उद्धारमा गएकाहरू भिरमै अड्किए, फोनमा बोल्दा-बोल्दै प्राण त्यागे पुसेले | Khabarhub Khabarhub

उद्धारमा गएकाहरू भिरमै अड्किए, फोनमा बोल्दा-बोल्दै प्राण त्यागे पुसेले

कर्णाली भीरमा अड्किएका सात जनाको १८ घण्टापछि उद्धार 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

धनगढी– कर्णाली नदी किनारको भीरमा अड्किएका सात जनाको १८ घण्टा पछि उद्धार गरिएको छ । आइतबार साँझ ६ बजेदेखि अड्किएका स्थानीयको हिमाली गाउँपालिकाको बोटमार्फत उद्धार गरिएको प्रहरीले बताएको छ । माछा मार्न गएका आफन्त पुसे भण्डारी भिरबाट खसेर घाइते भएपछि उनीहरू उद्धारमा गएका थिए । 

उद्धारका लागि पुगेका सातैजनाले भिर पार गर्न नसकेपछि बीचमै अड्किए । भण्डारीको आइतबार राति नै मृत्यु भइसकेको थियो ।

मृतक भण्डारीले भिरबाट चिप्लिएर घाइते भएकाले ज्यान बचाउन अपिल गरेपछि उनीहरू घटनास्थल गएका थिए । फोन सम्पर्क गरे पनि रातको बीचमा कुनै विकल्प थिएन, उनीहरू पनि मृतकसँगै रातभर भिरमै बसेको स्थानीय जीवन बुढाले जानकारी दिए । 

मृतक भण्डारीले करिब ५ बजेतिर आफन्तलाई फोन गरेका थिए । स्थानीय गणेश बुढाका अनुसार पुसे जहिल्यै जोखिम मोलेर माछा मार्न जान्थे । गाउँले पनि उनलाई भिर चढ्ने मान्छेका रुपमा चिन्थे । साँझ पर्न लाग्दा उनी घर फर्किने तयारीमा थिए । अचानक भिरबाट तल खसेछन् । लड्दै तल पुगेका पुसे अर्धचेत थिए । अर्धचेत अवस्थामै आफन्तलाई फोन गरे । 

काँपिरहेको हातले उनले घरमा फोन गरे– ‘म भिरबाट खसेर घाइते भएँ । छिटो आउनू । यति सुनेपछि फोन उठाउने परिवारका सदस्यको मन काँप्यो । उनीहरूले गाउँलेलाई खबर गरे । गाउँले दौडिए । समूह बनाएर कर्णालीतर्फ लागे । तर भिर झरिनसक्नु थियो, उता पुसेको आवाज कमजोर हुँदै गयो । 

‘म अब सक्दिनँ,’ फोनमै बोल्दै–बोल्दै उनको प्राण गयो । जतिबेला आफन्त नजिक पुगिसकेका थिए । रातको समय, घाइतेको उद्धार गर्नुपर्ने हतार । उनीहरू पनि झर्ने बेला झरे । पछि उक्लिन सकेनन् । बीचमै अड्किए । रातभर आँखैअगाडि आफन्त गुमाउँदाको पीडामा भिरमा अड्किएर अर्को पीडा भोग्न बाध्य भए । 

गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, प्रहरी र प्रशासनलाई राति नै जानकारी भइसकेको थियो । वडाअध्यक्ष विष्णुबहादुर बुढा रातभर उद्धारको प्रयासमा लागे । ‘तर, बोट हिमालीको धुराचौरबाट ल्याउनै समस्या, राति अन्य विकल्प पनि थिएन, बिहानै उद्धार तयारी थालियो, सम्भव पानि भयो’, नागरिक अगुवासमेत रहेका स्थानीय जनेश भण्डारीले बताए ।

प्रशासनले जिम्मेवार जवाफ नदिएको र असहयोग गरेको आक्रोश आफन्तको छ । शवसहित अड्किएका सातै जनाको सोमबार बिहान साढे ११ बजेतिर उद्धार गरिएको छ । आफन्तले शव दाहसंस्कार गरिसकेका थिए । 

बोटकै सहारामा शव र अड्किएका सातै जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले जानकारी दिए । रातभर प्रहरी र गाउँले पनि नदी किनारमा आगो बालेर बसे । रातिको समय र ढिलो खबर आएकै कारण लामो समय भिरमै अड्किनु परे पनि बिहान सहजै उद्धार गरिएको प्रहरीले जनाएको छ । 

माछा पर्ने सिजन भएकोले यतिबेला स्थानीयबासी कर्णाली नदीमा झरेउलाँ हाल्ने, जाल खेल्ने गर्दछन् । माछा मारेर उनीहरूले दैनिक आम्दानी गर्ने गरेका छन् । करिब ४० वर्षीय मृतक पुसे भण्डारी माछा मार्न अनुभवी मानिन्थे । गाउँबाट करिब दुई घण्टाको बाटो पार गरेर उनी कर्णाली किनारमा माछा मार्नै दैनिक पुग्ने गर्थे । 

जेठी छोरी अहिले एसईई परीक्षा दिँदै छिन् । तीन सन्तानको पालनपोषणका लागि पनि पुसेलाई माछा आम्दानीको श्रोत थियो । झरेउला हाल्ने र जाल खेल्ने उनको दैनिकी जस्तै थियो । उद्धार गरिएका सातमध्ये केहीको हात खुट्टामा सामान्य चोट लागेको छ । भिरमा उक्लिने, ओर्लिने प्रयास गर्दा उनीहरूलाई चोट लागेको हो ।


उद्धारपछि उनीहरूले नयाँ जीवन पाएको बताएका छन् । एक ज्यानका पछि सात ज्यान फाल्नुपर्ने अवस्था आएको भन्दै उनीहरू खुसी देखिन्छन् । जति आफन्त गुमाउँदा पीडा छ, त्यो भन्दा बढी सिङ्गो सात जनाको ज्यान जोगिँदा खुसी छौँ, उनीहरूले बोटबाट झर्दै भने । अड्किएको भिर पर्ने कणाली किनारमा आफन्त र स्थानीयको आइतबार राती देखि नै रुवाबासी चलेको थियो ।

यो पनि पढ्नुहोस् :

कर्णालीमा खसेका व्यक्तिको उद्धारमा गएका ८ जना भीरमै अड्किए 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : ३९ बजे

नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला 

काठमाडौं– नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)

भरतपुर वितरण केन्द्रमा विद्युत् चुहावट घट्दै

 चितवन– भरतपुर वितरण केन्द्रअन्तर्गतको विद्युत् चुहावट घट्दै गएको छ  ।

पोखरामा कोटिहोम गर्न दिने सहमति, विवाद समाधान समिति गठन

पोखरा– पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनलाई कोटिहोम आयोजना गर्न दिने

पूर्वराजा ज्ञानेन्द्रप्रति कांग्रेस पनि आक्रामक

काठमाडौं– शाह वंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहका गतिविधिप्रति सत्ताको नेतृत्व

युएन डीपी कविता प्रतियोगितामा कर्णालीका किशोर आचार्य प्रथम 

काठमाडौं– संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) द्वारा आयोजित राष्ट्रिय कविता