भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण « Khabarhub

भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार छिमेकी तथा मित्रराष्ट्र भुटानको भ्रमणमा पुगेका छन् । उनले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकसँग मिलेर विशाल पुनात्सङचु–२ जलविद्युत् परियोजनाको संयुक्त उद्घाटन गरे । उक्त आयोजना भुटानकै सबैभन्दा ठूलोमध्ये एक हो । यसको उत्पादन क्षमता एक हजार २० मेगावाट रहेको छ ।

कार्बन–नकारात्मक राष्ट्रका रूपमा चिनिएको भुटानले हालका वर्षहरूमा जलविद्युत् क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आएको छ । यसले आफ्ना प्रचुर जलस्रोतहरूलाई सदुपयोग गर्दै भारतजस्ता ऊर्जाको उच्च माग भएका देशहरूमा बिजुली निर्यात गरेर ठूलो मात्रामा राजस्व आर्जन गर्दै आएको छ । साथै, देशभित्रको सस्तो र वातावरणमैत्री बिजुलीलाई क्रिप्टोकरेन्सी माइनिङका लागि पनि उपयोग गर्दै आएको छ ।

प्रधानमन्त्री मोदीले नयाँदिल्लीबाट प्रस्थान गर्नुअघि जारी गरेको विज्ञप्तिमा भनेका थिए, ‘यो भ्रमणले भारत र भुटानबीचको सफल ऊर्जा साझेदारीलाई अझ सुदृढ पार्नेछ र हाम्रो सम्बन्धमा अर्को ऐतिहासिक कोसेढुङ्गा थपिनेछ ।’ 

उनले आफ्नो भ्रमण भुटानसँगको सम्बन्धलाई थप गहिरो बनाउने तथा भारतको ‘छिमेकी पहिले’ नीतिको प्रमुख स्तम्भका रूपमा रहेको पनि उल्लेख गरे ।

भारत र भुटानबीचको सम्बन्ध पारस्परिक विश्वास र सहकार्यमा आधारित छ । भुटानको कुल व्यापारमा भारतको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको छ । 

सन् २०२४–२५ मा दुवै देशबीचको कुल व्यापार करिब एक अर्ब ७८ करोड अमेरिकी डलर पुगेको भारतको वाणिज्य मन्त्रालयले जनाएको छ । नयाँदिल्लीस्थित भुटानी दूतावासका अनुसार भुटानको कुल निर्यातको झण्डै दुई तिहाइ भाग जलविद्युत् निर्यातले ओगटेको छ ।

गत वर्ष भारतले भुटानलाई पेट्रोलियम पदार्थ, फलाम र स्टिल, अन्न तथा स्मार्टफोनलगायतका वस्तुहरू गरी कुल एक अर्ब ३० करोड डलरका सामग्री निर्यात गरेको थियो । सोही अवधिमा भुटानले बिजुली र निर्माण सामग्रीसहित करिब ५१ करोड ३० लाख डलरका वस्तुहरू भारतमा निर्यात गरेको थियो ।

दुई देशबीचको भौतिक पूर्वाधार सञ्जाल सुदृढ पार्ने लक्ष्यका साथ भारतले गत सेप्टेम्बरमा भुटानका लागि पहिलो सीमापार रेलवे निर्माण गर्ने घोषणा गरेको थियो । यसले दुवै मुलुकबीचको आर्थिक र जनस्तरीय सम्बन्धलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरिएको छ ।

भुटानले विकासको मापनका रूपमा ‘ग्रस नेसनल ह्याप्पीनेस’ (सकल राष्ट्रिय सुख) लाई प्राथमिकता दिने नीति अवलम्बन गर्दै आएको छ । तथापि, ती नीतिहरूले व्यापक बेरोजगारीका चुनौतीहरूलाई पूर्णरूपमा सम्बोधन गर्न नसक्दा हजारौँ युवा रोजगारीका अवसरको खोजीमा देशबाहिर जान बाध्य भएका छन् ।

विश्व बैंकका अनुसार भुटानको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जिडिपी) हाल करिब तीन हजार ७१८ अमेरिकी डलर रहेको छ । यो पहाडी राज्य हाल आफ्नो अर्थतन्त्रलाई विविधीकरण गर्ने प्रयासमा जुटेको छ । जलविद्युत्को प्रचुर स्रोत र चिसो मौसमको फाइदा उठाउँदै भुटानले ठूलो परिमाणका कम्प्युटर फार्महरू स्थापना गरी क्रिप्टोकरेन्सी माइनिङका क्षेत्रमा अग्रसरता लिएको छ ।

राज्य–संरक्षित संस्था ‘ड्रुक होल्डिङ एण्ड इन्भेस्टमेन्ट्स’ ले सन् २०२१–२२ मा करिब ५३ करोड ९० लाख डलर—भुटानको कुल जिडिपीको पाँचौँ भाग बराबर—को लगानीमा क्रिप्टोकरेन्सी सञ्चालन सुरु गरेको थियो । त्यसयता भुटानले ठूलो मात्रामा क्रिप्टो सम्पत्ति आर्जन गरेको बताइए पनि यसको सटीक मूल्य सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री मोदीको यो भ्रमणले भारत–भुटान सम्बन्धलाई अझ मजबुत बनाउने र दुई राष्ट्रबीचको ऊर्जा, व्यापार तथा प्रविधि सहकार्यका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ । रासस
 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १२ : ०० बजे

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’ 

काठमाडौंं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री गैर

कांग्रेसले भन्यो- र्‍याप गाएकै शैलीमा सदनमा उपस्थित हुँदा प्रधानमन्त्रीको गरिमा ध्वस्त भयो

काठमाडौ– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे संसद्मा प्रधानमन्त्री बालेन