चीनद्वारा अमेरिकामा ग्यालियम, जर्मेनियम र एन्टिमोनी निर्यात प्रतिबन्ध अस्थायी रूपमा स्थगित « Khabarhub

चीनद्वारा अमेरिकामा ग्यालियम, जर्मेनियम र एन्टिमोनी निर्यात प्रतिबन्ध अस्थायी रूपमा स्थगित


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको वाणिज्य मन्त्रालयले आइतबार संयुक्त राज्य अमेरिकातर्फ निर्यात हुने केही रणनीतिक सामग्रीहरूमा लागू गर्दै आएको प्रतिबन्ध अस्थायी रूपमा निलम्बन गर्ने घोषणा गरेको छ । यस अन्तर्गत ग्यालियम, जर्मेनियम, एन्टिमोनी तथा सुपरहार्ड सामग्रीहरूजस्ता दोहोरो प्रयोग हुने वस्तुहरू समावेश छन् ।

मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार यो निलम्बन चीनको सन् २०२४ को घोषणा नम्बर ४६ को दोस्रो खण्डमा लागू हुनेछ । यसलाई सन् २०२५ नोभेम्बर ९ देखि सन् २०२६ नोभेम्बर २७ सम्मका लागि स्थगित गरिनेछ । उक्त खण्डले विशेषगरी अमेरिकातर्फ यस्ता सामग्रीहरूको निर्यातमा प्रतिबन्ध लगाएको थियो र ग्रेफाइटजस्ता वस्तुहरूका लागि थप कडा समीक्षा प्रक्रिया अनिवार्य बनाएको थियो ।

तर, वाणिज्य मन्त्रालयले यो अस्थायी निलम्बनले घोषणाको दोस्रो खण्डमा मात्र प्रभाव पार्ने स्पष्ट पारेको छ । अमेरिकी सैन्य प्रयोगकर्ताहरू वा सैन्य प्रयोजनका लागि दोहोरो प्रयोग हुने वस्तुहरूको निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने पहिलो खण्ड भने यथावत रहनेछ । चिनियाँ ग्लोबल टाइम्सका अनुसार यो निर्णय चीन र अमेरिकाबीच हालै भएको उच्चस्तरीय वार्ताको परिणामस्वरूप आएको हो ।

यसअघि, सन् २०२४ डिसेम्बरमा जारी गरिएको चिनियाँ निर्यात नियन्त्रण कानूनले कुनै पनि संस्था वा व्यक्तिले चिनियाँ मूलका दोहोरो प्रयोगका वस्तुहरू अमेरिकी संस्थाहरूलाई अनधिकृत रूपमा हस्तान्तरण गरे कानूनी कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएको थियो । यसैबीच, यस महिनाको सुरुमा दक्षिण कोरियाको बुसानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच भएको महत्त्वपूर्ण भेटवार्तापछि दुवै देशबीच व्यापार र आर्थिक सहकार्य सम्बन्धी नयाँ सम्झौता सम्पन्न भएको थियो ।

ह्वाइट हाउसले नोभेम्बर १ मा सार्वजनिक गरेको तथ्यपत्रका अनुसार सम्झौता अन्तर्गत चीनले दुर्लभ पृथ्वी तत्वहरू र अन्य महत्त्वपूर्ण सामग्रीहरूमा लगाइएको निर्यात नियन्त्रण अस्थायी रूपमा हटाउने, मार्च ४ देखि लागू अमेरिकी उत्पादनहरूमाथिको प्रतिशोधात्मक शुल्क र गैर–शुल्क उपायहरू समाप्त गर्ने र केही व्यापारिक प्रतिबन्धहरू पुनः समीक्षा गर्ने सहमति जनाएको हो ।

त्यसको सट्टामा, अमेरिकाले पनि यस वर्षको नोभेम्बर १० देखि फेन्टानिल नियन्त्रणसँग सम्बन्धित चिनियाँ आयातमा लागू केही करमा १० प्रतिशतसम्म कटौती गर्ने, धारा ३०१ अन्तर्गतका कर छुट अर्को वर्ष नोभेम्बर १० सम्म लम्ब्याउने र चीनको समुद्री तथा जहाज निर्माण क्षेत्रमा सञ्चालन भइरहेका अनुसन्धानहरू अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको छ ।

यस्तै, चीनले नेक्सपेरियाको चीनस्थित उत्पादन केन्द्रहरूबाट व्यापार पुनः सुरु गर्न अनुमति दिने र अमेरिकी सेमीकन्डक्टर कम्पनीहरूविरुद्ध भइरहेको अनुसन्धान स्थगित गर्ने सहमति पनि जनाएको छ । यस निर्णयलाई दुई देशबीचको व्यापारिक सम्बन्धमा आंशिक सहजता ल्याउने प्रयासका रूपमा विश्लेषकहरूले व्याख्या गरेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ६ : २३ बजे

अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर– भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको