लिम्बूहरुको प्राचीन थातथलोमध्येको एक आठराई (हाल तेह्रथुम) क्षेत्रका आठ प्रमुख लिम्बूमध्येका एक हुन्, आङ्बुहाङहरु । आङ्बुहाङहरुको जमिन्दारी किपट सुवांगी ताप्लेजुङको चाँगे र हाङपाङको केही भागमा रहेको थियो । वि.सं. २०२१ को भूमिसुधारपछि उनीहरुको सुवांगी समाप्त हुनपुग्यो ।
आफ्नो किपट सुवांगीको विषयमा त्यसबेलाका लिम्बू सुब्बाहरुले मुद्दामामिला धाउनु तथा शासक वर्गसँग बेलाबेलामा विवाद पर्नु स्वभाविकजस्तो देखिन्थ्यो । त्यसैक्रममा हाङपाङका सुब्बा बाजहाङ आङ्बुहाङले तत्कालीन राणाशासकबाट मृत्यूदण्ड नै पाएका छन् ।
राणाकालमा लिम्बूहरुको किपटलाई मिच्दै र मास्दै लगिरहेको षडयन्त्रको गन्ध पाएर बाजहाङले त्यसको विरोध गरेका थिए । तर, राणा शासनको जगजगी चलिरहेको बेला वि.सं. १९५२ को चैत महिनामा उनलाई ताप्लेजुङको फुङलिङमा झुण्ड्याएर मृत्युदण्ड दिइयो ।
राणाकालमा लिम्बूहरुको किपटलाई मिच्दै र मास्दै लगिरहेको षडयन्त्रको गन्ध पाएर बाजहाङले त्यसको विरोध गरेका थिए । तर, राणा शासनको जगजगी चलिरहेको बेला वि.सं. १९५२ को चैत महिनामा उनलाई ताप्लेजुङको फुङलिङमा झुण्ड्याएर मृत्युदण्ड दिइयो
बाजहाङलाई मृत्युदण्ड दिइएको ऐतिहासिक तथ्य खुल्ने एक पुरानो टिपोटे कागज पाइएको छ । लीलाबहादुर तुम्बाहाम्फेको सङ्कलनमा रहेको उक्त टिपोटे कागजमा “१९५२ चैत्र रामनवमिमा तमोरषोला ताप्लिजुं ठाना बस्यो तेसै मैनामा आठराई हांपां बस्न्या बाजहाङ लिम्बुलाई तापलिजुं ठानमा झुंडायो” भन्ने उल्लेख छ (भगिराज इङ्नाम, “लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह”–२०७७ः९०५) ।
बाजहाङ कति साहसी थिए भन्ने तथ्य बुझ्न इतिहासकार नरपति पोखरेलले लेखेको ‘धनकुटाको इतिहास’ पढ्दा थाहा हुन्छ ।
धनकुटाको इतिहास खण्ड पनि समेटिएको पोखरेलको पुस्तकहरुको भोल्युम ‘नरपति पोखरेलका कृति’ (२०६६ः४८६)अनुसार बाजहाङ ताप्लेजुङको कारागारको बाटो भई जाँदा ढोकाबाट हेर्दा मानिस थुनिराखेको देखेपछि ‘मानिसलाई यसरी भेडाबाख्राजस्तो गरी थुन्नुहुन्छ ?’ भन्दै ढोका खोलेर ग्वारग्वारती सबै कैदीहरुलाई छाडिदिएछन् ।
कैदी छाडिदिएको खबर तत्काल धनकुटा पुगेपछि त्यहाँका तत्कालीन बडाहाकिम बमविक्रम राणाले बाजहाङलाई झुन्ड्याइदिनू भन्ने आदेश दिएपछि उनलाई मृत्यूदण्ड दिइयो ।
आङबुहाङहरु ‘नीति’ समूहका लिम्बू
शासकहरुले आफ्नो शासन र धर्मसंस्कृति स्वीकार्नेजतिलाई आफूसमान रीतिस्थिति मान्ने स्मृति अर्थात् समरीति र मौलिक लिम्बू धर्म संस्कृति नछोडी आफ्नै नीतिमा अडिग रही गोरखाको शासन नमान्ने, विद्रोही लिम्बूहरुलाई ‘नीति समूह’को रुपमा चिन्ने चिनाउने चलन चलाई दिए भन्ने इतिहासकार डा. रमेश ढुङ्गेलको कथन छ ।
लण्डनको ब्रिटिश लाइब्रेरीमा सुरक्षित ब्रायन हज्जनको सङ्कलनमा रहेको सामग्रीको खण्ड ६० पत्र १२९–१४९ मा उल्लेख भएअनुसार संपृति अर्थात् स्मृति समूहमा फागुु (फागो चोङबाङ), सिरिङ (सेरेङ), युङ्याहाङ (योङहाङ) रहेका र नीति समूहमा आङ्बुहाङ र साँवा रहेका छन् ।
यो लेखोट वि.सं. १९०० तिर इलामका जोभानसिंह फागो लिम्बूले लिम्बू भाषा र सिरिजङ्गा लिपिमा पुनर्लेखन गरेर तयार पारेका हुन् । यसरी समूहगत रूपमा विभाजन गरी लिम्बुवान हत्याउने क्रममा नेपालका तात्कालिक शासक र तिनका सैनिक प्रशासकहरूले अपनाएको ‘फुटाउ र शासन गर’ को नीतिअनुसार यी शब्दको उद्भव र प्रचलनको कारण देखिन्छ ।
यस क्रममा गोरखाहरूको शासनसँगै मुख्य–मुख्य धार्मिक–सांस्कृतिक परम्परा अपनाउन मञ्जुर गर्नेहरूले गोरखाली राजाबाट विशेष सहुलियत, शान, मान र अधिकारसमेत स्थानीय रूपमा पाउने अवस्था भयो (डा. रमेश ढुङ्गेल, “हिमाल” पूर्णाङ्क १६६–फागुन २०६२ः६०) ।
ढुङ्गेल (२०६२ः६०)ले “हिमाल” पत्रिकामा गोरखालीहरूले लिम्बुवान अधीनस्थ गर्नुअघि नै मकवानपुर, विजयपुरतर्फका हिन्दुपति मानिने राजाहरूले पनि आफ्नै किसिमको प्रभाव जमाएका हुनाले पनि “संपृति” र “नीति” जस्तो पहिचानको थालनी पहिल्यै भइसकेको थियो कि भन्ने जिज्ञासामा ठोस प्रमाणका आधारमा यस विषयमा खासै बोल्न सकिने अवस्था छैन भन्ने उल्लेख गरेका छन् ।
तर, लिम्बूहरूमा यस्तो पहिचान सेनकालमै थियो भन्ने प्रमाण प्राप्त छ ।

वि.सं. १७४३ मा राजा विधाता इन्द्रसेनले आङबुहाङ लिम्बूका पुर्खा जस रायले पाएको मोहर (स्रोतः भगिराज इङ्नाम)
वि. सं. १८७५ फागुन वदी ६ रोज ३ मा विजयपुर हुँदै धनकुटा पुगेका काजीबहादुर भण्डारीलाई भीमसेन थापाले लेखेको पत्रमा लिम्बूहरूमा सेनकालदेखि नै नीति र स्मृति समूह रहेको स्पष्ट झल्को आउने प्रमाण पाइन्छ ।
यो पत्रमा भनिएको छ-
“लिम्बू किरातीहरूका नीति स्मृतिका कुरामा अघि पनि कोही नीति कोही स्मृति मान्याका हुन् पछि वीरभद्र कुँवर जाँदा स्मृतिमा सबै राजी छन् भनी बिन्ती सरकारमा आउँदा स्मृतिकै लालमोहर भै गयाको हो । पन्थ काजी जाँदा हाम्रा ता अघिदेषि स्मृति हो तेसैमा राजी छौं मज (कुर) काजीले नीति गराया भन्छन् भन्या अर्जी उनको आउदा स्मृतिकै लालमोहर भै गएथ्यो फेरि पंथ काजीले नीतिमा राजी छौं भन्छन् भनी लेषता नीतिकै लालमोहर भै गयाथ्यो…हाम्रो त अघि सेन राजाका पालापनी स्मृति हो, (पृथ्वीनारायण शाह) अमल भया पछी पनी हामीलाई स्मृतिमा रहन’ भन्या हुकुम लालमोहर बक्सनु भयाको छ हामी स्मृतिमा राजी छौं भनी फागु सिरिंग्या गैरह दर्बारमा बिन्ती गर्न आइरह्याछन् एकै मुलुकमा कोही नीति मान्या कोही स्मृति मान्या दुई फ्याक् भै रह्याछन्…।” (ज्ञानमणि नेपाल, “नेपाल निरुपण”–२०५५ः२६९–७०) ।
यस पत्रमा फागु सिरिंग्या भनेका सेरेङ चोङबाङ हुन् । पत्रको भाकाबाट उनीहरुले सेनकालदेखि नै आफूलाई स्मृति समूहमा राखेका थिए भन्ने देखिन्छ । यसबाट हेर्दा लिम्बूहरुमा “नीति” र “स्मृति” समूह सेनकालमै पनि थियो भन्ने ऐतिहासिक रुपमा प्रमाणित हुन आउँछ ।
आफ्नै धर्म–संस्कृतिमा अडिग रहेर राज्यको नीतिप्रति असहमत लिम्बूहरूको नीति समूहलाई स्मृति समूहको तुलनामा कडा दण्ड सजायको व्यवस्था राज्यले गरेको थियो । यसबारे प्रमाण पुग्ने एक रुक्का इतिहासकार भगिराज इङ्नामले आफ्नो पुस्तक “लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह” (२०७७ : १९६–९७) मा प्रकाशित गरेका छन् ।
वि.सं. १८९७ असोज सुदी ७ रोज ६ मा जारी यो रुक्काअनुसार थुमथुममा रहेका लिम्बूहरूले आफूहरू नीति समूहमा रहँदा १०/१२ खेत चढाउनुपर्ने चलन थियो । यसैगरी कामी, दमाई, सार्की र मुसहर जातसँग भुलचुक करणी हुँदा नीति समूहमा रहेका लिम्बूहरूले कडा दण्ड सजायको भागीदार हुनुपर्थ्यो ।
रुक्कामा यस्तो लेखिएको छ–
“थुमथुमपिछे १०–१२ षेत चह्राई नितिमा रहन्या जो लिम्बूहरूलाई अछुत जाति कामि दमाई सार्की मुसहर जो पानी नचलन्या जातसँग भुलचुकमा करनी भै चन्द्रायन पर्दा आफना रितसंग खोलाटोलामा ढुंगा छुवाई प्रथम घरले रुपैया ७ तिर्नु दोश्रो १ पध्याराका पानि षान्या घरले रुपैया ३।। तिर्नु तेश्रो गाउँफेरामा ।। तिर्नु। अरु संसर्गि घरले आना १ तिरि जाति पतरियमा सुद्ध भै रहनू ।”
यसको अर्थ हो, जुन घरका मानिसले ती अछुत भनिएका व्यक्तिसँग करणी बिराउँछ, त्यो घरलाई ७ रुपैयाँ दण्ड जरिबाना तोकिएको थियो । त्यो घरको मानिसले छोएको पँधेरोको पानी चलाउने घरलाई ३ रुपैयाँ ८ आना र गाउँफेरा अर्थात् छरछिमेकलाई ८ आना तथा अरू सम्पर्कमा आएका व्यक्तिलाई १ आना दण्ड जरिबानाको व्यवस्था राज्यले गरेको थियो ।
तर, रकमी डिट्ठा श्यामलाल पाध्याले “नीति” र “स्मृति”मा यस्तो दण्ड सजायको दर एकै प्रकारको गरिदिँदा लिम्बुवानमा विरोधको स्वर उठेको देखिन्छ ।
पत्रमा भनिएको छ, “कसैलाई कलम बढाई डंड गरिलीया यसो भया हाम्रा थिति पनि रहेन भनि तमोरषोला आठराई फेदाप छथर चौविस्या पाँचथरका सुब्बाहरू हाम्रा हजुरमा बिन्ती गर्न आउँदा जाहेर भयो। तसर्थ स्मृति बाहेक नितिमा रहन्याले थुमथुमपिछे गाँउ अनुसारको षेत (खेत) चह्राई पानी नचलन्या जातसँग भुलचुकमा करनी भै चन्द्रायन गर्न पर्दा आफ्ना ठेकभित्र ढुंगा छुवाई प्रथम घरले रुपैयाँ ७ तिर्नु दोश्रो १ पध्याराका पानी षान्या घरले रुपैयाँ ३।। तिर्नु तेश्रो गाउँफेरामा ।। तिर्नु। अरु संसर्गि घरले आना १ तिरि जाति पतरियमा सुद्ध भै रहनु भनी मोहोर गरी अघि बक्स्याकै रहेछ। सोही बन्देज वमोजिम आज पनि थामिबक्स्यौं ।”
पत्रको व्यहोराबाट पानी नचल्ने भनिएका जातिसँग करणी बिराउँदा नीति समूहका लिम्बूहरूले पाउँदै गरेको कडा खालको दण्ड जरिबानाले निरन्तरता पाएको स्पष्ट हुन आउँछ ।
समय क्रममा लिम्बूहरूले शासकहरूबाट भोग्नुपरेको अनेक प्रकारका भोग–उपभोग, दुःखसास्ती यताबाट पनि बुझ्न सकिन्छ ।
आङ्बुहाङ लिम्बूहरु नीति समूहतिर रहेकाले उनीहरुले शासकबाट कडा प्रकारको दण्ड जरिवाना भोग्दै आएका थिए भन्ने बुझ्न गाह्रो छैन ।
आङबुहाङको माङ्गेना यक
आङ्बुहाङहरुको माङ्गेना यक हस्तपुरलाई मानिँदै आएको छ । माङ्गेना यक भनेको लिम्बूहरुका समूहगत प्राचीन रजस्थल हो । यकको अर्थ गढी हुने भएकोले गढीबाटै प्राचीनकालमा सैन्य पहराका साथ राज्य सञ्चालन हुने गर्थ्यो ।
माङ्गेना भन्नाले अनुष्ठान वा आराधना भन्ने अर्थ लगाउन सकिन्छ । यस अर्थमा माङ्गेना यक भनेको लिम्बूहरुको आराध्य रजस्थल भनी अर्थ लगाउन गाह्रो छैन ।
लिम्बूहरुको यकहरुको उल्लेख गर्दा इतिहासकार इडेन भ्यान्सिटार्टले आफ्नो पुस्तक “गुर्खाज” (सन् १९१८ः१०४)मा आङ्बुहाङहरुको दुई ठाउँमा यक भएको उल्लेख गरेका छन् । तीमध्ये थोक्तोक्सु आङ्बोहाङले पोमाजोङ यक बनाएर आठराईमा शासन गरेको उनले उल्लेख गरेका छन् । यस्तै थिन्दोलुङ खोयाहाङले याङरुपमा हस्तपुर गढी बनाएको पनि उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
यता शिवकुमार श्रेष्ठले भने “लिम्बूवानको ऐतिहासिक अध्ययन” (२०५२ः४०)मा आठराई इलाकामा आक्लुङहाङले शासन गरेको र उनले पोमाजोङ गढी बनाएको उल्लेख गर्दै याङरुप इलाकामा थिन्दोलुङ खोयाहाङले शासन गरेको र हस्तपुर गढी बनाएको उल्लेख गरेका छन् ।
यताबाट हेर्दा आङबुहाङ लिम्बूहरुको माङ्गेना यक हस्तपुर गढी नै हो भन्ने देखिन्छ ।
बेला बेलामा लिम्बूका विभिन्न उपसमूहबीच शक्ति सङ्घर्ष र युद्ध हुने गर्थ्यो । यहीँ क्रममा योङ्याहाङ सुब्बाले याङरुपको हस्तपुर गढीमा आक्रमण गरिदिदा त्यहाँका आङ्बुहाङ सुब्बा मुहाङकेप पराजित भए ।
उक्त गढीमा योङयाहाङ (योङहाङ)ले कब्जा जमाए । त्यसपछि आङ्बुहाङवंशी केही लिम्बू आठराई थुमको चाँगेमा बस्न गए भने केही थेचम्बुमा बस्न गए । थेचम्बुमा पुगेर बस्नेहरु मेन्याङ्बो कहलाए भनी इतिहासकार इमानसिंह चेम्जोङ, “किरातकालीन विजयपुरको संक्षिप्त इतिहास” (२०५९ः६२) मा उल्लेख गरेका छन् ।
आङबुहाङको सुवांगी
प्राचीनकालको रजस्थलबाट लिम्बूहरुको उपसमूह यता उता सर्ने गरेका पाइन्छ । जस्तो कि खेजेनिमको यक्चे यकलाई माङ्गेना यक मान्ने यक्सोहरुले आफ्नो पछिल्लो आवादी रहेको हाङपाङ र सान्थाक्रामा सुवांगी चलाए । यस्तै हस्तपुरलाई माङ्गेना यक मान्ने आङबुहाङहरुको चाँगेमा पुरै जसो र हाङपाङमा आङ्शिक सुवांगी रहेको थियो ।
आङबुहाङहरु चाँगे तथा हाङपाङतिर कहिले आए त ? यसबारेमा केही विचार गरौँ ।
इतिहासकार इमानसिंह चेम्जोङको लेखनलाई पत्याउने हो भने विजयपुरका राजा कामदत्त सेनको समयमा मात्रै आङबुहाङहरु आठराई क्षेत्रको चाँगे वा हाङपाङ क्षेत्र आइपुगेका देखिन्छ ।
त्यसबेला योङ्याहाङसँग पराजित हुने आङ्बुहाङ सुब्बाकी एक चेली थाङ्सामालाई विजयपुरका राजा कामदत्त सेनले विवाह गरी रानी बनाएका थिए । रानी थाङ्साङ्माले युद्धमा पराजित भएपछि आफ्ना दुई भदै लाहाङ र हाङसाम टुहुरा भई दुःख पाएर बसिरहेको खबर पाएपछि आफ्ना मानिसहरु पठाई यी दुई राजकुमारलाई विजयपुर झिकाइन् ।
यिनै दुई राजकुमारले सर्दुखोलाको बगरमा एक दिन एक ताँवाको मूर्ति भेटेपछि उनीहरुका दुःखका दिन हराए । यति महत्त्वपूर्ण मूर्ति फेला परेपछि राजा कामदत्त सेनले उनीहरुलाई डोलीमा राखी सम्मानका साथ बाजागाजासहित सर्दुखोलाको किनारदेखि विजयपुर दरबारसम्म ल्याउन आदेश दिए । यो मूर्तिलाई बराह क्षेत्रको बराह मन्दिरमा राख्न लगाइयो ।
त्यसपछि राजा कामदत्त सेनले यी दुवै राजकुमारलाई पहाडी ठाउँ आठराईको हाङपाङ लगेर त्यहाँको लिम्बूहरुसँग सल्लाह गरी तिनीहरुको राजा तुल्याई राख्न लगाए । लिम्बू भाषामा “हाङ” भनेको राजा र “पाङ” भनेको गाउँ हो । यसअर्थमा हाङपाङ भनेको “राजाको गाउँ” हो भन्ने तर्क चेम्जोङ (२०५९ः६२–६३) ले राखेका छन् ।
सर्दुखोलाको बगरमा भेटिएको ताँवाको मूर्तिका कारण आङ्बुहाङहरुको राजनीतिक रुपमा शुभदिन फर्किएको इतिहासको सम्झना गर्दै आङ्बुहाङ परिवारले बराहक्षेत्रमा “ताँवालुङ माङ्हिम” नामको मन्दिर नै स्थापना गरेका छन् । यो मन्दिर ०६४ साल माघ महिनामा स्थापना गरिएको हो (शेरबहादुर इङ्नाम, “इतिवृत्त”–२०७७ः१०) ।
तर चेम्जोङले राखेको तर्कमा केही विचार गर्नु परेको छ । कामदत्त सेनको राज्यकाल हेर्दा वि.सं. १८०८ देखि १८२६ सम्म उनी राजा भएको देखिन्छ । तर, विजयपुरमा त्यसबेला चौतरियासँगको विवादका कारण विस्थापित अवस्थामा रहेका राजा कामदत्त सेन वि.सं. १८०८ तिर विजयपुरमा नभई मूलघाटमा रहेर शासन चलाइरहेका थिए । विजयपुरमा चौतरियाहरुले जगत सेनलाई ल्याएर राजा थापेका थिए ।
कामदत्त सेनले वि.सं. १८०८ मा कुम रायलाई मूलघाट मुकामबाट लेखेको पत्र अम्बिकाप्रसाद आङ्देम्बेले “लिम्बूको सङ्क्षिप्त इतिहास र आङ्देम्बे वंशावली” (२०६६ः१८८)मा प्रकाशित गरेका छन् ।
इतिहासकार शङ्करमान राजवंशीले “पुरातत्त्व पत्र सङ्ग्रह” (२०१८ः १०–११) मा विजयपुर मुकामबाट वि.सं. १८१३ पुस वदी ८ मा रामचन्द्र पण्डितलाई दिएको मोहर प्रकाशित गरेका छन् । यताबाट हेर्दा कामदत्त सेनले बल्ल वि.सं. १८१३ मा विजयपुर आई शासन गर्न थालेका थिए भन्ने देखिन्छ । वि.सं. १८२६ मा राजा कामदत्त सेनको हत्या भयो । इमानसिंह चेम्जोङले उल्लेख गरेको राजा कामदत्त सेनले आफ्नी रानी थाङ्साङ्माका भदैलाई आठराई क्षेत्रको लगेर राजा तुल्याएको समय वि.सं. १८१३ देखि वि.सं. १८२६ मान्नुपर्ने हुन्छ ।
तर, त्योभन्दा धेरैअघि आठराई क्षेत्रको चाँगेमा आङबुहाङहरु जमिन्दारी सम्हाल्दै राजा नै सम्बोधित भएर बसेको प्रमाण नै भेटिएकोले इमानसिंह चेम्जोङले लेखेअनुसार कामदत्त सेनको पालादेखि आठराई क्षेत्रमा आङबुहाङहरु राजा तुल्याइए भन्ने तर्क गलत सावित हुन्छ ।
यसबारे उपलब्ध ऐतिहासिक प्रमाणको आधारमा अब चर्चा गरिन्छ ।
आङबुहाङका सूची राजा
चाँगेको नेसुममा अहिले पनि आङबुहाङका पुर्खा सूचीहाङ (सूची राजा)को दरबारको भग्नावशेषका केही चिन्हहरु छन् । हालः यो ठाउँ आठराई त्रिवेणी गाउँपालिका वडा नं. ४ मा पर्छ । त्यहाँ राजाको घोडालाई दानापानी खुवाउने ढुङ्गाको ओखल पनि फेला परेको छ । यो क्षेत्र संरक्षणको पहल पनि भइरहेको छ ।
चाँगेगुप्ते (हालः आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर ५) का टङ्कप्रसाद आङबुहाङले आफ्नो पुर्खाहरुले प्राप्त गरेको धेरै पुरानो सेनकालिन स्याहामोहर अहिलेसम्म सुरक्षित राखेका छन् । तीमध्ये एक हो राजा महिपति सेनले विजयपुरबाट आङबुहाङहरुलाई प्रदान गरेको वि.सं. १७५४ साउन वदी ९ को स्याहामोहर । यसमा आङबुहाङका पुर्खा जगदिप रायलाई “सूची राजा” भनी सम्वोधन गरिएको छ । यो स्याहामोहर इतिहासकार भगिराज इङ्नामले आफ्नो पछिल्लो पुस्तक “लिम्बूवानको अभिलेख सङ्ग्रह” (२०८१ः९)मा प्रकाशित गरेका छन् ।
सूची राजालाई आङबुहाङहरु सूचीहाङ सम्वोधन गरी वंशजको गौरव मान्छन् ।

वि.सं. १७५४ मा राजा महिपति सेनले आङबुहाङ लिम्बूका पुर्खा जगदिप रायलाई “सुची राजा” भनी दिएको मोहर र (स्रोतः भगिराज इङ्नाम)
कामदत्त सेन राजा भई विजयपुरबाटै शासन गरेको समय वि.सं. १८१३ लाई मान्ने हो भने पनि त्योभन्दा ५९ वर्षअघि नै राजा महिपति सेनले चाँगेका आङबुहाङलाई सूची राजा भनी सम्वोधन गरी मोहर प्रदान गरेकोले चेम्जोङले उल्लेख गरेजस्तो हस्तपुरगढीमा हार खाई टुहुरा अवस्थामा विजोग भइरहेको अवस्थामा राजा कामदत्त सेनले केही समय विजयपुरमा पालनपोषण गरी पछि तामाको मूर्ति फेला पारेपछि आठराई क्षेत्रमा आङबुहाङहरुलाई राजा तुल्याएर उद्धार गरे भन्ने लेखन स्वतः खण्डित हुन्छ ।
कामदत्त सेनकी रानी आङबुहाङ चेली थाङसाङ्माको चिनोको रुपमा तेह«थुम पाटीगाउँमा पोखरी र काठको मूर्ति रहेको छ । उनका अन्य कुनै दुःख पाएका भदैलाई राजा कामदत्त सेनले उपकार गरी त्यस क्षेत्रमा जमिन्दारी दिएको भए अर्कै कुरा हो, तर आङबुहाङहरुलाई कामदत्त सेनको पालामा तामाको मूर्ति फेला पारेकोले पुरस्कारस्वरुप आठराई क्षेत्रमा राजा तुल्याएको भन्ने भन्ने देखिँदैन ।
यति मात्रै होइन, चाँगेका आङबुहाङहरुसँग महिपति सेनले सूची राजा उल्लेख गरी जारी गरेको स्याहामोहरभन्दा ११ वर्ष पुरानो अर्को ऐतिहासिक प्रमाण पनि उपलब्ध छ । टङ्कप्रसाद आङबुहाङकै सौजन्यमा इङ्नाम (२०८१ः६)ले प्रकाशनमा ल्याएको वि.सं. १७४३ साउन वदी ८ को स्याहामोहरमा आङबुहाङका पुर्खा जस रायलाई “चंगे गाम” दिइएको उल्लेख छ । इङ्नामले “चंगे गाम” लाई चाँगे गाउँ भन्ने अर्थले अर्थ्याएका छन् ।
उक्त मोहर पुरानो भएकाले राजाको नाम स्पष्ट पढ्न नसकिए पनि राजाको छापसहित राजाले प्राप्त गरेको विरुदावलि “मान मानोन्नत महाराजाधिराज हिन्दुपति राजा” भन्ने उल्लेख भएकाले यो मोहर राजाबाटै जारी भएको स्पष्टै छ ।
यस्तै तत्कालीन देवान विचीता राय (विचित्र राय) को नाम पनि पनि राजालगात्तै उल्लेख छ । त्यो समय विजयपुरमा राज्य गर्ने राजा विधाता इन्द्रसेन रहेकाले यो मोहर उनैले जारी गरेको इङ्नाम (२०८१ः७) ले दावी गरेका छन् ।
यताबाट हेर्दा पनि आङ्बुहाङहरुको राजनीतिक विरासत कामदत्त सेनको समयबाट सुरु भएको होइन भन्ने प्रमाणित हुन्छ ।
सर्दुखोलाको तामाको मूर्ति
चेम्जोङ (२०५९ः६२) ले उल्लेख गरेको आङबुहाङहरुले सर्दुखोलामा भेटिएको मूर्तिको विषयमा भने द्विविधा छैन । आजभन्दा दुई सय वर्षभन्दाअघि आङबुहाङका अगुवा सुब्बा चेतनसिंहले सरकारमा जाहेर गरेको अर्जीमा यस विषयमा पनि उल्लेख छ ।
जग्गा सम्बन्धी एक झगडामा चेतनसिंहले सरकारलाई चढाएको अर्जी राष्ट्रिय अभिलेखालयबाट प्राप्त गरी इङ्नाम (२०७७ः३७१)मा प्रकाशित गरेका छन् ।
यस अर्जीमा आफ्नो पुर्खा जसमत रायको विषयमा उल्लेख गर्दै भनिएको छ-
“मोरंका राजा विजैपुर आउँदा ताँहि चाँकरि ढोका गर्दथ्यो सर्दूषोलामा सिम् तावा पाउँदा तेहि सिम् तावो राजालाई चह«ाउँदा तेस्को सिरपाउ जगा दिन्या हो भन्दा उरवराउ जगा कहा छ भनि दस लिम्बु गैह«लाई राजाबाट सोधनि हुदामा उरवराउ जगा चाग्या फेउदेन भन्याको छ ।”

आफ्ना पुर्खाले सर्दुखोलामा तामाको मूर्ति फेला पारेको भन्ने प्रसङ्गसहित आङबुहाङ लिम्बूका पुर्खा चेतनसिंहले सरकारमा चढाएको अर्जी (स्रोतः भगिराज इङ्नाम)
पत्रमा भण्डारी काजी उल्लेख भएकाले यो पत्र आजभन्दा दुई सय वर्षभन्दा पुरानो रहेको भन्ने देखिन्छ । इतिहासकार नेपाल (२०५५ः२६९)मा उल्लेख गरेअनुसार वि.सं. १८७५ मा काजी बहादुर भण्डारी त्यहाँको प्रशासन सम्हाल्न विजयपुरबाट धनकुटा पुगेका थिए । चाँगे क्षेत्रको उक्त जग्गाको विषयमा उनले पनि न्याय निरुपण गरेको अर्जीमा उल्लेख छ ।
प्रमाणिक कागजातअनुसार चेतनसिंह वा चेतसिंह आङ्बुहाङ वि.सं. १८८० को दशकमा आठराई क्षेत्रमा सक्रिय लिम्बू सुब्बा हुन् । यस क्षेत्रका सुब्बाहरु फुङलिङहाङ, गजकर्ण रायसहित उनले पाएको वि.सं. १८८४ चैत सुदीको मोहर यो लेखकसँग पनि सुरक्षित रहेको छ ।
यस अर्जीले सर्दुखोलाको तामाको मुर्ति सेन राजालाई चढाउँदा राजा खुसी भई चाँगे फेउदेनको उर्वर जग्गामा आङबुहाङहरुले राजाबाट जमिन्दारी पाएको उल्लेख छ । यसअघि आङबुहाङका पुर्खा जस रायले वि.सं. १७४३ मा सेन राजाबाट चाँगे गाउँ प्राप्त गरेको उल्लेख भइसकेको छ ।
पछि उनकै सन्तति चेतनसिंहले सर्दु खोलामा तामाको मूर्ति फेला पारी राजालाई चढाउने आफ्नो पुर्खाको नाम जसमत राय उल्लेख गरेकोले सर्दुखोलामा तामाको मूर्ति फेला पारी सेन राजालाई चढाउने आङबुहाङका पुर्खा जसमत् वा जस राय हुन् भन्ने ठहर्छ । यो घटना कामदत्त सेनको समयमा नभई वि.सं. १७४३ को हो भन्ने देखिन्छ ।
यी ऐतिहासिक प्रमाणहरुबाट आङबुहाङहरु आठराई क्षेत्रमा कामदत्त सेनको राज्यकालभन्दा धेरै पहिले नै सुवांगी जमिन्दारी पाई स्थापित भएका हुन् भन्नेमा कुनै शङ्का रहेन ।
प्रतिक्रिया