६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदैछन् लालबहादुर | Khabarhub Khabarhub

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदैछन् लालबहादुर


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

गोरखा– शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालयको टाई । यहाँको पालुङटार नगरपालिका-६ का ६८ वर्षीय लालबहादुर बिक अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा पुग्दा सुरुमा कतिपय झुक्किए, शिक्षक हुन् कि परीक्षार्थी भनेर । 

तर उनी हाल सञ्चालन भइरहेको कक्षा १२ को परीक्षार्थी हुन्। यहाँस्थित भवानी माविबाट शिक्षा सङ्कायमा अध्ययनरत उनी हाल अमरज्योति जनता मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् । कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट १० परीक्षार्थी भित्र परेका विकलाई कक्षा १२ पनि सजिलै उत्तीर्ण गर्छु भन्ने आत्मविश्वास छ ।

‘अङ्ग्रेजी विषयमा चाहिँ एक दुई वटा प्रश्नको उत्तर लेख्न सकिँन, तर फेलै चाहिँ भइन्न होला’, उनले भने, ‘अब बाँकी विषय त सजिलै छन् । आफ्नै शैलीमा लेख्न सक्छु ।’ 

उनी २०५५ सालमा नेपाल प्रहरीको सहायक निरीक्षकबाट सेवानिवृत्त भएका हुन् । कक्षा ७ पढ्दापढ्दै २०३५ सालमा प्रहरीमा भर्ती भएका उनले २०४२ सालमा तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माविबाट ‘प्राइभेट’तर्फ एसएलसी दिएका थिए ।

 ‘त्यतिबेला प्राइभेट टेस्ट दिन पाइन्थ्यो । टेस्टमा पास ग¥यो भने जति कक्षा पढेकाले पनि एसएलसी दिन पाउँथे । मैले पनि त्यसरी नै टेस्ट दिएर एसएलसी दिएको हो’, उनले भने। तर त्यतिबेला जागिर खाँदै पढ्ने कुरा सजिलो थिएन । एसएलसी दिने बेला पनि ‘सिनियर कमान्डर’हरूले नपढोस् भनेर धेरै काम लगाउने गरेको उनी सुनाउँछन् । 

‘दलितको छोरो पढेर हामीभन्दा ठूलो हुने भयो भनेर सिनियरहरूले खुबै पेल्थे । तर जसोतसो एसएलसी दिएँ । तेस्रो श्रेणीमा उत्तीर्ण पनि भएँ’, उनले भने, ‘पहिला गाउँकै स्कुल पढ्न पनि पैसा लाग्थ्यो । हामी चार भाई, एक बहिनी थियौँ । आर्थिक अभावका कारण पढाइ छोड्नु पर्‍यो । तर, मनबाट शिक्षाको भोक हराएन ।’

उनी पढाइलाई निरन्तरता दिन चाहन्थे। तर, घर व्यवहार र आर्थिक अभावका कारण निरन्तरता दिन सकेनन् ।

‘छोराछोरी जन्मिसकेका थिए । आफ्नो रहरमात्र हेरेर भएन । घर व्यवहार पनि चलाउनु पर्‍यो’, विगत सम्झँदै विकले भने, ‘पेन्सन आएपछि पनि पढ्ने अनुकूलता मिलेन । अहिले छोराछोरीहरू सबै हुर्किए । बिहेबारी भइसक्यो । अब पढ्नलाई सहज छ । त्यसैले फेरि कक्षा ११ मा भर्ना गरेर पढ्न थालेको हुँ ।’ कक्षा १२ पछि स्नातकमा कानुन विषय लिएर पढ्ने इच्छा उनको छ । 

‘पहिलेदेखि कानुन पढ्न मन थियो । अब कक्षा १२ पास गरेपछि कानुन पढ्छु । मलाई कानुन पढेर जागिर गरौँला भन्ने छैन । ढिलै भए पनि यति कक्षासम्म पढेको छु भनेर गर्व गर्न पाइयोस् ।’

चार छोरा, एक छोरी र श्रीमतीसहितका परिवार भएका विकका छोराहरु वैदेशिक रोजगारीमा छन् । उनीहरुले पनि बुवालाई पढ्न प्रोत्साहन गर्नुका साथै सहयोग गरेको बिक बताउँछन् । ढल्कँदो उमेरमा पनि शिक्षाप्रतिको उनको मोह देखेर विद्यालयका शिक्षकहरुले ‘पढ्नलाई उमेरले छेक्दैन’ भन्ने भनाइ पुष्टि भएको बताउने गरेका छन् ।

यस वर्ष गोरखाबाट तीन हजार ७५० जना विद्यार्थीहरूले सहभागिता जनाएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका अनुसार यो वर्ष नियमिततर्फ दुई हजार चारसय ७६ र ग्रेड वृद्धितर्फ एक हजार २५० जना परीक्षार्थीहरू कक्षा १२ को परीक्षामा सहभागी छन् । 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १२ : २२ बजे

सङ्घीय व्यवस्थाअनुसार मानसिकता बदल्न आवश्यक : नेता सिटौला

इटहरी – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सङ्घीय लोकतान्त्रिक व्यवस्था

व्यावसायिक योजनाबिनै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो : अध्यक्ष लिङ्देन

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गौतमबुद्ध

तीन दिनदेखि जारी तनाव कम गर्दै अन्ततः अमेरिकी मध्यस्थतामा भारत र पाकिस्तानबीच युद्धविराम

काठमाडौं– तीन दिनदेखिको तनाव कम गर्दै अन्ततः भारत र पाकिस्तान

पूर्वाधार निर्माणमा पर्यावरणको मापदण्ड पालना गरौँ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वाधार निर्माणका क्रममा पर्यावरणको मापदण्ड

भारतले पनि गर्‍यो पाकिस्तानबीच युद्धविरामको पुष्टि

काठमाडौं– पाकिस्तानसँग युद्धविराम गर्न सहमत भएको भारतीय पक्षले पनि पुष्टि