जेन-जीहरू मिलेर नयाँ दल बनाउने कसरत, ‘पपुलर’ व्यक्तिको पछि लाग्दा आन्दोलन सकिने डर | Khabarhub Khabarhub

जेन-जीहरू मिलेर नयाँ दल बनाउने कसरत, ‘पपुलर’ व्यक्तिको पछि लाग्दा आन्दोलन सकिने डर

दर्ता भइसकेकासँग मिसिँदा झन् समस्या हुने निचोड



काठमाडौं- मंगलबार दिनभर तीनवटा जेन-जी समूहसँग नेताहरूले छलफल गरेका छन् । करिब १० घण्टा चलेको छलफलमा अधिकांश जेन-जी प्रतिनिधिले कोही अग्रजलाई अभिभावक बनाएर जेन-जीहरूकै नेतृत्वमा पार्टी गठन गनुपर्ने मत राखे ।

यति मात्रै होइन, आन्दोलनको छोटो अवधिमै तितरबितर भएका जेन-जीहरू एकै समूह या पार्टी बनाएर जाने विषयमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ।

जेन-जीहरू एक सातादेखि पार्टी निमार्ण गरेर अगाडि बढ्ने छलफलमा छन् । उनीहरू पुरानै पार्टीमा मिसिने अर्को एजेन्डामा पनि निरन्तर छलफल गरिरहेका छन् ।

‘आफैँ दल दर्ता गरेर जाने वा अरूमा मिसिने विकल्पमा लामो छलफल भयो । सकेसम्म आफैँ दल दर्ता गरेर जाँदा ठिक हुने कुरा भएको छ । दर्ता भएको दलसँग मिलेर जाँदा समस्या आउने रहेछ’, छलफलमा सहभागी एकजनाले भने, ‘लोकप्रिय मान्छेको पछि लागेर जाँदा जेन-जी आन्दोलन तहसनहस हुन्छ । त्यसकारण अहिले बालेन साह र सुमना श्रेष्ठसहितको पछि लाग्ने भन्दा आफैँ दल दर्ता गरेर भविष्यमा सहकार्य गर्ने कुरा भएको छ ।’

मंगलबारको बैठकमा करिब ३० जना जेन-जी नेताहरूसहभागी भएको बताइएको छ ।

तीन समूहबीच छलफल

एक सातादेखि विभिन्न एजेन्डामा छलफल भएपछि मंगलबार राति जेन-जीको ठूलो पंक्तिबीच बैठक भएको थियो। मंगलबारको बैठकमा जेन-जी फ्रन्टबाट संयोजक रक्षा बम, सदस्यहरू युजन राजभण्डारी, यतिष ओझा, मनिष खनाल,आदित्य कर्ण र ऋतु खड्कालगायत उपस्थित थिए ।

यस्तै ‘द काउन्सिल अफ जेन-जी’का ७ जना प्रदेश संयोजक उपस्थित थिए । कोशी संयोजक उपार्जुङ राई, बागमती संयोजक अफसाना बानु, मधेशका शिव यादव, गण्डकीबाट प्रदीप पाण्डे, लुम्बिनीका आदित्य अर्याल, सुदूरपश्चिमबाट खेमराज साउद र कर्णालीबाट प्रकाश खड्का थिए ।

यस्तै जेन-जी मुभमेन्ट अलायन्सका अगुवा अमित खनाल सदस्य मोनिका निरौला, रिजन राना मगर, साङ्केन राई, अनुसार खनाल र सामना लावती लगायत थिए । यो अलायन्सले १३ वटा समूह र ४२ जिल्लामा प्रतिनिधि तय गरिसकेको जनाएको छ।

मंगलबारको बैठकमा केही सहिद परिवार र घाइते पनि थिए । चर्चित पात्रहरू उपस्थित थिएनन् । पछिल्लो समय विभिन्न विकल्पमा तीन समूहबीच छलफल भइरहेको स्रोतको दाबी छ ।

जेन-जी मुभमेन्ट अलायन्सका अगुवा अमित खनाल पनि विभिन्न कोणबाट छलफल चलेको बताउँछन् । उनले अन्य कुरा खुलाउन चाहेनन् । ‘कसरी जाने भनेर छलफल चलिरहेको छ । यो सकारात्मक हो,’ उनले खबरहबलाई भने, ‘अहिलेसम्म कुनै निर्णयमा पुगिएको छैन । विभिन्न विकल्प आएका छन् । साथीहरू सकभर मिलेर जानेमै छौँ।’

स्रोतका अनुसार छलफलमा मिराज ढुङ्गानाको टिम सहभागी छैन । कार्यकारी प्रधानमन्त्री र संविधान संशोधनको नारा बोकेका ढुङ्गानालाई राष्ट्रिय प्रजातन्त्र पार्टी र दुर्गा प्रसाईंले उकासेको आरोप लाग्ने गरेको छ ।

‘मिरजजी अर्को मिसनमा हुनुहुन्छ । हामी यही संविधान र व्यवस्था मान्छौँ भनिरहेका छौँ । उहाँ व्यवस्थाको विकल्प खोज्ने तयारीमा हुनुहुन्छ,’ द काउन्सिल अफ जेन-जीका एक नेताले भने, ‘विचार मिल्ने र मिल्न सक्ने शक्तिहरू एक भएर जाने तयारीमा छौँ ।’

छुट्टै दल बनाउने मत बलियो

छलफलमा सहभागी अधिकांश सदस्यले जेन-जीहरू मिलेर दल दर्ता गर्दा आफैंले नेतृत्व गर्नुपर्ने कुरा राखे । त्यसमा पनि सम्भावनाको कुरा भएको थियो ।

‘दल दर्ता जेन-जी उमेर समूहबाटै गरौँ । हिजो हामीलाई अरू अरू दलमा तान्ने परिस्थिति थिए । यदि हामीले आफ्नो दल बनाएनौँ भने आन्दोलन संस्थागत गर्न सकिँदैन,’ बैठकमा कोशी प्रदेश संयोजक उपार्जुङ राईले भनेका थिए, ‘अरू दलमा गएपछि तात्पर्य पनि पुष्टि गर्नुपर्छ । आन्दोलन संस्थागत गर्न सकिँदैन । फरक उमेर समूहका राख्दा अरू दलमा जाने कुराको खास अर्थ राख्दैन ।’

त्यसपछि जेन-जी फ्रन्ट संयोजक रक्षा बमले पनि ठूला दलले के गर्न सक्छन् भनेर हेरिरहेकाले अपनत्व हुने दल दर्ता गरेर जानुपर्ने मत राखिन् । उनले जेन-जी उमेर समूहका नै नेतृत्वमा रहनुपर्ने तर्क गरिन् ।

‘हामीले यत्रो आन्दोलन गरेका छौँ । हामी सेलाए आन्दोलन संस्थागत हुँदैन’, उनले भनिनन्, ‘पछि अरूसँग सहकार्य गरौँला, अभिभावक बनाउँला तर अहिले जेन-जीबाटै नेता बनाऊँ ।’

छलफलमा जेन-जी मुभमेन्ट अलायन्सका अगुवा अमित खनालले पार्टी दर्ता गराएर निर्वाचनमा जानुपर्ने मत राखे । उनले अभिभावकीय भूमिकामा अन्य व्यक्तिलाई समावेश गर्नुपर्ने भनेका थिए । खनालले आफ्नो टिम विभिन्न जिल्लामा फैलिएकाले यसैलाई संस्थागत गरेर जान सकिने कुरा राखेको स्रोतको दाबी छ ।

यसबारे सोध्दा खनालले भने, ‘विचार मिल्ने शक्तिहरू एक भएर जाने सल्लाह भएको हो । छलफल त सबै कोणबाट हुन्छ नि ।’

मंगलबारको बैठकपछि बुधबार पनि तीनवटा टीम, सहिद परिवार र घाइतेहरू छलफलमै छन् । यो छलफल नयाँ दल दर्ता गराउने तयारीमा रहेका सुदन गुरुङले गराएका हुन् । उनी सकेसम्म मिलाएर जेन-जीकै दल बनाउने तयारीमा छन् । उनले दल दर्ताको तयारी सकेका छन् । तर मिलेसम्म जेन-जीलाई समेट्ने उनको योजना छ ।

स्रोतका अनुसार कुनै परिवर्तन नभए सुदन र जेन-जीहरूले छुट्टाछुट्टै राजनीतिक दल दर्ता गरेर चुनावी सहकार्य गर्ने सम्भावना छ । जेन-जीका एक नेताले भने, ‘अहिले आफ्नै ढंगले अगाडि बढेर चुनावमा सहकार्य रहन्छ । यो कुरा सबैले मनन गरेका छौँ ।’

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : २१ बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न