दुग्ध उत्पादक किसानलाई शीघ्र भुक्तानी दिइने « Khabarhub

दुग्ध उत्पादक किसानलाई शीघ्र भुक्तानी दिइने


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की– कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थानमार्फत किसानलाई तिर्न बाँकी भुक्तानीका लागि पहल भइरहेको बताएका छन् ।

केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपालको ३० औँ वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले एक-डेढ महिनाभित्र भुक्तानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। 

‘उद्योगले किसानको दूधको भुक्तानी नगर्ने कारण खोजेर समस्या समाधानका लागि पहल गरिरहेका छौँ । आफूले नगदमा बिक्री गर्ने तर किसानबाट उधारोमा दूध लिनु राम्रो होइन । कृषकले समयमै आफ्नो पैसा पाउनुपर्दछ । यसका लागि मन्त्रालयले पहल गरिरहेको छ’, मन्त्री अधिकारीले भने ।

उनले आफू मन्त्रालयमा आउँदा संस्थानले कृषकलाई भुक्तानी गर्नुपर्ने रकम एक अर्ब ४८ करोड र कर्मचारीको ५० करोड गरी एक अर्ब ९८ करोड रहेकामा त्यसलाई कम गर्दै लगिएको बताए। कृषि र सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि आगामी नीति, कार्यक्रम र बजेटबाट सम्बोधन गरिने मन्त्री अधिकारीको भनाइ थियो । 

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले नेपालमा उत्पादित दूध छिमेकी मुलुक चीन र भारतमा निर्यात गर्न सकिने सम्भावना रहेको भन्दै यसका लागि कृषकलाई प्रोत्साहन गर्दै व्यावसायिक पशुपालनमा जोड दिनुपर्ने बताए। गण्डकी प्रदेशका कृषिमन्त्री पद्यमा जिसी श्रेष्ठले प्रदेश सरकारले किसानलाई सहयोग गर्न उत्पादनमा आधारित अनुदान नीतिलाई कार्यान्वयन गरिरहेको जानकारी दिए। 

संस्थाका अध्यक्ष अम्मरबहादुर कुँवरले विभिन्न रोगव्याधिका कारणले कृषि तथा दुग्ध क्षेत्रमा आबद्ध कृषकलाई असर परेको बताउँदै यस्ता कृषकलाई पेसामा टिकाइराख्न सरकारले सहयोग गर्नुपर्ने बताए। उनले देशको कूल गार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रको नौ प्रतिशत योगदान रहेको र यस क्षेत्रले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान गरेको बताए।

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादव, दुग्ध विकास संस्थानका महाप्रबन्धक सूर्य पौडेल, डेरी उद्योग सङ्घ नेपाल काठमाडौँका अध्यक्ष राजकुमार दाहाल, कास्की जिल्ला सहकारी सङ्घका अध्यक्ष दीपकराज बास्तोलालगायतले नेपालको समृद्धिको आधार दूध व्यवसाय रहेकाले यस क्षेत्रमा राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए।

सङ्घमा हालसम्म ३६ वटा जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाहरू सदस्य रहेको त्यस अवसरमा जानकारी दिइएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ७ : ४६ बजे

हटाइएका सुकुम्वासीलाई सरकारले पुनर्स्थापना खर्च २५ हजार दिने

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौंको नदी किनारबाट हटाइएका भूमिहीन

विपन्न नागरिक उपचार कार्यक्रममा ४ अर्ब ५९ करोड खर्च, ५३ हजारभन्दा बढीले लिए सेवा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालित विपन्न नागरिक औषधि उपचार

स्वास्थ्य मन्त्रालयमा स्वीकृतभन्दा ८ सय बढी कर्मचारी पदपूर्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहत निकायमा स्वीकृत दरबन्दीभन्दा

धितोपत्र बोर्डको नयाँ अध्यक्षको लागि ४ जना सर्टलिस्टमा, को–को परे ?

काठमाडौं– नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्षको लागि ४ जना सर्टलिस्टमा

जोखिम मोलेर मह सिकार

गण्डकी– वैशाख–जेठ भिरमौरीको मह सिकारका लागि उत्तम याम मानिन्छ ।