उद्धारमा गएकाहरू भिरमै अड्किए, फोनमा बोल्दा-बोल्दै प्राण त्यागे पुसेले « Khabarhub

उद्धारमा गएकाहरू भिरमै अड्किए, फोनमा बोल्दा-बोल्दै प्राण त्यागे पुसेले

कर्णाली भीरमा अड्किएका सात जनाको १८ घण्टापछि उद्धार 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

धनगढी– कर्णाली नदी किनारको भीरमा अड्किएका सात जनाको १८ घण्टा पछि उद्धार गरिएको छ । आइतबार साँझ ६ बजेदेखि अड्किएका स्थानीयको हिमाली गाउँपालिकाको बोटमार्फत उद्धार गरिएको प्रहरीले बताएको छ । माछा मार्न गएका आफन्त पुसे भण्डारी भिरबाट खसेर घाइते भएपछि उनीहरू उद्धारमा गएका थिए । 

उद्धारका लागि पुगेका सातैजनाले भिर पार गर्न नसकेपछि बीचमै अड्किए । भण्डारीको आइतबार राति नै मृत्यु भइसकेको थियो ।

मृतक भण्डारीले भिरबाट चिप्लिएर घाइते भएकाले ज्यान बचाउन अपिल गरेपछि उनीहरू घटनास्थल गएका थिए । फोन सम्पर्क गरे पनि रातको बीचमा कुनै विकल्प थिएन, उनीहरू पनि मृतकसँगै रातभर भिरमै बसेको स्थानीय जीवन बुढाले जानकारी दिए । 

मृतक भण्डारीले करिब ५ बजेतिर आफन्तलाई फोन गरेका थिए । स्थानीय गणेश बुढाका अनुसार पुसे जहिल्यै जोखिम मोलेर माछा मार्न जान्थे । गाउँले पनि उनलाई भिर चढ्ने मान्छेका रुपमा चिन्थे । साँझ पर्न लाग्दा उनी घर फर्किने तयारीमा थिए । अचानक भिरबाट तल खसेछन् । लड्दै तल पुगेका पुसे अर्धचेत थिए । अर्धचेत अवस्थामै आफन्तलाई फोन गरे । 

काँपिरहेको हातले उनले घरमा फोन गरे– ‘म भिरबाट खसेर घाइते भएँ । छिटो आउनू । यति सुनेपछि फोन उठाउने परिवारका सदस्यको मन काँप्यो । उनीहरूले गाउँलेलाई खबर गरे । गाउँले दौडिए । समूह बनाएर कर्णालीतर्फ लागे । तर भिर झरिनसक्नु थियो, उता पुसेको आवाज कमजोर हुँदै गयो । 

‘म अब सक्दिनँ,’ फोनमै बोल्दै–बोल्दै उनको प्राण गयो । जतिबेला आफन्त नजिक पुगिसकेका थिए । रातको समय, घाइतेको उद्धार गर्नुपर्ने हतार । उनीहरू पनि झर्ने बेला झरे । पछि उक्लिन सकेनन् । बीचमै अड्किए । रातभर आँखैअगाडि आफन्त गुमाउँदाको पीडामा भिरमा अड्किएर अर्को पीडा भोग्न बाध्य भए । 

गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, प्रहरी र प्रशासनलाई राति नै जानकारी भइसकेको थियो । वडाअध्यक्ष विष्णुबहादुर बुढा रातभर उद्धारको प्रयासमा लागे । ‘तर, बोट हिमालीको धुराचौरबाट ल्याउनै समस्या, राति अन्य विकल्प पनि थिएन, बिहानै उद्धार तयारी थालियो, सम्भव पानि भयो’, नागरिक अगुवासमेत रहेका स्थानीय जनेश भण्डारीले बताए ।

प्रशासनले जिम्मेवार जवाफ नदिएको र असहयोग गरेको आक्रोश आफन्तको छ । शवसहित अड्किएका सातै जनाको सोमबार बिहान साढे ११ बजेतिर उद्धार गरिएको छ । आफन्तले शव दाहसंस्कार गरिसकेका थिए । 

बोटकै सहारामा शव र अड्किएका सातै जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले जानकारी दिए । रातभर प्रहरी र गाउँले पनि नदी किनारमा आगो बालेर बसे । रातिको समय र ढिलो खबर आएकै कारण लामो समय भिरमै अड्किनु परे पनि बिहान सहजै उद्धार गरिएको प्रहरीले जनाएको छ । 

माछा पर्ने सिजन भएकोले यतिबेला स्थानीयबासी कर्णाली नदीमा झरेउलाँ हाल्ने, जाल खेल्ने गर्दछन् । माछा मारेर उनीहरूले दैनिक आम्दानी गर्ने गरेका छन् । करिब ४० वर्षीय मृतक पुसे भण्डारी माछा मार्न अनुभवी मानिन्थे । गाउँबाट करिब दुई घण्टाको बाटो पार गरेर उनी कर्णाली किनारमा माछा मार्नै दैनिक पुग्ने गर्थे । 

जेठी छोरी अहिले एसईई परीक्षा दिँदै छिन् । तीन सन्तानको पालनपोषणका लागि पनि पुसेलाई माछा आम्दानीको श्रोत थियो । झरेउला हाल्ने र जाल खेल्ने उनको दैनिकी जस्तै थियो । उद्धार गरिएका सातमध्ये केहीको हात खुट्टामा सामान्य चोट लागेको छ । भिरमा उक्लिने, ओर्लिने प्रयास गर्दा उनीहरूलाई चोट लागेको हो ।


उद्धारपछि उनीहरूले नयाँ जीवन पाएको बताएका छन् । एक ज्यानका पछि सात ज्यान फाल्नुपर्ने अवस्था आएको भन्दै उनीहरू खुसी देखिन्छन् । जति आफन्त गुमाउँदा पीडा छ, त्यो भन्दा बढी सिङ्गो सात जनाको ज्यान जोगिँदा खुसी छौँ, उनीहरूले बोटबाट झर्दै भने । अड्किएको भिर पर्ने कणाली किनारमा आफन्त र स्थानीयको आइतबार राती देखि नै रुवाबासी चलेको थियो ।

यो पनि पढ्नुहोस् :

कर्णालीमा खसेका व्यक्तिको उद्धारमा गएका ८ जना भीरमै अड्किए 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : ३९ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख