देखाउने र रिझाउने विकास बन्द गरौँ : सुहाङ नेम्वाङ « Khabarhub

विपद्‍पछि इलाम 

देखाउने र रिझाउने विकास बन्द गरौँ : सुहाङ नेम्वाङ



काठमाडौं– असोज १८, १९, २० गते परेको भारी वर्षापछि आएको बाढी पहिरोमा परी इलाममा मात्रै ३९ जनाको जीवन गुमेको छ । उक्त अकल्पनीय विपत्तिबाट हजारौँ घाइते भएका छन् । घरबारविहीन कयौँले शरद ऋतुको चिसो रात कटाउन छानो र मानोका लागि सरकारसँग गुहार मागिरहेका छन् । सडक सञ्जाल ठप्प हुँदा खाद्यान्न, औषधी, पानी लगायतका अत्यावश्यक सामग्रीको अभाव झेल्नुपर्ने अवस्था छ । 

इलाम मात्र होइन, ताप्लेजुङ, भोजपुर, झापा लगायत समग्र देशनै केही वर्षयता प्राकृतिक विपत्तिबाट प्रताडित बनेको छ । इलामको अवस्थाबारे खबरहबले केही दिनदेखि त्यहीँ पुगेर जनता र भौगोलिक अवस्था निरीक्षण गरिरहेका नेकपा एमालेका नेता तथा निवर्तमान सांसद सुहाङ नेम्बाङ्सित गरेको कुराकानीको सम्पादित अंश :

केही दिनदेखि यहाँले क्षतिग्रस्त गृह जिल्ला इलामलाई प्रत्यक्ष नियालिराख्नु  भएको छ ।  पीडितको घरदैलोमा पुगेर भेटघाट गरिरहनु भएको छ । इलामको अहिलेको अवस्थालाई कसरी व्याख्या गर्नुहुन्छ ? 

अहिले इलाममा बाढी पहिरोले जुन क्षति निम्त्यायो, त्यो भारी वर्षाले नै भयो । मेरो निरीक्षण र स्थानीयसँगको छलफल अनुसार यसरी माटो क्षयीकरण किन भयो भने कुनै भौगर्भिक तथा प्राविधिक अध्ययन बिनै डोजरले अस्तव्यस्तसँग बाटो खन्दा पहिरो खसेको देखियो । केही बस्तीको केशमा भने बस्तीमाथिको ठूलो बाँसघारीका कारण माटो खसेर तहसनहस पारेको पनि पाइयो । हामीलाई त्यहाँका जनताले यी लगायत अन्य धेरै फ्याक्टरले विपत्ति भोग्नुपरेको सुनाउनुभयो । आज भने हामी सबै निरीक्षण सम्पन्न गरी फिक्कल आएर बसेका छौँ । 

इलाममा बाढी पहिरो दुवै विपत्तिबाट अहिले त्यहाँका जनता पीडित छन् । स्थानीय के भन्छन् ?

अब जथाभाबी खनेर सडक लैजाने काम रोक्नुपर्छ । अब हामीले सडक विभागमा इन्जिनियर, सल्लाहकार लगायतका प्राविधिक व्यक्तिहरू हुनुहुन्छ । निर्माणमा उहाँहरूले हामीलाई सहयोग गर्नुहुनेछ ।

सबै जनासँग सहकार्य गरेर विकासका के कस्ता उपाय अपनाउँदा कम क्षति हुन्छ, त्यसमा अब सबै मिलेर इलामलाई फेरि ब्युँताउन लाग्नुपर्छ । अझै पनि देखाउन र रिझाउनका लागि काम गरियो भने यस्तो जनधनको क्षति दोहोरिने सुझाव यहाँका स्थानीयले दिनुभएको छ ।

बाढीको कुरा गर्दा खोलाले खेतबारी बगाएर बस्तीसम्म पुगेको देखिन्छ । धान रोप्ने समयमा तत्कालीन ऊर्जा तथा सिँचाईमन्त्री दीपक खड्काज्यूसंगको बैठकमा मैले तटबन्ध निर्माणका लागि  कुरा उठाएको थिएँ ।

हामीसँग ५/५ लाखको मात्रै बजेट आउँछ, त्यसले माईखोला, चुलाचुली मिसिएर खोला ठूलो हुने स्थानमा तटबन्ध बन्दैनथ्यो । कथमकदाचित त्यतिबेला नै सुनुवाइ भइदिएको भए राजदुवाली बस्ती लगायत कृषिजन्य भूभागमा परेको यति ठूलो धनजनको क्षति अहिले इलामले व्यहोर्नु पर्दैनथ्यो होला । 

सबैले अकल्पनीय विपत्ति भनिराख्दा आजभन्दा सात महिना अगाडि इलामको राजदुवाली भासिएको थियो  । सन्दकपुरमा पनि पहिलेदेखि बाढी पहिरोका कारण ठूलो क्षति भएको थियो । त्यो बेला पनि भू–गर्भविदलाई बोलाएर यहाँको माटो परीक्षणका लागि पहल भइरहेको थियो । त्यो कामका लागि समय लाग्यो । आज क्षति भोग्यौँ ।  

पहिरोको हकमा कुरा गर्दा मन्त्रीजीहरूसँग मैले पटक–पटक कुरा राखेको थिएँ । भू–गर्भविद्लाई बोलाएर माटोको अवस्था परीक्षण तथा इन्जिनियर विज्ञलाई बोलाएर बाटोको संरचना के कसरी बनाउने भन्ने छलफल नगरीकन यो समस्याको समाधान नहुने भएको छ । 

देशमा यतिबेला राजनीतिक उथलपुथल पनि छ । यस्तो अवस्थामा यहाँले गृह जिल्लालाई विपत्तिबाट उठाउन के–कस्तो प्रयास गर्दै हुनुहुन्छ ?

जब परिवर्तनले ढोका ढक्ढक्याउँछ, त्यसलाई सबैले सकारात्मक सदुपयोग गर्नुपर्छ, सपना देख्न सक्नुपर्छ । इलामलाई विपद् परेको बेला यहाँका जनतालाई राहत अनुभूत गराउन हाम्रो तर्फबाट जे–जे पहलकदमी गर्नुपर्छ, दिनरात नभनीकन काम गर्नुपर्छ । यसमा एउटा सकारात्मक सुरुवात के पाएँ भने सबै जना एक अर्कासँग हातेमालो गरेर विपद् व्यवस्थापनमा जुट्नुभएको छ । 

हिजो हामी ११ बजे राति निरीक्षणबाट फर्किराख्दा पनि केही व्यक्ति इलामको त्याङ भन्ने ठाउँमा स्वतःस्फूर्त डोजर लगाएर सफा गरिराखेको देखेँ । स्थानीयले गर्नैपर्ने भन्ने त कुनै आवश्यकता थिएन होला ।

तर पनि, उहाँहरू दिनरात नभनी खटिराख्नु भएको छ । विपत्तिमा देखिएको यो एकताले सकारात्मक सन्देश दिएको छ । यसलाई निरन्तरता दिन सरकार, निजी क्षेत्र सबै लाग्नुपर्छ ।

इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नुअघि पनि मैले विपद् प्राधिकरणमा गएर राहत व्यवस्थापनबारे सुझाव लिएको थिएँ । त्यसपछि गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसँग कुरा राखेको थिएँ । उहाँहरूले पहिलो चरणमा प्रत्येक परिवारलाई २/२ लाख र प्रति व्यक्ति १/१ लाख रुपैयाँका दरले राहत दिने बताउनुभएको थियो । अहिले पालिकामार्फत पनि त्यो काम भइरहेको छ । 

सरकारले राहतमा रकम मात्र भन्दा पनि पीडित परिवारका बालबालिकालाई पठनपाठनका लागि निशुल्क प्याकेज व्यवस्थापन तथा रोजगारीको सुनिश्चितता गरिदिनु पर्छ । उनीहरूलाई दीर्घकालीन निकास दिनु राज्यको दायित्व हो । त्यसका लागि निज क्षेत्रले पनि सहयोगका लागि आश्वासन दिनुभएको छ ।  तर राज्यले यसमा विशेष पहलकदमी लिनुपर्छ जस्तो लाग्छ ।  

यति ठूलो विपत्तिपछि मानवीय कोणबाट इलामवासीलाई कस्तो अवस्थामा पाउनुभयो ?

इलामेलीको मनोभावना साहसिक रहेको पाएको छु । परिवार गुमाएकाहरूको घर–घर पुग्ने क्रममा एक जना वृद्ध बुवा भेटिनु भो । उहाँले मलाई आफू नजिक बोलाउनुभयो ।

त्यतिबेला मलाई उहाँले बिलौना गर्नुहुन्छ होला भन्ने सोचेको थिएँ तर उहाँले त मलाई सबैभन्दा सुरुमा मुस्कानका भन्नुभयो– ‘बाबु , तिमी खाना खान्छौ ? होटेलमा पकाएको जस्तो मिठो त छैन तर यहाँ मैले खाना बनाएको छु सँगै खाने हो’ । यो हृदयविदारक कुराले म मौन बनेँ ।’ 

उहाँहरूमा परिवारसँगै पुस्तौँपुस्तादेखि बसेको, गरिखाएको घर, जग्गा जमिन गुम्दाको चोट त पुगेको छ । उहाँहरूले त्यति ठूलो पीडालाई स्विकारेर भावी सन्ततिका लागि अझै बलियो बनेर अगााडि बढ्नु पर्छ । सबैसँगै हिँड्नु पर्छ है भन्नुभएको छ । अघि बढ्ने साहस देखाउनु भएको छ । त्यसले एकातिर मलाई भावविव्हल बनायो । अर्को किसिमले भन्दा फरक खालको ऊर्जा थपिदियो । 

जनप्रतिनिधि आ–आफ्नो वडाक्षेत्रमा सक्रिय हुनुहुन्छ । म भने अजय कार्की नामका इन्जिनियर भाइसहित २ जना सचिवालयका साथी र एक जना कार्यालय सहयोगी ४ जना भएर मोटरसाइकलमा घर–घर पुगेका छौँ । समयमै नजाँदा स्थानीयले गुनासो गर्नुहुन्छ । सडकका कारण समयमै जताततै भ्याउन सक्ने अवस्था पनि हुँदैन । तथापि बेलाबखतमा हामीले के कसरी गर्ने भनेर उहाँहरूले छलफल गरिराख्नु भएकै छ । 

खाद्यान्न, औषधी, खानेपानी लगायतका अत्यावश्यक वस्तुहरूको अवस्था के छ ? 

यसलाई दुई वटा कोणबाट कुरा गर्न सकिन्छ । जसको घर पूर्ण रूपमा क्षतिग्रस्त भयो, उहाँहरूसँग आज केही बाँकी छैन । उहाँहरूको हकमा चाहिँ खाद्यान्न अभाव भएको देखिन्छ । तर अन्यको हकमा भने यहाँको उब्जनी राम्रै छ । अहिले नै अनिकाल लाग्ला भन्ने खालको अवस्था छैन । 

राजदुवाली खण्ड मर्मत सम्भारपछि हिजो केही गाडी पास गराइए पनि पुनः भासियो । यो खण्ड तत्काल सुचारु गर्न सकिने अवस्था छैन । त्यसको वैकल्पिक बाटो सिमलगोलाइ र बेलासेको बाटो खोल्न तत्काल ध्यान दिइएन भने पक्कै पनि केही दिनभित्रै इन्धन, खाद्यान्न, औषधी लगायतको अभाव हुने देखिन्छ । 

खानेपानी व्यवस्थापनमा विपत्तिपछि समस्या भएको छ । किनभने संरचनाहरू फुटेर ध्वस्त भएको अवस्था छ । पानीका लागि स्थानीयले पहलकदमी लिनुभएको थियो । तर त्यहाँ प्राविधिक विज्ञको आवश्यकता खड्किएको छ । त्यसका लागि केन्द्र र प्रदेश सरकारले चासो देखाएको सूचना पाएको छु । 

सडक विभाग वैकल्पिक सडकमा भन्दा पनि राजदुवाली मर्मतमा केन्द्रित रहेको देखिन्छ । तत्काल सवारी आवतजावत गराउन के कसरी काम गर्न उचित होला ?

मेची राजमार्ग अन्तर्गतको राजदुवाली निकै पुरानो इतिहास बोकेको सडक हो । यसले हाम्रा पुर्खादेखि हामीसम्मलाई सहजता दियो । यसको मर्मत गरिनुपर्छ । यसलाई जीवन्त राख्नुपर्छ । तर राजदुवालीमा अहिले मात्रै होइन, वर्षौदेखि समस्या छ । भित्ताबाट पानीको मुहान फुटेर त्यसको निकास नहुँदा पटक–पटक मेची राजमार्ग खण्डमा हिँड्ने यात्रुले सास्ती भोगेका छन् । 

यसरी निरन्तर समस्या दिइरहने राजदुवालीको दीर्घकालीन समाधानको विकल्प खोजिनु पर्छ । अहिले बुझ्नुपर्ने के छ भने यस खण्डको विकल्प बेलासे र जोगमाई–सिमलगोलाइ–तिल्केनीको बाटो हो । त्यहाँ हामीले बेलीबृज राखेर सुचारु गरिसकेका थियौँ । 

यो वैकल्पिक सडकबाट एउटा इलामको सदरमुकाम र अर्को पाँचथर– ताप्लेजुङ जोडिन्छ । भोलिका दिनमा फेरि राजदुवाली भासियो भने पटक–पटक मर्मत गरिन्जेल कुरेर बस्ने त ? त्यो त हुँदैन नि त । सोही कारण अड्किएर बस्नुपर्ने अवस्था आउन नदिन यी वैकल्पिक सडकको स्तरोन्नति गर्नैपर्छ । 

अहिलेको अवस्थामा एक अर्कालाई दोषारोपण भन्दा पनि सुरक्षित, संयमित भएर जनप्रतिनिधि, सरकारी निकाय र स्थानीय सबैले एक अर्कालाई थम्थुम्याउँदै हातेमालो गरेर उठ्नुको विकल्प छैन । इलामको हालको अवस्थालाई नजिकबाट नियाल्नु भएका निजीक्षेत्रदेखि आमनागरिकलार्ई सक्दो सहयोग अपिलसँगै सहयोग गर्नुहुने सबैलाई धन्यवाद भन्न चाहन्छु । 

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ६ : ५५ बजे

जेन-जी आन्दोलनका घटनामा ओलीको दोष छैन, उहाँले त उदारता देखाउनु भयो : प्रदीप ज्ञवाली

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली एमालेमा अहिले पार्टीमा अध्यक्ष

कर्णालीको बलिङ दबदबा, सुदूरपश्चिम दियो १४० को सामान्य लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा बलिङमा

स्वास्थ्य सामग्रीको ठेक्का घोटाला अरोपमा सात जनाविरुद्ध अख्तियारमा मुद्दा 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका

नसर्ने रोगका कारण आँखाका बिरामीको सङ्ख्या बढ्दो 

काठमााडौं– नसर्ने रोगबाट पीडित हुनेमा आँखामा हुने समस्याको जोखिम धेरै

कुमारी बैंक र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच