कुलमानसँग छुट्टिएका सुमना, बालेन र सुदन नयाँ दल दर्ता गर्दै « Khabarhub

कुलमानसँग छुट्टिएका सुमना, बालेन र सुदन नयाँ दल दर्ता गर्दै



काठमाडौं– ऊर्जा मन्त्री कुलमान घिसिङसँग राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्व सांसद सुमना श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र जेनजी अभियान्ता सुदन गुरुङबीचको सहकार्य टुटेको छ।

यी चार जना केही समय अघिदेखि एउटै राजनीतिक दल गठनको तयारीमा जुटे पनि सोमबारदेखि भने उनीहरु तत्कालका लागि एउटै दलबाट हुने यात्रामा पूर्णबिराम लागेको छ।

एउटै राजनीतिक दल गठन गर्ने प्रारम्भिक सहमति भए पनि दलको नाम, भूमिका लगायतका विषयमा मतभेद गहिरिँदै गएपछि समूह विभाजन भएको हो।

स्रोतका अनुसार घिसिङ पक्षले पार्टीको नाम, नीति–दिशा र नेतृत्वको स्वरूपमा आफ्नो अडान नछोडेपछि बाँकी तीन नेताहरू सुमना, बालेन र सुदन अलग्गिने निर्णयमा पुगे।

कुलमानसँग छुट्टिएका तीन नेताले मंगलबार दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन्। उता कुलमानसहितको उज्यालो नेपाल दल पनि दर्ताका लागि मंगलबार नै निवेदन दिने तयारी छ।

मङ्गलबारसम्म कुनै नाटकीय परिवर्तन नभए श्रेष्ठ,शाह र गुरुङको एउटा पार्टी भोलि दर्ता हुने बताइएको छ।
‘तत्कालका लागि कुलमान दाईसँगको एकता टुटेको हो। भविष्यमा कुनै न कुनै रूपले सहकार्य पनि हुन सक्छ,’ गुरुङनिकट स्रोतले भन्यो, ‘उहाँले कम्प्रमाइज गर्नुभएन। हामीले त सकभर मिलेर नै जान खोजेको हो। उहाँले जेनजीभन्दा बाहिरका मान्छेहरूको कुरा बढी सुन्नुभयो।’

सहिद परिवार या घाइतेको नेतृत्व
सुमना, बालेन र गुरुङले खोल्ने पार्टीमा जेन–जी अभियानमा घाइते भएका व्यक्ति या सहिद परिवारको तर्फबाट नेतृत्वमा पठाउने तयारी छ। पूर्वसांसद सुमनानिकटका अनुसार तीन नेताहरूसँगै सहकार्य गरेर जाने र तत्कालका लागि नयाँ नेतृत्व जेनजी नै राख्ने सहमति भएको छ।

‘आन्दोलनबाट घाइते भएको व्यक्ति या सहिद परिवारको व्यक्तिलाई नेतृत्व मानेर अगाडि जाने कुरा भएको छ,’ श्रेष्ठनिकट उच्च स्रोतले भन्यो, ‘कुनै नाटकीय परिवर्तन नभए यी तीन नेताहरूको समर्थनमा भोलि नयाँ दल दर्ता हुन्छ।’

दल दर्ताका लागि चुनाव चिन्ह र नाम अहिलेसम्म टुङ्गो लागेको छैन तर विभिन्न विकल्पहरूमा छलफल भइरहेको गुरुङ पक्ष नेताहरूको भनाइ छ।

धेरै नेताले लौरो चुनाव चिन्ह लिएर जानुपर्ने विषयमा पनि कुरो उठाएका थिए। यस्तै पार्टीको नाम प्रगतिशील समूह, नवा पुस्ता समूह अथवा अन्य केही नामहरूको विषयमा पनि चर्चा भइरहेको छ।

स्रोतका अनुसार अहिले पनि यी तीन नेताहरूबीच छलफल भइरहेको छ। छलफलमा रास्वपा र अन्य केही नेताहरूको पनि संलग्न रहेको बुझिएको छ।

यो दलमा जेनजी आन्दोलनका घाइते, सहिद परिवारका साथै आन्दोलनमा होमिएका युवा र चर्चित अनुहारहरू पनि समेटिने बताइएको छ। स्रोतको दाबीअनुसार यसमा थुप्रै कलाकारहरू जस्तै निश्चल बस्नेत, रिमा विश्वकर्मा, रिचा शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्की लगायतको व्यक्तिहरूको पनि समर्थन रहने बुझिएको छ।

यस्तै कुलमानको पार्टीमा नगएका जेनजी कोशी प्रदेशका संयोजक उपार्जुङ राई पनि यो टिममा संलग्न हुनसक्ने बुझिएको छ। यस बारेमा अहिले नेताहरूले छलफल तीव्र पारेको स्रोतको दाबी छ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ९ : ३१ बजे

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको