कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क मिलाएर राखिएका वेतबाँसका सोफा, टेबल र टेबलमाथि राखिएका माटोका करुवा । यी सामग्रीले कार्यालयको शोभा बढाएका छन् ।
नगरप्रमुख रामलाल डगौंरा कार्यालयको शोभा मात्र नभई यस कार्यले स्थानीय उत्पादन प्रवर्द्धन र व्यवसायीलाई प्रोत्साहित गरिरहेको बताएका छन् । “यी सामग्रीहरू हाम्रै क्षेत्रमा उत्पादन भएका हुन् । यिनको प्रचारप्रसार र प्रवर्द्धन गर्ने दायित्व हाम्रो पनि हो नि”, उनले भने ।
उनी वेतबाँसबाट बनेका फर्निचर वातावरणमैत्री हुनाका साथै स्थानीयस्तरमा नै बन्ने भएकाले उत्पादकलाई प्रोत्साहनका लागि पनि नगरपालिकाले प्रयोगमा जोड दिएको धारणा राखे ।
नगरप्रमुख डगौंरा भने, “हामीले वेतबाँसका फर्निचर मात्र होइन, थारू समुदायको सांस्कृतिक प्रतीक करुवा, ढकिया पनि प्रयोगमा ल्याएका छौँ । यसले हाम्रो कला, संस्कृति र परम्परागत सीपको संरक्षण र प्रचारप्रसारमा ठूलो सन्देश दिएको छ ।”
कार्यकक्षमा राखिएको माटोको करुवा पानी पिउन र पूजापाठमा प्रयोग गरिने थारूहरूको परम्परागत पहिचान हो । यो सांस्कृतिक संरक्षण र सम्मानको प्रतीक पनि हो । हरेक टेबलमाथि राखिएको माटोको करुवाले स्थानीय थारू संस्कृतिको संरक्षण र प्रवर्द्धनमा पालिका प्रतिबद्ध रहेको सन्देश दिइरहेको धेरैले आभाष गर्छन् ।
नगरपालिकाले स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिई उद्यम विकास, रोजगारीको सृजना र स्थानीय सीपलाई प्रोत्साहन दिइरहेको छ । नगरप्रमुखको कार्यकक्षमा राखिएका सोफा, कुर्सी, टेबल सबै स्थानीय उद्योगमा बनेका हुन् । यी फर्निचर आकर्षक मात्र होइन बलिया र टिकाउ पनि छन् ।
स्थानीय तिलगङ्गा वेतबाँस फर्निचरका सञ्चालक भरतलाल विक नगरपालिकाको पहलले स्थानीय युवालाई रोजगार दिने मात्र नभई समुदायको आर्थिक सशक्तीकरणमा पनि योगदान पु¥याएको बताए । आफ्नो उद्योगले नगरपालिका कार्यालयमा मात्रै होइन काठमाडौँ, पोखरालगायत विभिन्न सहरमा वेतबाँसका फर्निचर पठाइरहेको उनले बताए ।
“आठ वर्ष मलेसियाको बसाइँपछि भारतको कलकत्तामा वेतबाँसका फर्निचर निर्माणको काम सिकेको थिए । त्यहाँ सीप आफ्नै ठाउँमा सदुपयोग गरिरहेको छु । यसले स्थानीयलाई रोजगारी दिन सिन सघाउ पुगेको छ”, विश्वकर्माले भने । उनका अनुसार उद्योग सञ्चालन गर्दा सुरुमा भारतको कलकत्ताबाटै कामदार ल्याउनुपरेको थियो । हाल ४० जनाभन्दा बढी स्थानीयले उद्योगमा रोजगार पाएका छन् ।
“कामदारलाई कामका आधारमा पारिश्रमिक दिने गरेको छु । एक जनाले मासिक रु २५ देखि ३० हजारसम्म आम्दानी गर्ने गर्दछन्”, विश्वकर्माले बताए।
वेतबाँसका फर्निचर बनाउन आवश्यक पर्ने कच्चापदार्थ टीकापुरकै सत्ती कर्णाली सामुदायिक वनबाट प्राप्त हुन्छ । २५८ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन नेपालकै सबैभन्दा बढी वेत उत्पादन गर्ने वनका रूपमा परिचित छ । विसं २०५१ देखि संरक्षण गर्न थालिएको वेत कटानबाट वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गर्ने गरिएको सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले बताउनुभयो । यसले स्थानीय समुदायको जीवनस्तर उकास्न पनि महत्त्वपूर्ण भूमिका खेलेको उनले सुनाए ।
वेतका कारण स्थानीय उपभोक्ताले रोजगारी पाउने गर्दछन् । प्रत्येक वर्ष फागुन १५ गतेपछि दुई महिनासम्म वेत काट्ने गरिन्छ । वेत काटेबापत स्थानीय उपभोक्ताहरूले प्रतिकिलो १० का दरले पारिश्रमिक पाउने गरेको अध्यक्ष चौधरीले जानकारी दिए । त्यस अवधिमा एक जनाले दैनिक रु एक हजारदेखि दुई हजारसम्म कमाउने गरेको उनको भनाइ छ ।
वेत चारदेखि पाँच वर्षमा तयार हुने गर्छ । स्थानीय र बाह्य बजारमा समेत वेतबाँसबाट उत्पादित सामग्रीको उच्च माग भएकाले सामुुदायिक वनले विगतदेखि नै वेतको संरक्षण र सदुपयोग गर्दै आएको छ । “हामीले सुरुदेखि नै वेत संरक्षण गरिरहेका छौँ । पछिल्लो समय टीकापुरलगायत पालिकाले वेतबाँसका सामग्रीलाई प्रोत्साहन गरिरहेका छन् । यसले संरक्षण प्रयासमा सकारात्मक योगदान पुगेको छ”, अध्यक्ष चौधरीले भने ।
नगरपालिकाले स्थानीय वेतबाँसबाट उत्पादित फर्निचरलाई प्राथमिकता दिई प्रयोगमा ल्याएकामा आफूहरू उत्साहित भएको वेतबाँस फर्निचर उद्योग सञ्चालक विक बताउँछन् ।
टीकापुर नगरपालिकाले वडा नं ७ मा समेत वेतबाँसबाट बनेका फर्निचरलाई प्राथमिकता दिएको छ । नगरपालिका स्थानीय सीप र उत्पादन प्रवर्द्धनका लागि प्रमुख अभिभावक पनि भएकाले आगामी दिनमा पनि वेतबाँसका सामग्रीलाई प्राथमिकता दिइने नगरप्रमुख प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया