काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा नाम लेखाउने सम्भावनाको बिल्कुलै नजिक पुगेकी छन् ।
पाँच घण्टाभन्दा लामो समयदेखि जारी जेन-जी पुस्ताको जुम बैठकले अन्तरिम सरकारको नेतृत्व सुशीलालाई दिने कुरामा सहमति जुटाएको हो ।
उक्त सहमतिपछि जेन-जी पुस्ताले गरेको टेलिफोन संवादमा सुशीलाले आफू अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको जनाउ दिएकी हुन् । सुशीला तयार भएपछि अब प्रधानसेनापति अशोक सिग्देलसँगको वार्ता जेन-जीले उनकै नेतृत्वमा गर्दैछन् । अहिले वार्ता टोली सैनिक मुख्यालय पुगिसकेको छ ।
यदि प्रधानसेनापति सिग्देल पनि जेन-जीको प्रस्तावमा सहमत भएमा देशकै पहिलो प्रधानमन्त्रीका रूपमा सुशीलाले अहिलेको संकटको बेला देशको बागडोर सम्हाल्नेछिन् ।
कार्की सर्वोच्च अदालतकी पनि प्रथम महिला प्रधान न्यायाधीश हुन् । रोचक के छ भने तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको अध्यक्षताको संवैधानिक परिषद्ले सर्वोच्च अदालतले प्रधानन्यायाधीश पदमा उनको नाम सिफारिस गरेको थियो । अहिले उनै ओलीको आकस्मिक र अप्रिय बहिर्गमनपछि सुशीलाले देशको नेतृत्व सम्हाल्ने भएकी हुन् ।
कार्की न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताको लागि चर्चित छिन् । उनी प्रधानन्यायाधीशबाट बाहिरिएपछि नागरिक अभियन्ताका रुपमा सक्रिय छिन् । आफ्नो खरो स्वभाव र स्पष्ट वक्ताका कारण उनी चर्चित पनि छिन् ।
प्रधानन्यायाधीश रहेका समयमा सुशीलाविरुद्ध तत्कालीन सत्ता गठबन्धनका सांसदहरूले महाभियोगको प्रस्ताव दर्ता गरेका थिए । तर त्यो सफल हुन सकेन । कार्कीविरुद्ध १७ वैशाख २०७६ मा सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २ सय ४९ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको थियो ।
त्यसबेला उनलाई तत्कालै निलम्बित भएको पत्र थमाइएको थियो । नेकपा एमालेलगायत प्रतिपक्षी दलहरूको अवरोधका कारण संसद् बैठकमा यो विषयले सहज प्रवेश पाएन । २२ वैशाख २०७७ मा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले अन्तरिम आदेश जारी गर्दै उक्त प्रस्तावलाई निष्प्रभावी बनाइदिँदा कार्की सर्वोच्च फर्किइन् ।
सुशीलाई कार्की परिवारका सात सन्तानमध्ये जेठी हुन् । उनको परिवार किसान थियो । उनीहरू बीपी कोइरालाको परिवारनिकट थिए। सुशीलाका बुवाले उनलाई डाक्टर बनाउन चाहेका थिए । तर उनले कानुन पढिन् ।
बनारस हिन्दू विश्वविद्यालय वाराणसीमा पढ्ने क्रममा कांग्रेसका युवा नेता दुर्गाप्रसाद सुवेदीसँग भेट भएर उनले बिहे गरिन् । उनले बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेकी छन् ।
उनले महेन्द्र बहुमुखी क्याम्पस धरानमा पढाएकी छन् । उनले विराटनगरस्थित पुनरावेदन अदालतको बार अध्यक्ष पनि बनिन् । वि. सं. २०३५ सालदेखि उनले वकालत थालिन् । उनी सन् २००९ मा सर्वोच्च अदालतमा न्यायाधीश बनिन् । त्यसपछि कार्की सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनिन् ।
उनले न्यायाधीश हुने क्रममा कयौँ चर्चित मुद्दाको फैसला सुनाइन् । उनले बहालवाला सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिन् ।
भ्रमण र स्वभाव
अमेरिका, बेलायत, श्रीलङ्का, जापान, चीन, भारत, तान्जिनियाँ र नेदरल्यान्ड लगायतका देशको भ्रमण गरिसकेकी कार्की नेपाली, अङ्ग्रेजी र हिन्दीमा भाषामा निपुण छिन्।
तीन दशकभन्दा बढी वकालत क्षेत्रमा काम गरेकी उनीसँग सात वर्ष सर्वोच्च अदालतको न्यायाधीश भएर काम गरेको अनुभव छ।
निडर स्वभाव र सरल जीवनशैली अपनाउने उनी न्याय क्षेत्रमा स्वच्छ छविका रुपमा परिचित छिन्।
यसअघि २०७२ सालमा नेपालको संविधान जारी भएपछि पहिलोपटक तीन महिला उच्च पदमा पुग्न सफल भएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्तीपछि उनी पहिलो प्रधानन्यायाधीश बनेकी थिइन् । अब उनै पहिलो प्रधानमन्त्रीको ढोकानजिक पुगेकी हुन् ।
प्रतिक्रिया