काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आसन्न ११ औँ महाधिवेशनमा सचिव पद दाबी गरिरहेका छन्। मिलेसम्म सचिव पदमा जाने, नमिलेमा अध्यक्ष केपी शर्मा ओलीले अह्राएको काम गर्ने पक्षमा उभिएका छन् उनी । आफू जहाँ भएपनि अध्यक्षमा ओलीलाई तेस्रो पटक ल्याउने तयारीमा रहेको उनी बताउँछन्। अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलभन्दा ओली एमालेको सेनापति रहेकाले उनलाई अध्यक्ष बनाएरै छाड्ने कार्कीले बताए । ‘अब के काम गर्न बाँकी छ ? ओली तेस्रोपटक अध्यक्ष हुने हो ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘उहाँमा अनुभव छ, अरु नेतामा छैन । उहाँका कमी कमजोरी होलान् । ती विषयवस्तु र कमजोरीबारे पार्टीमा छलफल गर्छौं, तर उहाँ अनुभवसिद्ध र सक्षम भएकाले निरन्तरता दिन चाहेको हो।’
फरक प्रसङ्गमा उनले कोशीमा आफू मुख्यमन्त्री भएपछि विकास निर्माणका धेरै आयोजना अगाडि बढाएको बताउँछन् । कोशी प्रदेशको नामाकरण पनि आफ्नो नेतृत्वमै भएको बताउँदै उनले आगामी निर्वाचनमा एमाले कोशीमा पहिलो हुने दाबी गर्छन् । एघारौँ महाधिवेशनमा किन ओलीलाई नै अध्यक्ष बनाउन खोजियो त ? एमालेको महाधिवेश र कोशी प्रदेश सरकारका कामसहित समसामयिक विषयमा कार्कीसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश :
यहाँ एमालेमा सचिवको दाबेदार हुनुहुन्छ रे ? साँच्चिकै हो कि हल्ला गर्नुभएको ?
म पद सुरक्षित गर्नुपर्ने ठाउँमा छैन । पार्टीमा चार दशक काम गरिसकेको छु । पार्टीको स्थायी कमिटी सदस्य भइसकेकाले मैले सचिव हुने योजना बनाएको हो । म सचिव पदमा उठ्ने योजनामा छु । टिम र नेतृत्वले जिम्मेवारी दिनु भए लिन तयार छु । तर पार्टीमा टिम र साथीभाइले यहाँ बसेर काम गर भने तयार हुन्छु । पदाधिकारीमा ५० औँ साथीहरूको चाहाना छ । १५ जनामा म अटेँ भने ठिकै छ ।
यहाँ त कोशीको मुख्यमन्त्री पनि हुनुहुन्छ, पार्टीमा अवसर पाइनै रहनु भएको छ । यस पटक पनि तपाईंलाई नै मिल्ला त अवसर ?
राजकीय जिम्मेवारी र पार्टीको जिम्मेवारी फरक कुरा हुन् । भोलि पार्टीको केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य किन मन्त्री हुने भन्ने कुरा उठ्ला । राजकीय भूमिका सधैँ स्थायी हुँदैन । पार्टीले मुख्यमन्त्री छोड्नु भनेका दिन म तयार हुनु पर्छ। मेरो बुझाइ के हो भने पार्टीमा निरन्तर काम गरिरहने हो । त्यसक्रममा आएका राजकीय जिम्मेवारी पनि सम्हाल्दै अघि बढ्ने हो ।
अध्यक्ष ओलीलेले यहाँलाई पदाधिकारीमा ल्याउन सकेनौँ, स्थायी कमिटीमै दोहोरिनु भनेमा अर्को टिममा लाग्नुहुन्छ कि ?
मेरो ४० वर्षको राजनीतिक इतिहासमा कहिले पनि विचार सिद्धान्त र कार्यक्रमबाट विचलित भएको छैन । विधानसमेत परिवर्तन गरेर उहाँ (ओली)लाई राष्ट्रिय र पार्टी राजनीतिको नेतृत्व गराउन अध्यक्षमा प्रस्ताव गरेको हो । हामी हाम्रो सेनापति केपी शर्मा ओलीलाई पुनः पार्टी राजनीतिको नेतृत्वतमा निरन्तरता दिन चाहन्छौँ । म जहाँ, जुन भूमिकामा भए पनि उहाँलाई सफल बनाउन लाग्छु । पुनः पार्टी अध्यक्ष बनाउने मिसनमा छु । यसबाट म च्यूत हुँदिन ।
तर जेन-जी आन्दोलनपछि देशको सबैभन्दा अलोकप्रिय पात्र ओली भनिरहेका भनिरहेका छन् जेन-जीले । उहाँले दुईतिहाइको सरकार हाँकिरहेकै बेला देशमा यत्रो क्षति भयो भन्ने छ । यहाँहरू अझै किन ओलीको विकल्प देख्नुहुन्न ?
अहिले एमालेका नेताहरूमध्ये सबै चुनौती सामना गर्न सक्ने र मुलुकलाई सुरक्षित राख्न सक्ने ओली नै हो । यहाँले भनेको जेन-जी विद्रोह लगायत जोड्नुभयो, यसबारे खुलेर पछि कुरा गरौँला । तर जेन-जीको नाममा भएको विद्रोह र विध्वंश नेपालको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन भएको होइन । आन्दोलनकारीले शान्तिपूर्ण आन्दोलन गरेको बेला घुसपैठ भएको हो । यी सबै घुसपैठको परिणाम हो । उहाँको गल्ती भए न्यायिक छानबिन आयोग बनाएर काम गरे हुन्छ । जेन-जी आन्दोलनमा सडकमा देखिएका मान्छे आयोगको अध्यक्ष र देशको प्रधानमन्त्री भएका छन् । यस्तोमा केपी ओलीको पक्षमा भएको राजनीतिक माहोल देखेर उहाँलाई तह लगाउने कुरा गलत हो । ओलीमाथिका आरोपहरू सत्यताको नजिक छैनन् । न्यायिक छानबिनबाट आउँछ भने स्वीकार्न तयार छौँ । केपी ओली दोषी हो, उनलाई यही महाधिवेशनबाट हुत्याएर फाल्नुपर्छ भन्ने कुरा मेरो अन्तरआत्माले दिएन । म उहाँलाई अध्यक्ष बनाउने शर्तमा जुनसुकै पदमा जान तयार छु ।

अब के गर्न बाँकी छ ? उहाँ तेस्रो पटक अध्यक्ष हुँदा पनि के होला र ? अब के आस गर्ने भनिरहेका छन् नि ?
उहाँमा लामो राजनीतिक अनुभव छ । अरू नेतामा त्यो छैन । उहाँका पनि कमजोरी होलान् । ती विषयवस्तु र कमजोरीबारे पार्टीमा छलफल गर्छौं । तर उहाँलाई अनुभवसिद्ध र सक्षम भएकाले अगाडि बढाउन चाहेको हो ।
ईश्वर पोखरेल सक्षम नेता होइनन् र ?
हो, तर उहाँ ओलीको टिममा बसेर काम गर्न मात्रै सक्षम नेता हो । अध्यक्ष हुन सक्षम होइन ।
ओली तेहेरिनुहोला त अध्यक्षमा, प्रतिनिधिले विश्वास गर्लान् ?
उहाँलाई सर्वसम्मत नै गराउने प्रयास गर्दैछौँ । नत्र निर्वाचनबाट आउनुहुन्छ । प्रयास जारी छ । उहाँको विकल्प छैन । उहाँले राम्रो काम गरेकैले प्रहार भएको हो । उहाँ देश र राष्ट्रियताको पक्षमा दृढ हुनुहुन्छ ।
फरक प्रसंगमा कुरा गरौँ, यहाँ केशीको मुख्यमन्त्री हुनुहुन्छ । तपाईंले के के गर्नु भयो सुन्नलायक कामहरू ?
धेरै छन् । प्रदेशसभाको नामकरण गरेको छु । म मुख्यमन्त्री भएर सदनमा आएको ५३ दिनमा नामकरण गरे । लगानी सम्मेलन कुनै प्रदेशले गर्न सकेका थिएनन् । तर मैले गत वैशाखमा लगानी सम्मेलन गरेँ । त्यसमा करिब ६० वटा परियोजना र करिब २ खर्ब बजेट कार्यनयनको प्रक्रियामा छ । संघले पनि यतिको उपलब्धि हाँसिल गरेको छैन । युवा रोजगारी सिर्जना गर्न यो वर्ष साना तथा मझौला उद्योगलाई लक्षित गरेर बजेट मिलाएँ । यो वर्षबाट आठ अर्ब बराबरको लोन धितो कोशी प्रदेशका व्यवसायीलाई ३० लाखदेखि ३ करोडसम्म दिने गरी परियोजना अगाडि बढेको छ ।
हामीले ४ वटा महत्त्वपूर्ण राजमार्गको विकास गरेका छौँ । पहिचानलाई अगाडि बढाएर मुन्धुम पदमार्ग करिब २ सय किलोमिटर लामो बन्दै छ । सुनसरी सिरानबाट खोटाङ, भोजपुर र सोलुखुम्बुसम्मको । तेह्रथुममा लालीगुराँस राजमार्ग बन्दै छ । महागुरु फाल्गुन्द मार्ग बन्दैछ, फिदिमबाट इलामसम्म । इलाममा चियाबारी मार्ग बनिरहेको छ । यी सबै मेरो नेतृत्वमा विभिन्न संस्थासँग सहकार्य गरेर काम अगाडि बढाउँदैछौँ । अन्य थुप्रै विकासका कुरा भइरहेका छन् । तर यी चाहिँ हाीले गरिरहेका मुख्य काम हुन् ।

यहाँले यसो भनिरहँदा कोशी प्रदेशको नाम पहिचानअनुसार भएन भनेर एमालेलाई निर्वाचनमा पख्लास् भनेको अवस्था पनि छ नि ?
उपनिर्वाचनलाई हेर्नु न इलामको, यी सबै कुरा सत्य छैनन् । पहिचानवादी उठेकै ठाउँमा एमाले पहिलो भएको होइन । पहिचानकै साथीहरू तेस्रो हुनुभयो होइन र ? ।
अन्तिममा, अबको निर्वाचनमा कोशीमा एमालेले कस्तो नतिजा ल्याउला ? नसच्चिए त गाह्रो होला है ?
काम गर्ने कुरामा गल्ती होलान् । तर एमालेको पोजिशन आउँदो निर्वाचनमा कोशीमा अहिलेको भन्दा राम्रो र अझै बलियो हुन्छ । हामी पहिलो पार्टी बन्छौँ । यहाँले रेकर्ड गरेर राखे हुन्छ ।













प्रतिक्रिया