समितिले मतदान गर्ने हो । प्रक्रिया नसकिएको भएर महाधिवेशन हुन नसकेको हो । हामीले सबै प्रक्रिया सकेर फागुन ७, ८, ९ मा महाधिवेशन गर्ने भनेको हो । तर प्रक्रिया नसकिएर समस्या भयो ।

अब त निर्वाचनतिर लाग्नुपर्छ । निर्वाचन सरकारले घोषणा गरेको छ । हामीले विश्वास गरेर सरकारलाई सघाउन खोजेको हो । यसमा प्रश्न उठाउने ठाउँ छैन । हामी प्रक्रियामै छौं । समयमै महाधिवेशन गर्छौँ । अरु पार्टी र हामीलाई तुलना गरेर हेर्ने होइन । हाम्रो लागि अहिले महाधिवेशन हुनुभन्दा नहुनु पोलिटिकल्ली ठिक हो । नयाँ पार्टी हौँ । पहिलो महाधिवेशन गर्न धेरै प्रक्रिया पुगेको छैन ।

कसरी नहुनु ठिक हो ?

हामीले प्रदेश, जिल्ला, टोल, स्थानीय तह लगायत अधिवेशन नै गर्न सकेका छैनौँ । तलबाट चुनिएर आउने प्रतिनिधिको पनि टुंगो भएको छैन ।

महाधिवेशन नगरी निर्वाचनमा जान नेता कार्यकर्तामा ऊर्जा आउला र ?

ऊर्जा छ । विस्तारित बैठक हेर्दा पनि हाम्रा नेता कार्यकर्ता निर्वाचनपछि महाधिवेशन गर्न उत्साहित हुनुहुन्छ । बाहिर अनेक कुरा आए ।

कतर हलमा त निर्वाचन अगाडि नै महाधिवेशन गरौँ भन्ने मत पनि थियो ठूलो पंक्तिको ?

हो, त्यो सुझाव पनि थियो । नभएको होइन । तर पहिला नै राष्ट्रिय चुनावभन्दा महाधिवेशन गर्दा के हुन्छ गरौं भन्ने सुझाव थियो । तर हलको बहुमतसहित ठूलो उपस्थितिले निर्वाचनपछि नै महाधिवेशन गरौं भन्ने सुझाव दिनुभयो । २ सय सुझाव लिँदा पनि अधिकाशंको धारणा त्यही थियो । हामीले पालिका तहसम्मका साथीहरूको धारणा लिएका छौं ।

यहाँले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै मझेरी खनेर आँगान पुर्ने काम बन्द गरौं भन्नुभयो । रास्वापाका धेरै नेताले पार्टी फुटाउने र छाड्ने भन्ने कुरा आएका छन् । यहाँलाई पनि पार्टी फुट्ने डर रहेछ है ?

प्रतिवेदनमा पनि भनेको छु । केही साथीहरू यो अभियानमा लागेको हो, केहीले पार्टी छाडेर जानु भएको हो । तर, रास्वपामा डर हुन्थ्यो भने स्थापना हुने थिएन । यो अवस्थामा हामी लडिरहेका छौं । हामीलाई निरन्तर लखेट्ने काम भएको छ । हामीलाई आज जनताले मात्रै सघाएका छन् । यो पार्टी स्थापनाबाटै देखिएको छ । मिडियाले पनि खेदेका छन् । हामीमा डर त्रास होइन, आत्माविश्वास छ । जनताप्रति हामीमा आशा छ ।

अब पार्टीमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह, धनगढीका गोपी हमाल र ऊर्जामन्त्री कुलमान घिसिङलाई ल्याउने च्याप्टर सकिएको ?

हामी त सबै विचार मिल्ने शक्ति एक भएर जाऊँ । नभए मोर्चा गरौं भनिरहेका छौं । उहाँहरूसँग पार्टी स्थापनाबाटै संवाद भएको हो । तर प्रतिवेदनमा भनेजस्तै आयातित व्यक्तिलाई मुल नेत्तृव दिने कुरा छैन । यो त रास्वपाका साथिहरूले पनि मान्नुपर्छ । जे पायो त्यही हल्ला चलाएर भएन । चर्चित अनुहार भए भन्दैमा पार्टीका नेतालाई पाखा लगाएर जानु भएन नि । भन्दैमा जे पनि गर्ने ?

यहाँ त राजनीतिक मान्छे होइन पनि भन्ने प्रश्न छ ? निर्वाचन लिड गर्न सकिन्छ ?

त्यो भन्ने मान्छे को रहेछ ? उसले सम्हाल्न सक्छ भने पठाइदिनु न । हामी उहाँलाई स्वागत गर्छौं । आज चौथो राजनीतिक दल कसरी भयो रास्वपा ? चितवनमा त्यस्ता राजनीतिक कार्यक्रम कसरी भए ? मेरो प्रतिवेदन हेर्नु न । यो त मैले नै कलेक्सन गरेर प्रस्तुत गरेको हो नि । उहाँहरूसँग सिक्छु । जानेको गरेको छु । मैले जनता र समाजले गरेको मूल्यांकनबाट सिक्छु । सम्मान गर्छु । तर ममाथिका प्रश्नको जवाफ मेरो कामले दिन्छ । कुनै नराम्रो काम गरेको छैन । गरेको भए प्रमाण पाऊँ ।

सभापति लामिछाने यदि कारागार नै बस्नुपरेको खण्डमा यहाँले चुनावी कमान्ड कसरी सम्हाल्नु हुन्छ ? यसका लागि कतिको दह्रो भएर बस्नुभएको छ ?

पहिलो निर्वाचन ०७९ को कमाण्ड गरेकै हो । पार्टी सभापतिज्यू नै निर्वाचनमा होमिनुभयो । उहाँको चुनावी कमान्डर म थिएँ । सभापतिले लडेको दोस्रो निर्वाचनको कमान्डर पनि म थिएँ । दोस्रो पटक कमान्डर हुँदा मैले पहिलेभन्दा ५ हजार भन्दा बढी मत बढाएरै सभापति जिताएको हो । पहिलो नै निर्वाचनमा मैले अभ्यास गरेको हो । हामीले २१ सांसद लिएर गयौँ । आजका उपसभामुख रास्वपाकै हुन् । म कति राजनीतिक व्यक्ति हो, होइन । म सँग कति क्षमता छ, छैन भने कुरा मैले प्रमाणित गरिरहेको छु । त्यसलाई अझ अबल बनाएर लिएर जाने काम मेरो हो । समाजले गर्ने विश्लेषण उहाँहरूलाई छाडिदिन्छु ।

उसोभए रास्वपा र यहाँलाई निर्वाचन फेस गर्न चुनौती छैन ?

न मैले व्यक्तिगत जीवन न व्यवसायिक जीवनमा आजसम्म मैले चुनौती लिएको छैन । म एकदम रमाइलो गरेर काम गर्छु । आज जनताले राम्रोसँग साथ दिएर आउनुभएको छ । देशभर नेतृत्व बनेको छ । प्रवासमा पनि संरचना बनेको छ । अन्तर्राष्ट्रिय हिसाबमा पनि रास्वपालाई उदाउँदो दल भनिएको छ । म त यो मूलधारको राजनीतिक शक्ति भनेर हिँडिरहेको छु ।

सभापति वित्तीय आरोपमा मुछिएपछि रास्वपाप्रति जनताको धारणा बदलिएको छ ? फेस गर्न गाह्रो होला कि ? जनताले त प्रश्न गर्छन् नि ?

विश्वमा कारागारमा भएका नेताको पार्टीले निर्वाचनमा बहुमत ल्याएको इतिहास पनि छ । यो सिकाइ रास्वपालाई काम लाग्छ । सभापतिजी चुनावसम्मै कारागार रहनुहुन्छ भन्ने छैन । उहाँ पुपक्र्षका लागि कारागारमा हुनुहुन्छ, निर्वाचन आउन धेरै बाँकी छ । त्यतातिर अहिले हामी बहस गर्न सक्दैनौं । उहाँ जुनसुकै बेला निस्किन सक्ने अवस्था छ । हामी यो कुरा छाडेर निर्वाचनमार्फत् जनताको म्यान्डेट लिएर निर्वाचनबाट विजयी हुनेछौं ।

यहाँले प्रतिवेदनमा बहुमत ल्याउने मिसन रास्वपाको छ भनुभएको छ । यही निर्वाचन प्रणालीले बहुमत ल्याउन सक्छ र ?

मज्जाले सक्छ । संविधान बनाउने अनि बहुमत ल्याउन सक्दैन भनेर पाखा लाग्ने होइन । जनताले पत्याएपछि बहुमत ल्याउन सकिन्छ । पार्टी इमान्दार व्यक्तिले चलाउनुपर्छ, नेतृत्व राम्रो हुनुपर्छ, जनताले पत्याएपछि बहुमत होइन, दुईतिहाइ ल्याउन सकिन्छ । र, अहिले हामी जनताले पत्याउने गरी गृहकार्य गरिरहेका छौं । हाम्रो पार्टीमा जेन–जी साथिहरू पनि हुनुहुन्छ । उहाँहरूका भावना र कुरा हाम्रा पनि हुन् । हामी स्वस्थ प्रतिस्पर्धा गरेर बहुमत ल्याउने तयारीमा छौं ।

कस्तो गणित निकाल्नु भएको छ ?

हामी रणनीतिक काम गरिरहेका छौं । मलाई केही समय पार्टीका लागि काम गर्न दिनुस्, रास्वापले निर्वाचनबाट मज्जाले दुईतिहाइ ल्याउँछ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ६ : २१ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो