एमाले ओलीको ‘प्राइभेट कम्पनी’ होइन, यस पटक नेतृत्व फेर्छौँ : कर्ण थापा « Khabarhub

अन्तर्वार्ता

एमाले ओलीको ‘प्राइभेट कम्पनी’ होइन, यस पटक नेतृत्व फेर्छौँ : कर्ण थापा

सबै पदमा तीव्र प्रतिस्पर्धा हुन्छ, कोही सुरक्षित छैनन्



काठमाडौं- नेकपा एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओलीका कडा आलोचकका रुपमा चिनिएका नेता हुन् कर्णबहादुर थापा। एमाले स्थायी कमिटी सदस्य थापाले कुनै बेला ओलीले लेखेको पार्टी जीवनको लोकतान्त्रिकरणकसम्बन्धी विचारविरुद्ध अघि बढेको निष्कर्षसहित आलोचना गरिरहेका छन् । उनले एमालेमा रहेको दुई कार्यकाल र ७० वर्षे उमेर हद ओलीले आफ्नै नीतिविपरीत हटाएको बताइरहेका छन् । बाजुरा निवासी थापालाई एमाले अध्यक्ष ओलीले आफ्नो आलोचना गरेकै कारण कर्णरमा पारेको बताइन्छ । पार्टीको एघारौं महाधिवेशनमा पाएसम्म उपमहासचिव नभए सचिवमा उठ्ने तयारीमा रहेका थापाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहलाई साथ दिएका छन्।

थापा एघारौँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूले विद्रोह गरेर अहिलेको नेतृत्वलाई विस्थापित गर्ने विश्वास गर्छन्। एमालेको नवौँ र दशौँ महाधिवेशनमा ईश्वर पोखरेले साथ नदिएको अवस्थामा ओली अध्यक्ष हुनै नसक्ने उनी बताउँछन् । एमालेको संगठनलाई बलियो रुपमा अगाडि बढाउन ओलीको भन्दा पोखरेलको योगदान धेरै रहेको उनको तर्क छ। पोखरेललाई को-अर्डिनेसन केन्द्रदेखि नै वामपन्थी आन्दोलनमा दुःख कष्ट गरेका आएका नेताका रुपमा उनी चिनाउँछ्। पोखरेललाई योपटक महाधिवेशन प्रतिनिधिले जिताएरै छोड्ने दाबी उनको छ। एमाले अध्यक्ष ओलीले यस पटक महाधिवेशन हलमा विधान संशोधनको प्रस्ताव लग्ने कुराले उनी असन्तुष्ट छन् । ‘आफूअनुकूल विधान परिमार्ज गर्न एमाले ओलीको प्राइभेट कम्पनी होइन। विधान संशोधन हुने भए दुई कार्यकाल र ७० वर्षे उमेरहद पहिला लागू गरेर ओली अध्यक्षबाट बिदा हुनुपर्छ,’ उनी भन्छन् । नेता थापा एघारौँ महाधिवेशनको मञ्चमा सबै पदमा प्रतिस्पर्धा हुने बताउँछन् । उनी कसैको पद सुरक्षित नभएको दाबी गर्छन्। एमालेको महाधिवेशन सेरोफेरोमा थापासँग खबरहबले गरेको छोटो कुराकानी :

एमालेको पदाधिकारीमा उठ्ने योजना बनाउनुभएको रहेछ, जित्छु जस्तो लाग्छ ?

जित्नका लागि नै उठ्न खोजेको हो । जितिन्छ । हामीसँग सही नीति र विचार छ । देशभरबाट आएको परिवर्तनको चाहनाको प्रतिनिधित्व गरेका छौँ । जनता र पार्टीले परिवर्तन चाहेको छ । पार्टीभित्र जुन खालका समस्या देखा परेका छन् । एकल नेतृत्व र एक व्यक्तिको एकछत्र शासन छ, यसबाट सबैले मुक्ति खोजेका छन् ।

कुन पदमा उठ्ने ?

तयारी गरिरहेको छु । पदाधिकारीमा नै आउने हो ।

तर, अध्यक्ष ओली त आफूले उठाएकोबाहेक कोही नजित्ने बताइरहेका छन् । मैले उठाएका प्रतिनिधिले पनि ७० प्रतिशत मत पाएर जित्छन् भन्नुहुन्छ त ?

उहाँको विषयमा टिप्पणी गर्नु उचित छैन । एमाले महाधिवेशन स्वास्थ्य हुनुपर्छ । प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुपर्छ । जवजको नियम अनुसार कुनै व्यक्तिले टीका लगाएर कोही नेता बन्दैन । कुनै व्यक्तिले नेता बनाउने होइन, कार्यकर्ताले नेता बनाउने हो । नेता विधि र नीतिअनुसार चल्नुपर्छ । हरेक मान्छेको अवधि हुन्छ ।

यहाँहरूलाई लाग्छ ११ औँ महाधिवेशनमा ईश्वर पोखरेल अध्यक्ष निर्वाचित हुनुहुन्छ ?

उहाँ को-अर्डिनेशन केन्द्रदेखि अहिलेसम्म निरन्तर आन्दोलनमा लागिरहेको एक मात्रै वाम नेता हो । जुन बेला कमरेड केपी ओली जेलमा हुनुन्थ्यो, त्यहाँबाट सङ्गठन बनेको छैन । खासमा पार्टी निर्माणमा उहाँको योगदान नै छैन । नेकपा माले जुन पार्टी बन्यो, विस्तारित रूप एमाले भयो । त्यसमा सबैभन्दा बढी भूमिका ईश्वर पोखरेलको छ। उहाँ २ पटक निर्वाचित महासचिव हो ।

उहाँले मधेश र उपत्यका सबैतिर काम गर्नुभएको छ । सङ्गठन विभाग, प्रचार विभाग प्रमुख हुँदै पार्टीभित्र एक-एक खुड्किलो पार गर्नुभएको छ । उहाँ सबै जिम्मेवारी पूरा गरेर वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँ योग्यता-क्षमता भएको र राम्रो अध्ययनशील नेता हो । उहाँ विद्यार्थी हुँदा स्वीस सरकारले दिएको छात्रवृत्ति छोडेको मान्छे हो ।

ओलीले भन्दा धेरै उहाँले पार्टीमा योगदान र भूमिका दिनु भएको छ । उहाँकै सहयोगमा केपी कमरेडले नवौँ महाधिवेशनमा जित्नुभएको हो । ईश्वर र वामदेव गौतमले नवौँ महाधिवेशनमा साथ नदिएको भए उहाँले अध्यक्ष के हो भन्ने कुरा देख्न र भोग्न पाउनु हुने थिएन । उहाँ अध्यक्ष हुने सपना मात्रै हुने थियो । दशौँ महाधिवेशन विशेष परिस्थितिमा भएकाले ईश्वर कमरेडले साथ दिनुभएका हो नि ओलीलाई । आठौँमा उहाँ पराजित हुनु भएको हो । उहाँ पराजित हुँदा पनि हामी निर्वाचित भयौँ । ईश्वर पोखरेललाई पार्टी अध्यक्ष बनाउँदा मज्जाले एमाले बनाउनुहुन्छ ।

तर यहाँहरूले यी सबै कुरा किन प्रतिनिधिलाई बुझाउन सक्नु भएन ? यहाँहरूले नै सुरुमा ओली-ओली भनेर बोक्दा माधव नेपालहरूले पनि पार्टी छाड्नुभएको ?

यो पटक प्रतिनिधिहरू बुझेर आएका छन् । यहाँहरूसँग अन्तर्वार्तामै भन्दैछु, महाधिवेशनको परिणामपछि ओलीको चरित्र देखिन्छ । त्यसपछि यहाँहरू पनि चकित हुनुहोला । उहाँ सही कि गलत भनेर देख्न पाउँछन् ।

महाधिवेशन प्रतिनिधिले साँच्चै ओलीलाई नछान्ला त ?

एमालेमा उहाँहरूले स्वतन्त्र ढंगले मत प्रदान गर्दा ठूलो सङ्ख्या छ । दशौँ राष्ट्रिय महाधिवेशनबाट उहाँले पढेको सूचीकै केन्द्रीय समितिका आधाभन्दा बढी मान्छे अहिले उहाँको पक्षमा छैनन् ।

महाधिवेशन प्रतिनिधिहरूलाई के भन्नुहुन्छ ?

म उहाँलाई एमाले जोगाउन र पार्टीमा व्यक्तिवादी प्रवृत्ति तोड्न तयार रहनुस् भन्छु । देशको समस्या समाधान गर्न स्वतन्त्र निष्पक्ष र सार्वभौम सम्पन्न भएर मतदान गर्नुहोस् । हामी परिवर्तनको पक्षमा छौँ । यथास्थितिमा रहेर पार्टी चल्ने वाला छैन । परिवर्तन गरौँ ।

यहाँहरूलाई अध्यक्ष ओली नै नेतृत्वमा पुन: आउँदा निर्वाचन फेस गर्न गाह्रो हुने देखिन्छ, यसो हुँदा पार्टी नै फुट्ने अवस्था आउला कि ?

पार्टी फुट्ने कल्पना पनि गरेका छैनौँ । हामी एमाले चलाउन चाहन्छौँ । पार्टी शुद्धिकरण गरेर विचार, व्यवहार र कार्यशैलीले पुनर्गठित गर्न चाहन्छौँ । पुनर्गठन अहिलेको आवश्यकता हो । कार्यकर्ताको माग यही हो । हामी अझै राम्रो एमाले बनाउँछौँ ।

तर यहाँले नै यथास्थितिमा एमाले अगाडि बढ्न सक्दैन भन्नुभयो नि ?

परिवर्तन हुन्छ । सुध्रिएको एमाले जो जनताले खोजिरहेको छ । सँच्चिएको एमाले लिएर जनताबीच लिएर जाँदा के समस्या हुन्छ ? आफ्ना गल्तीहरू सुधारेर जनताबीच जाँदा र जनताको भावना जित्ने एमाले लिएर जाँदा कुनै समस्या छैन । निर्वाचनमा जान सजिलोका लागि नै परिवर्तन खोजेको हो ।

उसो भए परिवर्तन हुन्छ भनेर ढुक्क हुनुहुन्छ ?

ढुक्क छौँ । अरूले भनेजस्तो आँकडामा खेल्ने काम गरिँदैन । अहिलेको अवस्थामा प्रतिस्पर्धा तीव्र हुन्छ । नेता टु नेट हुन्छ । सबै पदमा कसैको पनि पद आजका दिनमा सुरक्षित छैन । मान्छे फकाउन कसले के के भनिरहेका छन्, त्यसले फरक पर्दैन । प्रतिनिधिको भावना हामी परिवर्तन गर्छौं । र, नेता बदलेर देखाउँछौँ । बाहिर कराएको बेकार हुन्छ ।

अन्तिममा, ओलीले पदाधिकारीको सङ्ख्या बढाउने प्रस्ताव लाँदै गरेको बुझिन्छ । यहाँहरूलाई नै व्यवस्थापन गर्न हो कि ?

विधान महाधिवेशनमा एउट व्यवस्था गरेपछि के का लागि विधान संशोधन गर्ने ? आफ्नो पद जोगाउन गरिएको कोसिसमा हामी चुप बस्दैनौँ । उहाँको निजी इच्छाले चल्ने कम्पनी हो र ? त्यही भएर नेता परिवर्तन गरौँ भनेको हो । ओलीले एमाले प्राइभेट कम्पनीमा चलाउने भए कम्पनी खोले भइगयो नि ।

यत्रो रगत र पसिना खर्चे गरेर बनाएको पार्टीलाई व्यक्तिको सनक र स्वार्थमा चलाउन पाइन्छ ? यदि परिवर्तन गर्न परे ७० वर्षको उमेर हद लगाएर दुई कार्यकाल मात्रै चलाउन पाउने व्यवस्था गरेर उहाँले छोड्नुपर्छ । म त भनिरहेको छु, ७० वर्ष पुगेकाले छाड्नुपर्छ । यो कुरा नमान्ने त उहाँ नै हो नि । उहाँमा हिम्मत भए दुई कार्यकाल लागू गरेर हट्नु ? हिम्मत भए त देखाउनुपर्छ नि ! भदौ २३ र २४ को जेन-जी आन्दोलनले उहाँ हट्नुपर्छ भनेकै हो नि ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : ४६ बजे

‘जेन-जी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व हो : मन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेन-जी सहिद’ योद्धाका अधुरा सपना पूरा

आजका समाचार : कांग्रेसबाट धमाधम उम्मेदवार सिफारिस, एमालेमा तानातान, महाधिवेशनको तयारी तीव्र, सुदूरपश्चिम दोस्रो पटक फाइनलमा र इजरायली आक्रमणमा ६७ पत्रकार मारिए

यातायातसम्बन्धी सर्वोच्चका आदेश कार्यान्वयन गर्न जाँचबुझ आयोगसरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको दौडधूप, प्रधानमन्त्रीसहितको उच्च नेतृत्वसँग एकैदिन भेटघाट   

काठमाडौं– भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुन्नु महावरले नेपाल

चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण

एजेन्सी – चीनले मंगलबार लङ–मार्च–४बी बोक्ने रकेटमार्फत नयाँ उपग्रह ‘याओगान–४७’

केपी-ईश्वर टकरावको विकल्प सर्वसम्मत शंकर पोखरेल

नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै छ । तर, पार्टीभित्रको राजनीतिक