कति सम्भव छ लिङ्देन र थापाको एकता ? | Khabarhub Khabarhub

कति सम्भव छ लिङ्देन र थापाको एकता ?

दुर्गा प्रसाईंतिर दुबै नेताको नजर, माघमा राप्रपा बैठकको तयारी


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका राजावादी पार्टीहरु फुट्नमा कम्युनिष्टजस्तै अब्बल छन् । विभिन्न टुक्रामा चोइटिएका कम्युनिष्ट र राजावादीहरु आन्तरिक एकताको पनि कुरा गरिरहन्छन् ।

माओवादी समूहवीच एकताको चर्चा चलेजस्तै गरी अहिले राजावादी दलहरु पनि आपसी एकताको चर्चा गरिरहेका छन् ।

छिल्लो समय राप्रपा नेता राजेन्द्र लिङदेन र कमल थापा बीच वार्ता र छलफल सुरु भएको छ । थापा र लिङदेनको भेटवार्तासँगै तीन वर्ष अगाडि फुटेका राजावादी पार्टीहरू फेरि मिल्ने चर्चा सुरु भएको छ ।

के राप्रपा र राप्रपा नेपालको एकता सम्भव छ त ? यो प्रश्नको जवाफ खोज्नूपूर्व कमल थापा र राजेन्द्र लिङदेनबीचको फुट के कारणले भयो भन्ने स्मरण गर्नु सान्दर्भिक होला ।

किन फुटे थापा र लिङदेन ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ०७८ मंसिर १९ मा सम्पन्न महाधिवेशनबाट राजेन्द्र लिङदेन अध्यक्षमा निर्वाचित भए । त्यष्सको दुई महिना नबित्दै कमल थापाले विद्रोह गरेर राप्रपा नेपाल पुनर्गठन गरे ।

पार्टीका तत्कालीन अध्यक्ष कमल थापालाई पराजित गर्दै लिङदेन विजयी भएपछि थापाले पार्टीमा पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेप भएको गुनासो गरेका थिए । उनले निर्मल निवासको हस्तक्षेपबाट लिङ्देनलाई जिताइएको भन्दै त्यसबेला पूर्वराजा ज्ञानेन्द्रको समेत आलोचना गरेका थिए । फुटको राजनीतिक कारण ‘ज्ञानेन्द्रको हस्तक्षेप’ लाई बताइएको थियो ।

महाधिवेशनमा लिङदेनले १ हजार ८४४ मत पाउँदा थापाले १ हजार ६१७ मत पाएका थिए । अन्ततः थापाले ०७८ फागुन ७ गते आफू अध्यक्ष रहने गरी राप्रपा नेपालको पुनःस्थापना गरेका थिए ।

लिङ्देनसँग पराजित भएपछि थापाले पूर्वराजा र निर्मल निवासले हराएको भन्दै पार्टीमा छानबिन गर्न मागसमेत गरेका थिए । तर, लिङदेनले थापाको मागको सुनुवाइ गरेनन् ।

आफूले राजनीतिक दलहरुमाथि हस्तक्षेप नगर्ने सांस्कृतिक राजसंस्थाको परिकल्पना गरेको बताउँदै थापाले पार्टीको महाधिवशेनमै हस्तक्षेप गर्ने हो भने त्यस्तो राजसंस्था किन चाहियो भन्ने प्रश्न उठाएका थिए । उनले राजतन्त्रको एजेण्डा छाडेर हिन्दु राष्ट्रको एजेण्डा मात्रै बोक्ने संकेत गरेका थिए ।

उता राजेन्द्र लिङदेन समूहले भने महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप नभएको दाबी गरेको थियो । कमल थापाले महाधिवशेनको म्यान्डेटलाई नमानेको र पराजयबाट विक्षिप्त भएर फार्टी फुटाएको लिङदेन पक्षको आरोप थियो ।

राप्रपाको पछिल्लो फुटमा राजनीतिक कारणले काम गरेको छ या नेताहरुको ‘व्यक्तिगत लडाइँ’ मात्र जिम्मेवार छ ? यो प्रश्नमा थापा र लिङदेन पक्षका आ–आफ्नै दाबी रहँदै आएका छन् ।

आम निर्वाचनले दिएको जवाफ

यसवीचमा कमल थापाले ‘राप्रपा नेपाल’ त खोले तर ०७९ को निर्वाचनमा उनको दलले उल्लेख्य नतिजा ल्याउन सकेन । अध्यक्ष थापा आफ्नो गृहजिल्ला मकवानपुरको क्षेत्र नम्बर १ बाट एमालेको सूर्य चिह्न लिएर चुनाव लडे । तथापि उनले तेस्रो स्थानमा खुम्चनु मात्रै परेन, आफ्नै पूर्वकार्यकर्ता राप्रपाका दीपकबहादुर सिंहसँग पराजित हुनुपर्‍यो ।

राप्रपाका सिंहले २७ हजार ८५१ मत लाएर जित्दा दोस्रो स्थानमा कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले २५ हजार ४६४ मत ल्याइन् । तेस्रो स्थानमा कमल थापाले एमालेसमेतको मत जोडेर २५ हजार ४६० मत पाए । थापाको पार्टीले संघ र प्रदेश कतै पनि एउटै सिट जित्न सकेन ।

देशैभरिको नतिजा हेर्दा समानुपातिकतर्फ लिङदेन नेतृत्वको राप्रपाले हलो चिन्हमा ५ लाख ८८ हजार ८४९ मत पायो र रास्वपापछिको पाँचौं दल बन्यो । तर, तीर चुनाव चिन्ह पाएका थापाले देशभरिमा पाएको समानुपातिक मत १२ हजार ३४० मात्रै रह्यो । यो आधारमा थापाको पार्टी २३ औं दल बन्न पुग्यो ।

अहिले राजेन्द्र लिङदेनसँग प्रतिनिधिसभामा १४ सिट छ । ७ जना प्रत्यक्षतर्फ जितेका सांसद छन् भने ७ जना समानुपातिक सांसद छन् । प्रत्यक्षतर्फ राप्रपाले ०७९ को चुनावमा मकवानपुरबाट दीपकबहादुर सिंह, रुपन्देहीबाट दीपक बोहोरा, बाँकेबाट धवलसमशेर जबरा, पश्चिम नवलपरासीबाट ध्रुवबहादुर प्रधान, चितवनबाट विक्रम पाण्डे र झापाबाट राजेन्द्र लिङदेन र जुम्लाबाट ज्ञानबहादुर शाहीले चुनाव जितेका छन् ।

कमल थापाको पार्टी भने अहिले संसदीय राजनीतिमा छैन । आफ्नो पार्टीले भनेजस्तो प्रगति गर्न नसकेपछि कमल थापा राजावादीहरुवीच एकता गर्नुपर्ने लाइनमा आएका छन् ।

राजेन्द्र लिङदेन पनि संकटमा

अर्कोतिर राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले ०७९ को चुनावमा १४ सिट जिते पनि यसवीचमा उल्लेख्य संगठनात्मक प्रगति गर्न भने सकेन । पार्टीभित्र अन्तरविरोध बढ्दा लिङदेन चेपुवामा पर्न थालेको, पूर्वराजा ज्ञानेन्द्रले पनि लिङदेनलाई विश्वास गर्न छाडेको र विशेष गरी हालै सम्पन्न उपचुनावमा राप्रपाको स्थिति कमजोर देखिएका कारण लिङदेनले पनि अब कमल थापासँग मिल्नुपर्ने निष्कर्ष निकालेको कतिपय नेताहरुको भनाइ छ ।

प्रतिनिधिसभामा १४ सिट ल्याएर देशको पाँचौँ ठूलो दल बनेको अवस्था हेर्दा संसदीय राजनीतिमा हेर्दा लिङ्देनको नेतृत्व सफल नै देखिन्छ । तर, पार्टी भित्र भने उनको नेतृत्व असफल भएको भन्दै आलोचना हुन थालेको छ । लिङ्देन समूहकी नेता एवं नायिका रेखा शर्माले कहिलेकाहीँ सार्वजनिकरुपमै लिङ्देनको आलोचना गर्न थालेकी छिन् ।

राप्रपा ०७९ को निर्वाचनपछि माओवादी–एमालेको सरकारमा गएपछि लिङदेनको आलोचना हुन थालेको हो । करिब ३ महिनापछि सरकारबाट बाहिरिएको राप्रपा अहिले भने ओली सरकारमा गएको छैन । कारण, पार्टीभित्र सरकारमा नजानुपर्ने पक्ष बलियो छ ।

कमल थापाले पनि राप्रपा सरकारमा नजाने र आन्दोलनमा लाग्ने हो भने लिङदेनसँग एकता गर्न तयार रहेको बताउने गरेका छन्।
कार्यकर्ताको दबाव

कमल थापा नेतृत्वको राप्रपा नेपालले आफ्नो दस्तावेजमा विचार मिल्ने शक्तिहरुसँग जुनसुकै बेला एकता हुने भनेको छ । राप्रपाले पनि उसैगरी दस्तावेजमा लेखेको छ ।

पार्टी एकताका लागि थापाले गत वर्षदेखि नै जोडबल गरिरहेका छन् । थापाले यसबीचमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई मंसिर अन्तिम साता अप्रत्याशित रूपमा भैरहवाको एक कार्यक्रममा भेटेका थिए ।

उक्त भेटबारे थापानिकट एक नेता भन्छन्, ‘राप्रपाको महाधिवेशनपछि भौरहवामा पूर्वराजासँग कमल थापाको भेट भएको हो । तर, लामो कुरा हुन पाएन । त्यसपछि फोनमा कुरा भएको छ कि मलाई थाहा भएन ।’

पूर्वराजाले मिल भनेर मिल्ने र नमिल भनेर नमिल्ने राप्रपा नेपालको दृष्ठिटकोण नरहेको ती नेता बताउँछन् । थापा समूहका उनी भन्छन्, ‘पूर्वराजालाई यस्ता कुरामा मुछ्न हुँदैन भन्ने मान्यता हामी राख्छौं । उहाँलाई अभिभावक बनाउनुपर्छ ।’

यसैवीच, पुसको दोस्रो साता कमल थापा र राजेन्द्र लिङ्देनको भेटघाट भयो । चिसो बढेसँगै थापा र लिङ्देनको सम्बन्धमा आएको तातोपनले कहाँसम्म जान्छ, त्यो भने हेर्न बाँकी छ ।

दुई नेताको भेटमा पार्टी एकीकरण गरेर जाँदा सहज हुने कुराकानी भएको दुवै पक्षका नेताहरू स्वीकार गर्छन् ।

भेटपछि थापाले आफू निकटस्थ नेताहरुसँग ब्रिफिङ गर्दै भने, ‘राजेन्द्रजी पनि हिन्दुवादी, राजावादी र पूर्वराप्रपा अनि राप्रपालाई माया गर्ने शक्तिहरु एकठाउँमा आउनुपर्ने कुरामा तयार हुनुहुन्छ । तर यसका लागि केही समय लाग्छ । सैद्धान्तिक सहमति भएको छ, राष्ट्रिय एकता दिवसपछि केही छलफल हुन्छ ।’

राष्ट्रिय एकता दिवस बेग्लाबेग्लै

लिङ्देन र थापा समूहको राप्रपाले मंसिर २७ गते पृथ्वी जयन्ती ‘राष्ट्रिय एकता दिवस’ विभिन्न पार्टीहरूलाई बोलाएर छुट्टाछुट्टै ढंगले मनाउने तयारी गरेको छ । त्यसको निमन्त्रणा थापा र लिङ्देनले आफ्नो आफ्नो ढंगले गरेका छन् । थापा समूहको कार्यक्रम बालुवाटारमा राखिएको छ भने लिङ्देन समूहको कार्यक्रम भृकुटीमण्डपमा छ ।

राप्रपाले पुस २७ गते राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउँदै आएको छ । यसै सन्दर्भमा दुई पार्टीका नेताहरूको भेटघाट बाक्लिएको छ । यो व्यवस्था र प्रणालीसँग असन्तुष्ट रहेका सबै शक्ति एक ठाउँमा आउनुपर्ने भन्दै दुवै नेताहरूले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका साथै नेताहरू प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर जबरा लगायतसँग भेटघाट र छलफल बढाएका छन्।

‘शीर्षनेताहरूले पनि सबैजना एक ठाउँमा आउनुपर्छ र यसको महत्त्व छ भन्नुभएको छ’ कमल थापाले पुस १९ मा बसेको पार्टी केन्द्रीय समिति बैठकमा भनेका थिए, ‘कसलाई नेतृत्व मान्ने भन्ने कुरा प्रमुख हैन, उहाँहरू (राप्रपा) संसदीय अभ्यासमा भएको ठूलो पार्टी भएकाले नेतृत्वमा दाबी हाम्रो नहोला । तर, मिलाएर कसरी जानुपर्छ भनेर अग्रजसँग पनि सल्लाह गरिरहेको छु ।’

बैठकमा थापाको भनाइ र केन्द्रीय समितिको निर्णय उधृत गर्दै राप्रपा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले खबरहबसँग भने, ‘नेता–कार्यकर्तामा एक ठाउँमा आउनुपर्छ भन्ने भावनाको विकास भएको छ । हाम्रो केन्द्रीय कमिटी बैठकको निष्कर्ष पनि त्यही हो । पुस १९ गतेको बैठकमा यही विषयमा छलफल भएको थियो ।’

केन्द्रीय समिति बैठक अगाडि दुई दलका नेताहरूबीच भेटघाट भएको र त्यो विषयले केन्द्रीय समिति बैठकमा पनि प्रवेश पाएको बर्तौलाले बताए । उनले भने, ‘अध्यक्षज्यूले भेटघाट फलदायी भएको बताउनुभएको छ ।’

राप्रपा केन्द्रीय कमिटी बैठकमा पनि छलफल हुने

राप्रपा अध्यक्ष लिङ्देनले पार्टीको बैठकमा एकताबारे छलफल गर्ने बताउँदै पार्टी एकताका लागि आफू सकारात्मक रहेको थापालाई आश्वासन दिएको स्रोतको भनाइ छ ।

लिङ्देनको भनाइ उद्धृत गर्दै राप्रपा नेपालका एक नेताले खबरहबसँग भने, ‘म पार्टीको आधिकारिक निकाय केन्द्रीय समिति बैठकमा छलफल गर्छु भन्नुभएको छ ।’

राप्रपाको केन्द्रीय समिति बैठक माघ ११ र १२ मा बस्दै छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार सो बैठकमा पार्टी एकताको एजेन्डा प्रवेश गर्नेछ । उनी भन्छन्, ‘एकताकै त तत्काल सम्भावना नहोला तर समान विचारधारा भएका दल, समूह र व्यक्तिसँग सहकार्य र मोर्चा बनाएर जाने सम्भावना छ,’ श्रेष्ठले खबरहबसँग भने, ‘त्यसअनुसार विचार मिल्नेसँग औपचारिक–अनौपचारिक संवाद पनि भइरहेको छ । तत्काल कुनै पनि कुरा अगाडि बढेको छैन ।’

तत्काल एकताको कुरा नभए पनि भविष्यमा यसले केही सफलता ल्याउने श्रेष्ठले बताए ।

दुर्गा प्रसाईँतिर पनि ध्यान

गत ०७९ को निर्वाचनमा राप्रपासँग एमाले मिलेको भन्दै दुर्गा प्रसाईँ एमालेसँग असन्तुष्ट देखिएका थिए । त्यसपछि उनले राजेन्द्र लिङ्देनलाई हराउन झापा क्षेत्र नम्बर ३ मा एमालेका बागी उम्मदेवारलाई सघाए । तर, एमालेसँग मिलेर राजेन्द्रले चुनाव जितिछाडे । त्यसयता दुर्गा प्रसाईँ र एमालेको सम्बन्ध बिग्रियो ।

अहिले राजेन्द्र लिङदेन भन्दा एक कदम अगाडि बढेर प्रसाईँ राजा फर्काउने अभियानमा लागेका छन् । प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ मार्फत देशभर संगठन बनाएका छन् । आफ्नो अभियानमा १० हजार भन्दा बढी नागरिकहरू जोडिएको भन्दै प्रसाईँको दाबी छ ।

पछिल्लो समय प्रसाईँ र थापाबीच निरन्तर छलफल चलिरहेको नेताहरु बताउँछन् । राप्रपाबाट पनि राजेन्द्र लिङदेनले प्रसाईँसँग अप्रत्यक्ष कुराकानी गरिरहेको स्रोतको भनाइ छ ।

लिङ्देन र प्रसाईँको जिल्ला पनि झापा नै भएको हुनाले उनीहरू कुनै न कुनै रूपमा जोडिएर एकताका लागि कुराहरू गरिरहेको स्रोतको दाबी छ । प्रसाईँलाई सरकारले विभिन्न अभियोग लगाएर एक्लो पारिरहेकाले उनले पनि राप्रपाको सहारा खोजिरहेको राप्रपा नेताहरुको बुझाइ छ ।

तर, प्रसाईँसँगको राप्रपा नेताहरुको छलफलले कुनै मूर्त रूप भने लिएको छैन । मिले एकता गर्ने, नभए मोर्चा बनाएर जान सकिने नेताहरू बताउँछन् ।

‘राजावादीहरु मिल्दैमा गणतन्त्र जोखिममा पर्दैन’

०४६ सालको जनआन्दोलनबाट संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था स्थापना भएपछि पूर्वपञ्चहरुले राप्रपा थापा समूह र राप्रपा चन्द समूह नाममा दुईवटा पार्टी खोलेका थिए । ०५१ को मध्यावधि चुनावमा त राप्रपाले संसदमा २० सिट जित्यो । लोकेन्द्र बहादुर चन्द र सूर्यबहादुर थापा पालैपालो प्रधानमन्त्री बने ।

आपसमा मिल्दा राजावादीहरू तेस्रो बलियो शक्ति बनेका थिए । संविधानसभाको चुनावपछि पनि कमल थापा नेतृत्वको राप्रपा नेपाल २४ सिटसहित चौथो शक्ति बन्यो । अहिले राजेन्द्र लिङ्देनको राप्रपा १४ सिट लिएर प्रतिनिधि सभामा छ । जुनसुकै बेला पनि राप्रपाले ‘राजा फर्काउने’ नीति लिँदै आएको छ ।

राजावादीहरु सक्रिय हुँदा गणतन्त्र जोखिममा पर्न सक्ने कांग्रेस, एमाले र माओवादीका नेताहरुले बताउने गरेका छन् । भर्खरै सम्पन्न नेकपा एमालेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा पनि राजावादीको सक्रियताबारे चिन्ता प्रकट गरिएको छ ।

तर, अहिलेको अवस्थामा राजावादीहरु आपसमा मिले पनि गणतन्त्र खतरामा नपर्ने विश्लेषकको दाबी छ ।

देश लोकतन्त्रमा प्रवेश गरिसकेकाले राजा फर्कने र कार्यकारी हुने धेरै परको कुरा भएको विश्लेषक श्याम श्रेष्ठ बताउँछन् ।

अर्का विश्लेषक सुरेन्द्र लाभ पनि राजतन्त्र फर्कने सम्भावना नरहेको बताउँछन् । उनी भन्छन्, ‘देश लोकतन्त्रमा रमाइरहेको छ । राजा आउने कुनै सम्भावना छैन । राजावादीहरू एक ठाउँमा आएको राम्रै मान्नुपर्छ । अब कुनै शक्ति मिले पनि लोकतन्त्र खतरामा पर्दैन ।’

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ५ : ०० बजे

केही कानुन संशोधन गर्न सरकारले ल्याएको अध्यादेशमा के छ ?

काठमाडाैं – सरकारले सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू

सरकारले ल्यायो केही कानुन संशोधन गर्न अध्यादेश

काठमाडौं – सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू संशोधन

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल

परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक

काठमाडौं – पौष शुक्ल पूर्णिमा नजिकिएसँगै वैदिक सनातन हिन्दू धर्मावलम्बी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । बैठक नियमित